आहा ! क्या मिलेका मौसम, चाडबाड अनि खानपान

आहा ! क्या मिलेका मौसम, चाडबाड अनि खानपान

नेपालमा बाह्रै महिनाजसो विभिन्न चाडपर्व मनाइन्छ। जातजाती तथा धर्म परम्परा र संस्कृति र समाजिक मान्यता अनुसार चाडपर्वका आ-आफ्नै महत्व पनि छन्।

बाह्रै महिनामा मौसम अनुसारका चाडपर्व अनि मौसमअनुसार नै शारीरिक तथा मानसिक स्वास्थ्यलाई लाभदायक हुने खानपान परम्परा रहेको संस्कृतिविद् तथा आयुर्वेदका ज्ञाता र चिकित्सकहरू बताउँछन्।

जाडो मौसममा विशेषगरी शरीर न्यानो हुने किसिमको खानपान गरिन्छ भने गर्मी मौसममा शरीरलाई शितल बनाउने। जाडोमा मौसममा चाडपर्वसँगै उसिनेको शखरखण्ड, पिँडालु, तरुल तथा गेडागुडीलगायत खाने परम्परा तथा चलन चलेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

विशेषगरी जाडोमा भुटेको मकै र गहुँको परम्परा छ। गहुँ, मकै, भटमास चपाउँदा मुख चल्छ, जसले शरीर नै न्यानो हुने र शरीरमा ऊर्जा आउने उनको भनाइ छ। गर्मी मौसममा शखर-पानी खाने चलन हुन्छ। वर्षाको मौसममा शरीरमा चिसो नलागोस् भनेर क्वाँटी, बारा र चटामरी खाने पर्व मनाइने गरेको संस्कृतिविद् धौभडेलको मत छ।

डा. दिनेश बाँस्तोला मौसम, चाडपर्व र खानपान संस्कृतिको सामजस्यता नै देखिएको बताउँछन्। स्वास्थ्यका दृष्टिले पनि चाडपर्व अनुसार खानपानको निर्धारण भएको देखिएको उनको तर्क छ।

मौसम अनुसारको हावापानी र जातजाति  अनुसार मनाइने चाडपर्वमा खाने खानपान पनि फरक-फरक हुन्छन्। खानपान सामाजिक सिकाई परम्परा भएको डा. बाँस्तोलाको मत छ। हरेक देश, धर्म, सम्प्रदायमा कुनै न कुनै चाडपर्व मनाउने परम्परा रहेको उनी स्मरण गराउँछन्।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी परम्परागत रूपमा हेर्दा चाडपर्वमा मौसम अनुकुलका खाना खाइने चलन रहेको बताउँछन्। जसले स्वास्थ्यमा लाभदायक हुने उनको मत छ।

नेपालमा मौसम अनुसार मनाइने चाडपर्व र यस्ता चाडपर्वमा खाने खानपानले मानसिक रूपमा स्वस्थ रहन लाभ मिल्ने मनोविद् गोपाल ढकाल बताउँछन्।

मानसिक स्वास्थ्यलाई विभिन्न कारणले प्रभाव पार्छन्। हरियालीको समयमा एक किसिमको मन हुन्छ भने उजाड भएको समयमा अर्कै किसिमको मन हुने उनको भनाइ छ।

त्यसैगरी चाडपर्वमा खाने खानपान र भेटघाट लगायतको उमंगले मानसिक स्वास्थ्यमा सकारात्मक लाभ मिल्ने मनोविद् ढकालको मत छ।

‘हाम्रा चाडपर्व मानसिक स्वास्थ्यको दृष्टिले पनि वैज्ञानिक छन्,’ उनले भने, ‘मौसम अनुसारकै चाडपर्व र त्यहि अनुसारको खानपान हुन्छ।’

नेपालमा बाह्रै महिना मौसम अनुसारको खानपान गर्नेगरी पूर्वजहरूले चाडपर्व बनाएको संस्कृतविद् धौभडेलको तर्क छ। ऋतु र हावापानी अनुसार त्यही मौसममा पाइने खानपानलाई उपयोगिता गर्ने दृष्टिले नै वैज्ञानिक ढंगले चाडपर्व मनाउने परम्परा रहेको उनी बताउँछन्।

चैत, वैशाख र जेठ : निरासा भगाउन जात्रा-पर्व
चैत, वैशाख र जेठ महिनामा उँधौली, बुद्ध जयन्ती, उँभौली जस्ता पर्वहरू पर्छन्। काठमाडौं उपत्यका लगायतमा नेवार समुदायले विभिन्न स्थानीय पर्वहरू मनाउने धौभडेल बताउँछन्।

