‘भ्रष्टाचारमा दोषी ठहरिएकालाई पेन्सन दिँदा भ्रष्ट पालेजस्तो देखिन्छ, तर रोक्नुपर्छ भन्ने लाग्दैन’

‘भ्रष्टाचारमा दोषी ठहरिएकालाई पेन्सन दिँदा भ्रष्ट पालेजस्तो देखिन्छ, तर रोक्नुपर्छ भन्ने लाग्दैन’

अधिकार सम्पन्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मरणीय काम गरेको समय पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको पालामा हो भन्दा फरक पर्दैन। २०५७ साल कार्तिक १७ गतेदेखि ६ वर्षसम्म प्रमुख आयुक्त भएर काम गरे।

उनको पालामा पूर्व मन्त्रीहरू चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्का, जेपी गुप्ता लगायतका ‘हाइप्रोफाइल’ भनिएका नेताहरूविरुद्ध अख्तियारले मुद्दा दायर गर्याे। गोविन्दराज जोशीको मुद्दा विचाराधीन भए तापनि अन्य सबै दोषी ठहर भए। उनको पालामा भ्रष्टाचारीको सात्तो जाने गरी काम भएको भन्नेहरू धेरै भेटिन्छन्।

२०२८ सालमा न्याय सेवाबाट सरकारी सेवामा प्रवेश गरेका उपाध्याय निजामती सेवामा सचिवसम्म भएर काम गरे। ५७ सालमा अख्तियार प्रमुख भएपछि पूरा कार्यकाल काम गरेका उपाध्याय राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राजीनामा दिन दवाव आए पनि खुट्टा नडमगाइ काम गरे। 

त्यसपछिका केही प्रमुख आयुक्त तथा आयुक्तहरूले अख्तियारकै साख गिर्ने गरी काम गरे। अख्तियारमा आएको उजुरीका आधारमा आरोपीलाई केस मिलाइदिने भन्दै घुस मागेको अडियो समेत सार्वजनिक भयो।

अख्तियारको साख किन खस्कियो? भ्रष्टाचार बढ्ने तर शक्तिशालीहरू किन पर्दैनन्? आखिर भ्रष्टाचार रोक्ने चाहिँ कसरी? लगायत विविध विषयमा आधारित रहेर उपाध्यायसँग ‘पेन्सनधारी भ्रष्टाचारी’ श्रृङ्खलाको लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीः

हाम्रो देशको भ्रष्टाचारको अवस्था कस्तो छ ? 
सुचाङ्क हेर्ने हो भने, चरम भ्रष्टाचार हुने देशमा हामी पर्छाैँ। दक्षिण एसियामा पाकिस्तानपछि हामी नै हो। मेरो विचारमा पछिल्ला सरकारहरूको नेतृत्व जस-जसले गरे उनीहरू महाभ्रष्ट भए। अगुवा नै भ्रष्टाचारी भएपछि अन्य पनि हुने नै भए।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली तीनै जना भ्रष्ट भएर निस्किए। देश विकास नहुनुमा यिनीहरूकै लोभ मुख्य कारण हो। विकास गर्ने कुनै एजेण्डा देखिएनन् यी नेताहरूसँग। जवाफदेहिता शून्य देखियो।

लोकतन्त्रमा सरकार नागरिकसँग बढी जवाफदेहिता र पारदर्शिता हुनुपर्ने हो। किन त्यस्तो देखिएन?
छाडा भए यिनीहरू। सिद्धान्तविहीन पार्टीहरू छाडा हुन्छन्। जुनसुकै देशका पार्टीहरूको पनि प्रष्ट राजनीतिक सिद्धान्त र दृष्टिकोण हुन्छ। यहाँ भएका कुनै पनि दलको सिद्धान्त देखिएन अहिले।

माओवादीको उदय हिंसात्मक भयो। जसरी नागरिकको क्रुर तरिकाले हत्या गरियो त्यो निर्मम थियो। प्रचण्डले हिंसा सुरू गर्नुअघिका केही सिद्धान्त भने राम्रा थिए। तरिका गलत भयो। उनी संघर्ष ताका जुन सिद्धान्तका कुरा गर्थे सत्तामा आएपछि सिद्धान्त छाडे। पैसा कसरी कमाउने र विदेशीको गुलामै गरेर भए पनि सत्तामा कसरी टिक्ने भन्नेतर्फ मात्रै ध्यान दिए।

अर्काे कांग्रेस सभापति शेरबहादुर देउवा बुद्धि नभएका, सिद्धान्त पनि नभएका र भारतलाई खुशी बनाएर राज्य गर्ने भए। कांग्रेस क्याडर बेस हैन। कांग्रेस सिद्धान्तमा हिँड्न सकेको देखिँदैन।

