भारतीय नागरिकको नेपाली प्रेमीका पच्छ्याउँदा प्रिन्सिपल रूपेशको ज्यान गयो , प्रेमीका समातिइन्, भारतीय सुटर फरारै

भारतीय नागरिकको नेपाली प्रेमीका पच्छ्याउँदा प्रिन्सिपल रूपेशको ज्यान गयो , प्रेमीका समातिइन्, भारतीय सुटर फरारै

काठमाडौँ : कलैया उप-महानगरपालिका वडा नं. ६ मदर्शाटोल बस्ने २२ वर्षकी राधा गुप्ता बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलको सह-लेखापाल थिइन्। त्यसका प्रिन्सिपल थिए रूपेश स्वर्णकार।

राधा भारतीय नागरिक मनोज गुप्तासँग प्रेम सम्बन्धमा थिइन्। मनोज विवाहित नै थिए। यी दुवैको प्रेम तीन वर्षदेखि सम्बन्ध चलिरहेको थियो। एक वर्ष अगाडि राधाको जीवनमा रुपेशको पनि प्रवेश भयो। रुपेश पनि विवाहित। राधा यी दुवैसँग प्रेमी प्रेमिकाको सम्बन्धमा रहिन्।

राधा आफूसँग टाढिँदै गएपछि मनोजले उनको चियो गर्न थाले। आफ्नो प्रेमीका जुन स्कुलमा काम गर्छिन् त्यहीँको प्रिन्सिपलसँग सम्बन्धमा रहेको पत्ता पनि लगाए। त्यो थाहा पाएपछि पहिला उनले रुपेशलाई आफ्नो प्रेमिकाबाट टाढै बस्न चेतावनी दिए। रुपेशले मानेनन्।

त्यसपछि मनोजले राधालाई स्कुलको काम छाड्न दबाब दिए। राधाले वैशाखमा स्कुल छाडिन् अनि रुपेशलाई आफ्नो पछि नलाग्न पनि भनिन्। तर रुपेशले मानेनन्। उनी राधाको घरसम्म पनि जान थाले।

राधासँगको सम्बन्धलाई लिएर मनोज र रुपेशविच बारम्बार झगडा समेत भयो। तर रुपेशले राधालाई छाडेनन्। जति गरे पनि रुपेशले राधालाई पच्छ्याउन नछाडेपछि मनोजले हत्या नै गर्ने योजना बनाएर भारतीय सुटरलाई जिम्मा दिए।

हत्याको ठेक्का पाएकाहरु नेपाल आएर पटक-पटक रुपेशको हत्या गर्ने प्रयास गरेका थिए। तर सफल भएनन् उनीहरू।​​​​​​कात्तिक १३ गते रुपेश मदर्शाटोलमा रहेको बोर्डिङ स्कुल जानेक्रममा दुई वटा मोटरसाइकलमा आएकाहरूले गोली हानेर भागे। गम्भिर घाइते भएका उनलाई उपचारका लागि अस्पताल त लगियो तर ज्यान जोगिएन।

भारतीय सुटर

घटना लगत्तै अनुसन्धानमा जुटेको बारा प्रहरीले रुपेश हत्यामा संलग्न रहेको आशङ्कामा राधालाई नियन्त्रणमा लिएको थियो। उनीबाट घटनाबारे थप विवरण खुलेपछि अन्य ब्यक्तीहरु पनि पक्राउ परे।

सिसिटिभीको फुटेजको आधारमा सुटरहरु पनि नदेखिएको हैन तर उनीहरू पक्राउ परेका छैनन्। हत्यामा नौ जना संलग्न रहेको निष्कर्ष निकालेको प्रहरीले हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको कारण खुलाउँदै पाँच जनालाई पक्राउ गरेर बुधबार सार्वजनिक गर्यो ।

जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेकाहरूमा राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह छन्। उनीहरूलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले पक्राउ परेकोहरुमध्ये राधा घटनाको मुख्य योजनाकार र रुपेशबारे सूचना संकलन गरेर दिने गरेको बताए। अन्य चार जना घटनाको सहयोगी हुन्।

सोमबार दुइटा मोटरसाइकलमा आएर गोली हान्नेहरूमा भारत मोतिहारी जिल्ला, दर्पा थाना-१, सुक्लहिया बस्ने वर्ष २५   को सुजित कुमार सिंह, चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरीको दाबी छ। उनीहरूको परिचय फेला पारेको प्रहरीले उनीहरूलाई फेला पार्न भने सकेको छैन।

१५ कात्तिक, २०८०, १७:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।