कैलाश-मानसरोवर यात्रा-५ : जता हेर्‍यो त्यतै तारको लट्ठा र पोलको भिड, हेर्दै झ्याउँलाग्दो दृश्य प्रदूषण

कैलाश-मानसरोवर यात्रा-५ : जता हेर्‍यो त्यतै तारको लट्ठा र पोलको भिड, हेर्दै झ्याउँलाग्दो दृश्य प्रदूषण

दुई रातको केरुङ बसाइपछि गन्तव्य थियो साँगा। केरुङ जम्मा २ हजार नौ सय मिटर अग्लो। चौथो दिनको बसाई हुने साँगाको उचाइ ४ हजार पाँच सय मिटर। तर बिचमा ५ हजार २ सय २६ मिटर अग्लो घुन्टाला पास गर्नुपर्ने।

केरुङ र साँगाको दुरी एक सय ६० किलोमिटर। अनि बस यात्राको अवधि चार घण्टा।

बिहानै केरुङकै होटेलमा रोटी, दूध र क्रनफ्लेक्ससहितको ब्रेकफास्टपछि यात्रा सुरु भयो। माथिल्लो केरुङहुँदै साँगा जाने रहेछ। त्यति बाक्लो पनि हैन अनि त्यति पातलो पनि हैन। ठिकठिकै जङ्गलको बिचबाट सलल कालोपत्रे भएको सडकमा बस चल्न सुरु भयो।

दुई रात केरुङमा थन्किदा दिक्किएको मन हल्का फ्रेस हुने नै भयो। क्यामरा बोकेको फाइदा के भने सकेसम्म सहजै दृश्य देखिने सिट रोज्न पाइने। 'अन्त बसे पनि हुन्थ्यो के गर्नु फोटो खिच्नु पर्नेछ' भनेपछि नाइनास्ती नहुने।

रोजेकै स्थान पाइयो पनि।

सडक किनारमा राताम्मे बोटहरू देखियो। बजारमा सुकाएको टिम्मुर र उसको आकार प्रकार एकै थियो। बास्ना हरर टिम्मुरै आइरहेकाले ती रातागेडीहरु टिम्मुर हो भनेर पहिल्याउन समय लागेन। तर टिप्न नपाइने रहेछ।

पुरानो केरुङ बस्ती आउन १५ मिनेट जतिको समय लाग्यो। बल्ल परम्परागत आकार प्रकारका घरहरू देखिनथाले। तर अधिकांश घरहरू भत्काएर नयाँ आकार-प्रकारको बन्दै रहेछन्।

नेपाली रेष्टुरेन्टहरुको बोर्ड पनि देखिथाल्यो। तर तल्लो केरुङमा जस्तो चहलपहल थिएन माथिल्लो केरुङ बजारमा। सुनसान थियो। तल्लो केरुङ भन्दा माथिल्लो केरुङका सडकमा बक्खु लगाएका स्थानीहरू धेरै देखिए। हातमा माला त हुने नै भयो।

एक सहरबाट अर्को सहर प्रवेश गर्ने नाकामा प्रहरी चेकपोस्ट अनिवार्य नै रहेछ।

माथिल्लो केरुङ छिर्दा अनि बाहिरिँदा चेकिङ अनिवार्य। तर दुवै चेकपोस्टमा यात्रु ओर्लिनु परेन। बसकै सहयोगीले गएर लिस्ट बुझाएर अनुमति पाइयो।

सडकको किनारामा रहेका साना साना घरहरू हेर्दै यात्रा अगाडि बढ्यो। केरुङ बुझ्न बस्नुपर्ने माथिल्लो केरुङमा रहेछ। तर होटलका कारण तलै राख्ने रहेछन्।

तल्लो केरुङका घरहरूमा चीनको झन्डा त्यति देखिएको थिएन। नभएको हैन तर घरैपिच्छे अनिवार्य झैँ देखिएन। माथिल्लो केरुङका घरहरूमा चीनको राष्ट्रिय झन्डा अनिवार्य समान रहेछ। सानो झुपडी होस् या ठुलो बिल्डिङ चिनको राष्ट्रिय झन्डा अनिवार्य झैँ।

