कर्णालीका पर्व : कठपुतलीको बिहेदेखि चैतलोसम्म

कर्णालीका पर्व : कठपुतलीको बिहेदेखि चैतलोसम्म

सुर्खेत : नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेश भाषा, दर्शन, संस्कार, चाडपर्व र संस्कृतिको धनी मानिन्छ। अहिलेको कर्णाली प्रदेशमा त्यस बेलाको कर्णाली वा खस राज्यभन्दा केही बढी जिल्लाहरू छन्।

परम्परागत रूपमा कर्णाली राज्यमा तत्कालीन कर्णाली अञ्चलका डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगुका साथै राप्ती, सेती र भेरी अञ्चलका केही जिल्लाहरू पनि समेटिएको पाइन्छ। यसले पहिलेको कर्णाली वा खस राज्यको संस्कृति र सभ्यताको पहिचानलाई चिनाउँछ।

साविकका भेरी, राप्ती र कर्णालीका १० जिल्ला मिलेर अहिले कर्णाली प्रदेश रहेको छ। यहाँका जिल्ला अनुसार फरक-फरक रहनसहन र परम्परा छन्। विभिन्न जिल्ला र समुदायले मनाउने चाडपर्व र रहनसनका विशेषता पनि फरक हुने नै भए।

पश्चिम सुर्खेतमा कठपुतली विवाह 
सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपालिकामा बालिका-बालिकाबीच अनौठो विवाह गर्ने परम्परा छ। माघे संक्रान्तिको दिन तामझामका साथ विधिपूर्वक बालिकालाई नै वर-वधू बनाएर बिहे गरिन्छ। यसैलाई कठपुतली विवाह भन्ने गरिन्छ।

‘बिहेपछि राति नै दुलहीलाई स-सम्मान फर्काउँछौं,’ स्थानीय रामलाल बयकले भने, ‘अन्य बिहेजस्तो यसमा पनि सबै विधि पूरा गर्छौं।’

पुर्खौंदेखि चलिआएको विवाह हेर्न गाउँभरिका मान्छे भेला हुन्छन्। कोसेलीका रूपमा माल्टाटा (मालुको रुखमा फल्ने बोक्राभित्रको एक प्रकारको फल) लैजाने गरिन्छ। प्रत्येक साल दुलहा-दुलही पक्ष साटासाट हुने स्थानीय विष्णुप्रसाद उपाध्याय बताउँछन्।

‘यो साल दुलहा हुने गाउँमा अर्को साल दुलही बनाउँछौं। दुई गाउँबीच यस्तो क्रम चलिरहन्छ,’ उनी भन्छन्, ‘रजस्वला नभएकालाई वर-वधू बनाउने चलन छ।’

कठपुतली विवाह यहाँको मौलिक परम्परा भएको उपाध्याय बताउँछन्। मौलिक कला, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्ने दायित्व स्वरूप कठपुतली विवाहलाई धुमधामले मनाउने गरिएको गाउँपालिका अध्यक्ष खड्क विकको भनाइ छ।

कठपुतली विवाहको बेहुला पक्ष।

विधिवत् रूपमा पुस २९ बाट कठपुतली विवाहको कार्यक्रम सुरु हुन्छ। विवाहको तयारीस्वरुप एक-दुई दिनअघि नै स्थानीयले अन्नपात कुटानी पिसानी गर्ने, दुना टपरी गाँस्ने, दाउरा संकलन गर्ने, तरुल ल्याउने, तेल पेल्ने, घर लितपोत र लत्ताकपडा किन्ने काम गर्छन्।

कठपुतली विवाहको सुरुवात भने दुःखद् घटनाबाट भएको रहेछ।

स्थानीय ८४ वर्षीय लक्ष्मीप्रसाद उपाध्यायका अनुसार पुस मसान्तको एक स्थानीय जात्रामा मुढा बालेर आगो ताप्ने क्रममा विवाह गर्ने उमेरका (पहिला रजस्वला नहुँदै विवाह गर्ने चलन थियो) दुई बालिकाको जलेर मृत्यु भएछ। उनीहरूको मृत्युपछि एक वर्षपछि उनका परिवार र आफन्तले उनीहरूकै प्रतिरूप बनाएर विवाह गरेका रहेछन्।

