कैलाश मानसरोवर यात्रा- १३ : माओको देशमा मदिरा र यौन यति धेरै खुल्ला !

कैलाश मानसरोवर यात्रा- १३ : माओको देशमा मदिरा र यौन यति धेरै खुल्ला !

तल्लो केरुङमा जब रात छिप्पिँदै गयो सडकमा चहलपहल बढ्न थाल्यो। प्राय दिउसो समय आगन्तुक अनि व्यापारीहरूको पातलो चहलपहल हुने बजार क्षेत्र अँध्यारो बढेसँगै तात्ने रहेछ। केरुङ नेपालसँगको परम्परागत व्यापारिक नाकाको रूपमा परिचित भए पनि पछिल्लो समय अवैध सुन तस्करीका लागि परिचित छ।

काठमाडौँमा आउने सूचनाहरूको मात्र भर पर्ने हो भने केरुङ बजार छपक्कै सुन पसलले ढाक्नुपर्ने हो। तर त्यस्तो देखिएन। कैलाश-मानसरोवर यात्रामा जाँदा अनि फर्कँदा सुनका पसल गनेरै हिँड्दा सातभन्दा बढी फेला परेनन्। तर जति सुन पसल फेला परे अधिकांश नेपालीकै थियो।

यो भन्दैमा सुन तस्करी नै हुन्न भन्ने हैन है! काठमाडौँबाट आएका तीर्थयात्री भन्ने चाल पाएपछि सुन लैजाने हो त भन्ने त भेटिने रैछन्। ‘तपाइँहरुलाई त कम चेक हुन्छ,लैजाने हो?’ भन्ने सुनिनु सामान्य।

हामी कैलाश जान नेपाली सीमा टिमुरेमा पुग्दा नै एक महिला एक किलो सुनसहित पक्राउ परेकी थिइन्। कैलाश परिक्रमा गरेर फर्कँदा पनि केरुङमा त्यसको चर्चा सेलाएको रहेनछ। समातिएकी महिला केरुङमै सामान्य काम गर्ने रहिछिन्।

मेरो उद्देश्य सुन हैन केरुङको रात्रि जीवनमा नेपाली युवतीहरूको संलग्नताबारे बुझ्नु थियो। कैलाश जानु अगाडिको रात त्यति मज्जाले घुम्न पाइएको थिएन। त्यहाँ रहेका केही नेपालीले कैलाशबाट फर्कँदा रात बसियो भने घुमाउँला भनेकाले पनि योजना त्यही थियो।

झिसमिसे रातमै क्लबतिर जाँदा जे बुझ्न खोजेको हो त्यति देख्न नपाउने भनेपछि केरुङको उत्तरतिर रहेको नेपालीको सामान्य होटेलमा बसेर गफ गर्न थालियो। उनी रसुवाका। यता कालिज फार्म खोलेका रहेछन्। त्यो भन्दा अगाडि सशस्त्र प्रहरीका जागिरे उनी यता केही उद्यम नचलेपछि केरुङ छिरेका रहेछन्।

सानो शहर भए पनि केरुङमा ७० भन्दा बढी रात्रिकालीन व्यवसायसँग जोडिएका स्थलहरू रहेछन्। स्तरअनुसार ‘ए’,’बि’ अनि ‘सी’ गरेर छुट्टाइएका। ‘सी’ मा सामान्य भट्टीहरू। ‘बि’ मा क्याबिन रेस्टुरेन्ट। पहिला काठमाडौँमा छ्यापछ्याप्ती थिए नि हरियो पर्दावाला क्याबिन हो त्यस्तै।

काठमाडौँमा त लगभग यस्ता क्याबिनका नाममा खुलेका यौन व्यवसायका केन्द्रहरू बन्द भए। तर केरुङ भरिएका रहेछन्। ‘ए’ क्याटगरीमा डिस्को, लाउन्ज अनि बारहरू थिए।  स्तर अनुसार तीनै क्याटगरीका मदिरालयहरू घुमियो। जुन स्तरको मदिरालय जाँदा पनि काउन्टरदेखि वेटरसम्म सबै नेपाली।

क्याबिन रेष्टुरेण्टमा बस्न खुल्ला स्थानहरू पनि बनाइएका थिए। तर ती सबै रित्ता। पर्दा लगाएर बस्न मिल्ने क्याबिनहरू भरिभराउ। त्यहाँबाट निस्कने प्राय सबै युवतीहरू नेपालका। अधिकांश रसुवाका। उनीहरूको खुट्टाको चाल अनि बोलीले उनीहरू मदिरामा मस्त रहेको देखाउँथ्यो नै।

