‘पेमा’को सह-अस्तित्वको खोजी ‘शाम्बाला’
पेमा, टासी, कर्मा, दावा र राम सर, यी पाँच पात्रमाथि बुनिएको कथा हो फिल्म 'शाम्बाला'। डोल्पाको पहाडी भेगको जीवनशैली चलचित्रमा देख्न सकिन्छ। पेमाको डोल्पाली विवाह संस्कार अनुसार बहुपतिसँग विवाह हुन्छ अर्थात् उनले रिन्पोचेको आर्शिवादमा एकै घरका सहोदर तीन दाजुभाइसँग विवाह गर्छिन्। पेमा (थिन्ले ल्हामो)ले बहुपति विवाहलाई सहर्ष स्वीकार गरेको चलचित्रमा देख्न सकिन्छ।
'शाम्बाला' हेर्दा मलाई पेमा निडर र साहसी स्वभावको लाग्यो। नभन्दै फिल्मको अन्त्यसम्मै उनले आफ्नो त्यो रूपलाई प्रमाणित गरिरहिन्। पेमाकी आमाले 'तिमी त छोरी भएर पनि छोराको जस्तै काम गर्न सक्छौ, तिम्रा तीन पति भाग्यमानी हुन्' भन्दा पितृसत्तात्मक समाजलाई मलजल गरेको प्रस्ट हुन्छ, जहाँ निडर र साहसी भनेका पुरूष मात्र हुन्छन् भनेर जबर्जस्त स्थापित गर्न खोजिँदै आएको देखिन्छ।
पेमाले तीन पतिसँग विवाह गरेपनि उनको बढि आत्मियता जेठा पति टासी (तेन्जिन दल्ह)सँग भएको देख्न सकिन्छ। माइला पति बौद्ध सन्यासी भएकाले सांसारिक जीवनदेखि टाढा र कान्छा पति विद्यालय पढ्दै गरेका नाबालक छन्।
फिल्ममा पेमाले तीन पतिलाई उमेर, धर्म र स्वभाव अनुसार व्यवहार गरेको देखाइएको छ। उनले दिलोज्यान टासीलाई दिन्छिन् अनि बेहद प्यार उनैलाई गर्छिन्। टासी एक किसान र मौसमी व्यापारी हुन्। घरको आर्थिक जिम्मेवारी उनको काँधमा छ। उनी कान्छा भाइ दावा (कर्म वाङ्याल गुरूङ)ले राम्रोसँग पढेको देख्न चाहन्छन्।
समयक्रममा टासी मौसमी व्यापारको लागि गाउँले सँगै तिब्बत हानिन्छन्। व्यापारका लागि घरदेखि निस्किँदा उनले दावालाई घर र पेमाको ख्याल राख्नु भनेका छन्। जसले आफूभन्दा आधा उमेरको भए पनि पति भनेको घरको रखवाला र मालिक हो भन्ने देखाउँछ। घरको मालिक श्रीमान नै हुने अनि महिला चाहिँ जति नै परिपक्व र व्यवहारिक भएपनि उ दोस्रो दर्जाकै रहने चलचित्रका हरेक ससाना संवादमा पनि देखाउँछ।
पेमाका कान्छा पति एकदमै छुकछुके चन्चले छन्। उनी पढेर पाइलट हुने बताउँछन्। पेमा पनि उनको सपनाले उडान भरेको हेर्न चाहन्छिन्। पेमाको ‘तिमी पाइलट भएपछि तिम्रो जहाजमा मलाई पनि घुमाउ है’ भन्ने संवादले बाल मस्तिष्कको बुझाई, विश्वास र प्रेम दर्शाउँछ। तर, दावाको पढाइप्रतिको आलस्यले पेमालाई चिन्तित बनाउँछ।
घर र कान्छा पतिको जिम्मेवारी पेमाले सहृदय समालेकी छिन्। त्यसैले पनि दावाको पढाई सुधार गर्न पेमाले दावाकै विद्यालयका शिक्षक राम (कर्मा शाक्य)सँग सहयोग माग्छिन्। त्यसका लागि रामसर पनि तयार हुन्छन् र विद्यालय बिदा भएपछि दावालाई पढाउन उनकै घर पुग्छन्।
एकदिन पेमाले अनौठो सपना देखिन्छन्। त्यसलाई सुनाउन पेमा रिन्पोचे (बौद्व धर्मका गुरू)सँग जान्छिन्। फिल्ममा हरेक प्रसंगमा बौद्ध धर्मका संस्कार र मान्यतालाई देख्न सकिन्छ। पेमाको देखेको त्यो सपनामा पनि रिपोन्चले उनलाई गर्भवती भएको बताइदिन्छन्। तर, पेमालाई फिल्मको पुरूषप्रधान समाजले आफ्नो गर्भको सुखद अनुभवसमेत लिन दिँदैन।
