कैलाश मानसरोवर यात्रा- ४ : नक्सामा अर्काको देश भए पनि केरुङमा चल्न त नेपालीकै चल्छ है!

कैलाश मानसरोवर यात्रा- ४ : नक्सामा अर्काको देश भए पनि केरुङमा चल्न त नेपालीकै चल्छ है!

रसुवागढीमा रोकिएका टोलीका बाँकी सदस्यहरू बेलुकातिर केरुङको होटलमा आइपुगे। फुङ्ग उडेको अनुहारले देखाइरहेको थियो कति सास्ती पाए तिब्बतमा प्रवेश पाउन भन्ने। पाउनसम्म दु:ख पाएछन्।

बिहानै चिनियाँ अध्यागमनको काम सक्काएर केरुङ आउन भनेर बिहानै पुलमा आएर बसेछन्। तर, बिहान पनि उही सिस्टम चलेन भनेर दिनभर पुलमै घाममा टट्याएर राखेछन्। उता चीनको १० बजेदेखि १२ बजेसम्म उनीहरूको लन्च टाइम।

थकित तिर्थयात्री। केरुङ पुगिहालिन्छ भनेर पुलमा आएर बसेका टोलीका सदस्य नेपालतिरको होटल पनि जान सकेनन्। होटलबाट प्याकिङ खाना ल्याएर त्यही पुलमा राखेर खुवाएछन्। टन्टलापुर घाम अनि हावा त्यस्तै चल्ने। सबैजनाको लक्ष्य मानवसरोवरमा डुबुल्की मारेर कैलाश पर्वतको दर्शन गर्ने त थियो। यस्तोमा पनि यति साह्रो दु:ख दिनेले लुसुलुसु सुन चैँ कसरी नेपालतिर आउन दिने रहेछ?

अहो गुम्बाभित्रै जुत्तै लगाएर परिक्रमा! बल्ल बुझियो हामीले मोजा लगाएर घुमेको हैन कि जुत्ता फुकालेर घुमेकोमा गुम्बाका केहीले त्यसरी हेरेका रहेछन्।

धेरै कुरा कोट्याउँदा घाउमा नुनचुक लगाए जस्तै हुने भयो। अरु सोधिएन। होटलको कोठामा गएर केही समय आराम गर्न पठायौँ। केरुङ बजार गजब छ घुमौला है भनेर हौस्यौँ।

अँ एउटा प्रसङ्ग त बिर्सिएछ। रमाइलै छ त्यो पनि। त्यही नेपाली शिखर शैलीको गुम्बाको प्रसङ्ग हो।

पहिलो दिन केरुङ आइपुग्दा गुम्बाको ढोका बन्द भइसकेकाले भोलिपल्ट बिहानै त्यता लागेका थियौँ। भित्र छिर्न पाउने हो या हैन थाहा भएन। लफडा गरिहाल्नु भन्दा गुम्बा चक्कर लगाउँदै फोटो खिच्न थाल्यौँ। गुम्बाको ढोकैनिर उभिएर फोटो खिच्न थालेपछि एकजना स्थानीयले हातले इशारा गर्दै ‘भित्रै जाउँ न’ भने।

‘ए जान पाइने रहेछ’ भनेर जुत्ता चप्पल बाहिर फुकालेर भित्र गयौँ। भब्य रहेछ गुम्बा। लाइनै बसेका आनिहरू मन्त्रोच्चारण गरिरहेका थिए। वास्नादार धुप। भित्र गएर परिक्रमा गरिरहेको बेलामा केहीले हाम्रो खुट्टातिर हेरिरहेका थिए।

मोजा फुकालेका थिएनौँ।

‘ए मोजा लगाउन नपाउने पो रैछ कि क्या हो’ जस्तो लाग्यो। झट्ट अगाडि भएको एकजना तिब्बतीयनको खुट्टामा आँखा पुग्यो मेरो। उनले त जुत्तै पो लगाएर गुम्बाको भित्री भाग घुमिरहेका थिए।

