थमन विक हत्यामा कोइरी निर्दोष, प्रदेश सांसद अभिरामसहित सात जनालाई जन्मकैद

थमन विक हत्यामा कोइरी निर्दोष, प्रदेश सांसद अभिरामसहित सात जनालाई जन्मकैद

काठमाडौँ : सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। बिहीबार जिल्ला अदालत महोत्तरीले फैसला सुनाउँदै कोइरी र पवन कापरलाई भने सफाइ दियो।

अदालतले पक्राउ गरेर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि कोइरी प्रतिनिधि सभाको उम्मेदवार बनेर जितेका थिए। उनी निरन्तर संसद्मा आएपछि फरार अभियुक्त नसमातेको भन्दै आलोचना भएपछि उनी भूमिगत भएका थिए।

संसद्मा उनले बिरामी भएको पत्र पठाएर सांसद पद जोगाएका थिए। विक हत्याका अर्का आरोपी प्रदेश सभा सांसद अभिराम शर्मा भने दोषी ठहर भएका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध छन्।  

थरुहट आन्दोलनकोक्रममा घाइते भएका विकलाई उपचारका लागि अस्पताल लैजानेक्रममा आन्दोलनकारीहरूले उनलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए।

जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले यो घटनामा सात जनालाई जन्मकैद र एम्बुलेन्स जलाएको आरोपमा ६ महिना थप कैदको सजाय सुनाएको छ।

हत्यामा प्रदेश सांसद शर्मासहित प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, रमाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैद सजाय पाएका छन्। जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन्।

फरार रहेका अन्य आरोपितको हकमा भने अदालतले मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरू पक्राउ परे लगत्तै उक्त मुद्दा पुनः जगाइने छ।

यो मुद्दामा २८ जनामाथि कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा दायर भएको थियो। 

२८ मंसिर, २०८०, २०:००:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।