‘चिनी’ बैगुनी, नभई नहुने : बुढेसकालमा मात्र देखिने समस्या हैन मधुमेह

‘चिनी’ बैगुनी, नभई नहुने : बुढेसकालमा मात्र देखिने समस्या हैन मधुमेह

विश्वव्यापी रूपमा मधुमेहको सङ्क्रमण दर ८.५ प्रतिशत देखिएको छ। सन् २०२० को तथ्याङ्क हेर्दा विश्वमा करिब तीन करोड ७७ लाख व्यक्तिमा मधुमेहको समस्या भएको देखिन्छ। नेपालमा समेत यो रोगबाट पीडित हुनेहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ।

नेपालमा सन् २०१४ मा मधुमेहको संक्रमणदर ८.४ प्रतिशत थियो भने हाल यो दर बढेर ८.५ प्रतिशत पुगेको छ।

व्यक्तिको रगतमा सामान्य अवस्थामा ६० देखि १८० मिलिग्राम रक्त सुगर (ब्लड सुगर) हुन्छ। सामान्य अवस्थाको व्यक्तिमा ब्लड सुगर १८० मिलिग्राम भन्दा माथि गएमा इन्सुलिन उत्पादन भएर यो स्वचालित रूपमा सामान्य अवस्थामा फर्कन्छ।

तर, ब्लड सुगर ६० मिलिग्राम भन्दा तल गएको खण्डमा ग्लुकागोन हार्मोनको क्रियाशीलता बढ्छ र पुनः ब्लड सुगर सन्तुलित अवस्थामा नै आउँछ।

मधुमेहको समस्या भएका व्यक्तिमा भने ब्लड सुगरको सन्तुलन मिल्दैन। यस्तो स्वास्थ्य समस्या भए कि त इन्सुलिनले काम गर्दैन या त यो उत्पादन नै हुँदैन।

त्यसैले व्यक्ति वा अन्य प्राणी (कुकुर, अन्य जनावर)मा शरीरको उत्पादित इन्सुलिनले काम नगरेको खण्डमा वा इन्सुलिन उत्पादन नै नभई रगतमा सुगरको मात्रा धेरै भएको खण्डमा मधुमेह भएको मानिन्छ।

मधुमेहका प्रकार

विशेषगरी उमेरको आधारमा मधुमेहलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन वर्गमा वर्गीकरण गर्न सकिन्छ।

पहिलो  किसिमको मधुमेहमा इन्सुलिन आवश्यक पर्ने हुन्छ। यस्तो किसिमको मधुमेह साना बालबालिकामा समेत देखा पर्न सक्छ। सामान्यतया यस्तो किसिमको इन्सुलिन आवश्यक पर्ने मधुमेह औसतमा २० देखि २५ वर्ष उमेर समूहका व्यक्तिमा देखिन्छ।

दोस्रोमा म्याचुरिटी अनसेट मधुमेह पर्छ। करिब ३० वर्ष काटिसकेपछिको मधुमेहलाई दोस्रो चरणको मधुमेह भनिन्छ। यो उमेर समूहमा देखापर्ने मधुमेह सामान्यतया वंशाणु किसिमको हुन्छ।

औषधीको प्रयोग गरेर यस किसिमको मधुमेह ठिक गर्न सकिन्छ।  व्यायाम तथा सन्तुलित खानपान जस्ता जीवनशैली र आहार व्यवहारको सन्तुलित व्यवस्थापनले यस्तो मधुमेह नियन्त्रित राख्न सकिन्छ।

तेस्रो किसिमको मधुमेहलाई जेष्टेष्नल डाइबेटिज मिलिटस भनिन्छ। यस किसिमको मधुमेह गर्भावस्थामा देखिन्छ।

पारिवारिक तथा वंशाणुगत रूपमा पनि देखापर्ने गर्छ। पारिवारिक तथा वंशाणु रूपबिना समेत गर्भवतीमा यस्तो किसिमको मधुमेह देखा पर्न सक्छ। गर्भवती भएको अवस्थामा मधुमेह देखिएको खण्डमा यस्तो किसिमको मधुमेहलाई चिकित्सकीय भाषामा जेष्टेष्नल डाइबेटिज मिलिटस भनिन्छ।

