‘भष्मे डन’ चरित्र छाड्नै नसक्ने विपिन कसरी भर्सटायल अभिनेता!

‘भष्मे डन’ चरित्र छाड्नै नसक्ने विपिन कसरी भर्सटायल अभिनेता!

काठमाडौं : अभिनेता विपिन कार्कीले अभिनय गरेको फिल्मको नामभन्दा उनको चरित्रको नाम हिट छन्। उनले कुन-कुन फिल्ममा अभिनय गरे ?, सम्झन अलि लामै समय लाग्नसक्छ दर्शकलाई। तर, क्यारेक्टरका लागि त्यति समय नलाग्न पनि सक्छ।

‘लुट’ थाहा नहुनेका लागि ‘पित्तल डन’ याद हुन्छ। ‘छड्के' याद नहुनेहरूका लागि ‘विन्दु’। ‘पशुपति प्रसाद’मा उनी ‘भष्मे डन’ बने। ‘जात्रा’मा ‘फणिन्द्र’ बनेका उनी ‘एक भागवत् एक गीता’मा आएर ‘कमलामाई’ बने। ‘हरि’ फ्ल्प भयो। तर, उनको क्यारेक्टर हिट भयो।

‘गोपी’, ‘नाका’, ‘फूलबारी’ लगायतका फिल्मका उनका पात्र छायाँमा परे। न फिल्म सफल भयो न त उनको क्यारेक्टरै जम्यो।

‘विन्दु’ उनको सबैभन्दा सफल क्यारेक्टर थियो अभिनय यात्रामा। तर, त्यसलाई ‘भष्मे डन’ले छायाँमा पार्यो। विपिनको परिचय नै ‘भष्मे डन’ बनिदियो। त्यही क्रेज क्यास गर्न निर्माताले ‘पशुपति प्रसाद २ : भष्मे डन’ बनाए।

फिल्मको टिजरदेखि ट्रेलरसम्मले यो फिल्म उही पुरानै ‘पशुपति प्रसाद’को कथा तन्काएर भष्मे केन्द्रित गराएको देखिन्छ। ‘पशुपति प्रसाद’ व्यापारिक रूपमा त्यति सफल फिल्म हैन। तर समिक्षकले राम्रै प्रशंसा गरेको फिल्म भने हो।

‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज अगाडि बनेको हाइप फिल्म रिलिजसम्म नभत्किए यो पटक व्यापारिक रूपमा समेत सफल हुने संकेत देखिएको छ।

लवाई अनि बोलाईका रूपमा पहिलो फिल्मभन्दा सिक्वेलमा त्यति भिन्नता देखिएको छैन। ट्रेलरले उनी यपपटक सुध्रिएको भष्मेको रूपमा देखिने संकेत देखाएको छ। भिलेनको चरित्रमा अर्का अभिनेता सौगात मल्ल देखिएका छन्।

निर्माता फाइदामा हुने संकेत त आए तर, विपिनको अभिनय यात्रामा ‘भष्मे डन’ क्यारेक्टरले नयाँ क्रेज थप्छ या उही पुरानै क्रेजको व्याज खान्छन् अझै भन्न हतार हुन्छ।

भर्सटायल कि कम्फर्ट जोन !
विपिनबारे चर्चा हुँदा उनी जस्तोसुकै चरित्रमा पनि अभिनय गर्नसक्ने भर्सटायल अभिनेताको रूपमा परिचय दिनु सामान्य हो। हरि, गोपी, जात्रा, प्रसाद, सेल्फी किङ, फुलबारी र एक भागवत् एक गीतासम्मको उनको चरित्र हेर्दा हो कि जस्तो पनि देखिन्छ।

चरित्रको हिसाबले सेल्फी किङ र एक भागवत् र एक गीताको कमलामाई अवतारको राम्रै प्रशंसा भएको हो। तर, उनले अन्य चरित्रमा देखाएको अभिनय क्षमतासँग दाँज्ने हो भने कमलामाईको चरित्रमा उनी केही कमजोर देखिए। महिलाको मन भएको पुरुषको चरित्रमा अभिनय गरेका उनको अभिनयमा  पुरुष चरित्र हावी देखियो। 