एमालेमा मनमोहन अधिकारी रहुन्जेल सिद्धान्त थियो। केपी ओली अध्यक्ष भएपछि महा भ्रष्टाचारी भएर निस्कए। केपी ओली त जसलाई भ्रष्टाचारको आरोप लाग्छ, उसैलाई जोगाउन लागिपरेको जसरी पो बोल्ने भए। अहिलेको समस्या भनेको राजनीतिमा कुनै सिद्धान्त नहुनु, सत्ताप्रति बढि मोह हुनु, त्याग शून्य हुनु, जे जस्तो गरेर पनि सत्तामा टिक्ने देखियो।

अर्काे कर्मचारीतन्त्र। कर्मचारीतन्त्र नेपालमा बलियो देखिएन। क्षमता भएका कर्मचारी नै भएनन्। खटेर काम गर्नसक्ने रहेनन्। क्षमता पनि भएन। संघीयता आएपछि अझ धेरै भद्रगोल भएको हो कि जस्तो देखिन्छ।

नेताहरूमा आफ्नो देशको सम्प्रभुता कसरी जोगाउने, आर्थिक विकास कसरी गर्ने भन्नेमा ध्यान हुनुपर्दथ्यो। नेपालका प्रधानमन्त्रीहरू धेरै नै भारत परस्त भए। छिमेकी फेर्न मिल्दैन तर हस्तक्षेप पनि सहने होइन। अहिलेका नेतृत्व विदेशीको गुलाम र भ्रष्टाचारमा लिप्त भएको देखिन्छ।

तपाईं अख्तियार अनुसन्धान दुरुपयोग आयोगको प्रमुख आयुक्त पनि हुनुभयो। कस्तो अनुभव रह्यो?
म अख्तियार प्रमुख हुन्छु भनेर भएको होइन। मैले कसैलाई भन्न लगाएको पनि होइन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेपछि अख्तियार प्रमुख भएको हो। तर मसँग अख्तियार गएपछि के गर्ने भन्ने प्रष्ट दृष्टिकोण थियो।

म सरकारी सेवाबाट निवृत्त भएपछि अधिवक्ता पनि भएकाले ल फर्म खोलेर बसेको थिएँ। अख्तियार २०५७ सालमा प्रमुख आयुक्त भएँ। मसँग जे-जे मिसन थियो, सोही अनुसार काम गर्दै गएँ। पूर्वमन्त्री जेल पुगे। प्रधानमन्त्रीलाई स्पष्टीकरण सम्म सोधेँ। मैले गिरिजाप्रसाद कोइरालालाई पनि प्रष्टीकरण सोधेको छु।

राजा वीरेन्द्र हुँदा मेरो नियुक्ति भएको थियो। दरबार हत्याकाण्ड भएपछि ज्ञानेन्द्र राजा भए। यो मान्छे बदमास मात्रै होइन, डाँका समेत हुन्। हुन त शक्तिमा नआउँदादेखि नै यिनले अख्तियारको काममा भाँजो हाल्ने प्रयास गरेका थिए।

शक्तिमा आएपछि संवैधानिक निकायलाई काम गर्नै नदिने गरी हस्तक्षेप गर्नतिर लागे। अख्तियारले त आफैँले अनुसन्धान गरेर मुद्दा  बढाउने हो नि! राजाले चाहँदैमा जे पनि गर्ने संस्था अख्तियार होइन भन्नेमा म प्रष्ट थिएँ।

गुप्तचर खटाए, ज्यानै जोखिममा पर्याे। राजाले तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरिमार्फत राजीनामा दिए हुन्थ्यो भन्ने संकेत गरे। मैले प्रष्ट भनेँ, ‘राजाले प्रत्यक्ष भनुन् मैले राजीनामा दिए हुन्छ भनेर पत्रकार सम्मेलन गरेर बाहिरिन्छु।’

यति भनेपछि राजाको दुःख दिने शैली बदलियो। अख्तियारअघि राजीनामा माग गर्दै नाराबाजी समेत भयो। धेरैले सूर्यप्रसादलाई मार्छन् भन्थे। एकातिर भ्रष्टाचारमा परेका दलहरू रिसाउने अर्काेतिर राजाले दुःख दिने साह्रो दुःखका समयमा थिएँ म।

तपाईंलाई गोविन्दराज जोशीहरूले राजाले खटाएअनुसार काम गर्छन्, त्यही भएर म जेल परेको हुँ भनेँ नि हैन?
गोविन्दराज जोशीले त मलाई राजाको मान्छे भनेर किताबै लेखे नि! जब की म राजाबाट पनि थ्रेटमा थिएँ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति जाँचबुझ आयोग गठन गरेका थिए। त्यो आयोगमा कांग्रेसी नेताहरूको नाम धेरै थियो। त्यो अनुसार अनुसन्धान गर्दा उनीहरू परेका हुन्।

