दुखाई विशेषज्ञ डा. ग्रिसुनाको उपचार अनुभव :  मृत्यु कुरेर बसेका युवा इन्जेक्सन दिएपछि जब मुसुक्क हाँसे

दुखाई विशेषज्ञ डा. ग्रिसुनाको उपचार अनुभव :  मृत्यु कुरेर बसेका युवा इन्जेक्सन दिएपछि जब मुसुक्क हाँसे

डा. ग्रिसुना सिंह एनेस्थेसियोलोजिष्ट तथा दुखाई विशेषज्ञ हुन्। उनले शल्यक्रिया गर्नुपर्ने हजारौँ बिरामीलाई बेहोस बनाएर व्यूुँत्याएकी छिन्। उनले दुखाइसम्बन्धी समस्या भएका सयौं बिरामीलाई निको पारेकी छिन्। उनै डा. ग्रिसुनाले चिकित्सकीय पेसाको सिलसिलामा देखे भोगेका अनुभव उकेरासँग साटेकी छन्।

OOO

डा. ग्रिसुना आफ्नो पेसागत अनुभव सुनाउनेक्रममा सबैभन्दा पहिला करिब क्यान्सरको समस्या भएका ३० वर्षका पुरुषको दुखाइको उपचारको अनुभव बाँडिन्।

ती युवाको फोक्सोमा क्यान्सर भएर फैलिइसकेको थियो। क्यान्सर फैलिएर उनको दायाँतर्फको फोक्सो छियाछिया नै भएको थियो। क्यान्सरको ट्युमर भित्र रगत बगिरहेको थियो भने मुटु र कलेजो समेत थिचिएको थियो।

ती युवालाई असह्य दुखाई हुन्थ्यो। ‘हाइ डोज’ औषधि चलाउँदा समेत उनको दुखाई कम भएको थिएन।

अस्पताल पुग्दा सुरुमा त ती युवाले कुम दुख्ने बताएका थिए। कारण खोज्दै जाँदा फोक्सोको क्यान्सरको असरले कुम दुखेको देखियो। क्यान्सर धेरै नै फैलिएकाले युवाको ज्यान जोगाउन कठिन थियो। शल्यक्रिया गरेर समेत बचाउ नसक्ने अवस्था थिएन।

उनी मृत्यु कुरेर बसेका थिए। अधिक दुखाइले उनलाई मृत्यु कुर्न समेत सहज भइरहेको थिएन। उनी सहज मृत्युको पर्खाइमा थिए।

दुखेको ठाउँ र कारण पत्ता लागेपछि युवालाई डा. ग्रिसुनाले आइसियुमा भर्ना गरेर दुखाई कम गर्ने औषधी चलाइन्।

औषधी दिएको भोलिपल्ट ती युवाको दुखाई नै चमत्कारिक रूपमा कम भयो। युवाको अनुहारै उज्यालो थियो।

युवाको दुखाई कम भएको देखेर आफन्त पनि खुसी भए। ती युवाको क्यान्सर फैलिएर जटिल अवस्थामा पुगिसकेको थियो। डा. ग्रिसुनाले दुखाई कम गर्ने औषधि दिन थालेको करिब एक महिनामा उनको क्यान्सरका कारण मृत्यु भयो।

ती युवाको मृत्यु हुँदा डा. ग्रिसुनाको मन कटक्क खायो। तर, बाँचुन्जेल दुखाई कम गराउन सकेकोमा उनले चित्त बुझाइन्।

अर्को अनुभव पनि क्यान्सर पीडितकै रहेछ।

केही वर्ष अघि फोक्सोको क्यान्सर भएका करिब ४५ वर्षका पुरुषलाई उनकी श्रीमतीले अस्पताल ल्याएकी थिइन्। समयमै पहिचान गर्न सक्ने हो भने क्यान्सरको पनि उपचार सम्भव छ। तर ती पुरुषको पनि क्यान्सर फैलिएर जटिल भइसकेको थियो। क्यान्सर फैलिएर घाँटी र कुमको बिच भागमा बाहिरबाटै ह्वाङ्ग देखिनेगरी प्वाल परेको थियो। त्यो घाउ गन्हाएको समेत थियो।