त्यसयता हरेक वर्ष गुटु र आसपासका गाउँमा बालिका-बालिकाबीच विवाह हुने गरेको उपाध्ययले बताए।

जुम्लामा गाँठेमंगल जात्रा
वि.सं. २००३ सालबाट जुम्लामा लगातार मनाइँदै आएको गाँठेमंगल जात्रा प्रायः जनैपूर्णिमाको भोलिपल्टबाट सुरू भएर कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिन्छ। श्रावण कृष्ण चतुर्दशीका दिन गाँठेमंगलको रूपमा घण्टाकर्ण नामक राक्षसको पुत्ला थापना गरी सोही दिन साँझ नदीमा सेलाइ विधिवत् जात्राको सुरुवात गरिन्छ। त्यसै दिनदेखि हरेक साँझ लाखे नाच देखाउने गरिन्छ।

जुम्लाका मानदक्त रावलका अनुुसार त्यसवर्ष कोही मान्छेको मृत्यु भएको छ भने त्यही घरबाट गाई निकालेर गाँठेमंगल मनाउने गरिन्छ। गाईसँगै बाच्छाहरू समेत निकाल्ने गरिन्छ। गाईका बाच्छाहरूको उफ्रँदा वा नाच्दा जात्रालुहरूको शोक पनि कम हुने जनविश्वास छ। यसको रूप काठमाडौं उपत्यकामा मनाइने गाईजात्रासँग मिल्दोजुल्दो हुने स्थानीय बताउँछन्।

दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिन मिम बादशाह र पल्टन जात्रा, चौथो दिन बाघ-भालु मार्ने र खस जात्रा हुने गर्दछ। कृष्ण जन्माष्टमीको दिन कृष्ण जन्मेको दृश्य देखाइन्छ। जन्माष्टमीको भोलिपल्ट लाखे मारी कृष्णको विजय रथयात्रा कृष्ण मन्दिरबाट सुरु गरी चन्दननाथ, भैरवनाथ र दरबार मालिकाको मन्दिर परिक्रमा गरी सोही कृष्ण मन्दिरमा आएर विधिवत् रूपमा जात्राको समापन गरिन्छ।

साउन र भदौ महिनामा मुख्यतया जुम्लाको सदरमुकाम खलंगामा हुने जात्रा नेवार समुदायसँग जोडिएको पाइन्छ। कान्तिपुरी नगरी (हालको काठमाडौं)बाट नेवार समुदाय देशको विभिन्न स्थानहरूमा व्यापारिक स्थानन्तरको सिलसिलामा दैलेख हुँदै जुम्ला आएर स्थायी कर्मथलो बनाउँदादेखि नै उनीहरूले यो संस्कृति भित्र्याएका हुन्। जसका प्रवर्तकका रूपमा पूर्णसिंह श्रेष्ठ मल्लका छोरा कृष्णबीर श्रेष्ठ मल्ललाई मानिन्छ। तर, अहिलेको परिवेशमा यो नेवार समुदायको मात्र नभएर समग्र जुम्लाबासीको संस्कार र संस्कृति बनिसकेको छ।

हुम्लामा ‘चैतलो’ पर्व
हुम्लाको सिमकोट गाउँमा प्रत्येक वर्षको फागुन १२ गते मात्र मनाइने पर्व हो ‘चैतलो’। विवाहत महिलाहरूले श्रीमान्को मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै गाउँको सार्वजनिक स्थलमा नाचगान गरेर यो पर्व मनाउँछन्, जहाँ उनीहरूले पीत वस्त्र धारण गर्छन्।

महिलाहरू चैतलो खेलिरहँदा पुराना कपडा लगाएका पुरुषहरू भने खरानी छर्कदै ‘भूतलाई अलमल्याउने’ भन्दै मुखौटो लगाएर लाखे नाच्छन्। सार्वजनिक स्थानमा जम्मा भएर जेष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाई नौ दुर्गा भवानी’ को प्रस्तुती लगायत ऋतुहरूको बारेमा गुणगान गाउँदै नाचगा गरिन्छ यस पर्वमा।

हुम्लामा मनाइएको चैतलो पर्व।

उमेर अनुसार जेठीबाट कान्छी क्रमशः दुई लाइनमा लाग्छन्। मुख्य गीत गाउने एक एक जना अगुवा हुन्छन् भने अरुले उनको गीतलाई साथ दिएर गाउने गर्छन्। एक हप्ता अगाडिदेखि उनीहरूले गीत गाउने अभ्यास गर्छन्।

