मधेशमा भाइटीका हैन, ‘भरदुतिया’ मनाइयो

मधेशमा भाइटीका हैन, ‘भरदुतिया’ मनाइयो

जनकपुरधाम : मधेसमा तिहारमा भाइटीका हैन ‘भरदुतिया’ पर्व मनाइन्छ। यो भाइटीका जस्तै हो। तर मधेशमा मनाइने भरदुतिया भाइटीका भन्दा केही विधि फरक छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ।

भाइटीकामा जस्तै यसमा दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार लिएर पुग्ने चलन छ।

भरदुतियामा दिदीबहिनीले घर आँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन बनाएर सिन्दूरको थोपा लगाइन्छ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अँजुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्।

भाइटीकामा ढोकामा ओखर राखेर पानी चुहाउँदै परिक्रमा गरे जस्तै उनीहरू पनि परिक्रमा गर्छन्। यसलाई न्यौत दिनु भनिन्छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा उपहार दिने चलन छ।

आजैबाट छठसमेत शुरू हुन्छ।

२९ कात्तिक, २०८०, २१:५५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।