उनी क्यान्सरको दुखाइले पिडामा थिए। उनको श्रीमती स्वास्थ्यकर्मी नै रहिछन्। क्यान्सर अस्पतालमा उनले डा. ग्रिसुनाको नाम र 'पेन फिजिसियन' लेखेको परिचय देखिन्। त्यसपछि उनी डा. ग्रिसुनालाई खोज्दै आएकी थिइन्।

डा. ग्रिसुनालाई भेटेपछि ती पुरुषकी श्रीमतीले भनिन्,‘डाक्टरसाप मेरो श्रीमानको बिजोग भयो, जति दिन बाँच्नुहुन्छ उहाँको दुखाई कम होस्। बाँचुन्जेल मेरा छोराछोरीलाई बुवाको अनुहार उज्यालो देखाउन पाउँ।’

उनले ती पुरुषलाई दुखाई कम गर्ने सुई दिइन्। सुईमार्फत दुखाई कम गर्ने औषधी दिएको केही समयमा ती पुरुषको दुखाई कम भयो। केही समयपछि उनी मुसुक्क हाँसे। श्रीमानको हाँसो देखेर श्रीमती खुसी भइन्।

थला परेकी आमै एकै छिनमा हिँड्न थालेपछि...

करिब डेढ वर्ष अघि दुखाइको समस्या लिएर पोखराबाट उपचारका लागि आएकी एक आमैको उपचार गरेको प्रसङ्ग पनि डा. ग्रिसुना सम्झिरहन्छिन्।

उनी ९२ वर्षकी थिइन्। आमैलाई उपचारका लागि काठमाडौँको नेपाल क्यान्सर अस्पतालमा ल्याइएको थियो। डा. ग्रिसुनासँग चिनजान भएकी आमैको छोरीले काठमाडौँ ल्याएकी थिइन्। उनी हिँड्न सक्ने अवस्थामा थिइनन्। ह्विल चियरमा राखेर अस्पतालभित्र लैजानुपरेको थियो। चिकित्सकीय भाषामा भन्नुपर्दा ती आमैलाई ‘डिस्क प्रोल्याक्यास’को समस्या थियो।

पाको उमेर, मुटुको रोग लगायतको समस्या थियो उनमा। शल्यक्रिया गर्दा कति सुधार हुन्छ भन्नेसम्म एकिन नभएपछि आमै थला परेर बसेकी थिइन्।

उनी न बस्न सक्थिन् न सुत्न। दुखाइका कारण रात दिन ‘ऐया ऐया...’ भन्दै बिताउनु परेको थियो। डा. ग्रिसुनाले ती आमैको स्वास्थ्य परीक्षण गरिन्। एमआरआई परीक्षणका लागि सुत्न पनि नसक्ने अवस्था थियो।

पहिला उनले दुखाई कम गर्ने औषधि दिइन् अनि एमआरआई गरिन्। एमआरआईमा आमैको ढाडको नसा च्यापिएकाले दुखाई भएको पत्ता लाग्यो।

त्यसपछि डा. ग्रिसुनाले आमैको ढाडमा दुखाई कम गर्ने औषधी राखेर सुई लगाइन्। जसलाई चिकित्सकीय भाषामा ‘डाइग्नोष्टिक’ भनिन्छ।

यो उपचारात्मक विधिले चमत्कारिक रूपमा आमैको दुखाई कम भयो। आमैले एकै छिनमा 'छ्याङ्गै रोग हट्यो नानी' पो भनिन्।

‘डाइग्नोष्टिक’ विधि अपनाएपछि उनले ‘रेडियो फ्रिक्वेन्सी नर्भ एभुलेशन(आरएफ)’ उपचार विधि अपनाइन्। यो दुखाई कम गर्ने विशेष किसिमको थेरापी हो। यस किसिमको उपचारात्मक विधिले सामान्यतया करिब एक वर्ष दुखाइको समस्या नहुने डा. ग्रिसुनाको अनुभव छ।

दुखाई कम गर्ने यस्तो किसिमको उपचार गरेपछि आमै आफैँ हिँड्न सक्ने भइहालिन्। ती आमा अस्पतालबाट निस्कँदा आफैँ हिड्नसक्ने भइन्।

