समताको बदमासी ४ : घर भाडा नदिई फरार भएपछि कालिकोट अदालतमा मुद्दा, खाँदबारीका घरबेटीले भाडा तिर्न निकाले सूचना

समताको बदमासी ४ : घर भाडा नदिई फरार भएपछि कालिकोट अदालतमा मुद्दा, खाँदबारीका घरबेटीले भाडा तिर्न निकाले सूचना

काठमाडौँ : घर भाडा नतिरी विद्यालय नै बन्द गरेर 'फरार' भए पछि समता शिक्षा निकेतन र यसको सञ्चालक विरुद्ध कालिकोट जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १ का स्थानीय नरेन्द्रप्रसाद उपाध्यायले २०७५ वैशाख १ गतेदेखि समताको लागि घर भाडामा दिएका थिए। तर, समताका व्यक्तिहरू घर भाडा नतिरी सामान समेत अलपत्र छाडेर सम्पर्कहीन भएपछि उनी अदालत गए।

कालिकोट जस्तो दुर्गम ठाउँमा 'अङ्ग्रेजी माध्यममा सस्तोमा पढाइ' हुने भनेर पाँच वर्षअघि समता विद्यालय खुलेको थियो। तर, वर्ष दिनसम्म पनि राम्रोसँग विद्यालय चलेन। अहिले विद्यालय नै बन्द छ। विद्यालय खुलेको अर्को वर्ष देखिनै भाडा नपाएको घरधनीले उकेरालाई बताए। उनका अनुसार १० लाख ८० हजार घर भाडा दिनुपर्ने देखियो।

२०७७ मा बेलाबेला कार्यालय खुल्ने गरेको थियो। तर विद्यालय बन्दको बन्दै भयो। पहिलो र दोस्रो तल्ला भाडामा लिएको समताले घरको दुई तल्ला प्रयोग गरेको थियो जसमा ५४ बेन्च, ६ वटा जुत्ता राख्ने र्याक, ७ वटा व्हाइट बोर्ड, कार्पेट १२ वटा र फिल्टर र जग लगायतमा सामान थिए। ती सबै सामान त्यतिकै छाडिएको थियो।

सम्पर्कमा पनि नआउने र भाडा पनि नतिर्ने भएपछि ती सबै समान अहिले घरधनीले प्रहरीको जिम्मा लगाएका छन्।

वडा सचिव समेत रहेका घरधनी उपाध्याय भन्छन्, 'उत्तम सन्जेल कहाँ छन् कसरी पत्ता लगाउने होला! हाम्रो घर भाडा कसरी उठाउने होला! काठमाडौँमा कहाँ छ भन्ने पनि थाहा छैन। यस्तो गर्छन् भन्ने थाहा भएको भए त पहिला नै दिन्नथेँ। अब अदालत गएको छु। के हुन्छ हेरौँ!'

समताले उनीसँग गरेको सम्झौता २०८० साल वैशाखमा सकिसकेको छ। सम्झौता अनुसार केही अप्ठ्यारो पर्ला भनेर उनले वडा अध्यक्षकै रोहवरमा समता सम्पर्कमा नभएको र अर्को विद्यालयले घर भाडामा माग्न आएको भन्दै भएका सामानको मुचुल्का उठाएर प्रहरीलाई जिम्मा दिएको देखिन्छ।

विद्यालय खोल्दै भाग्दै सन्जेल

समताले सस्तो शिक्षा दिने भन्दै विभिन्न जिल्लामा ८४ वटा विद्यालय खोलेको देखियो। तीमध्ये अधिकांश विद्यालय बन्द भइसकेका छन्।

सय रुपैंयामा सस्तो शिक्षा अभियान भन्दै 'नाम र दाम' कमाएका उत्तम सन्जेलले अधिकांश स्थानमा खोलेको विद्यालय अलपत्र पारेको सम्पर्कहीन भएको सूचनाको आधारमा उकेराले खोजी सुरु गरेको थियो। उनले अलपत्र पारेर भागेको यो तेस्रो विद्यालय हो।