चैत, वैशाख उराठलाग्दो महिना हुने भएकाले यी महिनामा विभिन्न स्थानीय उत्सव तथा चाडपर्व मनाउँदा व्यक्तिको मनमा उमङ्ग आउँछ।

यी महिनामा पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा, भक्तपुरमा विस्केट जात्रा र काठमाडौंमा सेतो मच्छिन्द्रनाथ लगायत अन्य स्थानीय जात्राहरू मनाउने चलन छ।

उपत्यका बाहिरका नजिकका जिल्लाहरूमा बनेपा, पनौती, साँगा, नाला लगायतमा नेवारी समुदायले स्थानीय जात्रा मनाउने परम्परा छ। उमङ्गगका साथ यस्ता जात्रा तथा उत्सव मनाउँदा व्यक्तिमा उमङ्गसँगै ऊर्जा मिल्ने धौभडेलको मत छ।

जेष्ठ शुक्ल पक्षको षष्ठीमा नेवारी समुदायको ‘सिठी नखः’ पर्व पर्छ। यो पर्वमा विशेषगरी नेवारी समुदायमा मास, मुगीको बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवा लगायतका परिकार खाने चलन छ।

धान रोप्ने लगायत खेतीको समयमा यस्ता परिकार खानाले शरीरमा ऊर्जा दिने र खेतीपातीको काम गर्न सकिने धौभडेल बताउँछन्। यो पर्वमा पानीका मुहान समेत सफा गरिन्छ।

असार : धान रोप्ने, शीतलता बढाउने
त्यसैगरी असार १५ लाई पनि पर्वका रूपमा मनाउने चलन छ। असार १५ गते धान रोप्ने लगायत कामको चापले थकित भएका किसानले दही, चिउरा र केरा खानाले शक्ति र शीतलता पाउने विश्वास गरिन्छ। असारमा नै हरिशयनी एकादशी ब्रत पनि पर्छ।

साउन र भदौ : चिसो भगाउन मासु र गेडागुडी
साउनमा साउने संक्रान्ति पर्व पर्छ। साउने संक्रान्तिमा विशेषगरी मासु खाने चलन हुन्छ। साउन महिनामा काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन ‘गठेमंगल’ पर्व मनाउँछन्।

भूत भगाउने पर्वका रूपमा मनाइने गठेमंगलमा यही परिकार खाने भन्ने एकीन नभए पनि ‘समय बजी’ खाने चलन रहेको संस्कृतविद् धौभडेल बताउँछन्।

साउन, भदौ महिनामा पर्ने गाइजात्रामा विशेषगरी नेवारी समुदायमा क्वाँती, रोटी खाने चलन हुन्छ। मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी जस्ता नौ थरी गेडागुडीलाई मिसाएर पकाई क्वाँतीका रूपमा खाने चलन छ।

धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको रात क्वाँती खाने चलन हुन्छ। चार दिन भिजाएर टुसा उम्रेपछि पकाइने यस्ता गेडागुडीको परिकार स्वास्थ्यका लागि लाभदायक हुन्छ। साउनमा धेरै पानी पर्ने भएकाले चिसोबाट जोगिनका लागि गेडागुडीको क्वाँती पकाएर खाने चलन भएको संस्कृतिविद् धौभडेलको भनाइ छ।

त्यसैगरी भदौ महिनामा नेवारी समुदायमा इन्द्रजात्रा मनाउने परम्परा छ। यो जात्रामा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरिन्छ। इन्द्रजात्रालाई दशैं आगमनको संकेतका रूपमा पनि लिइन्छ। यो पर्वमा विशेष गरी छोइला, साँदेको भटमास, माछा, अदुवा, लसुनजस्ता परिकारको ‘समय बजी’ खाने चलन छ।

भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म चार दिन तीन तीज मनाइन्छ। महिलाहरूले भगवान शिवको आराधना गर्नुका साथै नाचगान तथा मनोरञ्जन गर्ने, मीठो खानपान गर्ने अनि ब्रत बसेर तीज मनाउँछन्। तीजमा दरका रूपमा ठाउँ अनुसार खिर, घ्यू, चामलको भात, सेलरोटी केरा लगात परिकार तथा फलफूल खाने चलन छ। यस्ता परिकारले शरीरमा ऊर्जा दिने नै भयो।

असोज, कार्तिक र मंसिर : मासुको परिकार खाने महिना
असोज वा कार्तिक महिनामा दशैं पर्छ। दशैंको मौसममा सामान्यतया खेती पातीको काम सकेर आफन्तसँग भेटघाट गर्दै तथा परिवार जम्मा भएर माछा, मासुजस्ता मीठो परिकार खाने चलन छ।