उनी अहिलेसम्म पनि ठमठम हिड्नसक्ने अवस्थामै छिन्। लाठी समेत चाहिँदैन रे।

करिब ६ महिनाअघि करिब ४२ वर्षकी महिलालाई उपचारका लागि डा. ग्रिसुनाकहाँ पुर्याइएको थियो। ती महिलाको फोक्सोमा क्यान्सर फैलिएर मिर्गौला नै निकालेर फालिएको थियो।

मिर्गौला बसेको ठाउँ, कलेजो, आन्द्रालगायत शरीरका भित्री अङ्गमा समेत क्यान्सर फैलिएको थियो।

खुट्टा टेक्न सक्ने अवस्थामा थिइनन् ती महिला। क्यान्सर ठिक हुने अवस्थामा थिएन तर दुखाई त कम गर्न सकिन्थ्यो।

दुखाइको कारण र ठाउँ पत्ता लगाइसकेपछि डा. ग्रिसुनाले ती महिलालार्ई दुखाई कम गर्ने सुई लगाइदिइन्। केही बेरमा ती महिला उठेर बस्न थालिन्। महिलाको मुहार उज्यालो भयो।

रोजाई एनेस्थेसिया

डा. ग्रिसुना काठमाडौँको भोटेबहालमा जन्मिएकी हुन्। उनले ललितपुरको जावलाखेलस्थित आदर्श विद्यामन्दिर हाइस्कुलबाट २०५५ मा एसएलसी उत्तीर्ण गरिन्। काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेत कलेजबाट आइएस्सी गरिन्।

ग्रिसुनाका बुवा पनि रेडियोलोजिष्ट चिकित्सक। उनलाई सानैदेखि चिकित्सक बन्ने रहर थियो।

अध्ययनमा तीक्ष्ण ग्रिसुना काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेपाल मेडिकल कलेजमा सन् २००३ मा एमबिबिएस अध्ययनका लागि भर्ना भइन्।

सन् २००८ मा उनको एमबिबिएस अध्ययन पूरा भयो। अध्ययन पूरा भइसकेपछि डा. ग्रिसुनाले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आकस्मिक विभागमा मेडिकल अधिकृतका रूपमा एक वर्ष काम गरिन्।

त्यसपछि पाटन अस्पताल पुगिन्। पाटन अस्पतालमा उनले पेडियाट्रिक एनआइसियु विभागमा मेडिकल अधिकृतका रूपमा काम गर्न थालिन्। त्यहाँ उनले केही समय काम गरिन्।

उनलाई थप अध्ययन गर्नु थियो नै। सन् २०१२ मा काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजमा स्नातकोत्तर तहको एनेस्थेसिया विषयमा एमडी तहको अध्ययन सुरु गरिन्।

सन् २०१५ मा उनको एमडी अध्ययन पूरा भयो। त्यही बिचमा उनको विवाह भयो। डा. ग्रिसुनाका श्रीमान् पनि चिकित्सक नै हुन्।

एमडी अध्ययन सक्नासाथ डा. ग्रिसुनाले नेपालगन्ज मेडिकल कलेजकै अस्पतालमा एनेस्थेसियोलोजिष्टका रूपमा काम गर्न थालिन्। उनले त्यहाँ सन् २०१९ सम्म करिब चार वर्ष काम गरिन्।

त्यसपछि नेपालगन्जको जागिर छाडेर उनी काठमाडौँ आइन्। काठमाडौँ आएर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा काम गर्न  थालिन्। त्यहाँ विशेषगरी प्रसूति तथा स्त्रीरोग सम्बन्धी समस्या भएका शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि एनेस्थेसिया दिएर बेहोस बनाइ व्यूँत्याउनु र आइसियु व्यवस्थापन उनको मुख्य काम थियो।

प्रसूति गृहमा करिब तीन महिना काम गरेपछि उनी नेपालगन्ज नै फर्किइन्।

डा. ग्रिसुनालाई अझै विशिष्टीकृत (सुपरस्पेशलाइजेशन) अध्ययन गर्ने इच्छा थियो। कार्डियोथोरासिक र अङ्ग प्रत्यारोपण जस्ता विषयमा विशिष्टीकृत अध्ययन गर्ने त्यतिकै रुचि थियो उनमा।

