बढुवा प्रक्रिया रोक्दा रिसाएका बिपी प्रतिष्ठानका एक सय ७७ चिकित्सकले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई राजीनामा बुझाए

बढुवा प्रक्रिया रोक्दा रिसाएका बिपी प्रतिष्ठानका एक सय ७७ चिकित्सकले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई राजीनामा बुझाए

काठमाडौँ :  बढुवा प्रक्रिया रोक्दा रिसाएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सय ७७ चिकित्सकले प्रधानमन्त्री र स्वास्थ्यमन्त्री भेटेर सामूहिक राजीनामा बुझाएर हिँडेका छन्।

बुधवार उनीहरूले प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहकुलपति रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। चिकित्सकहरूले एक सय ७७ जनाले राजीनामा दिएको दाबी गरे पनि उकेराले पाएको पत्रमा भने करिब एक सय ४० जनाको हस्ताक्षर रहेको छ।

तर, स्वास्थ्यमन्त्री बस्नेतको सचिवालयले भने राजीनामा पत्र नभई ज्ञापन पत्र बुझाएको दाबी गर्यो। उकेराले पाएको पत्रमा भने राजीनामा नै उल्लेख छ।

स्वास्थ्य मन्त्रालयमा गएका चिकित्सकहरूमध्ये दुई जनासँग मात्र मन्त्रीले भेटेका थिए।

प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खान र डा. विष्णु पोख्रेलले चिकित्सक टोलीको प्रतिनिधित्व गर्दै मन्त्री बस्नेतलाई भेटेका थिए। भेटमा सहभागी पोख्रेलले राजीनामा पत्र दिएर फर्किएको उकेरालाई जानकारी दिए।

उकेराले पाएको पत्रमा २०८० असोज २६ सम्म पनि बढुवाको प्रक्रिया सुचारु नभए बिरामीको उपचार र विद्यार्थीको पठनपाठन  गर्न नसकिने भएकाले बाध्य भएर राजीनामा पत्र बुझाएको मितिदेखि लागु हुनेगरी सामूहिक राजीनामा बुझाएको उल्लेख छ।

एक सय ७७ जनाकै राजीनामामा सहमति भए पनि विभिन्न कारणले राजीनामा पत्रमा हस्ताक्षर गर्न नसक्दा एक सय ४० चिकित्सकले हस्ताक्षर नै बुझाएर राजीनामा दिएको प्रतिष्ठानका एक चिकित्सकले दाबी गरे। ‘एक सय ४० जनाको हस्ताक्षर सहित बुझाएको हो,’ती चिकित्सकले भने।

प्रतिष्ठानका चिकित्सकका अनुसार सात वर्षदेखि रोकिएको बढुवा प्रक्रिया गत  पुसबाट प्रक्रिया अघि बढेको थियो। तर प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसेर बिचैमा निर्णय नै नगरी र कुनै सूचना नै ननिकाली बढुवाको प्रक्रिया  रोकिएको उनीहरूको दाबी छ।

राजीनामा पत्र बुझाएसँगै प्रतिष्ठानमा ओपिडी र पठनपाठन तथा परीक्षा जस्ता शैक्षिक कार्यक्रम रोकिएको प्रतिष्ठानका चिकित्सक डा. एसपी रिमालले बताए।

शुक्रबारसम्म माग सम्बोधन नभएको खण्डमा शुक्रबारदेखि नै लागु हुनेगरी सामूहिक राजीनामा दिइएको प्रतिष्ठानका चिकित्सकले बताए।

प्रतिष्ठानमा विगतमा हरेक तीन महिनामा अटोमेटिक (स्वचालित रूपमा) पदोन्नति (प्रमोसन)को विज्ञापन हुने भएकाले कतिपय शिक्षकहरू प्रतिष्ठानमा बसेको केही चिकित्सकहरूले दाबी गरेका छन्।

पदोन्नति नहुँदा दुई वर्षयता ५० भन्दा बढी शिक्षकहरूले प्रतिष्ठान छाडेको चिकित्सकहरूको भनाई छ।

प्रतिष्ठानमा पदोन्नति नहुने, तलब सुविधा नबढ्ने, भएका सुविधा पनि काटिनेजस्ता कारणले सात वर्षदेखि चिकित्सक (शिक्षक)हरुको पदोन्नति ठप्प रहेको प्रतिष्ठानका चिकित्सकले बताएका छन्।

प्रतिष्ठानका चिकित्सकहरूले विगतमा गरेका आन्दोलनहरूपछि बल्लबल्ल खुलेको पदोन्नतिको विज्ञापनमा ६० प्रतिशत चिकित्सकको अन्तरवार्ता सकिएको र दरखास्त दिएकामध्ये बाँकी चिकित्सकको बढुवा प्रक्रिया नै रोकिएको चिकित्सकहरूको दाबी छ।

परीक्षा लिइएका चिकित्सकको समेत नतिजा प्रकाशित अन्योलमा देखिन्छ। प्रतिष्ठानका पदाधिकारीले बढुवा प्रक्रियाको टुङ्गो नै नभएको बताउँदै आएको चिकित्सकहरूले भनाई छ।

पटक-पटक प्रतिष्ठानको पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदा समेत वास्ता नभएपछि राजीनामा पत्र नै बुझाउन बाध्य भएको उनीहरूको दाबी छ।

२२ गते प्रतिष्ठानको अस्पतालका निर्देशक डा जगतनारायण प्रसादले एक सूचना निकाल्दै आन्तरिक बढुवाको समस्या समाधान गर्न सरोकारवालाहरूसँग निरन्तर पहल गरिरहेको भन्दै स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवाहरू अवरुद्ध हुने कडा कदम नचाल्न आग्रह गरेका थिए।

२५ असोज, २०८०, २२:०२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।