आधा घण्टाको समयपछि ' ट्वान्टी मिनेट वन्ली' भन्दै बस रोकियो। बस भित्रैबाट पानिको आवाज सुनियो। यो चैँ भाइरल झरना भएको ठाउँ।

कैलाश अनि मानसरोवर पुगेर फर्किएका अनि जान हिँडेका दुवै समूहको जम्काभेट भयो त्यहाँ। भिड बाक्लै थियो।

सडकको किनारैबाट बढो मनमोहक देखियो झरना। झरनाको किनारासम्म पुग्न मज्जाको काठको संरचना बनाएको।

हावाले पानी उडाएर ल्याउँदा कपडा भने मज्जैले भिज्ने रहेछ। पानी त्यति चिसो भने हैन।

अब कोही टिकटक बनाउनतिर लागे। कोही सेल्फी त कोही समूहमा तस्बिर खिच्न थाले। एक जनाले तस्बिर खिच्दा बिचमा हिँडेर अवरोध गर्नेहरू पनि उत्तिकै।

पहिला त यात्रा अनुभवमा प्रयोग गर्न चाहिने तस्बिरहरू खिच्नुपर्यो। त्यतैतिर लागियो। केहीले डिएसएलआरबाट तस्बिर खिचाउने रहर गरे। खिच्नैपर्यो।

क्यामरा बोक्नुको बेफाइदा आफ्नै तस्बिर भने नहुने। सबैमा क्यामरा चलाउने सिप नहुने। जत्रो क्यामरा बोके पनि आफ्नो तस्बिर खिच्ने बेलामा उही मोबाइलै त हो।

आफ्नो तस्बिर खिच्न पाएकै छैन'छिटो छिटो, चिसो लाग्छ' भन्न थाले गाइडहरू। हतार हतार श्रीमतीलाई लिएर झरनाको मुहानतिर उक्लिएँ। खचाखच केही तस्बिर खिचेपछि हल्का टिकटकका लागि पनि जुगाड गरौँ न भनेर एक दुई भिडियो खिचियो।

बसमा फर्कँदा सबै हामीलाई कुरिरहेका।

दोहोरो तस्बिर खिच्दा प्राय सबैभन्दा ढिला मैँ हुने यात्रामा। केहीले' तिम्रो बुढाले सधैँ ढिला गर्छन्' भनेर कम्प्लेन हान्न भ्याइसकेका थिए। भने भनुन्। दोहोर्याएर आउने ठाउँ हैन क्यार। फोटो त खिच्नु पर्यो नि।

बसमा चढेपछि थाहा भयो टोपीदेखि ज्याकेटसम्म निथ्रुक्कै भिजेको रहेछ। अब बस रोकिने भनेको चालकलाई निकोटिनको तलतल लागे मात्र हो।

बस आफ्नै गतिमा गुडिरहेको थियो। झ्याल बाहिर राम्रै दृश्यहरू देखिए। तर अवरोधक टन्नै। काठमाडौँमा जस्तै जताततै बिजुलीका पोल अनि तुन्द्रुङ तार। सडकको दायाँ अनि बायाँ दुबैतिर साना अनि ठुला लहरै पोलहरू ठडिएका थिए।

साना पोलमा कालो तार तानिएको थियो। ठुलो पोल चैँ ट्रान्समिसन लाइन आकारको थियो।

दायाँबायाँ राम्रा ल्यान्डस्केपहरु देखिए पनि अवरोध गरिरहे पोल र तारले। चीनले तिब्बतमा गरेको विकासका सूचक थिए पोल र तार। तर त्यति मनोरम स्थानमा त्यसले टन्न दृश्य प्रदूषण बढाउने काम गरेका थिए।

लक्ष्य मानसरोवर र कैलाश भए पनि यात्रामा दृष्यको नि महत्व हुन्छ नि। वातावरण संरक्षणमा त्यति सचेत लागेेेन चिन।

पक्कै पनि त्यहाँ कोही बिजुलीको पोल हेर्न त जाँदै न नि! विकासको नकारात्मक पक्ष भनौँ अब यसलाई।

फ्युल सेन्टरमा गएर बस रोकियो। 'ट्वाइलेट' भनेर सङ्केत गरे गाइडले। एकै पटक गुरुरु सबै सार्वजनिक शौचालयतिर लाग्दा प्याक हुने नै भयो। यसो कुनातिर पस्ने सुविधा पनि रहेछ।

