कैलाश- मानसरोवर यात्रा- २ : केरुङमा शिखर शैलीको गुम्बा देख्दा मनै फुरुङ तर तिब्बतीयनको न भेसभुसा न संस्कृति

कैलाश- मानसरोवर यात्रा- २ : केरुङमा शिखर शैलीको गुम्बा देख्दा मनै फुरुङ तर तिब्बतीयनको न भेसभुसा न संस्कृति

आफूसँग गएकाहरूलाई चिनिया अध्यागमनले 'सिस्टम बिग्रियो' भन्दै आफ्ना समूहका अधिकांशलाई नेपालतिरै फर्काएपछि अब के गर्ने भनेर वाल्ल पर्नु स्वाभाविकै थियो। हामीसँग तीन समूह थियो। पहिलो गुरु समूह,दोस्रो माता समूह अनि तेस्रो पनौती समूह। तीन समूहमध्ये गुरु समूहका अधिकांश तिब्बत छिरेका थिए। माता समूहको जम्मा एक जना।

तिब्बत प्रवेश गराउनेसम्मको मुख्य जिम्मा नेपाली ट्राभल्स नमस्ते होलिडेको थियो। किचेन टिम अनि तिब्बती भाषा बुझ्ने केही सहयोगी बाहेक अब सबै जिम्मा तिब्बती ट्राभल्स अनि गाइडको हुने रहेछ। तिब्बत प्रवेश गरेसँगै नेपाली ट्राभल्सका जनशक्तिको काम सहयोगीको मात्र। नेतृत्व उनीहरूकै।

सबै जनालाई केरुङ पुर्याउन तीन वटा बस तयारी अवस्थामा थियो। तर जानेहरू एक बस पनि नभरिने। अब के गर्ने भन्ने अन्योलकैविचमा' जाऊँ जाऊँ' भन्दै तिब्बती गाइड आइपुगे। उनले सबैलाई एक बसतिर लगे। सबै जना वाल्ल पर्दै बसमा चढेँ।

रसुवागढिको चिनिया अध्यागमन पार गरेर लगत्तै देखिएको झरना।तिब्बतिरकै अध्यागमन वरपर पनि पसलहरू थिए। गेस्ट हाउस त त्यहाँ पनि थियो होला। यतै राखेर भोलिपल्ट सँगै केरुङ लैजाला भनेको अधुरो टिम बोकेर केरुङ जाने भए उनीहरू।

एक सय ६५ मिटरको उचाइबाट २ हजार नौ सय मिटरमा रहेछ केरुङ। यात्रा २४ किलोमिटरको। समय जम्मा ३ घण्टा।

निर्देशन अनुसार सबै जना बसमा चढ्यौँ। बस स्टार्ट भएर दुई सय मिटर पर पुगे लगत्तै घच्याक्क रोकियो। गाइड' तल तल' भन्दै आए। सबैलाई हातमा पासपोर्ट लिन लगाएर लाइनमा बसाले। अध्यागमन पार गरेर पार्किङ बाहिर निस्कन पनि रेकर्ड राख्नुपर्ने रहेछ।

'अब यहाँ पनि दुख दिने होला' भन्दै लाइनमा बस्यौँ। काम फटाफट भयो। यसो पासपोर्टको डिटेल हेर्ने अनि जसले पासपोर्ट दिएको हो उसको अनुहार हेर्ने मात्र काम रहेछ। अध्यागमनबाट पार गरेर आएको समूहसँग अनधिकृत व्यक्ति माथि केरुङ नजाउन् भनेर यसो गरिएको रहेछ।

हामीसँग पुरै तिब्बतीय नागरिक थिए। उनीहरूले जे भन्यो त्यही मानिरहेकै थियौँ। तर चिनिया सुरक्षाकर्मीले तिब्बतीयहरूलाई पनि त्यति विश्वास गरेको देखिएन।