गीतमा देवी देवता र भगवानको प्राथनाका साथै दुई पक्षबीच सवालजवाफ पनि हुने गर्दछ। वर्षभरी घरमा कसैको मृत्यु भएको छैन भने त्यस्तो प्रत्येक घरबाट एक जना महिला चैतलो नाच्न आउनुपर्दछ। श्रीमान्को मृत्यु भएकी एकल महिला भने उक्त गीत गाउन जाँदैनन्।

चैतलो गीत गाएर गाउँ गएकी महिलालाई आफन्त तथा माइती पक्षले मीठा परिकार बनाएर खुवाउने गरिन्छ। यसका साथै धामी नाच्ने र राति महिला-पुरुष मिलेर देउडा गीत गाउने परम्परा छ।

खस समुदायले यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो मान्ने गरिन्छ। आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने छ ऋतुहरूको शुरुवाती ऋतु बसन्तको आगमनलाई स्वागत गरेर वर्षभरी नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रुपमा ‘चैतलो’ लाई मनाइन्छ।

डोल्पामा पुरानो ‘तोल ल्होसार’ 
पुसमा हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउने गरेका छन्। सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व डोल्पा, हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि मुगु, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ।

तोल ल्होसार हरेक वर्षको पौष शुक्ल प्रतिपदाको दिन हिमाली भेगका लामा, शेर्पा लगायत जातिले नयाँ वर्षको रूपमा मनाउँछन्। यो ल्होसारको समयको आधारमा भन्दा अरु ल्होसारभन्दा एक शताब्दी पहिलेदेखि चल्न शुरु भएको लामा समुदायको दाबी छ।

तोल ल्होसारको दिन बिहानै घरधनी पवित्र भएर घर-आँगन लिपपोत गरी शुद्ध पारिन्छ। लामा पुरोहितबाट वा घरको मूल व्यक्तिबाट घरमा वा थानमा पूजाआजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने चलन छ।

पूजाआजाको सबै काम सकिएपछि मान्यजनबाट आशिर्वाद लिने गरिन्छ। हिमाली भेगको विशेष परिकारमा फुरौला, बाबरी रोटी, कन्दमूल जस्ता खानेकुराहरू तोल ल्होसारको दिन खाने गरिन्छ।

दैलेखमा टाकटुके जात्रा 
दैलेखमा वर्षको एक महिना नै टाकटुके जात्रा मनाइन्छ। अन्य ठाउँमा मनाइने लाखे जात्राको झल्को दिनगरी दैलेखमा भने टाकटुकेका नामबाट जात्रा निकालिन्छ। विशेषगरि नेवारी समुदायले निकाल्ने टाकटुके जात्रा अहिले दैलेखका विभिन्न समुदायले पनि मनाउँदै आएका छन्।

नेवार समुदाय बाहेक अन्य समुदायले पनि यो पर्व मनाउने भएपछि यो जात्रा दैलेखको साझा पर्व जस्तै बनेको छ। जात्रामा बाजाका साथ अग्लो लिंगोमा मान्छेको आकृति बनाई सारी बेरेर लठ्ठी हान्दै मनाइन्छ। नेपाली पोशाकमा सजिएका यूवाहरूले यसको नेतृत्व गर्छन्।

दैलेखको टाकटुके जात्रा

गाँठेमंगल अर्थात घण्टाकर्णको पूजाका दिनदेखि शुरु हुने यो मेला अन्र्तगत टाकटुके, गाईजात्रा, रोपाइँ जात्रा, बाघ जात्रा र कृष्ण जन्माष्टमीको दिन कृष्णको जन्म गराई त्यसको भोलिपल्ट कंश अर्थात लाखे मारेपछि यो जात्रा सकिन्छ। टाकटुके जात्रा रक्षा बन्धनका दिन निकालिन्छ। साथै सोहि दिन विभिन्न प्रजातिका टुसाएका अन्नको क्वाटी खाने चलन पनि रहि आएको छ।