त्यहीँ रहेछ गोल्डेन याक स्मारक। स्मारकको बिचमा गोल्डेन कलरको याकको मूर्ति थियो। जसले याक छोएर आफ्नो मनको कामना भन्छ उसको पुरा हुन्छ भन्ने जनविश्वास रहेछ। याक छोएर मनको कामना भन्नेभन्दा टिकटक बनाउनेको सङ्ख्या धेरै देखियो।

त्यस्तै १५ मिनेटको विश्रामपछि बस गुड्यो। तेस्रो भूभाग छाडेर बिस्तारै बस उकालो लाग्न थाल्यो। ठ्याक्कै बाइरोडको बाटोको शैली। घुमाउरो।

घुमाउँदै घुमाउँदै टुप्पोमा पुर्याउने। दुई लेनको सडक कतै पनि घच्याकघुचुक गरेन। बाटो व्यवस्थित रहेछ। डाँडातिर लेन्स तेर्स्याएर फोटो खिच्दा ल्याण्डस्केप कम लट्ठा र पोल बढी आउन थाले। झ्याउँलाग्दो।

अलिअलि सास फेर्न गाह्रो भएको हो कि जस्तो नलागेको पनि हैन। झ्याल खोल्दा आएको हावाको तीव्र गतिले हो कि भनेर झ्यालको सिसा बन्द गरेको डम्म भयो फेरि।

बस टुप्पामा पुग्यो।' घुन्टाला पास' भने तिब्बती गाइडले। कसैले बस रोकौँ न पनि भनेनन् बस पनि रोकिएन। सबलाई साँँगा पुुग्ने हतार।

घुमाउरो ओरालो हुँदै बस तलतिर झर्यो। त्यस्तै १० मिनेटमा एक ताल नजिकैको सडकमा आएर बस रोकियो।

त्यो तालको किनार सेतै थियो। तिब्बती नाम पनि भनेका थिए। बिर्सिएँ। नेपाली नामकरण चैँ नुन ताल रहेछ।

नजिकै सार्वजनिक शौचालय। शौचालयको भवन ठिकै तर संरचना अव्यवहारिक। कता महिला अनि कता पुरुष नलेखिएको। भित्र पनि ह्वाङ्गै। मुख छोपेर बस्नुपर्ने।

पुरुष छिरेकातिर महिला अनि महिला छिरेकातिर पुरुष जाँदै फर्कँदै गरिरहेका थिए। शौचालय ढोका नभएको अनि निर्माण शैली खाल्डे शौचालयको।

भवनमा लगानी गरेर पनि भित्री संरचनामा चैँ किन अल्छी गरेको होला! अब अर्को कोणबाट हेेर्दा यति भए पनि गरेछन् है। नत्र झाँडी खोज्नपर्थ्यो।

चौथो दिनको खाना बिच बाटोमै। होटेल थिएन। पहिल्यै तयारी अवस्थामा प्याक गरेर ल्याएको खाना एक पार्क जस्तो ठाउँमा उभिएर खानुपर्ने रहेछ। पार्क पुगे लगत्तै सिमसिम पानी पर्यो।

बसमा राखेको दाल पनि घोप्टिएछ। अनि परिरहेको पानीमा रुझ्दै आकाशबाट आएको दालसँग मुछमाछ पारेर खाना खाइयो। भोक मिठो भनेको यही हो।

तल झर्दा पनि त्यहाँको उचाइ कमसेकम ४ हजार ५ सय मिटर त थियो। तर यति धेरै लामखुट्टे आएका कि कुरै नगरौँ। पानी पर्दा त्यस्तो चिसो भइरहेको छ। तर लामखुट्टेको बथान। हिमाली भेगमा त्यति धेरै लामखुट्टे पहिला देखेेको थिइन।

त्यहाँ पनि सार्वजनिक शौचालय थियो। तर संरचना उही पहिलाकै जस्तो। कतिखेर शौचालय सुनसान होला र जाउँला भनेर बस्नुपर्ने।

केही तीर्थयात्री अलि पर कुश भन्दै उखेल्न थाले। त्यही भिडमा हामीसँगै रहनुभएका सन्त पनि मिसिनुभयो। अब उहाँले पनि उखेलेपछि त कुशै त होला! हुलै पुुगेे।

लामखुट्टेले टिकीखान दिएन। बसभित्र गएँ। ए हो! बस भित्र पनि छपक्कै लामखुट्टे। बाहिर बरु टोकेको थिएन भित्र त यसरी टोक्यो कि!