गर्भको भ्रूणको पहिचान, पेमाको स्वअस्तित्व र आत्म सम्मानको लागि पेमाले गरेको संघर्षलाई नै फिल्मले मुख्य विषयवस्तु बनाएको छ। गाउँलेले राम सर र पेमाको सम्बन्ध अनैतिक भएको अनि बच्चा पनि राम सरको हो भन्ने कुरा धुवासरि फैलाउँछन्, जुन हल्ला तिब्बतमा रहेका टासीसम्म पनि पुग्छ।
त्यसपछि आफ्नी पत्नीमाथि विश्वास नगरि गाउँलेको कुरा पत्याएर घर फर्किने समय हुँदासम्म पनि घर नआउनु, पेमालाई पूर्ण रूपमा उपेक्षा गर्नु, टासी बेपत्ता हुनु इत्यादि पितृसत्तात्मक समाजमा पुरूष अहम् कस्तो हुन्छ भनेर फिल्मले जस्ताको तस्तै देखाइदिएको छ। महिला भनेका कोमल र कमजोर हुन्छन् भन्ने सामाजिक भाष्यलाई चिर्दै पेमाले गरेको कठोर यात्रा र बलिदान चलचित्रको आत्मा बनेको छ।
त्यसमा पनि आफ्नो आत्मा सम्मान र अनैतिक आरोपलाई खण्डन गर्न उनले गरेको यात्रामा बौद्ध सन्यासी माइला पति कर्माको भूमिकाले चलचित्र रोमाञ्चक भएको छ।
सांसारिक जीवनदेखि अलग रहेका कर्मा रिन्पोचेको आदेशपछि दाजु टासीको खोजीमा निस्कनु, यात्रामा पेमालाई सम्मान गर्नु, नजानिदो हिसाबले पेमालाई पतिको माया देखाउनु कलात्मक छ। सारा गाउँले र टासीले पेमामाथि विश्वास नगर्दा कर्माले 'बच्चाको बाऊ जो भए पनि के फरक पर्छ र? जन्मदिने सम्पूर्ण प्रक्रिया आफैंमा महान हो' भन्ने संवादले चलचित्र सजीव बनाइदिएको छ।
जेठा दाजु टासी जस्तै स्वतन्त्र हुने इच्छा चाहना भएपनि धर्मको पालनाका लागि मन भाँचेरै धार्मिक बाटो समाउनु परेको पीडा कर्माको अनुहारमा स्पष्ट देखिन्छ। पेमाको यात्रामा अन्तिमसम्म साथ दिन कर्मालाई रिन्पोचेको मृत्युको खबरले रोकिदिन्छ। जुन खबर राम सरले ल्याउँछन्। तरपनि गुरू र चेलाको सम्बन्ध जिउँदो हुँदा मात्र होइन मरणपर्यन्तउस्तै हुन्छ।
जतिबेला पेमालाई कर्माको आवश्यकता छ, त्यहीबेला 'रिन्पोचेको अन्तिम संस्कार र धर्मको पालना गर्ने तिम्रो कर्तव्य हो, कर्मा तिमी गुम्बा फर्किनु’ भन्नुले पेमा निकै बुझकी भएको देखाउँछ। जस्तोसुकै अवस्थामा पनि गुरूधर्म पालना गर्नुपर्ने उनको आदेशलाई कर्माले मान्दा कर्माको पेमाप्रति आदर गरेको देखिन्छ।
समाजमा आफ्नाबारे चलेका अनैतिक हल्लाले विद्यालय छोडेर सधैंका लागि काठमाडौं हिँडेका राम सरलाई पितृसत्तात्मक समाजमा पुरूषलाई पनि सजिलो नभएको देखाउँछ। पेमा आफूमाथि लागेको गलत आरोप र सतीत्व पुष्टिको लागि आफ्ना शारीरिक र मानसिक चरम पीडालाईसमेत सामान्यीकरण गर्दै आफ्नो गन्तव्यमा पुग्छिन्।
लामो यात्राका क्रममा केही समयपछि टासीको आफू प्रतिको दृष्टिकोण पेमाले हिमालका ढुंगामा कुदिएका अक्षरले बुझाउँछन्। उनी घर फर्किन्छिन्। सबैभन्दा बढि आत्मीयता भएको पतिले उनीमाथि शंका गर्छन्, गर्भको शिशुलाई त्याग्न भन्छन्। तर, पेमाले टासीको त्यस आदेशलाई अस्वीकार गर्छिन्।
स्त्रीको मातृशक्तिलाई फिल्ममा देख्न सकिन्छ। पेमाले आफ्नो सतीत्वको लागि अग्नि परीक्षा दिन्छन्। पितृसत्तात्मक समाजमा सीताको समयदेखि नै अहिलेसम्म पनि स्त्रीले पवित्रताको परीक्षा दिइरहनु परेको सत्य हामीमाझ छर्लङ्ग छ।