यस अगाडि ललितपुर र सिन्धुपाल्चोक मेलम्चीको समता विद्यालयमा पनि उस्तै समस्या देखियो। ललितपुर महानगरपालिकामा खोलेको विद्यालय महालक्ष्मी नगरपालिकामा सारेर त्यहाँको जग्गाधनीको भाडा अनि स्थानीय कर समेत नतिरेको खुल्यो। महालक्ष्मीस्थानमा स्थानीय निकायसँग अनुमति समेत लिएका थिएनन्। उता मेलम्चीमा समेत स्थानीय तहसँग अनुमति नै नलिई विद्यालय खोलेर जग्गा भाडा र शिक्षकहरूको पारिश्रमिक समेत नतिरी सन्जेल फरार रहेको पुष्टि भइसकेको छ। कालिकोटमा समेत उस्तै समस्या देखियो।

उता खाँदवारिमा विद्यालय खोलेर भाडा पनि नदिने र सम्पर्क पनि नगर्ने गरेपछि घरधनीले सामाजिक सञ्जालमै सार्वजनिक सूचना निकालेका छन्। सूचनामा २०७९ र २०८० को घर भाडा नतिरेको भन्दै घरधनी नेपालमान श्रेष्ठले माघ १० भित्र चुक्ता नगरे ताला लगाउने चेतावनी दिएका छन्।

'छोराको ड्रेसको लागि ११ हजार तिरेकोस्कुल नै भाग्यो'- वडा अध्यक्ष

उकेराको खोजमा सन्जेलले समताको नाममा आर्थिक कारोबार गर्न नाफामूलक प्राली र गैर नाफामूलक संस्था दुवै गठन गरेर काम गरिरहेको देखिन्छ। उनले अधिकांश विद्यालय एकल शेयर स्वामित्वको नाफामूलक समता निकेतन प्रालीको नाममा कारोबार गर्ने गरेको खुल्यो। उनले समता शिक्षा निकेतन गुठी समेत खोलेका छन्।

समतामा उत्तमसँग प्रारम्भदेखि नै चर्चित कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जोडिएका छन्। गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि समता अभियानमा संलग्न थिए। प्रतिष्ठित व्यक्तिहरूलाई संरक्षक देखाएर संस्थामा आफ्नै परिवारका सदस्य राखेका छन् उनले।

कालिकोटमा घरधनीसँग समताको निर्देशक भनेर उनको भाइ दीपक सन्जेलले हस्ताक्षर गरेका छन्। खाँदवारिमा सन्तोष श्रेष्ठ समेत संलग्न देखिए।

उनले सय रुपैयाँमा शिक्षा दिने भने पनि विभिन्न बहानामा अभिभावकहरूसँग रकम उठाउने गरेको खुल्यो। ललितपुरमा प्रतिविद्यार्थी २५ सय सम्म असुलेको देखियो। शिक्षकहरूलाई भने अति न्यून पारिश्रमिक दिने गरेका थिए। ललितपुरमा ६ हजार पाँच सय अनि मेलम्चीमा त शिक्षकहरूलाई ४ हजार पाँच सय पारिश्रमिक तोकेर त्यो पनि नदिएको देखिन्छ।

उता कालिकोटमा पनि त्यस्तै देखियो। अभिभावकसँग ड्रेसका लागि भनेर ११ हजार रकम असुलेर पछि विद्यालय नै सञ्चालन नगरेको देखियो।

'राम्रो' विद्यालय गाउँमा आयो भनेर कालिकोटमा वडा अध्यक्ष वडा अध्यक्ष धर्मराज टमाटाले आफ्नो छोरालाई समतामा भर्ना गरेका रहेछन्। तर पढाई सुरु नहुँदै विद्यालय बन्द भयो।

