‘निधारमा टीका र गलामा माला उमङ्ग र बौद्धिकता बढाउने मनोविज्ञान’

‘निधारमा टीका र गलामा माला उमङ्ग र बौद्धिकता बढाउने मनोविज्ञान’

काठमाडौं : तिहारको पाँचौं दिनमा भाइटीका मनाइन्छ। यसदिन दिदीबहिनीले दाजुभाइलाई सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने चलन छ।

टीका तथा माला लगाइदिँदा दिदीबहिनीले दाजुभाइलाई मिठाई, फलफूल लगायतका मिष्ठान्न परिकार दिने र दाजुभाइले दीदिबहिनीलाई पैसा तथा लुगाकपडा लगायत गच्छे अनुसारको उपहार दिने परम्परा छ।

सयपत्री, मखमली तथा गोदावरीमा पत्र धेरै हुने भएकाले सु-स्वास्थ्य तथा दिर्घायुको प्रतिकको रूपमा समेत विशेषगरी तिहारमा यी फूलको प्रयोग हुने गरेको संस्कृतिविद् बताउँछन्।

भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली फूलजस्तै जीवन नआइलाओस्, रोगव्यादीले आक्रमण नगरोस् भन्ने मनोकामनाका साथ यी फूलको माला लगाइदिने परम्परा छ।

सयपत्रीको तुलनामा मखमली लामो समयसस्म ओइलाउँदैन।

दाजुभाई तथा दिदीदबहिनीबीचको सम्बन्ध फूलजस्तै उर्वर बनोस् भन्ने हेतुले तिहारमा यस्ता फूलको माला लगाइदिने चलन भएको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका सह-प्राध्यापक डा. वासुदेव खनाल बताउँछन्।

यी फूलका माला सुन्दर तथा आकर्षक देखिन्छन्। अटल र ऊर्जाशील प्रेमको प्रतिकका रूपमा दिदीबहिनीले दाजुभाइलाई माला लगाइदिने परम्परा भएको उनको भनाइ छ।

उमंग थप्ने र बौद्धिकता बढाउने मनोविज्ञान
त्यसैगरी सप्तरंगी टीका तथा फूल लगाइदिनाले दाजुभाइ तथा दिदीबहिनीहरूबीचको सम्बन्धमा मनोवैज्ञानिक रूपमा समेत लाभ मिल्ने मनोविज्ञ बताउँछन्।

फूललाई पवित्रता र सौन्दर्यको प्रतिकको रूपमा समेत मानिन्छ। सप्तरंगी टीका र फूलका माला लगाउँदा मन आनन्दित हुने र व्यक्तिको मनमा खुसी तथा उमङ्गता छाउने मानसिक अस्पतालका निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारी बताउँछन्।

‘माया प्रेमको सिलसिलामा फूल उपहार दिने चलन छ,’ उनले भने, ‘दाजुभाइ र दिदीबहिनीबीचको प्रेमको प्रतीकको रूपमा विशेषगरी नओइलाउने मखमली फूलको प्रयोग गरिन्छ।’

त्यसैले विशेषगरी भाइटीकामा मखमली फूलको माला लगाउनुको उदेश्य दाजुभाई तथा दिदीबहिनीबीच बीचको मायाप्रेम नटुटोस् तथा नओइलाओस् भन्ने मनोवैज्ञानिक दृष्टिसमेत रहेको डा. अधिकारी बताउँछन्।

रंगीचंगी फूल तथा टीका र झिलिमिली बत्तीका कारण व्यक्तिको मनको निराशा हटाएर मनमा आनन्द तथा उमङ्ग थप्ने मनोविज्ञको मत छ। दशैं, तिहार जस्ता पर्वले व्यक्तिलाई आशा र उज्यालोतर्फको बाटोमा लान मद्दत मिल्ने डा. अधिकारीको तर्क छ।

त्यसो त आयुर्वेदिक दृष्टिकोणबाट हेर्दा सयपत्री, मखमली, गोदावरी जस्ता फूलका माला लगाउँदा शरीरमा आनन्दानुभूति गराउने तथा बौद्धिक क्षमता समेत बढाउने आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउँछन्।
 
‘फूल माला लगाउँदा शरीरमा भएको आलस्यता हटाउन मद्दत मिल्छ,’ उनले भने, ‘आयुर्वेदमा फूलको माला, रत्नरत्नादीहरूको माला पहिरन गरेर सभा सम्मेलन लगायतमा बस्दा बौद्धिक क्षमता बढ्छ भन्ने प्रसङ्ग छ।’