वर्षे खेतीपातीको काम सकेर माछामासु तथा परिकार खाँदै मान्यजनबाट टीका तथा जमरा थापेर उमङ्गसाथ मनाउने दशैं पर्वले व्यक्ति शारीरिक तथा मानसिक रूपमा ऊर्जावान हुने संस्कृतिविद् बताउँछन्।

दशैंमा मासुकै उपभोग बढी हुन्छ। यो मौसममा हरियो घाँस खाएर बोका, राँगा जस्ता पशु मोटाएका हुन्छन्। असोज, कार्तिकमा मासु खाँदा मासुको स्वाद नै मीठो हुने अनि विशेषगरी यो मौसममा मोटाएका खसी, राँगाको मासु खाँदा शरीर ऊर्जावान हुने संस्कृतिविद् धौभडेल बताउँछन्।

कार्तिक, मङ्सिर र पुस : चिसो भगाउने खानपान
सामान्यतया कात्तिक-मंसिरमा तिहार पर्छ। तिहारमा विशेषगरी फलफूल तथा मिठाइ, रोटी लगायतका परिकार खाने अनि दिदिबहिनीबाट दाजुभाइले सयपत्री, मखमली गोदावरी जस्ता फूलका माला लगाउने परम्परा छ।

संस्कृतिविद् धौभडेलका अनुसार तिहारमा स्थानीय रूपमा उत्पादन हुने, हलुवावेद, सुन्तला, जुनार, कटुसजस्ता फलफूल उपयोग हुने चलन थियो। तर, अहिले भने तिहारमा आयातित मसलाको प्रयोग बढेको पाइन्छ।

‘यो पर्वमा हाम्रो वरिपरी फलेका फल र मिठाइका परिकार खाइन्छ’, धौभडेलले भने।

तिहारपछि छठ पर्व मनाइन्छ। यो पर्वमा पष्ठी भगवतीका पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। विशेषगरी नेपालको तराई (मधेस) क्षेत्रमा यो पर्व हर्षोल्लासका साथ मनाइन्छ।

यो पर्वमा पञ्चमीका दिनदेखि ब्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक जलाशयमा स्नान गरेर बेलुकीपख दूध, चामल, र शखरको खिर पकाएर प्रसादको रूपमा आफूले खाने चलन छ।

व्रत नबस्ने परिवारका सदस्यलाई पनि परिकार खुवाउने चलन छ। यो पर्वमा विशेषगरी स्थानीय रूपमा उत्पादित केरा, नरिवल जस्ता फलफूलको प्रयोग हुन्छ।

कार्तिक, मंसिरमा नै नेवारी समुदायमा ‘सकिमना’ पुन्ही मनाउने चलन छ। कार्तिक पूर्णमाको दिन नेवारी समुदायले मनाउने यो पर्व स्थानीय खानाको परिकार संकलन गर्ने पर्वका रूपमा चिनिन्छ।

यस किसिमका पर्वमा गक्षअनुसार अन्न तथा गेडागुडीले मन्दिरको अघि पूजा गर्ने चलन हुन्छ। यो दिन पोषणयुक्त गेडागुडी तथा पिँडालु उसिनेर समेत खाने चलन छ।

यो पर्व किसान समुदायलाई पौष्टिकतायुक्त खानाको ज्ञान दिने पर्वका रूपमा समेत चिनिन्छ। यो जाडोको मौसम भएकाले भुटेको मकै र भटमाससमेत खाने चलन हुन्छ। मंसिर, पुसमा उँधौली पर्व (राई), यःमरी पुन्हि, तमु ल्होछार जस्ता चाडपर्व पर्छन्।

सामान्यतया पुसमा पर्ने यःमरी पुन्हि पर्वमा विशेषगरी नेवारी समुदायमा यःमरी बनाएर खाने चलन हुन्छ। तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको एक विशेष किसिमको परिकारलाई यःमरी भन्ने गरिन्छ। यःमरीमा धर्तिका रूपमा चामलको पिठो, अग्निका रूपमा चाकु, जलका रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ, र वायुको रूपमा तिललाई लिइन्छ।

जाडो मौसममा यःमरी खानाले शरीरमा ऊर्जा मिल्नुका साथै शरीर न्यानो हुने विश्वास गरिन्छ। पुष र माघ महिनामा खासै काम पनि नहुने भएकाले स्वस्थानीको ब्रत बस्ने लगायत धर्मकर्मका काम हुने संस्कृतिविद् धौभडेलले बताए।

