भुपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै बोलाएर हत्या, छ वर्षपछि विदेशबाट फर्किँदा विमानस्थलबाटै पक्राउ

भुपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै बोलाएर हत्या, छ वर्षपछि विदेशबाट फर्किँदा विमानस्थलबाटै पक्राउ

काठमाडौं : भूतपूर्व आर्मीसँग विवाह गराइदिने आश्वासन देखाई हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ।

२०७४ पुस २९ गते मकवानपुरको मनहरि गाउँपालिका-३ घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या आरोपमा प्रहरीले छ वर्षदेखि फरार अर्घाखाँचीको शितगंगा नगरपालिका-१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई पक्राउ गरेको हो।

विश्वकर्मा विदेशबाट नेपाल आउँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई बुधबार बेलुकी ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। यद्यपि घटनाको मुख्य योजनाकार उनी नभएर धादिङको मुलपानी गाविस हालको त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखरा बस्ने ४६ वर्षीय शिवराम अधिकारी रहेको प्रहरीले जनाएको छ।

के हो घटना?
२०७४ पुस ३० गते दिउँसो साढे ४ बजे काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा बेवारिसे शव फेला पर्यो।

अन्दाजी ४८/५० की महिलाको शवको टाउको र मुखमा गहिरो चोट लागेको थियो। अनुसन्धानकै क्रममा मृतक महिलाको पहिचान अप्सरा भन्ने नारायणी तिमिल्सिनाको रूपमा खुल्यो।

मृतक अप्सरा भन्ने नारायणी तिमिल्सिनासँग घटनाको मुख्य योजनाकार शिवराम अधिकारीको पूर्व चिनजान थियो। तर जगत विश्वकर्मासँग भने घटना घटेकै दिनमा मात्र चिनजान भएको थियो।

शिवराम अधिकारीले नारायणी तिमिल्सिनालाई भुपू आर्मीसँग बिहे गराइदिन्छु भनि १५/२० हजार पैसा र गरगहना लगाई राम्री भएर आउन भनेर फोन गरे।

नारायणी त्यसै गरी आइन् र उनीहरू तीन (नारायणी, जगत र शिवराम)बीच बालाजुको माछापोखरीमा भेट भयो। त्यहाँ २/३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढेर उनीहरू बल्खु पुगेर झरे।

ललितपुरको कुसन्तीमा साँझको खाना खाएर बल्खु एरियामा रहेको एक खोला किनारको मन्दिर पछाडि बसे। प्रहरी अनुसन्धानमा शिवराम र मृतक नारायणी दुई घण्टाजति सँगै सुतेको र जगत विश्वकर्मा मान्छे हेर्नका लागि माथि राखिएको खुलेको थियो।

दुई घण्टापछि खोलाको किनार जाँदा मृतक नारायणी सुतिरहेको जस्तो देखेको जगतले प्रहरीसमक्ष बयान दिएका छन्। उनले शिवरामले ढुङ्गा उठाएर नारायणीलाई टाउकोमा हानेपछि आफूले पनि सोही ढुङ्गाले २ पटक टाउकोमा प्रहार गरेको स्वीकारेका छन्।

त्यसपछि मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६/७ सय रुपैयाँ निकाली गाडी चढेर गोंगबु नयाँ बसपार्कको होटलमा एक गेष्ट हाउसमा बसेको र भोलिपल्ट बिहान पूर्व जाने गाडी चढेर उदयपुर कटारी गएपछि दुवै जना फरार रहेका थिए।

अनुसन्धानकै क्रममा धादिङ घर भएका शिवराम अधिकारी २०७९ कात्तिक २९ गते घरको भित्तो फोरेर चोरी गरेको मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको छ।

घटनाको बारेमा गत २०७० साउन २४ गते पीडितको जाहेरी लिएर थप अनुसन्धान लागि प्रहरी वृत्त कालिमाटीमा पठाएकोमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

५ पुस, २०८०, १३:१३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।