दुई-चारवटा लामखुट्टेलाई सहिद बनाएको 'नमारौँ नमारौँ' भन्न थालिहाले। लामखुट्टे मार्दा पनि पाप लाग्छ भन्न थालेपछि छाडिदिए। तीर्थ हिँडेको भावनाको कमाल।

धन्न बस  गुडेपछि हावाको वेगसँगै लामखुट्टे सबै बाहिरिए।

यो बिचमा ब्रम्हपुत्र नदी पनि देखियो बाटोमा। तर बस नरोकिएकाले झ्यालबाटै दर्शन भयो ब्रम्हपुत्रको। नत्र जप, जल सङ्कलन भन्दाभन्दै २० मिनेट बितिजान्थ्यो।

त्यस्तै ४५ मिनेटको यात्रामा आधुनिक सहरभित्र गाडी प्रवेश गर्यो। साँगा यही होला त?

बस घ्याच्च रोकियो। गाइडले' झरौँ-आयो' भने। साँगा यही रहेछ।

होटल कोठाको चाबी लिएर झोला थन्काएपछि बाहिर निस्किएँ। कोठामा केे बस्नु।

आधुनिक भवनसँगै केही परम्परागत घरहरू पनि रहेछन्। केरुङभन्दा ठुुलो थियो साँगा। ब्यापारसँँगै जिवन्त सहर।

यहाँ चीनको राष्ट्रिय झन्डासँगै हसिया हथौडाको चिनिया लोगो समेत टन्नै देखिए। सडक किनाराको बत्तिको डिजाइनमा पनि हँसिया हथौडा राखिएको थियो। नयाँँ जोगीको खरानी घसाई।

दायाँ अनि बायाँ लखरलखर सहर घुम्यो। चिल्ला सडक अनि अग्ला भवन हेर्यो। तत्ककाल हेेर्नेे यहि नै रहेछ साँगामा।

केहीले केरुङमा भन्दा यहाँ सस्तो अनि राम्रो सामान पाइन्छ भनेपछि केही सपिङ गर्नतिर लागे। केही सडकमा हल्लिँदै हिँडे।

अहो भोलीको बास त मानसरोवरमा! यात्रा अवधि ८ घण्टा। पुग्ने चैँ ४ हजार पाँच सय मिटर उचाइबाट उत्तिकै उचाइमा।

होटेल फर्किदा सुपसँगै मकै भुटेको अनि दाल-भात-तरकारी र रोटी। होटलको कोठामा तातोपानीको प्रबन्ध थियो। तर नुहाउने कसले! शरीरको तापक्रम तलमाथि होला भनेर सकेसम्म ननुहाउन सल्लाह आएको थियो।

साँगाको होटेल रुममै अक्सिजन समेत राखिएको हुने रहेछ। कसैलाई गाह्रो भए कोठामा अक्सिजन खोलेर सुत्न पाइने। तर सकेसम्म अक्सिजन नखोल्न बरु कोठाको झ्याल अलिकति खोलेर सुत्न गाइडबाट सुझाव आएकाले अक्सिजनतिर लागिएन।

यो भन्दा पहिला अलि हाइटकै यात्रा गरेको नाम्चे अनि त्यो भन्दा अगाडि मनासलु क्षेत्रको नै हो। यी दुवै क्षेत्रमा बेलुका सुत्न सकिएको थिएन। उकुसमुकुस भएको थियो। मनासलुको माथिल्लो भेगमा त निन्द्रा पर्ने भनेको आधा घण्टा।

तातो सिरक अनि आरामदायी बेड भएर हो कि! वा वातावरणसँग शरीर घुलमिल भएर हो! यो यात्रामा निन्द्रा बिथोलिएन।

कैलाश-मानसरोवर यात्रा

७ असोज, २०८०, २१:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।