अहो गुम्बाभित्रै जुत्तै लगाएर परिक्रमा! बल्ल बुझियो हामीले मोजा लगाएर घुमेको हैन कि जुत्ता फुकालेर घुमेकोमा गुम्बाका केहीले त्यसरी हेरेका रहेछन्।

अब नेपालमा मन्दिर होस् या गुम्बा होस् जुत्तै लगाएर मुलस्थान परिक्रमा गरेको अनुभव छैन। मन्दिर जाँदा होस् या गुम्बा जुत्ता त बाहिरै फुकालिन्छ। तर, त्यहाँ गुम्बाको मुलस्थानमा जाँदा पनि जुत्ता फुकाल्नु नपर्ने रहेछ।

गोजीमा बट्टा। कानमा एउटा चुरोट सिउरिने अधिकांशले। अनि हातमा एउटा सल्किरहेको हुने। हातमा रहेको सक्किएपछि कानको तानेर सल्काउने अनि बट्टाबाट निकालेर कानमा राखिहाल्ने। हम्मेसी नटुटाउने!

हामी भदौको तेस्रो साता पुगेका थियौँ। बेलुका हल्का चिसो पो हो कि जस्तो लागे पनि घाम लागेपछि दिउँसो त गर्मी नै भइरहेको थियो तल्लो केरुङमा। तर, मौसम कतिखेर बदलिने हो पत्तो नहुने ठाउँ हो नि! हिउँ पर्न थालेपछि चिसो बढ्ने नै भयो। त्यही चिसो मौसमका कारण हुनसक्छ गुम्बाभित्र दर्शन गर्न जाँदा पनि जुत्ता खोल्न नपर्ने नियम राखेको।

बाहिर एउटा ढोका। त्यसभित्र ठूलो स्थान। अनि त्यसभित्र निकै पुरानो अर्को ढोका। त्यो चैँ गुम्बाको मुल ढोका रहेछ। त्यहाँभित्र प्रवेश गरेपछि विभिन्न रिम्पुचे अनि बुद्धका अनेक अवतारका मूर्तिहरू। सबै मूर्तिमा तिब्बितय अनि अंग्रेजी भाषामा नाम लेखिएको थियो।

भित्र फोटो नखिच भन्ने संकेत थियो। खिचिएन। घुम्न भने मजाले घुमियो। यसो ढोकानिर आइपुगेको त भित्र उभिएर मज्जाले फोटो खिचिरहेकै छन् त! कसैले रोकेको पनि छैन। ट्राइ गरौँ न त भनेर फोटो खिच्न थालियो। कसैले रोकतोक गरेनन्। खिच्न पाइने भए त्यो फोटो नखिचौँ भन्ने बोर्ड चैँ किन राखेको होला!

कति चुरोट तान्न सकेका होलान्!
चिनियाँ नागरिकको मदिरापानको स्वभावबारे यतै नेपालमै बुझिसकेको थिएँ। ठमेलतिर एक चिनियाँ टोलीसँगको भेटमा उनीहरूको मदिरापानको स्वभाव देख्दा आत्तिएको थिएँ। बियरदेखि ह्विस्कीसम्म सानो आकारको गिलासमा राख्ने। हरेक पटक पिउँदा सबैले चियर्स गर्नैपर्ने। एक जनाको गिलासमा बाँकी भएसम्म कसैले थपेर नखाने। सबैको गिलास रित्तिएपछि एकैपटक भर्ने अनि चियर्स भन्दै एकै पटक पिउनुपर्ने।

केरुङमा पुगेर उनीहरूको चुरोटको बानी देखेर त्यस्तै छक्क परेँ। पसल छिर्दा भित्रै बुङबुङ चुरोट उडाइरहेका हुने। के बाटो अनि के रेष्टुरेन्ट हातमा चुरोट सल्काएर नहिँडेको चिनियाँ देख्नै मुस्किल। बसमा समेत चालकले बुङबुङ चुरोट तान्ने रहेछन्। हाम्रो टोलीकाले ‘नो सिगरेट’ भनेपछि चालकले मुख बिगार्दै फ्याँकेका थिए।

गोजीमा बट्टा। कानमा एउटा चुरोट सिउरिने अधिकांशले। अनि हातमा एउटा सल्किरहेको हुने। हातमा रहेको सक्किएपछि कानको तानेर सल्काउने अनि बट्टाबाट निकालेर कानमा राखिहाल्ने। हम्मेसी नटुटाउने!