हालै भारतमा रिलिज भएको ‘ताली’मा महिला मन भएको पुरुषको अभिनय गरेकी सुस्मिता सेनसँग विपिनको कमलामाई अवतार दाँज्ने हो भने त उनी सिकारू झैँ देखिएका छन्। उनले कमलामाई बन्न हिम्मत गरेका हुन् तर चरित्रकै हिसाबमा भने बलियो हुन सकेन।

सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘लुट’को पित्तल डनकै क्यारेक्टरलाई निरन्तरादिँदा भने फापेको छ उनलाई। त्यही चरित्र विकास गरेर सन् २०१३ मा फिल्म ‘छड्के’मा ‘विन्दु’ बने उनी। यो फिल्ममा उनको लुक्स अनि बोल्ने शैली दर्शकले मन पराए। अहिले पनि यो फिल्मको क्लिपहरू टिकटक लगायतका सञ्जालमा चलिरहेकै छन्।

‘सुन्तली’, ‘ताण्डव’, ‘कालो पोथी : द ब्लाक हेन’ यी सबै फिल्मले उनलाई बेरोजगार कलाकार हुनबाट जोगाए। चरित्र वा व्यापारिक सफलता कुनै दृष्टिमा पनि यी फिल्म सफल भएनन्। ‘कालोपोथी’ले केही अन्तर्राष्ट्रिय अवार्ड पाए। सन्तोष मान्ने उपलब्धि यत्ति हो।

फिल्म ‘पशुपति प्रसाद’ व्यापारिक रूपमा नजमे पनि चरित्रको रूपमा जम्यो। तर, यो पनि विन्दुको परिमार्जित चरित्र थियो। दर्शकले विन्दुलाई रुचाएजस्तै भष्मेलाई पनि रुचाए। यो उनको नयाँ अवतार नभई बिन्दुको परिमार्जित रुप थियो।

फिल्म ‘जात्रा’ व्यापारिक रूपमा सफल भयो। तर सोझो फणिन्द्रको चरित्रले विपिनलाई नयाँ परिचय दिन सकेन। फिल्म ‘लुट २’ ले चार दिनमा ४ करोड ८९ लाख कमाएको चर्चा गरियो। तर, लाउड भएकाले लुटका दर्शकले नै रुचाएनन् यो फिल्म।

फिल्म ‘नाका’मा विपिनको चरित्रमा उही भष्मे डन नै हावी भयो। फिल्म नेपाल-चीनको सीमाबाट हुने मानवतस्करीको गम्भीर विषयमा बनेको थियो। तर, फिल्म कथातिर भन्दा विपिनतिर हावी भयो।

बलियो कथामा फिल्म बने पनि फिल्मको प्रस्तुतिमा चिप्लँदा फिल्मको व्यापार पनि चिप्लियो। विपिनको क्यारेक्टरमा उही भष्मे नै देखियो।

फिल्म ‘लालपुर्जा’, ‘हरि’, ‘प्रसाद’ले उनलाई व्यस्त रहन सघायो। फिल्म ‘जात्रै जात्रा’, ‘के घर के डेरा’, ‘फूलबारी’ ‘प्रसाद २’ ले घर खर्च चलाउन सघायो।

फिल्म ‘एक भागवत् र एक गीता’मा निर्देशक झरना थापा छोरी सुहानालाई फोकस गर्ने कि विपिनलाई भनेर कन्फ्युज नबनेको भए विपिन नयाँ चरित्रमा स्थापित हुनसक्थे। भर्सटायल कलाकारको उपमा सफल पनि हुनसक्थ्यो। तर भएन। अब पशुपति प्रसाद : २ भष्मे डन' ले त उनको स्थापित चरित्रलाई नै निरन्तरता दिने हो, नयाँ चरित्र स्थापित गर्ने हैन।