'राम्रो होला भनेर छोरालाई भर्ना गरेँ। स्कुल ड्रेसको लागि भनेर ११ हजार समेत लिए,' वडा अध्यक्ष धर्मराज टमाटा भन्छन्,'पछि न मेरो छोराले ड्रेस लगाउन पायो न पढ्न नै पायो।'

उनका अनुसार समता वडाको करको दायरामा पनि आएको छैन। वडाबाट विद्यालय सञ्चालनको अनुमति समेत लिएको देखिएन।

'घरधनीले वडामा उजुरी गरेपछि खोज्दा वडामा केही पनि कागजात फेला परेन। त्यस्तो भएपछि उनीहरूलाई खोज्न पनि गाह्रो भयो। न्यायिक समितिदेखि लिएर अब त अदालतसम्म कुरा पुगेको छ। त्यत्तिकै भाग्न त सक्दैन होला,'उनले भने।

उनले समताको कर्णाली इन्चार्ज भनेर कोहलपुरको पदाधिकारीसँग कुरा गरेका रहेछन्। उनीहरूले भाग्दैन भनेको तर सम्पर्कै नआएको उनले बताए।

'अहिले त नाम पनि बिर्सिके। उसैले चिन्ता नगर्नु, भाग्दैन भनेको थियो,' उनी भन्छन्,'त्यसपछि त उनीसँग पनि सम्पर्क भएको छैन। कल गर्दा हुन्छ-हुन्छ भन्यो। तर अहिले त फोन पनि उठ्दैन।'

स्थानीय सरकारसँग समन्वयनै छैन

घरधनीसँग भएको सम्झौता पत्र अनुसार घर भाडासँगै बिजुली, पानी, ढल, फोहोर र कर समेत समता लेनै तिर्न पर्ने भनिएको छ। यी रकम तिर्नु त परको कुरा समताले विद्यालय नै चलाएन, सामान्य जानकारी पनि नदिएर सम्पर्कहीन भए।

खाँडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रमुख जसी प्रसाद चौलागाईले कोभिडदेखि यता विद्यालय बन्द रहेको बताए। यस विषयमा समताले नगरपालिकासँग कुनै समन्वय नगरेको उनले बताए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागु भइसके पछि कालिकोटमा समताले आफ्नो शाखा खोलेको थियो। विद्यालय सञ्चालन सम्बन्धी सम्पूर्ण नियम सम्बन्धित पालिकाले नै तय गर्ने र पालना गराउने गर्छ। तर यहाँ भने समताले अनुमति पनि लिएको देखिएन। अनुमति नलिई विद्यालय सञ्चालन गर्ने अनि करको दायरामा नआई घर/जग्गा भाडा समेत तिर्न नखोज्ने सन्जेलको धन्दा नै देखियो।

'काठमाडौँ महानगरसँग समन्वय गर्छौँ'

सन्जेलले काठमाडौँमा समेत समता सञ्चालन गरेका छन्। उनले यता पनि कहिले गोकर्णेश्वर नगरपालिका त कहिले काठमाडौँ महानगरपालिकातिर सारेर स्थानीय सरकारलाई झुलाइरहेको देखियो।

काठमाडौँ महानगरभित्र समता विद्यालय रहेको जानकारीका आधारमा अब कालिकोटको खाँडाचक्र नगरपालिकाको न्यायिक समितिले काठमाडौँ महानगरपालिकाको न्यायिक समितिसँग छलफल गर्ने तयारी गरेको उपमेयर गणेश बहादुर शाहीले बताए।

'न्यायिक सहमतिमा कुरा आएपछि हामीले सम्पर्क गर्ने धेरै प्रयास गर्यौँ। बल्ल बल्ल फोनमा कुरा भयो। सिधै पैसा तिर्न नसकिने कुरा गर्नु भयो,' उनी भन्छन्, 'उताबाट पैसा तिर्न नसक्ने भनिसक्यो। यताबाट घरधनीले पैसा चाहियो भनिरहनुभएको छ' उनले भने।