खतरनाक चुरोटे हुने रैछन् नि! उनीहरूको चुरोट पिउने बानी कतिसम्म रहेछ भन्ने गुम्बाभित्रको सूचनाले पनि देखाउँथ्यो। फोटो नखिच भन्ने संकेतको बोर्ड बाहिर थियो, नो स्मोकिङको साइन चैँ भित्र प्रार्थना गर्ने मूल हलमै थियो। यता नेपालको गुम्बा होस् या मन्दीर नो स्मोकिङको बोर्ड त हुन्न नि! त्यता देख्दा अनौठो लाग्ने नै भयो।

यस्तै एक प्रशंग छ बोर्डको। यो चैँ लाइबेरियाको। संयुक्त राष्ट्र संघीय शान्ति मिसनको अनुगमनका लागि सशस्त्र प्रहरी बलको लाइबेरियामा रहेको बेसमा पुग्दा घुम्नेक्रममा त्यहाँको समुन्द्रीकिनार पुगिने नै भइयो।

एक होटलहुँदै समुन्द्री किनारमा पुग्दा त्यहाँ राखिएको टेबलमा अनौठो बोर्ड देखेको थिएँ। त्यसमा लेखिएको थियो' टेबलमा  सेक्स नगर्नु होला।'

जहाँ जे नियम उलंघन गर्ने जोखिम हुन्छ त्यही बोर्ड राख्ने त हो। नेपालमा जथाभावी फोहोर नफाल्नु होला भनेर बोर्ड राखे जस्तै केरुङमा गुम्बाभित्रै चुरोट तान्दिने रहेछन्। अनि लाइबेरियामा समुन्द्री किनारमा राखेको टेबलमै रासलिला गर्ने रहेछन्।

सबैभन्दा ठूलो पसलदेखि होटलसम्म, खाजाघरदेखि डान्स र क्याबिनसम्म, होटलदेखि निर्माणको कामदारसम्म नेपाली नै नेपाली। बाटोमा हिँड्दा झुक्किएर ठोक्किदा नेपालीसँगै ठोक्किने सम्भावना ९५%।

विद्युतीय सवारी, मोटरसाइकल चैँ चोरीको

केरुङमा कसले कस्तो सवारी चढ्छ त्यसको आधारमा आर्थिक हैसियत खुट्याउने रहेछन्। अटो रिक्सा टाइपको साना डेलिभरी भ्यान, स्कुटी, फाट्टफुट्ट मोटरसाइकल। नभए जताततै गाडी।

सार्वजनिक सवारी साधन देखिएन। वा ठम्याउन सकिएन। दुई पाङग्रे होस् या चार पाङग्रे सवारीसाधन सबै विद्युतीय सवारीसाधन। अधिकांश सवारीसाधन चीनमै बनेकाहरू थिए। रङ चैँ निक्कै मिठो छान्ने रहेछन् है। केही विदेशमा बनेका टक्सन लगायतका गाडी पनि नदेखिएको हैन। तर दुर्लभ थिए ती।

फाट्टफुट्ट हिरोहोण्डा अनि पल्सर मोटरसाइकल पनि देखियो। चिनिया ब्रान्डको मोटरसाइकल चैँ देखिएन है। सवारी साधनको शोरुममा जाँदा हिरोहोण्डा या पल्सर बाइक बेच्न राखेको देखिएन। फेरि त्यसमा चिनको नम्बर प्लेट पनि थिएन। यसको रहस्य पनि खुल्यो ती त नेपालको मोटरसाइकल रहेछन्।