रसुवागढीबाट केरुङ जाने सडक जहाँ न्युनतम गति ७० किलोमिटर प्रतिघण्टा देखिएको थियो।दोस्रो चेकिङ पार गरेपछि बस आफ्नो गतिमा हुइँकिन थाल्यो। फोटो लिन सजिलो हुन्छ भनेर चालकको सिट नजिकै बसेको थिएँ। यसो स्पिड हेरेको ७०-८० जति थियो। सडक निकै व्यवस्थित। अनि सडकको दायाँबायाँ ट्राफिक चिन्हहरू पनि उस्तै। हरेक ट्राफिक चिन्हमाथि सानो सोलार प्यानल अनि तल सानो बक्सा। त्यो बक्सा ब्याट्रीको थियो। बसमा सवार हामीमा त्यति उत्साह थिएन। एकै समूहमा आएकालाई पनि किन यस्तो गरेको है भन्ने नै थियो छलफलको विषय।

OOO

घुम्तीको बाटो। तर निकै व्यवस्थित। सडकको गुणस्तर राम्रो थियो। 'डान्सिङ बस' को यात्रा मिस भयो। उकालोमा पनि गाडीको स्पिड ७० किलोमिटर प्रतिघण्टा भन्दा तल आएको देखिन मैले।

झ्यालमा बसे पनि तस्बिर खिच्न भने बढो सकस हुने। एक त स्पिड त्यसमा पनि मोसनको तस्बिर खिच्ने सिपको अभाव। जस्तो त आउला भन्दै भ्याएसम्म खिचिरहेँ।

केही माथि पुगेपछि फेरि 'चलो चलो' भन्दै बसबाट ओराले। इसाराले हातमा पासपोर्ट बोक्न भने। उसैगरी लाइन सुरु भयो। सबैको पासपोर्टको तस्बिर अनि अनुहार हेर्दै पठाउँदै गरे चेकपोस्टमा रहेका सुरक्षाकर्मीले। त्यो चेकपोस्टमा रहेका सुरक्षाकर्मी भने तिब्बती थिए।

आधा घण्टाको यात्रामा केरुङ बजार आइपुगियो। वरिपरि डाँडाको बिचमा समथर जग्गामा बसेको रहेछ शहर। शहरको स्वरूप तस्बिरमा देखिने परम्परागत तिब्बती शैली हैन आधुनिक शहरको संरचना थियो। बस सिधै हामीहरू बस्ने होटेल अगाडि गएर रोकियो। ह्यान्डक्यारीसँगै कोठाको चाबी लिएर कोठातिर लागियो।

एउटा कोठामा दुई जना सुत्न अलग-अलग खाट। अट्याच बाथरुम। पानी तताउने किल्टीदेखि ग्रिनटीसम्म सबै कोठामा राखिएको थियो। वाइफाइ पासवर्ड सबै कोठामा लेखेर राखिएको। इन्टरनेट सुविधा भए पनि नेपालमा चलाउने बानी लागेका फेसबुक अनि ट्विटर लगायतका सञ्जाल लगायतकाहरु नचल्ने।

त्यसको विकल्पमा अधिकांशको मोबाइलमा भिपिएन थियो नै। भिपिएन नराखेकाहरू जोसँग छ उनीहरूबाट ब्लुटुथबाट सार्नतिर लागे। इन्टरनेट स्पिड ठिकै रहेछ। विना अवरोध सबै एपहरू गुटुङटुङ चल्न थाले।

कोठामा जानु अगाडि नै तिब्बतीयन गाइडले'पासपोर्ट' भन्दै सबैको पासपोर्ट सङ्कलन गरेका थिए। किन चाहियो पासपोर्ट भनेर सोध्दा 'हराउँछ' भने। समूह भिसामा आएको। एक जनाको मात्र पासपोर्ट हरायो भने पनि समूहले नै दुख पाउँछ भनेका थिए नेपाली गाइडले नै। होला नि त भनेर सबैले आ-आफ्नो पासपोर्ट दिए। कोठामा लगेज आएसँगै फ्रेस भएर आ-आफ्नो समूह बनाएर बजार निस्कियौँ।

केरुङको मुख्य बजार।होलटबाट निस्कँदा हिन्दी गीत घन्किएको सुनियो। ठ्याक्कै अगाडिको तिब्बतीयन सामानहरू राखिएको पसल बाहिर स्पिकरै राखेर हिन्दी सिनेमाका गीत घन्काइएको थियो। यसले केरुङमा भारतीय तीर्थयात्रीको प्रभाव देखियो नै।

