यी हुन् कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएका छ उम्मेदवार

यी हुन् कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएका छ उम्मेदवार

सुर्खेत : राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा गठबन्धनका तीन उम्मेदवार र नेकपा एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार उनीहरूले मनोनयन दर्ता गएका हुन्।

गठबन्धन दल कांग्रेसबाट रुकुम पश्चिमका कष्णबहादुर रोकाया, माओवादीबाट कालिकोटका विष्णु विक र समाजवादीबाट दैलेखकी सावित्री मल्लले उमेदवारी दर्ता गराएका हुन्।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका छन्।

कर्णालीमा माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि महिला, दलित र अन्य गरी तीन सिटमा मतदान हुँदैछ। कर्णालीमा ८९ स्थानीय तह र एक प्रदेश सभा तर्फ जम्मा १९६ मतदाता छन्।

जम्मा १९८ मतदाता मध्ये कांग्रेसबाट निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्यबहादुर शाही र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १९६ मतदाता रहेका हुन्।

सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार संख्या कमजोर रहेको छ। प्रदेशसभातर्फ नेपाली कांग्रेसका १५, माओवादीका १३, एमालेका १०, समाजवादी र राप्रपाका एक/एक गरी ४० सांसद छन्। राप्रपाले भने अहिलेसम्म कसलाई मतदान गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन।

६ वर्षअघि राष्ट्रिय सभामा निर्वाचित जाजरकोटका भैरबसुन्दर श्रेष्ठ, कालिकोटका नरपति लुहार र सुर्खेतका नन्दा चपाइँको पदावधि सकिँदैछ। श्रेष्ठ अन्य, लुहार दलित र चपाइँ महिला क्लस्टरबाट चुनिएका थिए।

कृष्णबहादुर रोकाया 
सत्ता गठबन्धनमा रहेको कांग्रेसबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका कृष्णबहादुर रोकाया रूकुम पश्चिमका व्यक्ति हुन्। बहुदल स्थापनापछि राजनीति सुरू गरेका रोकाया नेपाल विद्यार्थी संघ रूकुमको दुई कार्यकाल अध्यक्ष भए। उनी नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्षसमेत हुन्।

२०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका रोकाया २०५७ सालको १०औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिवसम्म बने। २०६७ सम्म जिल्ला सचिव भएर काम गरेका रोकाया १४औं महाधिवेशनसम्म पनि निरन्तर महासमिति सदस्य भए।

२०७० सालको संविधान सभा निर्वाचनमा रूकुम (१) बाट चुनाव लडेका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा पनि रूकुम पश्चिम प्रदेश (क) बाट उम्मेदवार बनेर चुनाव लडे। तर दुवै निर्वाचनमा पराजित भए।

विष्णु विक
गठबन्धन दलकै माओवादी केन्द्रबाट उम्मेदवार रहेका विष्णु विक कालिकोटको नरहरीनाथ गाउँपालिकाको मालकोटका स्थानीय हुन्।

२०४६ मा शिक्षकबाट राजीनामा दिएपछि नेपाल मजदुर किसान पार्टीबाट राजनीतिक यात्रा थालेका विक २०४९ सालमा भएको स्थानीय निकायको चुनावमा मालकोट गाविसको अध्यक्ष निर्वाचित भए।

माओवादीले विद्रोह सुरू गर्नुभन्दा एक वर्षअघि माओवादीमा प्रवेश गरेका विक २०५१ सालमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। २०५४ सालमा उनी भूमिगत भए।

माओवादीमा रहँदा उनले मोर्चाको नेतृत्व गरेका थिए। नेपाल दलित मुक्ति मोर्चाको संस्थापक जिल्ला अध्यक्ष बनेका उनी मोर्चाकै भेरी कर्णाली अध्यक्ष, केन्द्रीय समिति सदस्य र २०६१ सालमा केन्द्रीय सचिवसम्म बने। विक अहिले माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा कालिकोट जिल्ला इञ्चार्ज हुन्।

सावित्री मल्ल
एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी सावित्री मल्ललाई स्थानीय सरकार सञ्चालनको अनुभव छ। उनी २०७४ सालको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुख निर्वाचित भएकी थिइन्। त्यतिबेला उनी एमालेमा थिइन्।

नेकपा फुटपछि उनी माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा समाहित बनेकी थिइन्। अहिले उनी समाजवादीको केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज छिन्।


२०४३ सालमा नेपाल मजदुर किसान पार्टीमा आएर मल्लले राजनीतिक यात्रा सुरू गरेकी उनी २०५४ सालमा जिल्ला विकास समितिको सदस्य बनिन्।

विमला शाही
एमालेबाट उम्मेदवार बनेकी विमला शाही हुम्लाकी हुन्। उनी हुम्लाको चंखेली गाउँपालिकाको उपाध्यक्ष भएर पनि काम गरिसकेकी छन्। २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावमा सहभागी हुँदा उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

२०६० सालबाट एमालेको सदस्यता लिएकी उनी बीचको चार वर्ष राजनीतिमा सक्रिय भइनन्। त्यो चार वर्ष उनले शिक्षण पेशामा बिताइन्। २०७४ सालम पार्टीको जिल्ला कार्य समितिमा सदस्य भएर सचिवालयमा समेत बसेर काम गरेकी उनी अहिले पार्टीको जिल्ला कमिटीमा उपसचिव छिन्।

डिल्ली भट्ट
एमालेबाटै उम्मेदवार बनेका डिल्ली भट्ट मुगुका हुन्। २०३८ सालबाट राजनीतिक यात्रा सुरू गरेका उनले बीचमा नेपाल सरकारको कर्मचारीको रूपमा कार्यरत रहे।

सन् १९९४ मा जापानमा बसेर इञ्जिनियरिङ पढेका उनले समाज कल्याण परिषद्को सचिव भएर काम गरिसकेका छन्। भट्ट अहिले एमालेको कर्णाली प्रदेश कमिटी सदस्य हुन्।

हिक्मत विक
दलित कलस्टरमा उम्मेदवारी दिएका हिक्मत विक दैलेखका हुन्। उनी २०४६ सालबाट एमालेमा आवद्ध भएका हुन्। उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनका बेला जिल्ला परिषद् सदस्यमा मनोनीत भएका थिए।

२०५४ पछि साविकको भैरीकालिकाथुम गाविसको सक्रिय दलको सचिव भएका विक २०६१ मा इलाका कमिटीको उपसचिव र २०६२ सालमा जिल्ला कमिटी सदस्य भएका थिए। जिल्ला कमिटीको सचिवालय सदस्यमा रहेर पनि उनले लामो समय काम गरेका थिए।

नेकपा हुँदा उनी पार्टीको भैरवी गाउँपालिकाको अध्यक्ष थिए। उनले पार्टीको प्रदेश कमिटी सदस्य भएर अहिले पनि काम गरेका छन्। 

२०७७ मा भएको राष्ट्रिय भेलाबाट नेपाल विद्यार्थी मुक्ति समाजको प्रदेश अध्यक्ष बने। छैटौं राष्ट्रिय सम्मेलनबाट पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मुक्ति समाजको केन्द्रीय उपाध्यक्ष र कर्णाली इञ्चार्ज बने।
 

२४ पुस, २०८०, १०:३५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।