माघ : मजबुती र शक्ति बढाउने खाना
माघमा माघे संक्रान्ति (माघी), सोनाम ल्होछार जस्ता पर्छन्। माघे संक्रान्तिलाई मकर संक्रान्ति तथा माघी भनिन्छ। विभिन्न नदी तथा त्रिवेणीमा गएर स्नान गरी मन्दिरमा पूजा गर्ने अनि घ्यू, चाकु, तिलको लड्डु, तरुल, शखरखण्ड (सुठुनी), रोटी, फुरौला, माछामासु जस्ता विभिन्न परिकार खाएर माघे संक्रान्ति मनाइन्छ।

यो पर्वमा यस्ता परिकार खाएको खण्डमा शरीर मजबुत तथा निरोगी हुने विश्वास छ। माघे संक्रान्तिमा सिद्रा माछा, हरियो खुर्सानी र लसुन, काँचो चाकु, काँचो तरुल खानाले शरीर ऊर्जावान हुने संस्कृतिविद् धौभडेल बताउँछन्। माघ, फागुनमा महाशिभरात्री ब्रत, होली, ग्याल्पो ल्होछार जस्ता पर्व पनि पर्छन्।

फागुन : भाङ-धतुरोसहितको खानपान
सामान्यतया फागुनमा फागुन पूर्णिमा (होली) पर्व मनाइन्छ। यो रङ्गमा रमाउने पर्व हो। रङ्गसँगै खानपान गरेर मनाउने पर्व पनि हो होली। यो पर्वमा भाङ, धतुरो, गाँजासमेत खाने चलन रहेको संस्कृतिविद् धौभडेल बताउँछन्।

‘होलीमा भाङ, धतुरो, गाँजा, लागुपदार्थहरू खाने चलन हुन्छ’, उनले भने।

पर्वका धार्मिक, सांस्कृतिक र आयुर्वेदिक खानपान परम्परा 
वाल्मिकी विद्यापीठका सह-प्राध्यापक डा. वासुदेव खनाल वैदिक सनातन परम्परामा काललाई विशेषगरी आठ भागमा विभाजन गरिएको हुन्छ। आठ वटा कालमा संवत्सर (वर्ष), अयन (उत्तरायण र दक्षिणायन), ऋतु, महिना, पक्ष, तिथि, वार र नक्षत्र पर्छन्।

नेपालमा वर्षभरी विभिन्न व्रत तथा उत्सवहरूमा कालका यी आठवटा पक्षहरूलाई ध्यानमा राखेर चाडपर्व मनाइने गरिएको डा. खनाल बताउँछन्। उत्तरायणको सुरुवातसँगै गर्मीको सुरुवात हुन्छ भने दक्षिणायनको सुरुवातसँगै जाडोको सुरुवात हुन्छ।

डा. खनालका अनुसार शास्त्र तथा ग्रन्थमा व्यवस्था भएअनुसार विभिन्न समयमा मनाइने चाडपर्व तथा व्रतहरूको वैज्ञानिकता देखिन्छ।

त्यसैगरी चाडपर्वमा विभिन्न किसिमका खानपान गरिने भए पनि नयाँ पुस्तामा भने खानपानको धार्मिक, सांस्कृतिक पक्षमा अनभिज्ञता देखिने गरेको उनको तर्क छ। डा. खनाल चाडपर्वसँगै धर्म, संस्कृति र खानपान जोडिएर आउने गरेको बताउँछन्।

‘नेपालमा वर्षभरि मनाइने चाडपर्वहरूसँगै खानपान जोडिएको छ। चाडपर्व र खानपानको सम्बन्ध सम्बन्ध ऋतुचर्यासँग छ’, उनले भने।

चिकित्सकका अनुसार खानपान तथा जीवनशैलीका पद्धतिहरू आयुर्वेदिक चिकित्सा विधिसँग सम्बन्धित छन्। किनकी नेपालमा मनाइने धर्म, संस्कार र संस्कृतिको सम्बन्ध वैदिक सनातनसँग सम्बन्धित छ।

विज्ञहरूका अनुसार आधुनिक चिकित्सा विधि किटाणुसँग सम्बन्धित छ र ती कीटाणुलाई नष्ट गर्नु नै त्यसको निधान तथा चिकित्सा हो भन्ने गरिन्छ।

तर, आयुर्वेदिक चिकित्सा पद्धतिमा रोगाणुकै उत्पत्ति हुन नदिने विधिलाई प्रधानता दिएको देखिन्छ। त्यही कारणले गर्दा आयुर्वेदिक चिकित्सा पद्धतिमा ऋतुचर्या र दिनचर्यालाई धेरै महत्व दिइएको डा. खनालको मत छ।

