सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुने, बहस सकिए आजै फैसला आउने

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुने, बहस सकिए आजै फैसला आउने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ।

आइतबार, बुधबार र बिहीबार भएको सुनुवाइमा बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।

बुधबार सरकारी वकिल र पीडित पक्षका निजी गरी १० वकिलले बहस गरेका थिए। अधिवक्ता मुरारी सापकोटाले बहस गर्दागर्दै समय सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट तीन जना वरिष्ठ अधिवक्तासहित छ जनाले प्रतिरक्षा बहस सकाएका छन्।

वरिष्ठ अधिवक्तात्रय शम्भु थापा, रमणकुमार श्रेष्ठ र सविता भण्डारीसहित ६ जनाले बहस गरेका जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। ​उनका अनुसार सन्दीपतर्फकै कानुन व्यवसायी ५ जनाले बहस गर्न बाँकी छ।

शुक्रबार उनीहरूको बहसपछि जाहेरवालाका तर्फबाट उपस्थित कानुन व्यवसायीले जवाफी बहस सकाएर मुद्दाको फैसला आउने सम्भावना रहेको पन्थीले बताए। बहस केही लम्बिए सोमबार फैसला सुनाउने इजलासको तयारी छ। आइतबार तमु ल्होसारका कारण सार्वजनिक बिदा छ।

क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

पछि सर्वोच्च अदालतले विदेशका प्रतियोगिता खेल्न जान पाउने आदेश दिएको थियो। सन्दीप विरूद्वको मुद्दामा अन्तिम बहस सुरू हुने भनेर पेसी चढेको १० महिना भइसकेको छ। तर मुद्दाको किनारा लाग्न भने सकेको छैन।

१३ पुस, २०८०, ०७:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।