उकेरा समाचार प्रभाव : निर्माण क्षेत्र भनेर 'सैनिक बनाउन लागेको शंकामा सिनामंगलमा छनौट भएकालाई रुस लैजान रोकियो

उकेरा समाचार प्रभाव : निर्माण क्षेत्र भनेर 'सैनिक बनाउन लागेको शंकामा सिनामंगलमा छनौट भएकालाई रुस लैजान रोकियो

काठमाडौँ :  वैदेशिक रोजगार विभागले संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिकहरूलाई श्रम स्वीकृति स्थगन गरेको छ। सिनामंगलको चौरमा रुसको निर्माण क्षेत्रका लागि भनेर बोरा बालुवा उचाल्दै अभ्यास गराएकोबारे उकेराले समाचार प्रकाशित गरेपछि विभागले रुसमा कुनै पनि बहानामा नेपाली लैजान रोक लगाएको हो।

विभागले बिहीबार रुस र युक्रेनबिच युद्ध भइरहेको तथा नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भई युद्धमा मारिएको समाचार आइरहेको बेलामा तत्कालको लागि रुस र युक्रेनको लागि श्रम स्वीकृति नदिने निर्णय गरेको जनाएको छ

सिनामंगलको चौरमा नेपाली युवाहरूलाई सैनिक छनौटको शैलीमा छनौट भइरहेकोबारे उकेराले केही दिन अगाडि समाचार प्रकाशित गरेको थियो।

बोरामा बालुवा राखेर उचाल्न लगाएर भइरहेको छनौटलाई निर्माण सम्बन्धी कामको आवरण दिइएको थियो। विभागले समेत स्वीकृति दिएको कम्पनीको छनौट शैली भने सैनिकका लागि आवश्यक शारीरिक परीक्षण जस्तै देखिएपछि उकेराले थप खोजी शुरु गर्यो। खोजीमा विभागबाटै अनुमती पाएको देखियो। यसले थप शंका बढाएपछि खोजिकैक्रममा बिहीबार अचानक विभागले रुस लैजानै रोक्यो।

उकेराले शनिवार अन्तर्वार्तास्थलकै तस्बिरहरू प्रकाशित गरेपछि विभागले त्यसबारे बुझ्न चाहेको विभागका सूचना अधिकारी तथा प्रशासन शाखाको निर्देशक कविराज उप्रेतीले बताए।

'हामीले पनि बोरा उचालेर रुस लाने तयारी भएको समाचार देख्यौँ। आइतबार बिदा भइहाल्यो। त्यसपछि सोमबार नै म्यानपावरलाई तत्कालको लागि त्यस सम्बन्धी कुनै पनि प्रक्रिया अगाडी नबढाउनु र बढाउने भए किन भनेर प्रश्न सोधेका थियौँ' उनले भने।

विभागले सम्बन्धित म्यानपावर कम्पनीलाई मौखिक रूपमा १० दिनको समय दिएको खुल्यो। एउटा प्रयोजन देखाएर सैनिक बनाउन खोजिएको देखिएपछि विभागले तत्काल रुस लैजान सूचना नै निकालेको छ।

'वार त भइनै हाल्यो। यहाँबाट एउटा काम भनेर त्यहाँ सेनामा भर्ना गर्ला कि भन्ने शङ्का देखियो। यस्तो अवस्थामा केही भयो भने विभागले फेरी जवाफ दिनपर्ने हुन्छ। त्यही भएर तत्कालको लागि रोक्ने निर्णय गर्नुपर्यो,' उनले भने।

विभागले रुसको निर्माण क्षेत्रमा लैजान अनुमति दिएको थियो। बिहीबार विभागले श्रम स्वीकृति स्थगन गरेको सूचना जारी गरेको छ।

रुस लैजान नेपालमा संयोजन गरिरहेको कम्पनी।काठमाडौँको सिनामंगलमा फ्रन्टलाइन रिक्र्युट्मेन्ट म्यानपावरले तीन दिन सम्म नेपाली युवाहरूको अन्तर्वार्ता लिएको थियो।  म्यानपावरले तीन सय जनाको माग भएकोमा तीन दिनमा करिब पाँच सय भन्दा बढीलाई छनौट गरिसकेको थियो।

तर, विभागले भने तीन सय पनि नभएर ८५ व्यक्तिको मात्र माग आएको जनाएको थियो।

'यो भन्दा अगाडी पनि यही कम्पनीले यही कामको लागि करिब डेढ सय जना लगेको देखिन्छ। हामी अगाडि गएको व्यक्तिहरूसँग पनि सम्पर्क गर्न खोजिरहेका छौँ,' निर्देशक उप्रेतीले भने, 'पहिला गएको व्यक्तिहरू र म्यानपावरको प्रतिनिधिसँगको कुरापछि मात्र अब के गर्ने भनेर प्रस्ट हुन्छ। त्यतिबेला सम्म त रुस जाने, लाने कुरै उठ्दैन।'

शनिवार उकेराकर्मी अन्तर्वार्ता स्थलमा पुग्दा धेरै व्यक्तिहरू छनौट भएकोमा खुसी देखिन्थे। अनि केही छनौट नभएकोमा निराश देखिन्थे।

 अन्तर्वार्ता स्थलमा 'अन्तर्वार्ता' कै लागि भनेर भुईँमा ठूलो-ठूलो रड, त्यसलाई कस्ने नट र १५ किलो बोरा उचाल्न लगाइएको थियो।

छनौट भएकाहरू उत्साहित हुँदै मेडिकल गर्न गएका थिए। ६ सय डलर तलब तोकिएकामा यहाँबाट जान चार लाखदेखि साढे पाँच लाखसम्म असुलेको खुलेको थियो।

श्रमिक लान लागेको इन्जिनियरिङ र निर्माण सेवाहरू प्रदान गर्दै आइरहेको सिनोपेक कम्पनीका प्रतिनिधि सिनामंगलमै देखिएका थिए। यसको प्रधान कार्यालय चीनको बेइजिङमा छ।

 

१९ पुस, २०८०, १८:५४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।