डा. नन्दूको उपचार अनुभव : दुर्घटनामा परेका ६५ वर्षीय बाजेको छातीमा प्वाल पारेपछि बल्ल बाँचे

डा. नन्दूको उपचार अनुभव : दुर्घटनामा परेका ६५ वर्षीय बाजेको छातीमा प्वाल पारेपछि बल्ल बाँचे

इन्टरनल मेडिसिन विशेषज्ञ डा. नन्दूप्रसाद पाठक लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत छन्। यो विधाका चिकित्सकलाई फिजिसियनका रूपमा समेत चिनिन्छ। डा. नन्दूप्रसादले चिकित्सकीय पेशाको सिलसिलामा धेरै आरोह अवरोह देखे भोगका छन्। त्यहि अनुभवलाई उनले उकेरासँग साटेका छन्।

ती बाजेले ‘भगवानले बोलाएर बीच बाटोमा पुर्याइसकेको थियो’ भन्दा...
गाडी दुर्घटनामा परेका करिब ६५ वर्षका बाजेलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएछ। बाजेको करङ नै भाँचिएको थियो। करङ भाँचिएर थिच्दा उनको फोक्सोमा हावा जमेको थियो।

फोक्सोमा हावा जमेपछि ती बाजेलाई श्वास फेर्न निकै कठिन भइरहेको थियो। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘मेडिकल इमर्जेन्सी’ भनिन्छ। अस्पताल पुर्याउँदा बाजे अर्धचेत अवस्थामा थिए। बाजे करिब बेहोसी अवस्थामा नै पुगिसकेका थिए। 

तुरुन्तै फोक्सोको हावा निकाल्नुपर्ने भयो। चिकित्सकको टिमले तुरुन्तै ती बाजेको सानो सुईको माध्यमबाट छातीमा प्वाल पार्यो अनि जमेको हावा निकालिदियो।

फोक्सोको हावा निकाल्नासाथ चमत्कार नै भएजसरी ती बाजेको श्वासप्रश्वासमा सहज भइहाल्यो। केहीबेरमा नै ती घाइते बाजेको होस खुल्यो।

‘सानो सुई छिराएर हावा निकाल्ने वित्तिकै होस आइहाल्यो,’ उनले भने।

होस खुलेपछि डा. नन्दूले तपाईंलाई अहिले कस्तो छ? भन्दै ती बाजेलाई सोधे। 

जवाफमा ती घाइते बाजेले भनेछन्, ‘मलाई त भगवानले बोलाएर बीच बाटोमा पुर्याइसकेको थियो, बीच बाटोमै छोडिदिए अनि फर्किएँ।’

अदृश्य शक्तिले तान्दै आफूलाई लगेको तर बीच बाटोमा पुर्याएपछि छोडिदिएको ती बाजेको सपनाजस्तो अनुभव सुन्दा डा. नन्दूलाई अलि अनौठो लागेछ।

ती बाजेले निक्कैबेर भगवानले आफूलाई स्वर्गतिर लगेको तर बीच बाटोमा पुर्याएर छाडिदिएको भन्दै बेहोसी अवस्थामा हुँदाको सपनाजस्तो अनुभव सुनाइरहे।

ती बाजेको करङको समेत उपचार गर्नु थियो। उपचार भयो। केही दिनको औषधि उपचारपछि बाजे ठिक भएर मुस्कुराउँदै अस्पतालबाट डिस्चार्ज भए।

कोरोनाको त्यो डरलाग्दो क्षण
त्यसो त कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको समयमा पहिलो पटक कोरोना संक्रमित बिरामीको उपचार गर्दाको क्षण पनि डा. नन्दूको मानसपटलमा ताजै छ।

करिब २८ वर्षका युवालाई बिरामी भएर अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउँदा ती बिरामी युवाको स्वास्थ्य अवस्था जटिल भइकेको थियो। बिरामीलाई भेन्टिलेटरमा नै राख्नुपर्ने अवस्था थियो।

ती युवा बिरामीलाई कोरोना भाइरस संक्रमणकै लक्षण थियो। श्वास फेर्न नै कठिन थियो। भेन्टिलेटरमा नै राखेर उपचार थालियो।

स्वास्थ्य परीक्षणपछि ती युवामा कोरोना संक्रमण पुष्टि भयो। उनमा सुगरको समेत समस्या थियो।

संक्रमित युवा नै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका पहिलो कोरोना संक्रमित थिए। पहिलो संक्रमित आउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी पनि हतास भएका थिए।

संक्रमित युवालाई बचाउनु र आफू बच्नु चिकित्सकका अगाडि चुनौति थियो। कसरी उपचार गर्ने, आफू कसरी जोगिने भन्ने विषय चिकित्सक र स्वास्थ्यकर्मीलाई थाहा थिएन। यद्यपि उपचारको प्रोटोकल भने बनिसकेको थियो।

कुन औषधि चलाउने भन्ने समेत सुरुवाती चरणमा द्वविधा थियो। तर, लक्षण अनुसारको उपचार विधि अपनाउनुको विकल्प थिएन।

पेशा नै चिकित्सक भएकाले यो चुनौतीको सामना गर्नुको विकल्प थिएन डा. नन्दूका अगाडि पनि। पहिलो लहरको समयमा संक्रमणबाट त बचिएला त? भन्ने दुविधा उनको मनमा थियो।