सानो कोक साइजको बोतलमा बडवाइवर बियर खूब चल्ने रहेछ त्यहाँ। मदिराहरू उतै चिनिया। ह्स्की पिउनेहरू कमै देखियो। बियरको सिस्टम पनि अनौठो, एक या दुई बोतल नआउने रहेछ। एक पटक अर्डर गर्दा ट्रेमा एकै पटक १० वटा आउने। ग्राहकभन्दा बढी त्यहीका युवतीहरूले पिइदिने। जतिसक्दो बढी मदिरा पिएर बिल बढाउने अनि ग्राहकसँग रत्तिने उनीहरूको लक्ष्य हुने रहेछ।

हामी यताबाट गएका तीन जना थियौँ। त्यहीका दुई जना थपिँदा टोलीमा पाँच जना भयौँ। नेपाली भएकाले हामी जहाँ गए पनि एक पटकमा पाँच बोतल बियर मात्र ल्याए। बियर पिउने गिलास यहाँको जस्तो घ्याम्पे हैन। चिया पिउने सिसाको गिलास जत्रा।

एक पटक गिलासमा बियर भरेपछि सबैले उठाएर चियर्स गरेर घटघट सबै पिउनुपर्ने। यहाँको जस्तो चुस्स चुस्स हैन। कसको कति क्षमता रहेछ हेरौँ त भन्दै युवतीहरू हौस्याइरहन्थे जतिसक्दो बढी बियर पिउन। कसैले आधा गिलास मात्र पियो भयो’ छ्या यो दाइ त केटीसँग पनि हार्यो’ भन्दै उक्साउने।

रसुवाका नेपालीका लागि केरुङ जान भिसा चाहिँदैन। त्यसैको फाइदा उठाउँदै त्यहाँका रेस्टुरेन्ट सञ्चालकहरूले नेपाली युवतीलाई केरुङ पुर्याएर काममा लगाउने रहेछन्। अधिकांश मंगोलियन नै।

क्याबिनको चर्तिकला हेर्दा काठमाडौँमा चल्ने महिलाको शोषण सम्बन्धी कार्यक्रम, सरकारी प्रतिवेदन अनि सुरक्षा निकायका दाबीहरू झलझली याद आयो। कहिकतै कुनै रिपोर्टमा केरुङको शब्द देखेको थिइन्। तर यहाँको अवस्था भयावह भइसकेको अनुभव भयो।

बलात्कार र यौन हिंसाका घटनाहरूमा भने सुरक्षा निकाय कडै रहेछन्। एक जनाले सुनाउँदै थिए'उनीहरूले माने भने यहाँ जे गर्न पनि छुट छ। उनीहरू पैसा कमाउन आएकाले जे पनि गर्छन्। तर कसैले नाइँ भन्यो भने कर गर्नुहुन्न।'

एक महिना अगाडि मात्रै केरुङकै एक स्थानीयले नेपाली युवतीलाई जबर्जस्ती गर्दा मुद्दा चलेको रहेछ। जति मात्नुछ माते हुन्छ, सडकमा हल्लिँदै हिँडे हुन्छ। केटी राजी छ भने कुनै रोकटोक छैन। तर जबर्जस्ती अनि चोरी गरे प्रहरीले लगिहाल्ने रहेछ।

क्याबिनको दिक्कलाग्दो दृश्य देखेर पुग्यो। अब ‘ए’ ग्रेडको कुनै लाउन्जमा जाऊँ’ मेरो प्रस्तावमा सबै तयार भए।

नजिकै क्लब रहेछ’०८३७’। यो राम्रो छ भनेर त्यतैतिर लगे। दोस्रो तलामा थियो क्लब। साउन्ड प्रुफ बनाएका रहेछन्। बाहिर आवाज नसुनिने। भित्र त चर्को।

सानो स्टेज। चर्को लाइटिङ। टेबल पुरै छपक्कै ग्राहकले भरिएका। यसो हेरेको यहाँका अधिकांश ग्राहक कि चिनिया थिए कि तिब्बतीय। यसो नजर डुलाउँदा पर टेबलमा बसेका दुई तिब्बतीमुलका महिलामाथि नजर गयो। ४० माथिका होलान् दुवै। दुवै जना परम्परागत तिब्बती पोसाकमा थिए। अनि निकै रमाइरहेका थिए त्यहाँ। त्यो दृश्यले यहाँका रैथानेहरू पनि रात्रिकालीन दैनिकीमा रत्तिइसकेको लायो।

बज्ने अधिकांश गीत-सङ्गीत कि चिनिया कि तिब्बतीय। यताका क्लबहरूमा जस्तो काम गर्ने युवतीहरू अति छोटा कपडामा थिएनन्। कपडा ठिकै लगाएका थिए। सानो मञ्चमा नाच्ने। महिला कामदारहरू नाचेको देखिएन। नाच्ने केटाहरू नै थिए। तर त्यहाँ पनि डिजेदेखि नाच्ने युवासम्म अनि वेटर सबै नेपाली।

