कैलाश मानसरोवर यात्रा-९ :  तीर्थमा हिँडेकालाई चोर्छन् भनेर कोठामा तौलिया नराखेको भन्दा मन खिन्न हुने नै भयो

कैलाश मानसरोवर यात्रा-९ :  तीर्थमा हिँडेकालाई चोर्छन् भनेर कोठामा तौलिया नराखेको भन्दा मन खिन्न हुने नै भयो

कैलाश-मानसरोवर यात्रा संस्मरण लेख्दा-लेख्दै बीचमै ब्रेक लाग्यो। यात्रामा जे देखेँ अनि जे अनुभव भयो त्यो कुनै फूलबुट्टाविना लेख्दै जाँदा दार्चेन पुगेर लेखन रोकिएको थियो। आज त्यही दार्चेनबाट लेखनयात्रा पुन: शुरू गर्दैछु।

OOO

दार्चेन गेष्ट हाउसको दोस्रो तलामा कोठा पर्यो। त्यो पनि देब्रेतिर। झ्यालबाटै सिधै कैलाश पर्वत देखिने रहेछ। मानसरोवरबाट दर्शन भएको कैलाश पर्वतको स्वरूप त्यसपछि देखिएन। टुप्पो बादलले घेरेको घेर्यै।

बिहानै उठेर कैलाशको पूर्णाकार हेर्ने योजना साकार भएको थिएन। अझ गोल्डेन कैलाश देखिने त कहिले पो हो!

धन्न, झ्यालबाटै कैलाश देखिने कोठा नै जुर्यो। प्राय : रात कटाउने कोठाहरू आरामदायी नै थिए। हरेक कोठामा आवश्यक सबै सामान हुन्थे। तर त्यहाँ तौलिया थिएन।

यही कोठामा मात्र रैनछ कि भनेर यताउता सोधेको कुनै कोठामा पनि तौलिया रैनछ। 

गाइडमार्फत बैकुण्ठ दाइले बुझ्नु भएछ।

‘खुट्टा पुछिदिने अनि चोरेर लैजाने गरेपछि आजकल मागेपछि मात्र दिइन्छ’ पो भनेछन्।

लौ कैलाश पर्वतको काखमा आइपुग्दा पनि कस्तो लोभ ! तौलिया चोरेर हत्तू पारेर कोठामै राख्न छाडेछन्। के पारा होला !

तीर्थमा हिँडेकालाई तैँले चोर्छस् भनेर कोठामा तौलिया नराखेको भन्दा मन खिन्न हुने नै भयो।

OOO

मानसरोवरमा मस्त निदाउँदा गुमेको बिहानी कैलाश दर्शन यहाँ गुमाउने पक्षमा थिइँन। तर बानी न हो, आँखा खुल्दा सात बजिसकेछ।

लौ जा! आज पनि उस्तै पारा भयो। हत्तपत्त पर्दा उघारेर कैलाश पर्वततिर हेरेँ। धुम्म बादलमा कता हो कता चुच्चो। मनै खिन्न भयो।

केही बेरमा क्यामरासहित तल झरेँ। कोही न कोही बिहान पक्कै उठे होलान् भनेर समूहमा खासखुस गर्दा चार बजेबाटै कैलाश दर्शन गर्न उठेकाहरू भेटिए।

त्यो धुम्म बादल त सात बजे हैन बिहानैबाट लागेको रहेछ। बिहानै ब्यूँझिएको भए पनि पूर्णाकार कैलाश नदेखिने पो रैछ। निन्द्रा नखुलेर ठिकै भो।

आजको रात चार हजार नौ सय मिटरमा रहेको देरापुकमा थियो। यात्रा तालिका पल्टाएँ। छ घण्टामा १२ किलोमिटर यात्रा गर्नुपर्ने रहेछ। दार्चेनबाट यमद्वारसम्म बसमा, त्यहाँबाट पाँच किलोमिटर पैदल।