आयुर्वेदमा विशेषगरी त्रिदोषको चिकित्सा गर्ने गरिन्छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार त्रिदोष (वात, पित्त र कफ)को साम्यावस्था नै निरोगिता हो। यी तीन दोषमध्ये कुनै एकको अधिकता तथा न्यूनताका कारण रोग लाग्छ भन्ने मान्यता छ।

यी त्रिदोषको साम्यताका लागि आयुर्वेद चिकित्सा पद्धतिमा जोड दिएको देखिन्छ। त्रिदोषलाई ध्यानमा राखेर वर्षभरि मनाउने चाडपर्वमा खानपानको व्यवस्था गरिएको डा. खनालको मत छ।

बेमौसमी खानपानले बढाउँछ अस्वस्थ जीवनशैली
परम्परागत रूपमा हेर्दा चाडपर्वमा मौसम अनुकुलका खानपान खाइने भए पनि पछिल्लो समयमा भने बेमौसमी खानपान समेत हुने गरेकाले चाडपर्वमा समेत अस्वस्थकर खानपान गर्ने क्रम बढ्दै गएकोप्रति मुटुरोग विशेषज्ञ डा. रेग्मी चिन्ता व्यक्त गर्छन्।

‘चाडपर्वमा मौसम अनुकुलका खानपान हुन्थ्यो,’ उनले भने, ‘अहिलेचाहिँ चाडपर्वमा मौसम अनुकुलका खानपान नहुँदा जीवनशैली नै अस्वस्थकर हुने जोखिम अझै बढ्दै गएको छ।’

मुटुरोग विशेषज्ञ डा. रेग्मी पछिल्लो समय विशेषगरी शहरी क्षेत्रमा खानपान नै अस्वस्थकर भएको बताउँछन्।
‘अहिले हाम्रो खानपान ठिक छैन,’ उनले थपे, ‘पहिला ३०-४० वर्ष अगाडिसम्म हाम्रो खानपान स्वस्थकर थियो।’

अहिले प्राकृतिक भन्दा प्रशोधित खाद्यपदार्थ धेरै रहेको साथै खाद्यपदार्थमा विषादी, व्यक्तिको शरीरलाई हानी गर्ने रसायनको प्रयोग बढेको डा. रेग्मी बताउँछन्।

डा. रेग्मीकाअनुसार हामीले खाने खाद्यपदार्थमा सन्तुलित आहार समेत छैन। वर्तमान अवस्थामा हामीले खाने खाद्यपदार्थमा जुन तत्व कम हुनुपर्ने त्यो धेरै र जुन तत्व धेरै हुनुपर्ने त्यो कम हुने गरेको उनले बताए।

‘हामीले खाने खानामा कार्बोहाइड्रेडको मात्रा र खराब चिल्लोको मात्रा अति छ। नुन, चिनीको मात्रा अत्याधिक छ,’ डा. रेग्मीले भने, ‘तर, शरीरलाई आवश्यक हुने प्रोटिन, स्वस्थ चिल्लो, भिटामिन, मिनरल धेरै हुनुपर्ने, त्यो कम छ।’

पछिल्लो समय व्यक्तिले धेरै खानपान गर्ने चलन भएकाले व्यक्ति अस्वस्थ बन्ने गरेको उनले सुनाए।

दशैं-तिहार लगायतका चाडपर्व वातावरण अनुसारका खानपान संस्कृति हुने गरेकाले स्वास्थ्यका दृष्टिले चाडपर्वमा खाने खानपान वैज्ञानिक नै देखिएको उनी बताउँछन्।

तर, पछिल्लो समय भने मौसमी रूपमा उत्पादन भएका भन्दा बेमौसमी खानपान समेत हुने गरेकाले रोग निम्तिने जोखम भएको डा. रेग्मीले बताए।

चाडपर्वमा व्यक्ति हौसिएर अपच हुनेगरी खानपान गर्दा अस्वस्थ हुने जोखिम हुने भएकाले यसमा सचेत हुन डा. बाँस्तोलाको सुझाव छ।

‘चाडपर्वमा हौसिएर खाँदा अस्वस्थ भई झाडापखाला लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, हातखुट्टा सुन्निने, उच्च रक्तचाप बढ्ने, शरीरमा पानीको मात्रा कमी हुने, हृदयघात हुने, नैराश्यता जस्ता जोखिम हुन्छन्’, उनले भने।

२ कात्तिक, २०८०, ०९:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।