आईपीएल २०२४ : सात अष्ट्रेलियनसहित २५ खेलाडीको बेस प्राइस २ करोड, एसोसिएट देशका ४५ खेलाडी सहभागी

आईपीएल २०२४ : सात अष्ट्रेलियनसहित २५ खेलाडीको बेस प्राइस २ करोड, एसोसिएट देशका ४५ खेलाडी सहभागी

काठमाडौं : अष्ट्रेलियाका सातसहित २५ खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणको अक्सनको लागि आफ्नो बेस प्राइस २ करोड राखेका छन्।

विश्वकप विजेता अष्ट्रेलियाका प्याट कमिन्स, ट्रेभिस हेड, मिचेल स्टार्क, जोश हेजलवुड, स्टिभ स्मिथ, जश इंग्लस र शान ऐबटसहित २५ खेलाडीले अक्सनका लागि आफ्नो बेस प्राइस २ करोड भारु राखेका छन्।

यी सातका अलावा दक्षिण अफ्रिकाको लागि विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलर जेराल्ड कट्जी, इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुक, भारतीय खेलाडीहरू हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव केदार जाधवले पिन बेस प्राइस २ करोड राखेका छन्।

यस्तै विश्वकपमा ५७८ रन बनाउँदै पाँच विकेट लिने न्यूजिल्याण्डका अलराउन्डर रचिन रवीन्द्रले आफ्नो बेस प्राइस ५० लाख राखेका छन्।

यो नै आईपीएलको सबैभन्दा ठूलो बेस प्राइस हो। आईपीएल अक्सन पहिलो पटक भारतभन्दा बाहिर हुँदैछ। १९ डिसेम्बरमा दुवईमा हुने अक्सनमा १ हजार १६६ खेलाडीले लिलामीका लागि रजिस्ट्रेसन गरेका छन्।

यो लामो सूचीमा एसोसिएट देशका ४५ खेलाडी र ९०९ अनक्याप्ड खेलाडी छन्। अनक्याप्ड खेलाडीको सूचीमा ८१२ भारतका छन्। १ हजार १६६ जनाको सूचीमा १८ क्याप भारतीय खेलाडी पनि छन्।

१० फ्रेन्चाइजीसँग जम्मा ७७ खेलाडीको स्लट छ, जसमध्ये ३० विदेशी खेलाडी हुन सक्छन्। यी सबै फ्रेन्चाइजीहरूसँग लिलामीमा खर्च गर्नको लागि कुल २६२. ९५ करोड रूपैयाँ उपलब्ध हुनेछ।

मंसिर १६, २०८० शनिबार १४:०४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।