पार्श्व गायक युवराज चौलागाईंका प्रिय १० सुर : अरुणा लामाका गीत सुन्दा झल्झली बाल्यकाल सम्झन्छु

पार्श्व गायक युवराज चौलागाईंका प्रिय १० सुर : अरुणा लामाका गीत सुन्दा झल्झली बाल्यकाल सम्झन्छु

नेपाली पार्श्व गायनमा आफूलाई स्थापित गरेका गायक हुन् युवराज चौलागाईं। उनले गाएका र संगीत भरेका अधिकांश गीतहरूले स्रोता तथा दर्शकमाझ लोकप्रियता कमाउन सफल भएका छन्। आधुनिक तथा पार्श्व गायनमा राम्रो छाप छोडेका गायक चौलागाईंले आफ्ना बाहेक अरूका गीत पनि सुन्ने र गुन गुनाउने गरेका छन्। उनै गायक चौलागाईंले आफूलाई आफ्नो मनपर्ने पाँच गीत र अरूका पाँच गीतलाई यसरी रोजेका छन्।

आफ्ना पाँच
लैजा चरि 
यो मेरो सेकेण्ड एल्बममा समावेश रहेको गीत हो। यो गीतले विदेशिनुको पीडा र आफ्नो मान्छे टाढा हुनुको भावलाई पोखेको छ। स्रोता तथा दर्शकमाझ राम्रै छाप छाड्न सफल भएकाले पनि मलाई यो गीत मन परेको हो। गीतको शब्द शिव चौगागाईंको रहेको छ भने स्वर र संगीत मेरै हो।

तिमीलाई के भनुँ
यो गीतले मलाई निकै उचाइमा पुर्याउन सफल भएको थियो। फिल्म ‘नोभेम्बर रेन’मा समावेश यो गीत मेरो लागि टर्निङ प्वाइन्ट हो। यो गीतमार्फत मैले उत्कृष्ट प्लेब्याक सिंगरको अवार्डसमेत जितेको थिएँ। मेरो लागि एकदमै खुशीको क्षण थियो त्यो। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ।

तिम्रा डोला डोला हातमा 
मैले सेन्टिमेन्टल गीत गाउँदै आएको थिएँ। तर यो भने रोमान्टिक अनि डान्सिङ गीत हो। यसलाई पनि दर्शक स्रोताले मन पराइदिनुभयो। म आफैँलाई पनि यो गीत असाध्यै मनपर्छ। यो गीत स्टेजमा गाउँदा दर्शकबाट धेरैपटक ‘वान्स मोर’ आएको छ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ। यो गीतको शब्द संगीत दीपक शर्माको छ।

हरेक शब्द 
यो गीतको भाव अरू गीतहरूको भन्दा अलिक फरक छ। यो फिलोसोफिक गीत हो। मलाई लाग्छ यो सबैको जीन्दगीमा मेल खाने एउटा मीठो भाव बोकेको गीत हो। यो गीतलाई धेरै संगीतकर्मीले समेत प्रशंसा गर्नुभएको थियो। गीतमा दीपिका रिमाल थापाको शब्द छ भने संगीत र स्वर मेरो आफ्नै हो।

तिम्रो माया पाउनलाई 
यो गीतको शब्द-संगीत एकदमै मीठो छ। मैले यो गीत गाउँदा आफैँलाई एकदमै मन छोएको थियो। स्रोताहरूले पनि अत्यधिक रुचाइदिनुभएको यो गीत म बेला-बेलामा गुनगुनाइरहेको हुन्छु। यस गीतलाई चन्द्र ज्योति आलेले लेख्नुभएको हो भने संगीत राजकुमार बगरको छ।

अरुका पाँच
बनेको छ पहराले यो छाती मेरो 

बेला-बेलामा गुनगुनाइरहने यो गीत मलाई अध्यधिक मनपर्छ। असाध्यै गहकिला शब्द, संगीत र स्वर भएको गीत मेलाडी अनि टेन्निकल हिसाबले पनि बलियो छ। गीतलाई गोपाल योन्जनले यति मिठो तरिकाले गाउनुभएको छ कि म व्यक्त गर्न पनि सक्दिनँ। मलाई त्यति राम्रो छ। गोपाल योन्जनको शब्द, संगीत र स्वर नै मलाई अब्बल लाग्छ। त्यसकारण पनि यो गीत मेरो रोजाइमा परेको हो।

जहाँ छन् बुद्धका आँखा 
यो गीत गुनगुनाउँदै हुर्किएको हुँ म। मेरो आफ्नै सांगीतिक यात्रामा पनि मैले धेरैपटक गाएको छु यो गीत। अहिले पनि गुनगुनाइरहन्छु। गीतले हत्या हिंसा गर्नुहुन्न भन्ने सन्देश दिएको छ। नेपालमा नै जन्मिएका गौतम बुद्धको कुरा गीतले समेटेको छ। मलाई लाग्छ यो गीत धेरैलाई मनपर्छ होला। यो गीतलाई भक्तराज आचार्यले गाउनुभएको हो भने संगीत पनि उहाँकै छ। गीतलाई बमबहादुर थापा जितालीले लेख्नुभएको हो। ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने शब्द अनि अब्बल गायिकीपनले मेरो मन छोएको हो।

यो मुटुलाई कसरी सम्झाउँ बुझाउँ
यो गीत फिल्म ‘दक्षिणा’ फिल्ममा समावेश छ। मैले जब यो फिल्म हेरे तब यो गीत एकदमै मनपर्यो। फिल्मको भाव अनुसार गीत राखिएको छ। मेरो मन छोएको थियो। अहिले पनि यो गीत सुन्दा फिल्म हेरेको क्षण सम्झन्छु। अर्को कुरा स्वर सम्राट नारायण गोपालको शब्द चयन, संगीत र स्वर सबै मलाई अब्बल लाग्छन्। तीमध्ये पनि यो गीतले अझ मेरो मन छोएको गीत थियो र अहिले पनि छ।

मर्न बरु गाह्रो हुन्न 
मैले यो गीत स्कुलका कार्यक्रमहरूमा गाउने गर्थे। मलाई यो गीत गाउन स्कुलका शिक्षकहरूले आग्रह गर्नुहुन्थ्यो। मैले यो गीत कक्षामा सुनाउँदा मेरो साथीहरूले पनि आनन्दले सुन्नुहुन्थ्यो। यस गीतका गायक फत्तेमान राजभण्डारी हुनुहुन्छ। उहाँको हरेक गीत मलाई मनपर्छ। एक दिन संगीतकार राजु सिंह सरसँग उहाँको घरमा पुगेर समेत भेटेको थिएँ।

पोहोर साल खुशी फाट्दा 
अरुणा लामाले गाउनुभएको यो गीत सुन्दा एकदमै आनन्द लाग्छ। मैले धेरै गुन गुनाउने गीतहरूमध्ये यो पनि एक हो। गीतको शब्द संगीत र स्वर यति मीठो छ नि, म बयान गर्न पनि सक्दिनँ। स्कुल पढ्दा मैले धेरैपटक यो गीत गाएर साथीहरूलाई सुनाउने गर्थेँ। यो गीत अहिले कहिँ कतै सुन्दा स्कुल पढ्दाको क्षणहरू सम्झन्छु म। गीतले मलाई बाल्यकालको याद दिलाउँछ। राजेन्द्र थापाको शब्द रचना रहेको गीतमा अम्बर गुरुङको संगीत छ।

२६ मंसिर, २०८०, १३:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।