अर्कोतर्फ दुखाई सम्बन्धी समस्याको व्यवस्थापन (पेन म्यानेजमेन्ट) विषयमा पनि रुचि थियो उनमा।

नभन्दै डा. ग्रिसुनाले दक्षिण कोरियामा दुखाई व्यवस्थापन (पेन म्यानेजमेन्ट) सम्बन्धी विषयमा फेलोसिप गर्ने मौका पाइन्। नेपालगन्ज मेडिकल कलेजमा करिब तीन महिना काम गरेपछि सन् २०१९ मा दक्षिण कोरियाको ‘सोल नेश्नल युनिभर्सिटी’मा फेलोसिप गर्न पुगिन्। त्यहाँ उनले दुखाई व्यवस्थापन सम्बन्धी ज्ञान तथा सीप सिकेर सन् २०२० मा डा. ग्रिसुना नेपाल  फकिइन्।

उनी फर्कँदा नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण लकडाउन सुरु भइसकेको थियो। फेलोसिप सकेर नेपाल फर्किएपछि उनी काठमाडौँ नै काम गर्न थालिन्।

स्टार अस्पतालमा एनेस्थेसियोलोजिष्टका रूपमा र नेपाल क्यान्सर अस्पतालमा दुखाई विशेषज्ञ (कन्सल्टेन्ट पेन फिजिसियन)का रूपमा काम गर्न थालिन्। अहिले उनी नेपाल क्यान्सर अस्पतालमा मात्रै काम गर्छिन्।

जहाँ दुख्यो त्यहीँ उपचार

स्वास्थ्य सचेतनाको अभावमा गम्भीर रोगमा त हेलचेक्राई हुन्छ। दुखाई गम्भीर नभई बिरामी अस्पताल नै आइपुग्दैनन्।

दुखाई सुरु भएपछि प्रायले सुत्न मिलेन होला वा यस्तै केही सोचेर बस्छन्। गएर परामर्श नै नलिई आफैँ पेन किलर खान्छन्। जब जटिल हुन्छ अनि मात्र अस्पताल पुग्छन्।

जब कारण पत्ता लाग्छ अनि उपचारविधी सुरु हुन्छ। दुखाई कम गर्न औषधी, फिजियोथेरापी र इन्टरभेन्सन जस्ता विधि अपनाइने उनले सुनाइन्।

जुन ठाउँमा जे कारणले दुखाई भएको छ त्यो कारण पत्ता लगाएर दुख्ने ठाउँमा दुखाई कम गर्ने सुई लगाउनुलाई चिकित्सकीय भाषामा ‘इन्टरभेन्शन’ भनिन्छ।

सामान्य किसिमको औषधिले दुखाई कम नभएको खण्डमा सुइँको माध्यमबाट दुखाई कम गर्ने औषधि दिने इन्टरभेन्सन उपचारात्मक विधि अपनाइने उनले बताइन्।

औषधि दिएर दुखाई कम गर्ने विधिलाई चिकित्सकीय भाषामा ‘कन्जर्भेटिभ’ र सुईको माध्यमबाट दुखाई कम गर्ने औषधि दिइने विधिलाई ‘इन्टरभेन्सन’ उपचारात्मक विधि भनिन्छ।

तर, बिरामीलाई इन्टरभेन्सन भनेको के हो भनेर अझै पनि बुझाउन कठिन हुने गरेको उनले सुनाइन्।

क्यान्सर भएका बिरामीलाई क्यान्सरको उपचार तथा दुखाई कम गर्न रेडियोथेरापी उपचारात्मक विधि समेत अपनाइने उनले सुनाइन्।

तर, क्यान्सर रोगको समस्या भएका अधिकांश बिरामी रोग जटिल भइसकेपछि मात्रै दुखाइसम्बन्धी समस्या लिएर आफूकहाँ आइपुग्ने गरेको उनको अनुभव छ।