बिहानको खाजासँगै गाइडहरूले तीर्थयात्रीहरूको प्रेसर अनि अक्सिजन लेभल जाँचे। अधिकांशको ठीक देखियो। टोलीको सिनियर गाइडले ब्रिफिङ शुरू गरे।

‘यहाँबाट यमद्वारसम्म इच्छा हुने सबै जान सकिन्छ। तर, यमद्वारबाट माथि पैदल जाने चाहनेहरूको स्वास्थ्य अवस्था ठीक भए मात्र देरापुक जान पाइन्छ।’

यमद्वारबाट देरापुक हिँडेपछि फर्कन मन लागे वा स्वास्थ्य समस्या आए एम्बुलेन्स मात्र पाइने। अन्य सवारीसाधन नपाइने।देरापुक पुगेर कैलाश पर्वत परिक्रमा नगरी फर्किन चाहने हो भने यमद्वारसम्म हिँडेर आएपछि मात्र बस चढ्न पाइने।

यमद्वारबाट हिँडेपछि बीचैमा कैलाश पर्वत परिक्रमा गर्न मुड चलेन भनेर फर्किने हो भने पैदलै आउनुपर्ने। स्वास्थ्य समस्या भए मात्र एम्बुलेन्स लिन आउने।

एम्बुलेन्स चढ्दा प्रतिव्यक्ति पाँच सय युआन लाग्ने। त्यसमा होटलको बूकिङ बापत साँढे दुई सय थप शुल्क लाग्ने।

देरापुक पुगेर फर्किन चाहनेहरूलाई सकेसम्म यमद्वारबाटै फर्किऊँ-फर्किऊँ लाग्ने शर्तहरू रहेछन्। उनीहरूको चाहना जो परिक्रमा गर्न शारीरिक रूपमा सक्षम छन् अनि मन पनि छ उनीहरू देरापुकसम्म जाउन्, बाँकी नजाउन् भन्ने हुने रहेछ।

७३ जनामध्ये ४७ जना कैलाश पर्वत परिक्रमा गर्न राजी भए। सोहीअनुसार बस तयार भयो र लाग्यो यमद्वारतिर।

एक-डेढ घण्टाको यात्रापछि बस रोक्दै गाइडले भने' चलो...चलो। यता-उता हेरेँ। केही छैन त। त्यही एउटा ढोका जस्तो स्तुप।

त्यहीँ झुरुप्प यात्रुहरू झुम्मिएका थिए। त्यहीँ रहेछ यमद्धार। झट्ट याद आयो ‘ए कैलाश’। फरक्क फर्किएँ। खुलेको रैछ तर, टुप्पो धुम्मै।

कुनै पनि ठाउँ विशेषको नामाकरण कुनै न कुनै प्रचलन या प्रसङ्गसँग जोडिएको हुन्छ नै। यमद्वार भनिएको ढोका त्यति पुरानो थिएन। उही स्तुप आकारमा भित्र छिर्न मिल्ने संरचना मात्र थियो। वरिपरीको अवस्थाले यो पछि बनाएको हो भन्ने भइहाल्यो।

यमद्वार वरिपरी तीन पटक घुमेर पछाडि नफर्किई देरापुकतिर हिँड्नुपर्ने मान्यता रहेछ।

त्यसो गर्नुको उद्देश्य चैं अर्को जुनीमा मानव भएर नजन्मिऊँ, मुक्ति पाऊँ भन्ने रहेछ। मलाई त यही मानव चोला नै मन परेको छ। तीन पटक घुमे पनि मैले चैं यस्तो कामना गरिँन। पुनर्जन्म हुन्छ भने मान्छे नै भएर जन्मिऊँ। यसमै छ मजा।

