सिनामङ्गलको चौरमा रुस जानेको ‘अन्तर्वार्ता’, योग्यता- चिनियाँ नागरिकले ‘स्टप’ नभनेसम्म बालुवाको बोरा उचाल्नु

सिनामङ्गलको चौरमा रुस जानेको ‘अन्तर्वार्ता’, योग्यता- चिनियाँ नागरिकले ‘स्टप’ नभनेसम्म बालुवाको बोरा उचाल्नु

काठमाडौं : काठमाडौंको सिनामङ्गलमा करिडोर नजिकै वैदेशिक रोजगारीको लागि अन्तर्वार्ता दिनेहरूको अचाक्ली भीडभाड देखिन्छ।

झट्ट हेर्दा अन्य वैदेशिक रोजगार व्यवसायी कम्पनी (मेनपावर) मा जस्तै भीड भए पनि यहाँको दृश्य अलि फरक थियो। 

गेटमा अन्तर्वार्ता भनेर ब्यानर झुन्ड्याइएको थियो। तर, भित्र भने केही व्यक्तिहरू धमाधम बालुवाले भरिएका बोरा उचालिरहेका थिए।

बोरा उचाल्ने व्यक्तिहरू सिनोपेक इञ्जिनियरिङ्ग समूह रूसको लागि कामदार छानिएका रहेछन्।

तीन सय जना कामदारहरू माग गरिएकामा अहिलेसम्म दश हजार भन्दा बढीले फारम भरेर अन्तर्वार्ता दिइरहेको त्यहाँका सुरक्षागार्ड बताउँछन्।

रूस जानको लागि योग्यता चाहिँ चिनियाँ नागरिक र फ्रन्टलाइन रिक्र्युट्मेन्ट म्यानपावरका प्रतिनिधिले ‘स्टप’ नभनेसम्म बोरा उचालेर तल-माथि गर्न सक्नु रहेछ।

उनीहरूले ‘स्टप’ नभनेसम्म जसले हात नकपाइ बोरा तल-माथि गर्छ, ती व्यक्ति नै छानिने गरेको देखियो।

एक पटकमा १२ जनालाई बोलाएर लस्करै राखेर बोरा उचाल्न लगाइन्छ। १२ जना मध्ये दुई/तीन जनालाई अगाडि बसेका चिनियाँ नागरिकले बोलाउँछन्। अनि उसको पाखुरा मुसार्छन्।

फेरि उनीहरूलाई त्यही नै बोरा उठाउन लगाउँछन्। त्यस बेलासम्म छानिने भएँ भनेर मख्ख पर्दै युवाहरू जोसिएर बोरा उचाल्छन्। अनि त्यो देखेर ती चिनियाँ नागरिक बेस्सरी हाँस्छन्।

त्यत्तिकैमा छनोट भएकाहरू दश मिटरको दुरीमा रहेको म्यानपावरको अफिसमा गएर मेडिकल गर्नको लागि नाम लेखाउँछन्।

रुसमा कामदार बनेर जानेहरू खोला छेउको खाली चौरभरि थिए। शुक्रबारदेखि चलेको अन्तर्वार्ता भोलि सकिँदैछ। अहिलेसम्म पाँच सयभन्दा बढी व्यक्ति छनोट भइसके।

अन्तर्वार्ताकै लागि भनेर भुइँमा ठूलो-ठूलो रड, त्यसलाई कस्ने नट र भवन बनाउँदा लगाउने कपडाहरू पनि राखिएको थियो।

उक्त भीडमा मधेश प्रदेशबाट आएका पुरुषहरू धेरै देखिन्थे। २८ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहका व्यक्ति रुस लैजाने भनिए पनि २५ वर्षभन्दा मुनिका व्यक्ति धेरै देखिन्थे।

६ सय डलर तलब तोकिएकोमा यहाँबाट जानको लागि भने चार लाखदेखि साढे पाँच लाखसम्म तिर्नुपर्ने म्यानपावर कम्पनीका प्रतिनिधिले भनेका रहेछन्।

छनोट भए लगत्तै म्यानपावर कम्पनीले मेडिकल गर्न पठाइरहेको थियो। आज मेडिकल भएकाहरूलाई दुई महिनाभित्र उडाउने भनिएको छनोट भएका एक व्यक्तिले बताए।

‘रूस र युक्रेनको युद्धको बीचमा पनि जान चाहनु हुन्छ?’ भन्ने उकेराको जिज्ञासामा उनीहरू सबै यो कम्पनी युद्ध भएको ठाउँबाट धेरै टाढा भएको बताइरहेका थिए।

उनीहरूलाई युद्धको भन्दा अगाडि बसेको चिनियाँले आफूलाई छनोट नगर्ला कि भन्ने डर बढी देखिन्थ्यो।

तिनै भीडमा रहेका एक जनाले भने, ‘युद्ध त युक्रेनको नजिकमा भएको रे! कम्पनी त युद्ध भएको भन्दा धेरै टाढा पर्छ रे! छनोट भएर गइहाल्न पाए हुन्थ्यो।’

इञ्जिनियरिङ्ग र निर्माण सेवाहरू प्रदान गर्दै आइरहेको सिनोपेक चिनियाँ लगानीको कम्पनी हो। यसको प्रधान कार्यालय चीनको बेइजिङमा छ।

१४ पुस, २०८०, १८:५०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।