हरेक महिलाको लागि गर्भवती अवस्था एकदमै सुखद अवस्था हो। यस्तो बेलामा आराम गर्नुपर्ने, सकारात्मक सोच राख्ने र स्वस्थ जीवनशैली अपनाउन डाक्टरदेखि जान्ने बुझ्ने सबैले सुझाव दिन्छन् तर पहिलो पटक आमा बन्न लागेकी पेमाले यस्तो अवसर पाउँदिनन्।
उल्टो सन्तानको लागि संघर्ष गर्नुपरेको छिन्। हर सम्भव प्रयास गर्दा पनि पुरुष अहम् सत्ताको शक्तिमा झुक्न परेको छ पेमाले। फिल्ममा पेमाको यात्रालाई आध्यात्मिक यात्रा र उनले ‘शाम्बाला’ पाएको भनिएपनि फिल्मभरी यसलाई पितृसत्तात्मक समाजका कारण महिलाले पटक पटक भोग्नु परेको नमीठो पीडालाई दर्शाइएको छ।
महिला भनेको पुरूषको सम्पति हो र त्यो सम्पत्तिमा उसको मात्र स्वामित्व रहन्छ, जसलाई आवश्यकता अनुसार स्विकार गर्न र मिल्काउन सकिन्छ भन्ने सामाजिक यथार्थलाई फिल्मले सजीव चित्रण गरेको छ। ‘शाम्बाला’ पितृसत्तात्मक समाजले थिल्थिलो पारेको कथा हो।
भारतीय महिला आन्दोलनकी अगुवा फेमिनिस्ट कमला भासिनले भन्नुहुन्थ्यो ‘पितृसत्ता महिला र पुरूष दुवैको लागि खतरनाक व्यवस्था हो र यसले महिलाको मात्र नभएर पुरुषको पनि ब्याण्ड बजाइदिएको छ।’
साँच्चै नै यो फिल्मको कथामा पाँच जनाको जीवन पुरूषसत्ताले तहसनहस गरिदिएको छ। पेमाको आगमनले परिवार एक भएको बताउने टासीले नै सत्ताको रंगमा रगंमगिएर पत्नीलाई अग्नी परीक्षा दिन बाध्य गराएका छन्। राम सर गाउँबाट विस्थापित हुनु परेको छ। कर्मालाई धर्मको डरले रोकेको छ भने नाबालक दावाले विद्यालयका साथीसंगीसँग कुटामारीसम्म गर्नु परेको छ। पेमालाई 'तेरो र राम सरको बारेमा टासीलाई सबै भन्दिन्छु' भन्दा खेल्ने कुद्ने बेलाको बालमस्तिकलाई नराम्ररी गिजोलेको छ।
अन्त्यमा, फिल्म शाम्बालामा निर्देशक मीन बहादुर भामले डोल्पाको जनजीवन, संस्कार, रीति र धर्मलाई टपक्क टिपेर राखेका छन्। निर्देशनसँगै फिल्मको छायाँकन र पाश्र्व संगीत निकै सशक्त छ। अंग्रेजी र नेपाली दुवै भाषा सबटाइटल फिल्ममा छ। फिल्मले भाषा जुन भएपनि भाव बुझाउन सक्नु ठूलो हो।
साढे दुई घण्टाको फिल्ममा हिमालको फेदमा पुगेको जस्तो, चिसा हिउले स्पर्श गरेको, चिसो सिरेटाले गालामा छोएको अनुभूति हुन्छ। अभिनय सबै कलाकारको जीवन्त छ। पेमाको चरित्रको लागि अभिनेत्री थिन्ले ल्हामो तीन महिना सम्म ब्रस नगरेको, कपाल नकोर्ने देखि ननुहाएको एक अन्तर्वार्तामा बताएकी थिइन्। यसरी हेर्दा थिन्ले ल्हामोले आफ्नो चरित्रलाई न्याय पुर्याउन धेरै मेहनत गरेको पनि देखिन्छ।
शाम्बालाको प्रिमियरकै लागि नेपाल आएका भारतीय विख्यात अभिनेता नवाजुदिन सिद्दिकीले अभिनेत्री थिन्लेको तारिफ गर्दै विभिन्न अन्तर्वार्तामा पेमाको चरित्र आफूलाई पनि गर्न मन लागेको बताएका थिए। 'शाम्बाला' हामीसँग पनि अन्तराष्ट्रिय स्तरमा चिनाउने बलियो चलचित्र छ भनेर भन्न सक्ने भएका छौं।
'शाम्बाला' एक वास्तविक नेपाली कथांकन फिल्म हो, जसमा नेपाली पुरूष प्रधान समाजको यथार्थलाई कलात्मक रूपमा चित्रण गरिएको फिल्म हो।
असोज ११, २०८१ शनिबार २०:०५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।