नजिकै बडेमानको बिल्डिङ थियो जहाँ चिन अग्रिकल्चर बैङ्क लेखिएको थियो। यसो नियाल्दै हिँडेको गुम्बा देखियो नेपाली शिखर शैलीको। केरुङमा नेपाली शिखर शैलीको गुम्बा देख्दा पनि मन फुरुङ हुने रहेछ। पैताला त्यही गुम्बा भएतिर लम्किने नै भयो। ठुलो खुल्ला स्थानको छेउमा थियो गुम्बा। खुल्लास्थानका कोही बास्केटबल खेलिरहेका त कोही बालबालिकालाई डुलाइरहेका। कोही आँखा चिम्म गरेर हातमा माला जम्दै बसेका।

गुम्बाको गेटमै पुग्दा ढोका बन्द थियो। बेलुका आठ बजेपछि गुम्बाको ढोका बन्द हुने रहेछ। गुम्बाको ढोकामाथि राखेको बोर्डमा भने तिब्बतियनसँगै अङ्ग्रेजी भाषामा समेत नाम लेखिएको थियो'पाक्पा मनिस्ट्री।'

बजारमा यताउता नजर घुमाउँदै जाँदा त नेपाली अक्षरका बोर्डहरू पनि देखिन थाले। चोकैमा देखियो'नेपाल फ्रेण्डसिप स्टोर।' फोटो नखिच्ने कुरै भएन।

केरुङ त उहिलेदेखि सुनिएको तिब्बतीयन शहर। यता-उता जता हेरे पनि नयाँ भवन मात्रै।तर त्यहाँ पुराना भवनको कुनै सङ्केत समेत थिएन। जताततै नयाँ भवन। बाहिरको संरचनामा तिब्बतीयन लुक्स दिने प्रयास गरे पनि अधिकांश घर ब्लकले बनेका थिए।

पहिला यो बजारमा झुपडीकै बाहुल्यता रहेछ। कायापलट फेरिएको पाँच वर्ष मात्रै भएछ। कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै अन्यत्र जस्तै केरुङमा लकडाउन भयो। यही लकडाउनको बेलामा चीन सरकारले यहाँ भने निर्माणको कामलाई गति दिएर आधुनिक शहर बनायो।

यहाँ यतैका स्थानीय मात्रै हैन भूकम्पसँगै सिन्धुपाल्चोक पारी खासा क्षेत्रका स्थानीय उठाएर केहीलाई यहाँ ल्याएर स्थापित गरिएको खुल्यो। बजारमा घर बनाउन ५० % सरकारले सहयोग गर्ने। बाँकी रकम जसले घर बनाउन चाहेको हो उसले लगानी गर्नुपर्ने। तर सम्पत्ति सरकारकै नाममा रहने।

स्थानीयको आवतजावत निकै पातलिइसकेको थियो। बजारमा ठोक्किनेहरू प्राय कैलाश हिँडेका नेपालीहरू नै धेरै। यसो पसलमा हेर्दा पनि मस्तिष्कमा तिब्बतीयनहरुको जुन रुपरंग बसेको थियो त्यस्ता स्थानीय देखिएनन्। होटेलदेखि पसलसम्म अधिकांश चिनिया हाउभाउकै।

हामीलाई जहाँ बास बस्न राखिएको थियो त्यो रहेछ तल्लो केरुङ। आँखाले जुन दृश्य खोजिरहेको थियो त्यो माथिल्लो केरुङमा मात्र सम्भव रहेछ।

बजार जता हेरे पनि उस्तै। कतै ठमेलको झल्को आउने त कतै दरबारमार्गको। नेपाली बोर्डहरू पनि प्रशस्तै। बरालिदा बरालिदा पैताला थाकिसकेको थियो।

तल्लो केरुङमा रहेको नेपाल फ्रेण्डसिप पसल। होटलदेखि बजारसम्म अधिकांश कामदार नेपाली छन्।अर्को समूह रसुवागढीबाट कतिखेर केरुङ आइपुग्ने एकिन थिएन। सायद दोस्रो रात पनि यतै हुने त होला ! 

'भोली माथिल्लो केरुङ जानुपर्ला' भन्दै होटेल फर्किए।

कैलाश-मानसरोवर यात्रा

३१ भदौ, २०८०, १९:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।