यसमा विपिनको चुनौती आफूसँगै छ। पशुपती प्रसादको अभिनय र त्यसको सिक्वेलको अभिनय हेरेर दर्शकले यो विचमा उनको अभिनय कलामा गुणस्तर बढ्यो कि उही पुरानै ह्याङमा छन् भनेर दाँज्न सक्छन्। 

टिप्पणी : ‘पात्रको तुलनामा विपिनको अभिनय कमजोर छ’

मनोज पण्डित
फिल्म  निर्देशक तथा विश्लेषक

तल्लो तहका व्यक्तिको पात्र र झर्रो अभिनय गरेका कारण सबैका नजरमा परेका छन् विपिन। दयाहाङ राई र सौगात मल्लको चरित्रमा पनि त्यही चरित्र देखिन्छ।

विपिनको उपस्थिति, व्यक्तित्वले सामान्य नेपालीको व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ। मध्यमभन्दा पनि तल्लो वर्गीय मानिसको प्रतिनिधित्व उनको अभिनयमा देखिन्छ। यसैको प्रभावले नेपाली चलचित्रमा उनलाई रूचाइएको हो।

नेपालमा नेपालीको जीवनस्तरता तल्लो मध्यम वर्गीय रहेको हुनाले यस्तो पात्रहरूको अभिनयलाई मन पराउने दर्शक धेरै हुन्छन्। हाम्रो गाउँ घरमा बोल्ने झर्रो संवाद र झर्रोपन विपिनमा देखिन्छ।

विपिनसँगै दयाहाङ राई र खगेन्द्र लामिछानेमा पनि झर्रोपन छ। उनीहरूले नै यो झर्रोपन नेपाली चलचित्रमा स्थापित गरेका पनि हुन्। यसैले गर्दा विपिन नेपाली दर्शकमाझ चलेका कलाकार हुन्।

फिल्म ‘लुट’आउनु अघिका फिल्ममा कलाकारले कुन समुदायलाई लक्षित गरेका थिए भन्ने स्पष्ट थिएन। विपिन, दया र खगेन्द्रका फिल्महरूमा रैथाने सम्वाद प्रयोग हुँदै आएका छन्।

खगेन्द्रमा स्याङ्जातिरको बोलिने स्याङ्जाली रैथानेपन देखिन्छ। विपिनकोमा पूर्वेली रैथाने भाषा देखिन्छ। दयाहाङमा जनजाती समुदायको बोल्ने शैली छ।

फिल्ममा समाजले बोल्ने झर्रोपन हुनु नै ठूलो कुरा हो। अर्को सकारात्मक पक्ष उनीहरूको अभिनयमा पागलपन पनि छ। विपिनसहित अभिनयकै लागि हामी जन्मिएको भन्ने हिसावले लागिपरेको देखिन्छ। जसकारण उनीहरू सफल-असफल जे भए पनि समाजलाई घुमाउन सफल भएका छन्।

विपिनको पात्रहरू गम्भीर छन् तर अभिनय भने कमजोर देखिन्छ। अभिनयको फराकिलो आयाम बनाउन सकेका छैनन्। उनी त्यहि झर्रोपन, ठट्यौलीपन, पञ्चलाइनको वरिपरी नै कम्फर्ट जोन खोजिरहेका छन्।

विपिन कम्फर्ट जोनभन्दा बाहिर गएको त्यति देखिँदैन। कथावस्तुले पात्रलाई गम्भीरता लैजाँदा पनि टठ्यौलीपन हावी गर्न खोज्ने देखिन्छ उनमा। त्यो हावी गर्दा कतिपय फिल्महरूलाई मुल मर्मभन्दा बाहिर पनि लगेको छ।

अहिले नेपाली दर्शक विपिन, दया र खगेन्द्रको भन्दा बाहिरीपनलाई स्वीकार गर्न तयार नदेखिएकाले विपिनका फिल्म असफल भएता पनि निर्माता उनलाई फिल्म खेलाउन राजी छन्।

असोज २४, २०८० बुधबार ०७:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।