अर्को पक्ष काठमाडौँमा भएकाले अब काठमाडौँ महानगरपालिकाको न्यायिक समितिलाई समन्वय गरिदिन पत्र लेख्ने तयारी गरिएको उनले बताए।

'हामीले काठमाडौँका मेयर बालेन शाहसँग कुरा गर्ने सोचेका छौँ। कालिकोटको मान्छेलाई उहाँहरूको पालिकामा बस्ने मान्छेले दुख दिएका छन् भन्ने थाहा पाए पछि त समन्वय होला नि' उनले भने।

२०७५ पुसमा कालिकोटमा समताको उद्घाटन भएको थियो। कर्णाली प्रदेश सदस्य कूर्मराज शाहिले विद्यालय उद्घाटन गरेका थिए।

भाडा तिर्न घरबेटीको सूचना

उता खाँदवारिमा समता विद्यालय खोले पनि दुई वर्षदेखि भाडा नतिरी सम्बन्धित व्यक्ति फरार भएको भन्दै घरबेटी नेपालमान श्रेष्ठले सामाजिक सञ्जालमा सूचना नै निकालेका छन्।

उनले सूचनामा २०७९ र २०८० को घर भाडा नतिरेकाले २०८० माघ १० भित्र घर भाडा नतिरे विद्यालय भवनमा ताला लगाउने उल्लेख छ। खाँदवारिमा अहिले पनि करिब २ सय विद्यार्थीसहित विद्यालय भने सञ्चालनमा रहेको देखियो।

श्रेष्ठले पाँच वर्ष अगाडि मासिक ४० हजार भाडा तिर्ने सर्तमा घर भाडामा दिएको उकेरालाई बताए। २०७९ र २०८० को घर भाडा नदिएको र सम्पर्क गर्दा पन्छिने गरेको उनले उकेरालाई बताए।

फोन गर्दा सन्जेलले म मावि मात्र हेर्छु भनेर पन्छिए। जहिले पनि छलेको छल्यै गरेपछि विभिन्न ठाउँमा उजुरी दिए पनि समस्या समाधान भएन,' उनले भने' अति गरेपछि समस्या समाधान होला कि भनेर सामाजिक सञ्जालमै सूचना राखेँ।'

२०७९ को मात्र चार लाख ८० हजार भाडा बाँकी रहेको उनले बताए। सन्जेलले इटहरीका सन्तोष श्रेष्ठले हेर्ने भनेपछि उनीसँग सम्पर्क गरेको र उनले हुन्छ मात्र भनेर झुलाएको श्रेष्ठले बताए।

'समतामा हरिवंश आचार्य पनि छन् भन्ने सुनेर नम्बर खोजे। तर सम्पर्क गरेको छैन। अहिले त उत्तमले फोन नै उठाउँदैन। अति नै भएपछि सूचना निकाल्न बाध्य भएँ' उनले भने।

मुगुका शिक्षकले नौ महिनाको तलब पाएनन्

मुगुमा २०७५ मा मदन बहादुर-हरि बहादुर फाउन्डेसन र समता फाउन्डेसन मिलेर समता विद्यालय खोलेका थिए। पिछडिएका बालबालिकालाई सहज गुणस्तरीय शिक्षा दिने भनेर उत्तम सन्जेल र सुदर्शन पौडेलले विद्यालय खोले। समतामा १ सय ३० जना विद्यार्थी अध्ययनरत थिए।

उनीहरूले छायाँनाथ रारा नगरपालिकाबाट २ कक्षासम्मको अनुमति लिए पनि ५ कक्षासम्म पढाइरहेका थिए। विद्यालयका ५ जना शिक्षकले ९ महिनादेखि तलब पाएका छैनन्। कर्णालीमा समताको जिम्मा सुदर्शन पौडेलले लिएको खुल्यो।

समताको नाममा उत्तम सञ्जेलको बदमासी

४ माघ, २०८०, १९:२२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।