लक्षणहरू

विभिन्न लक्षणको आधारमा प्रारम्भिक रूपमा मधुमेह रोगको पहिचान गर्न सकिन्छ। सामान्यतया धेरै तिर्खा लाग्नु, धेरै पिसाब लाग्ने, राती समेत धेरै पटक पिसाब गर्न उठ्नु पर्ने अवस्था सिर्जना हुने, आँखा धमिलो हुँदै जानु, थकान महसुस हुने, कमजोर महसुस हुने जस्ता मधुमेहका लक्षण हुन्छन्। शरीरको तौल घट्दै जाने तथा दुब्लाउने, छाला खस्रो हुँदै जाने जस्ता मधुमेहका लक्षण हुन्।

मधुमेह पत्ता लगाउने विधि

रोगको लक्षण, प्रयोगशाला परिक्षणगरी रगतमा सुगरको मात्र हेर्नेजस्ता विधि अपनाएर मधुमेह पत्ता लगाउन सकिन्छ। शङ्कास्पद बिरामीको खाली पेटमा रगतको परीक्षण गर्ने , खाना खाएको दुई घण्टापछि पिसाब परीक्षण जस्ता विधि अपनाएर मधुमेह भए नभएको पत्ता लगाउन सकिन्छ।

रगतमा सबै किसिमका कोलेस्ट्रोलको परीक्षण, मिर्गौला, मुटुलगायतको परीक्षणबाट मधुमेह भए नभएको थाहा पाउन सकिन्छ।

रोगको जटिलता

मधुमेहलाई आफैँमा रोग मानिँदैन। तर, ब्लड सुगर नियन्त्रित नभएको खण्डमा रगतमा चिनीको मात्रा धेरै हुँदा मुटु, मिर्गौला, आँखा , छाला रोगको समस्या देखिने समस्या हुन्छ।

मिर्गौलाले काम नगर्ने, दृष्टि गुम्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने र खुट्टा तथा हातको घाउ निको नहुने समस्या निम्तने जोखिम हुन्छ।

मधुमेहका कारण यस्तो स्वास्थ्य समस्या निम्तँदा हाट खुट्टाको औँला नै काट्नुपर्ने समेत स्थिति आउन सक्छ।

शरीरमा अत्यधिक चिनीको मात्रा बढी भएर बिरामी बेहोस हुने, शरीरमा विकार पदार्थ जम्मा भएर रगत अम्लीय हुन जाने र बिरामीको ज्यान जाने जोखिम हुन सक्छ।

पिसाबको सङ्क्रमण हुने, छातीमा निमोनिया हुने जस्ता समस्या निम्तन सक्छन्।

रोकथाम तथा उपचार

मधुमेहको प्रकार तथा प्रकृति अनुसार उपचार विधि अपनाउनुपर्ने हुन्छ। इन्सुलिन आवश्यक पर्ने र जेष्टेष्नल डाइबेटिज मिलिटस  मधुमेहमा इन्सुलिन सुइँको प्रयोग गरी मधुमेहलाई सन्तुलित गराइन्छ।

म्याचुरिटी अनसेट मधुमेहमा खाने औषधिको प्रयोग गरिन्छ। औषधी , व्यायाम र खानपान तथा जीवनशैलीको माध्यमबाट ब्लड सुगर सन्तुलन ल्याउनु नै यो रोगमा मुख्य उपचार विधि हो।

यो रोगको समस्या भएको खण्डमा चिकित्सकको सल्लाह बमोजिम नियमित औषधि सेवन त गर्नुपर्छ नै। मधुमेहको प्रकृतिअनुसार कम्तीमा तीन देखि ६ महिनाको बिचमा चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ।

मधुमेह मात्रै हैन अन्य विभिन्न किसिमका रोग लाग्न नदिनका लागि नियमित व्यायाम गर्नुपर्ने हुन्छ। सामान्यतया दैनिक करिब पाँच किलोमिटर हिँड्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। मधुमेहको समस्या भएको व्यक्तिले चिनीजन्य पदार्थको सेवन कम गर्नुपर्छ। मासु र चिल्लो पदार्थको सेवन नगर्नु नै उचित हुन्छ।

धूमपान र मद्यपान गर्नुहुँदैन। 

शरीरको तौल कम गर्नुपर्छ। सामान्यतया ६–६ महिनामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। तनाव रहित जीवन यापन गर्नुपर्छ। नियमित रूपमा चिकित्सकीय परामर्श लिन चुक्नु हुँदैन।

 (डा. ढकाल फिजिसियन हुन्।)

कात्तिक २८, २०८० मंगलबार २०:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।