एमालेका नेताहरू पनि भ्रष्टाचारी थिए, कांग्रेसी नेतालाई चाहिँ छानिछानि मुद्दा चलाउनुभयो भन्ने आरोप पनि लगाउँछन् है तपाईंलाई?
एउटा फारम थियो भर्नुपर्ने। त्यहाँ सम्पत्तिका कुराहरू उल्लेख गर्नुपर्दथ्यो। फारम हेर्दा, एमालेका नेताहरूले मिलाएर भरेका देखिन्थ्यो, कांग्रेसी नेताले जथाभावी भरे। एउटा कारण फारम भर्दा कांग्रेसीले ढंग नपुर्याउनु, दोस्रो कारण कांग्रेसीहरू धेरै समय सत्तामा बस्नु पनि थियो। त्यो बेलासम्म एमालेहरू उस्तो भ्रष्ट थिएनन्। जति मान्छे पक्राउ परे ती भ्रष्टै भएरै परेका हुन्। अझ शेरबहादुर देउवाले बनाएको प्रतिवेदन अनुसार छानविन भएको भए त धेरै नेता पर्थे।

किन भएन त? 
हामीले जति सक्थ्यौँ, त्यति गरेका हौँ।

तपाईं पछि पनि अख्तियार प्रमुखहरू भइरहेकै छन्। अख्तियारले काम गर्न किन नसकेको हो?
जागिर खान मात्रै गए धेरैजसो व्यक्तिहरू। काम गर्ने व्यक्तिमा मिसन हुनुपर्छ। मिसन भएन भने काम गर्न सकिँदैन। म स्वभावले कडैमा पर्छु। मैले जिन्दगीमा कसैको चाकडी गरिनँ। सहसचिवसम्म घुँडा धसेर पढेर नाम निकालेको हुँ। आफूले जानेको काम गर्नुपर्छ र ‘क्लीन’ हुनुपर्छ भन्नेमा सचेत रहेँ। कुनै काम गर्ने भनेपछि गर्ने, अनुशासनमा बस्ने, समयको ख्याल गर्ने गर्छु म। आचरणअनुसार काम हुन्छ। अख्तियारमा जस्ता व्यक्तिहरू गए, राम्रा गएनन्।

अख्तियारका आयुक्तले घुसै मागेको अडियो-भिडियो सार्वजनिक भयो नि हैन? यसलाई कसरी लिनु भयो?
हो। अघि भने नि, आचरणमा बस्नुपर्छ भनेर, उनीहरू बसेनन्। कुन ठाउँमा कस्तो मान्छे राख्ने भन्ने हेक्का नेतालाई नभएपछि बलियो अख्तियार पनि कति कमजोर हुँदोरहेछ भन्ने देखियो।

अझ हाम्रा ऐनहरूमा अवकाश प्राप्त सरकारी कर्मचारी पदमा रहँदा गरेको भ्रष्टाचार अवकाशपछि ठहर हुँदा पेन्सन त नियमित खाइरहने रैछन् नि, यो ठिक हो?
उसले काम गरेको अवधिलाई दिएको हो। दिनै हुँदैन भन्ने मलाई लाग्दैन।

भ्रष्टाचारीलाई सरकारले पालेको जस्तो भएन र? 
हो देखियो। तर, पेन्सन रोक्न हुँदैन भन्ने मलाई लाग्छ।

भ्रष्टाचार निवारण भएन पनि भन्ने अनि भ्रष्टाचारीलाई पेन्सन रोक्न हुन्न पनि भन्ने, अलि नमिलेको जस्तो लाग्दैन?
सेवा अवधिमा रहँदा गरेको कामको आधारमा दिएको हो नि त! भ्रष्टाचार सबै काममा त गरेको हुँदैन।

अहिले केही राजावादीहरू राजतन्त्र फर्काउनुपर्छ, राजा भए भ्रष्टाचार हुँदैनथ्यो भन्ने कुरा गर्छन्, व्यवस्था नै फेर्नुपर्ने हो र?
बेकारको कुरा हो यो। राजतन्त्र फर्कँदैन अब र फर्कन पनि हुँदैन। राजसंस्था भएको बेला उनीहरूले जे गरे पनि छुट थियो। मुद्दा लाग्दैनथ्यो अहिले सबैलाई लाग्छ, पारर्दशीताको माग गरिन्छ। त्यो संस्था ठीक होइन। व्यवस्था होइन नेता फेर्नुपर्ने बेला भएको हो। ८४ को चुनावमा फेरिन्छ पनि। म आशावादी छु नयाँ पुस्ताप्रति।

नयाँ पार्टीहरूले नै मन्त्री सांसद बनाउन पैसा लिएको घटना सार्वजनिक भएका छन्। ऐन नियमलाई कमजोर मानेर हाँक दिएका छन्, कसरी बद्लिएला र?
एक दुई जना गलत होलान्, सबै छैनन्। कम्तीमा सुशासनको मुद्दा त लिएका छन्। नयाँ पार्टीहरूले व्यवस्था यहि तर सुशासन हुनुपर्याे भनेका छन्। यसकारण पनि म आशावादी छु।

पेन्सनधारी भ्रष्टाचारी यसअघिका श्रृङ्खला:-

१८ मंसिर, २०८०, १३:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।