सल्यानमा रोपाइँ जात्रा
सल्यानका नेवार समुदायले रोपाइँ जात्रा मनाउने गरेका छन्। एक सातासम्म विभिन्न जात्रा र पर्व मनाइने सल्यानमा जात्राको अवसरमा साना बालिकाहरूलाई गुन्यूचोलीमा सिंगारेर खेत रोप्ने रोपाहार बनाएर खलंगा बजार परिक्रमा गराइन्छ।

रोपाइँ जात्रामा गोरु, हलि, कटघोरा, लाखे पनि प्रदर्शन गरिन्छ। यस अवसरमा नेवार समुदायको बाक्लो बस्ती रहेको सल्यान खलंगाको थापागाउँबाट पुरानो बसपार्क घुमाइ बालबालिकालाई विभिन्न परिकार भोजन गराइ रोपाइँ जात्रा सम्पन्न गन्छ।

साउनको महिना खेतिपाती सकेर फुर्सदको समयमा मनोरन्जन गर्न यहाँ गाईजात्रासँगै रोपाइँ जात्रा गर्ने परम्परा रहँदै आएको छ। विगतमा रोपाइँ जात्रामा पुरुषलाई सिंगारेर महिला बनाइ बजार परिक्रमा गराउने परम्परा रहेको छ।

रुकुमपश्चिम
प्रसिद्ध धार्मिक स्थल रुकुम पश्चिमको थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिर परिसरमा हरेक वर्ष हरिवोधनी  एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मेला लाग्छ। डिग्रे मेलामा डिग्रे शाइकुमारी मन्दिरमा हजारौंको संख्यामा बोकाको बलिसमेत दिइन्छ। मेला अवधिमा सबेरैदेखि रातिसम्म मन्दिरमा भक्तजनको भीड लाग्छ।

मेलामा सुर्खेत, जाजरकोट, रोल्पा, सल्यान, दाङ, बर्दिया जिल्लालगायत रुकुम जिल्लाका विभिन्न ठाउँबाट आएर लाखौंको संख्यामा भक्तजनले मन्दिरमा पूजापाठ तथा दर्शन गर्छन्। डिग्रे शाइकुमारीको मन्दिरमा पूजा गर्नाले मनले चिताएको पुग्ने जनविश्वास छ।

साउने संक्रान्तिमा देउडा
कर्णालीका लागि साउने संक्रान्तिलाई देउडा पर्वको विशेष दिनका रूपमा मानिन्छ। यसका लागि कर्णाली प्रदेश सरकारले समेत साउन १ गते प्रदेशभर सार्वजनिक बिदासमेत दिने गरेको छ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्छ। यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै। देउडा पारखी आफूखुशी आउँछन् र विभिन्न समूह बनाइ गोलो लाइनमा उभिएर खेल सुरू गर्छन्।

साविकको कर्णालीमा मेला मालिकादेखि नयाँ घर निर्माण सम्पन्न गर्दा, ब्रतवन्ध, विवाह, न्वारन, छैटी, विभिन्न स्थानीय चाडपर्वको केन्द्रबिन्दुमा यो खेल हुन्छ। तरुणदेखि वृद्धसम्मले विभिन्न परिवेशका गीत विभिन्न शैलीमा गाउँदै आफ्नो क्षमता र पहिचान देउडामार्फत देखाउँछन्।

देउडा खेलमा लाग्न कोही कसैलाई रोकछेक हुँदैन। पुरुष/पुरुष, महिला/महिला वा महिला-पुरुष जस्तोसुकै समूह बनाएर खेलिने देउडा दुःख, पीडा, खुशी, व्यग्य, आलोचना, तर्क, भावना व्यक्त गर्ने माध्यम समेत हो। जसले विकास, राजनीति, अर्थ, धर्म, संस्कृति, समाजको वास्तविक चरित्र र विशेषताका बारेमा समेत स्पष्ट बयान गर्दछ।

​​​​​​​

​​​​​​​साउने संक्रान्तिकै दिन साँझ कर्णालीमा लुतो फाल्ने गरिन्छ। खेतीकिसानीमा आधारित ग्रामीण समाजका लागि यो विशेष दिन हो। दिउँसो जंगलमा गएर विभिन्न प्रजातिका वनस्पति र दाउरा संकलन गरेपछि साँझ घरमा मिठोमसिनो पकाउने, कुपिण्डो वा अमिलोलाई काठका चार खुट्टा बनाएर बलि बनाउने गरिन्छ।