आफ्ना पितृहरूको तस्बिर यमद्वारमा टाँसेर बत्ति बाल्दै उनीहरूको आत्माको शान्तिको कामना पनि गर्ने रहेछन्। झट्ट आमाको याद आयो। तर, तस्बिर बोकेको थिइँन। आँखा चिम्म गरेर आमाको मुहार सम्झिएँ। दाइ सम्झिएँ अनि हजुरबा सम्झिएँ।

यसलाई यमद्वार चैं किन भनेका रहेछन्? मनमा खस-खस बाँकी नै थियो। फोटो खिच्दै नेपाली गाइड भएतिर लम्किएँ।

‘यहाँ मृत्यु भएका व्यक्तिको शव जलाउँदैनन्। ऊ त्यहाँ लगि काटेर गिद्धलाई खुवाउँछन्’, भन्दै डाँडातिर देखाए।

ठ्याक्कै यमद्वारको ढोकाबाट निस्कँदा देखिने जुन डाँडा थियो त्यो त हाम्रो मसानघाट जस्तै रहेछ। मृत्युपछिको अन्तिम संस्कार गर्ने ठाउँ खोजेर यमद्वार बनाइएको खुलिहाल्यो।

त्यहाँबाट कैलाश पर्वत निकै नजिक देखिने। अनि सुन्दर पनि। खचाखच तस्बिर खिचिरहँदा उता दार्चेन नै फर्कनेहरू बसतिर लागे। अनि देरापुक हुँदै कैलाश परिक्रमा गर्नेहरू एकातिर।

यमद्धवार, रातो घेरामा रहेको शव काटेर गिद्धलाई खुवाउने स्थान रातो घेरामा अनि कैलाश पर्वत।जो-जो देरापुक जान तयार थिए, त्यहाँ फेरि उनीहरूको अक्सिजनको लेभल नापियो अक्सिमिटरबाट। मेरो ८० अनि श्रीमतीको ८२ देखायो। गाइडले ‘थब्स अप’ देखाए।

अनि शुरू भयो पैदल यात्रा।

अधिकांश तेर्सो नै। केही स्थानमा पनि तेर्पाइलो उकालो। त्यति कठिन हैन बाटो। तर, उचाइका कारण त्यति सहज भएन हिँड्न। ‘जो छिटो-छिटो हिँड्यो त्यो खरायो भयो, जो विस्तारै हिँड्यो उ कछुवा’ भन्दै गाइडले स्वाँ-स्वाँ नहुनेगरी विस्तारै हिँड्न भनिरहेका थिए।

उनीहरूले हिँड्ने कला पनि देखाए। त्यो हिँड्ने हैन बामे सर्ने खालको थियो। एकै छिन हिँडेपछि थाहा भयो ‘जो बढी लम्कियो त्यो थन्कियो’ भनेर।

त्यही चार हजार सात सय मिटर होला उचाइ। तर निकै गाह्रो भो हिँड्न। यसो अलि खुट्टा लम्कायो कि सास बढिहाल्ने। हिँड्दा पनि सकेसम्म नबोली हिँडेको राम्रो हुने रैछ। जतिसक्यो त्यति कम अक्सिजन खर्च गर्ने शैली अपनाउनुपर्ने रैछ।

हिमालको बीचको बाटो। एकातिर कञ्चन खोला अनि अर्कोतिर कैलाश पर्वत। यात्रा मज्जाको हुने नै भयो। यसो टाउको ठाडो पार्दै  कैलाश कस्तो देखियो भन्यो हेर्यो। 

त्यो दिनको खानाका लागि प्याकेट दिएका थिए। प्याकेटमा भुजिया, स्याउ, केक, जुस त्यस्तै रहेछन्। जतिखेर भोक लाग्छ बसेर खाने।

बाटोमा हिँड्दै जाँदा कैलाश पर्वततिर नजर नहुने कुरै भएन। पर्वतमा अनेक दृश्यहरू देखिन थाले।

पत्याउने/नपत्याउने आ-आफ्नो कुरा भए तर देखिने दृश्यहरू अद्भुत। यात्रामा देखिएका दृश्यबारे छुट्टै लेखौँला है!