‘अस्पतालमा पहिलो कोराना संक्रमित बिरामीको उपचार गर्दा डर लाग्यो’, डा. नन्दूले अनुभव सुनाए।

दुई हप्ताको अथक उपचारप्रयासपछि ती संक्रमित युवा ठिक भएर अस्पतालबाट डिस्चार्ज भएको उनी अझै सम्झन्छन्। आफूले उपचार गरेको पहिलो कोरोनाको बिरामी भएर उनलाई त्यो घटना अझै सम्झन्छन्।

गर्मीको समयमा कहिल्यै नलगाएको पीपीई लगाउँदा निक्कै असहज भएको उनले सुनाए। कोरोना भाइरस संक्रमणको पहिलो लहरको समयमा करिब दुई महिना त घर नगई चिकित्सक तथा स्वास्थ्यकर्मीसँग होटलमा बसेको उनले सुनाए।

महामारीको त्यो अवस्थामा अस्पतालमा नै कोरोना संक्रमितको उपचारमा खटिँदा एकातर्फ बिरामीलाई बचाउन सफल भएकोमा त आनन्द लाग्थ्यो नै। तर, दुई महिनासम्म घरपरिवारसँग भेटघाट गर्न समेत नभई कोरोना भाइरस संक्रमणसँग पौठेजोरी खेल्दै अस्पतालमा नै २४सै घण्टाजसो खटिँदा निराश पनि त्यतिकै हुन्थे उनी।

कोरोना भाइरसको सुरूवाती समयमा त कोरोना सर्छ भन्ने डरले चिकित्सक तथा स्वास्थ्यकर्मीको नजिक पर्नै डराउँथे सर्वसाधारण। यस्तो व्यवहारले डा. नन्दूको मन अमिलिन्थ्यो अनि कुँडिन्थ्यो पनि।
उनले  दुई महिनापछि मात्र परिवारसँग भेटेको सुनाए।

बुटवलदेखि बंगलादेशसम्मको डाक्टरी यात्रा
२०३५ मा पर्वतको फलेबासमा जन्मिएका नन्दूको शिक्षादिक्षा बुटवलमै भयो। कान्ति बोर्डिङ्ग स्कुलबाट २०५० मा एसएलसी गरेका उनले बुटवल बहुमुखी क्याम्पसबाट आईएस्सी गरे।

अध्ययनमा तीक्ष्ण उनलाई सानैबाट डाक्टर पढ्ने रहर थियो। त्यसैले सन् १९९८ मा बंगलादेशको यूएसपीसीमा एमबीबीएस अध्ययनको लागि भर्ना भए। सन् २००३ मा एमबीबीएस अध्ययन सकेर डाक्टर बनेर नेपाल फर्किए उनी।

भाषा नबुझेका कारण करिब छ महिना त बंगलादेशमा पढ्न निक्कै कठिन भएको उनले सुनाए। ईदको समयमा त्यहाँ पुगेकाले दिनभर खान नपाएको अनुभव पनि अझै उनलाई सम्झना छ।

सुरू-सुरूमा त उनलाई ‘यो कस्तो ठाउँमा आइएछ, खान पनि पाइँदैन’ भन्ने महशुस पनि नभएको हैन। त्यहाँको वातावरणमा घुलमिल हुनै समय लागेछ उनलाई।

बंगलादेशबाट एमबीबीएस गरेर नेपाल फर्केपछि उनले बुटवलमा नै एक वर्ष इन्टर्नसी गरे। त्यसपछि डा. नन्दू १९ वर्षअघि लोकसेवा परीक्षामार्फत आठौँ तहको मेडिकल अधिकृत स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भए।

सरकारी जागिरे भएपछि उनी पोष्टिङ भएर नवलपरासीको प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे। त्यहाँ उनले करिब एक वर्ष काम गरे। त्यहाँ एक वर्ष काम गरेपछि डा. नन्दू बझाङ जिल्ला अस्पताल सरुवा भए।

डा. नन्दूलाई थप अध्ययन गर्नु त छँदैथ्यो। त्यसैले त्रिभूवन विश्वविद्यालय, महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहमा इन्टरनल मेडिसिन विषयमा एमडी अध्ययन गर्न थाले। १४ वर्षअघि उनको यो विषयको अध्ययन पूरा भयो।

एमडी अध्ययनपछि डा. नन्दू बुटवलको तत्कालीन लुम्बिनी अञ्चल अस्पतालमा पोष्टिङ भएर काम गर्न थाले। नेपालमा गणतन्त्र स्थापनापछि अहिले त्यो अस्पतालको नाम परिवर्तन भएर प्रादेशिक अस्पताल बुटवल भएको छ।

उनको बुढुवा हुँदै गयो। डा. नन्दू दशौं तह, वरिष्ठ फिजिसियनका रूपमा सोही अस्पतालमा कार्यरत छन्।

डा. नन्दू विशेषगरी ज्वरोसँग सम्बन्धित रोगको पहिचान गरी उपचार गर्छन्। टाइफाइड, मलेरियाजस्ता ज्वरो आउने रोग अनि सुगर, रक्तचाप, पक्षघात, मिर्गौलाजस्ता रोगहरुको पहिचान तथा उपचार गर्नु उनको दैनिकी हो।

समग्र रोगको पहिचान तथा उपचार विशेषज्ञका रूपमा समेत चिनिन्छ इन्टरनल मेडिसिन विशेषज्ञलाई। जुन उनको पेशा हो।

२५ कात्तिक, २०८०, १९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।