बिरामी नै ढिला आइपुग्दा उपचारमा समेत समस्या हुने गरेको उनी बताउँछिन्। त्यसैले दुखाइसम्बन्धी समस्या भए बेलैमा दुखाई विशेषज्ञ चिकित्सककहाँ पुग्न डा. ग्रिसुनाको सुझाव छ।

उनी अहिले क्यान्सर अस्पतालमा छिन्। त्यसैले उनीकहाँ अधिकांश क्यान्सरकै समस्या भएका बिरामी आइपुग्छन्।

ती बिरामीका लागि अल्ट्रासाउन्ड, सीटीस्क्यान, एमआरआई, पेटस्क्यान जस्ता मेसिनको सहायताले दुखाइको कारण, दुखाई भएको ठाउँ लगायत पत्ता लगाइने उनले सुनाइन्। 

प्रविधि लगायतको प्रयोग गरेर दुखाइको कारण पत्ता लगाई दुखाइको प्रकृतिअनुसार प्रत्येक व्यक्तिका लागि छुट्टै विशेष उपचार योजना बनाएर बिरामीको दुखाई कम गर्नु डा. ग्रिसुनाको दैनिकी हो।

यसरी दुखाई व्यवस्थापन सम्बन्धी उपचार गर्दा रोगको प्रकृति अनुसार चिकित्सकको टिमको समन्वयमा एकीकृत उपचार योजना बनाइने उनले अनुभव सुनाइन्।

थरिथरीका दुखाई

टाउको दुख्ने, माइग्रेन, घाँटी तथा ढाडको नसा च्यापिएको, घुँडा खिएर दुख्ने, बाथ, क्यान्सर तथा विभिन्न रोगका कारण दुखाइसम्बन्धी समस्या लिएर डा. ग्रिसुनाकहाँ बिरामी पुग्ने गरेका छन्।

विभिन्न दुर्घटना, डिक्स प्रोल्याप्सको समस्या, हड्डी खिइने समस्या जस्ता कारणले ढाडको नसा च्यापिने समस्याले दुखाई बढाउने उनले सुनाइन्।

विशेषगरी पाको उमेर हुँदै गएका व्यक्ति, धेरै भारी बोकेर काम गर्ने व्यक्ति, धेरै मोटो व्यक्तिमा तुलनात्मक रूपमा घुँडा खिइने समस्या बढी देखिएको उनले सुनाइन्। त्यसैगरी भान्सामा धरै काम गर्ने व्यक्तिको हातको कुइनो खिइने समस्या धेरै देखिएको डा. ग्रिसुनाले अनुभव छ।

दुखाई दीर्घकालीन रूपमा लामो समय दुख्ने अनि छोटो समय दुख्ने किसिमको हुन्छ। दीर्घकालीन रूपमा हुने दुखाइलाई चिकित्सकीय भाषामा ‘क्रोनिक पेन’ भनिन्छ भने छोटो समयको दुखाइलाई ‘एक्युड पेन’ भनिन्छ।

उदाहरणको रूपमा कुनै क्यान्सर वा घुँडा खिइनेजस्ता विभिन्न रोग लगायतका कारण लामो समय दुखाई हुन सक्छ। र, शल्यक्रिया गरेको जस्ता बिरामीमा छोटो समयको दुखाई हुन्छ।

बिरामीले उनीसँग बारम्बार भन्ने शब्दहरू हुन्, ‘सियोले घोचेको जस्तै हुन्छ’, ‘झम्झमाउँछ’, ‘पोल्छ’। यस्तो लक्षण भए नसासम्बन्धी समस्याको लक्षण हुने उनी बताउँछिन्। यस्तो समस्यालाई चिकित्सकीय भाषामा न्यूरोप्याथिक समस्या भनिन्छ।

पहिलाको तुलनामा अहिले दुखेको समस्या लिएर विशेषज्ञ चिकित्सककहाँ जाने चलन बढ्दै गएको उनको अनुभव छ।

जसरी अन्य रोगको विशेषज्ञ हुन्छन् त्यसरी नै दुखाई सम्बन्धी उपचारको पनि विशेषज्ञ हुन्छन्। तर अझै यसबारे धेरैलाई जानकारी नभएको उनको अनुभव छ।

१८ कात्तिक, २०८०, २२:०६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।