आत्मीयता बढाउनका लागि कसैलाई पुष्पगुच्छा दिने चलन परम्परादेखि नै चल्दै आएको विज्ञ बताउँछन्।

प्राकृतिक रूपमा समेत वसन्त (चैत, वैशाख) र शरद (असोज, कार्तिक) ऋतु वरदान कै रूपमा रहेको अनुभूति गर्न सकिने डा. खनाल बताउँछन्।

यस्ता छ आयु लम्ब्याउने धर्मशास्त्रीय मान्यता
नओइलाउने भएकले नै दीर्घायुको कामना गर्दै मखमलीको माला दाजुभाइलाई लगाइदिने चलन चल्दै आएको संस्कृतिविद् ओम धौभडेले बताए।

उनका अनुसार दिदीबहिनीले दाजुभाइलाई मृत्युको मुखबाट बाट जोगाउन भाइटीका र माला लगाइने प्रचलन चल्दै आएको हो।

त्यसो त दिदीबहिनीले दाजुभाइलाई मृत्युको मुखबाट जोगाउने उपायका रूपमा तिहारको पूजा विधि अपनाइएको धार्मिक मान्यता छ।

पौराणिक कथनअनुसार भाइटीकाको दिन यमराजकी दिदी यमुनाले भाइपूजा गरी अटल प्रेम र दीर्घायुको कामना गरेकी थिइन्। यसै दिनदेखि भाइटीकाको प्रचलन चल्दै आएको मानिन्छ।

कार्तिकशुक्ल-द्धितीयालाई भ्रातृद्धितीया समेत भनिन्छ। द्धितीयाको दिन यमुना नदीमा नुहाएर यमको पूजा गर्नाले यमलोक देख्नुपर्दैन भन्ने पद्मपुराणमा उल्लेख भएको पराणाचार्य बताउँछन्।

यमुनाले कार्तिकशुक्ल-द्धितीयाका दिन यमको स्वागत-सत्कार गरी यमलाई आफ्ना घरमा भोजन गराएको र यमुनालाई पनि लत्ताकपडा तथा गरगहनाले सत्कार गरेको कथन छ।

भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीको निम्तो पाएर वा नपाइकन पनि स्वेच्छाले नै दिदीबहिनीका घर गई दिदीबहिनीका हातबाट भोजन गर्नुपर्ने शास्त्रमा उल्लेख भएको धर्मशास्त्री बताउँछन्।

भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई तेल घस्दै बुकुवा लगाएर नुहाइदिएर सिंगारपटार गरिदिने परम्पराका बारेमा पुराणमा उल्लेख भएको धर्मशास्त्रविद बताउँछन्।

धर्मशास्त्रविद्का अनुसार भाइटिकाका दिन दाजुभाइलाई फूल माला लगाइदिएर दाल, भात, रोटी, पुवा, अचार, तरकारीलगायतका मीठा पक्वान तथा परिकारको भोजन गराउने शास्त्रमा उल्लेख छ। त्यसैगरी यो दिन ल्वाङ, सुपारी, पानलगायत दाजुभाइलाई दिएर सत्कार गर्ने शास्त्रीय मान्यता छ।

सह-प्राध्यापक डा. खनालका अनुसार कार्तिकशुक्ल-द्धितीयामा दाजुभाइ तथा दिदीबहिनीले आपसमा स्वागत सत्कार गरेको खण्डमा यमुनाका प्रार्थनाले यमराजले यमुनालाई दिएको वरदान अनुसार दिदीबहिनी विधवा हुनुनपर्ने विषय पुराणमा उल्लेख छ।

दाजुभाइको समेत आयु र सुख समृद्धि बढ्ने, नरक देख्नु नपर्ने भएकाले दुवै थरीको कल्याण हुने शास्त्रमा उल्लेख छ। भ्रातृद्धितीयामा दिदीबहिनीका हातबाट भोजन नगर्ने दाजु भाइको वर्ष दिनको पुण्य नष्ट हुने र उनीहरूलाई ब्रह्महत्यादि पातकले सताउँछ भन्ने विषय स्कन्द पुराण र अन्य पुराणमा उल्लेख छ।

२९ कात्तिक, २०८०, ०७:५८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।