पहिला रसुवावासीलाई केरुङसम्म मोटरसाइकलमै जान दिने रहेछन्। त्यहाँ मोटरसाइकलको ठुलै क्रेज रहेछ। ब्लु बुक राखेर मोटरसाइकल सहरसम्म जाने दिने। टन्नै नेपाली मोटरसाइकलमा पुगेका पनि रहेछन्। यताबाट बाइक लिएर जाने तर फर्कँदा बिग्रियो भन्दै छाडेर आउने। तर मोटरसाइकल बिग्रिएको नभई बेच्ने रहेछन्। स्थानीय प्रहरीले त्यो चाल पाएपछि अहिले नेपाली मोटरसाइकल लैजान रोकेको रहेछ। जति मोटरसाइकल देखियो त्यो पहिला नै गएका नेपालीले बेचेर फर्किएको रहेछ।

सडक किनारामा रोकेको सवारीको कारबाहीको डिजिटल रेकर्ड राख्दै ट्राफिक प्रहरी।सडक किनारमा सवारी रोक्ने रोग त्यहाँ पनि देखियो। कतै कतै ट्राफिक प्रहरी जथाभाबी सवारीसाधन पार्क गर्नेहरूको जरिवानाको डिजिटल रेकर्ड राख्न व्यस्त पनि देखिए। तर कुनै चोकमा पनि सिट्ठी फुक्दै बसेको ट्राफिक भने देखिएन है!

सडक सफाइका कामदार दिनभर व्यस्त हुने रहेछन्। कतै सडकमा केही फोहोर देख्यो कि टिपिहाल्ने। जथाभाबी फोहोर नफालौँ भन्ने बोर्ड कतै देखिएन। अनि फोहोर राख्ने भाँडो पनि देखिएन सडकमा। सडकमा उत्पादन हुने सबैभन्दा धेरै फोहोर  नै चुरोटको ठुटो हुने रहेछ।

जता ठोक्कियो उतै नेपाली

दुई दिन भइसकेको थियो केरुङमा हल्लिएको। तै पनि बल्ल आइपुगेका टोलीका सदस्यलाई त के-के न होला भन्ने लाग्छ नि! अहो हामीभन्दा पहिला आउनेले त कहाँ-कहाँ घुमिसके होलान् भन्ने लाग्नु स्वभाविकै पनि हो।

दोस्रो दिन आएका सदस्यहरू लिएर बजार घुमाउन निस्किए एक टोली। म भनेर आत्रेय भाइ खोज्न थालेँ। अघिल्लो दिन आफ्नो टिमबाट केरुङ आइपुग्ने एक्लो सदस्य भएको सदुपयोग गर्दै केरुङमा रहेका नेपाली समुदायका सदस्यहरूसँग बाक्लो हिमचिम भएको संकेत पाइसकेको थिए।

उनले बनाएको सम्बन्धको हल्का सदुपयोग गर्ने योजना थियो मेरो। उनीहरूसँग भेटेर केरुङका नेपालीहरूबारे कुराकानी गर्न मन थियो। यताउता घुम्दाघुम्दै भेटिइहाले भाइ। अनि उनलाई लिएर हिँडियो। कपडा पसलमा काम गर्ने नेपालीदेखि सशस्त्र प्रहरीको जागिर १४ वर्षमै हापेर केरुङमा खाजा घर चलाएका नेपालीसम्म भेटिए।

उनीहरूसँगको कुराकानी अनि दुई दिनको केरुङ बसाइबाट थाहा भयो नक्सा त चीनमै पर्छ। भिसा लगाएर आउन पनि यति धेरै सास्ती छ। तर, केरुङमा रजगज चैँ नेपालीकै रैछ है!

सबैभन्दा ठूलो पसलदेखि होटलसम्म, खाजाघरदेखि डान्स र क्याबिनसम्म, होटलदेखि निर्माणको कामदारसम्म नेपाली नै नेपाली। बाटोमा हिँड्दा झुक्किएर ठोक्किदा नेपालीसँगै ठोक्किने सम्भावना ९५%।

त्यसैले त सशस्त्र प्रहरीको जागिर छाडेर केरुङ आइपुगेका चितवनका ती दाइ भन्दै थे, ‘नक्सामा अर्काको देश भए पनि केरुङमा चल्न त नेपालीकै चल्छ है।’

हो रैछ पनि।

कैलाश-मानसरोवर यात्रा

४ असोज, २०८०, १९:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।