अहिले चैं लागौँ देरापुकतिरै।

यात्रा तालिकामा समय ६ घण्टा लेखिएको थियो। यमद्वारसम्म दुई घण्टा अनि त्यहाँबाट हिँडेर देरापुकसम्म चार घण्टा। तर, चार घण्टामा त आधा बाटो पनि कटेन।

केही लेन्स अनि क्यामरा थियो ब्यागमा। तौल बढीमा चार किलो त होला। तर ४० किलो बोकेजस्तै गह्रुँगो भइरह्यो।

पहिल्यै गाइडले क्यामरा नबोक्नु भनेका थिए। तर ‘यति जाबो त बोकिहालिन्छ नि!’ भनेर क्यामरा त हालियो नै, जगेडा लेन्स पनि बोकियो। देरापुक नपुगी मूर्ख काम गरिएछ भन्ने भइहाल्यो।

अब कोही बिरामी भएर एम्बुलेन्स आए मात्र हो दार्चेनमा सामान फर्काउने उपाय। नत्र कसले बोकिदिन्छ र!

त्यस्तै तीन घण्टाको यात्रापछि चिया खाएर आराम गर्ने ठाउँ आइपुग्यो। टहराको होटल। धुवाँ पुत्पुताइरहेको थियो। बोर्ड त थियो तर तिब्बती भाषाको। ठाउँको नाम थाहा भएन।

भित्र छिरेको हप्पै रहेछ। दाउरा बालेर पूरै तातो बनाएको कोठा। धुवाँले चैं अलि ल्याङ गर्यो। तर बस्दा आराम।

कपमा चिया वा पानी नपाउने। थर्मसमा मात्र। ठूलो थर्मस, मध्यम थर्मस अनि सानो थर्मस। त्यही अनुसारको मूल्य। १० युआनमा सानो थर्मसमा कालो चिया पाइने। चार जनालाई पुग्ने।

नेपालको हिमाली भेगमा जाँदा खाएको घ्यू चियाको स्वाद याद आयो। त्यही भनेँ। मूल्य ३० युआन।

प्लास्टिकको कचौरामा घ्यू चिया हालेर सुरूप्प पारे लगत्तै थाहा भइहाल्यो कमर्सियल चिया रहेछ। तातोपानी तताएर चौरीको घ्यू यसो हालेजस्तो गरेर नुन हालेर दिएछन्।

नक्कली घ्यू चिया।

यो भन्दा त कालो चिया नै मीठो। बेकारमा २० युआन बढी खर्च मात्र भयो। जे भए पनि तातोपानी हो भनेर खाइयो।

तस्बिर खिच्ने, यसो दाहिनेतिर फर्किएर कैलाश पर्वतमा लागेको बादलको घुम्टो उघ्रियो कि भनेर हेर्ने अनि बामे सर्ने। यात्रा अगाडि बढ्यो।

अगाडि उकालो पो आयो। अनि पुल पनि थियो। पारी राम्रो गुम्बा। गुम्बा तलको बाटो भने उकालो न उकालो। लौ पारी जानपर्यो भने त कसरी उकालो हिँड्ने? ज्यान फत्याकफुतुक भइसक्यो।

पारी हैन वारि नै हो भने पनि उकालो नै छ। अँध्यारो हुन लागिसक्यो। पाँच किलोमिटर भनेको ५० किलोमिटर भन्दा बढि हिँडेजस्तो भइसक्यो तर  देरापुक आएको हैन।

तेर्सोमा आजको हिँडाइको ताल त यस्तो छ भोलि त नाकै ठोक्किने उकालो भनेका छन्। कसरी डोल्माला पास गरेर कैलाश परिक्रमा गर्ने होला!

हरेसै पो खाइयो बाटैमा।

कैलाश-मानसरोवर यात्रा

असोज २६, २०८० शुक्रबार २१:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।