घरको आँगनमा आगोको राँको बालेपछि कुपिन्डोको बलिलाई मार हानिन्छ अनि ‘लुतोपुतो, उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा, सकाल आइज’ भन्दै सल्काएको अगुल्टो फालिन्छ। लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, दमाहा बजाउने र एकछिन घरको ढोका बन्द गर्ने चलन समेत छ।

लुतो फाल्दा समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो-पुतो, रिस-राग, रोग-भोग, विकृति-विसंगति सकिएर जाने विश्वास छ। वर्षायामसँगै हैजा, घाउखटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ।

मगर भूमे पर्व
मगर समुदायको चर्चित पर्व भूमे १८ मगरात अन्तर्गत  रुकुमपश्चिम, सल्यान, दैलेख, जाजरकोट जिल्लामा धूमधामसँग मनाइन्छ। भूमे पूजालाई नेपाली भाषीहरूले बलपूजा पनि भन्छन्।

‘भूमे’ भन्ने शब्द ‘भूमि’बाट अपभ्रम्सित भएर आएको हो। खाम क्षेत्रका मगरहरू कुनै देवीदेवताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन्। हरेक वर्ष बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ।

बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै असार मसान्तमा भूमि माताको पूजा गरी करिब हप्ता दिनसम्म यो पर्व मनाइन्छ।

पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालेको मगर समुदायको भनाइ छ। भूमे पर्वमा मगर समुदायका युवायुवतीदेखि वृद्ध वृद्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन्। नाच्दानाच्दै दोहोरी सुरु हुन्छ मगर खाम भाषामै।

थारु समुदायको माघी
कर्णालीको सुर्खेतमा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष माघ १ गते विशेष रूपमा माघी मनाउँछन्। मघौटा, हुरदंगवा, सखिया, गीत गाएर नाचगान गर्दै माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने चलन छ।

सुर्खेतमा थारुले मनाएको मागी

माघ १ गतेको दिनलाई थारु समुदायले नयाँ वर्षको रुपमा विशेष महत्वका साथ पनि मनाउने गर्छन्। माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन नजिकैको खोला र नदीमा माछा मार्ने, मसान्तीका दिन जिता (सुंगुर बंगुर) काट्ने, नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्रीलगायतका परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन हुन्छ।

माघे सङ्क्रान्तिका बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने चलन छ। माघी पर्वसँगै थारु जातीमा खेतबारी अधियाबटैया लगाउने, गाउँको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न पक्कापक्की गर्ने परम्परागत चलन पनि कायमै छ।

OOO

कर्णालीका सबै जिल्लामा साउने संक्रान्ति, माघे संक्रान्ति, पैठ, भोसो खेल, बिसु संक्रान्ति लगायतका पर्वहरू विशेष रूपमा मनाइन्छ। कर्णाली चाडपर्व र कला संस्कृतिको खानी रहे पनि मौलिकतामा सरकारले चासो नदेखाएको संस्कृतिका जानकार पृथ्वीबहादुर सिंहले बताए।

‘कर्णालीका १० जिल्लामा फरक-फरक खालमा संस्कृति छन्। ती चाडसंस्कृति देशका अन्य ठाउँमा भन्दा फरक हुन्छ,’ सिंहले भने, ‘ती चाड पर्व र संस्कृतिको सामाजिक रूपमा बेग्लै अर्थ लाग्छ।’

कर्णालीमा मनाइने चाडपर्व र संस्कृतिले सामाजिक सुरक्षा र संरक्षणमा विषयमा बढी ध्यान केन्द्रीत गरेको मध्यपश्चिम विश्वविद्यालयका पूर्व रष्ट्रिार डा. महेन्द्रकुमार मल्लले बताए।

‘कर्णाली चाड पर्व र कला सांस्कृतिको खानी नै हो। यहाँ तराईको चौधरी समुदायदेखि हिमालको भोटे समुदाय र मुस्लिम समुदायसम्मका संस्कृति, परम्परा र रहनसहन छन्,’ डा. मल्लले भने, ‘एकै प्रदेशमा विविधतायुक्त परम्परा, यो पनि यहाँको अर्को विशषेशता हो।’

३ कात्तिक, २०८०, १७:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।