युवतीहरूको काम ग्राहकसँग बस्ने अनि अधिक मदिरा पिउन उक्साउने। उनीहरूसँगै टेबलमा बस्ने, उनीहरूका हर्कत सहने अनि उनीहरूका लागि ल्याएको बियरको बोतल जतिसक्दो चाँडो रित्तो बनाउने। यहाँ पनि ग्याम्बे अर्थात् गिलासमा हालेपछि एकै पटक रित्याउने प्रतिस्पर्धा चल्दो रहेछ।

युवतीहरू एकल नाचेको देखिएन। तर ग्राहकले हात तान्दै स्टेजमा लगेपछि उनीहरूसँगै नाच्नुपर्ने रहेछ। त्यहाँ रहेका महिला अनि पुरुष ग्राहकहरू पनि स्टेजमा चढेर रमाउँदै नाचिरहेका थिए। जस्तो तालको म्युजिक बजे पनि उनीहरूले नाच्ने ताल भने ‘स्यो…स्यो’ भन्दै नाचिने सेलो टाइपकै हुने रहेछ।

रात्रिकालीन जीवनको नक्कल भित्रिए पनि आधुनिक सङ्गीत अनि आधुनिक सङ्गीत अनुसारको नृत्यमा भने केरुङ अभ्यस्त भएको रहेनछ।

क्लबमा बियर बोकेर आउने एक युवतीसँग केही समय कुराकानी गर्ने मौका मिल्यो। उनी आएको तीन महिना भएछ। पहिला ठमेलतिर काम गर्ने रहिछन्। ठमेलमा भन्दा यतै राम्रो हुने सुनेर आएकी उनी ६ महिना बसेपछि नेपाल फर्किने योजनामा रहिछन्।

‘जहाँ गए पनि काम यस्तै हो। बरु यतै ठिक छ’ उनी भन्दै थिइन्। उनले दिएको जानकारी अनुसार केरुङमा उनीजस्तै लगभग साढे तीन सय युवतीहरू छन् जो रात्रिकालीन व्यवसायमै काम गर्न आएका हुन्।

बिहान ३ बजिसकेको थियो। बिहानै काठमाडौँ फर्किने कार्य तालिका भएकाले होटेल फर्कनु त थियो नै। हामीसँगै आएका एक स्थानीय नेपाली झ्याप भएर कोठातिर लागे। अर्का दुई जना भोलि काठमाडौँ नै फर्किने भएकाले बसौँ भन्दै कर गर्दै थिए। तर अब यो भन्दा धेरै बुझ्नु थिएन। म निस्किए।

दिक्क लाग्यो। नेपाल अनि चीन, देशको शासन व्यवस्था फरक। यता गणतान्त्रिक बहुदलीय, त्यता कम्युनिस्ट एकतन्त्रीय। तर रात्रिकालीन व्यवसायको चर्तिकला काठमाडौँको भन्दा चर्को। माओको देशमा मदिरा र यौन यति खुल्ला भइसक्यो होला भन्ने लागेको थिएन।

युवा पुस्ताले राजनीतिकतिर नसोचुन् बरु मस्ती गरुन् भनेर मनोरञ्जनलाई चीन सरकारले खुकुलो बनाउँदै लगेको छ भन्ने सुनिन्थ्यो। केरुङका दृश्य हो रैछ भन्ने बनायो।

OOO

एकै पटक काठमाडौँ आइपुग्ने कार्य तालिका भएकाले बिहानै सबै तयार भए। निन्द्रा पुगेको थिएन। अर्थ निन्द्रामै उठेर बसतिर लागियो। तिब्बतको अध्यागमनमा सिस्टम नबिग्रोस् है भन्दै आइयो। तीन घण्टामा नाकामा आइपुगियो। जाँदाजस्तो सास्ती भएन फर्कँदा। सहजै फर्किन सकियो।

नेपाली भन्सारमा के गर्ने रहेछन् चासो थियो। सुन भित्रिने नाका पो हो त! राम्रै चेकजाँच होला भन्ने लागेको थियो। तर हुने रहेनछ। परम्परागत शैलीमा छामछाम-छुमछुम पारेर पठाए। जाँच गर्ने मेसिन त थियो तर थन्किएको थियो।

अध्यागमनमा रहेको मेसिन।हामी बाहिर निस्कँदा केही युवतीहरू आउँदै थिए, केही जाँदै थिए। भन्सारबाट बाहिर लगत्तै त्यहाँ खटिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक भेटिए। चिया पिउँदै केरुङतिर गइरहेका युवती देखाउँदै सोधे’ उनीहरू केरुङमा के गर्न जान्छन् सोध्नुहुन्न?

उनले सहजै उत्तर दिए'खै माथि के-के गर्छन् रे भन्ने त सुनिन्छ। तर गइहाल्छन्, सोधेर मात्र के गर्नु।'

कैलाश-मानसरोवर यात्रा

५ पुस, २०८०, १६:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।