मुटुरोग विशेषज्ञ डा. कुञ्जाङको उपचार अनुभव : बिहेको पार्टीमा नाच्दा-नाच्दै ढलेकी ६५ वर्षीया वृद्धालाई आईसीडीले बचायो

मुटुरोग विशेषज्ञ डा. कुञ्जाङको उपचार अनुभव : बिहेको पार्टीमा नाच्दा-नाच्दै ढलेकी ६५ वर्षीया वृद्धालाई आईसीडीले बचायो

मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पाको उपचारबाट सयौं बिरामीको ज्यान बचेको छ। विशेषगरी मुटुसम्बन्धी समस्या भएर अस्पताल पुगेका बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी हो। उनै कुञ्जाङले चिकित्सकीय पेशाको सिलशीलामा देखे भोगेका तीतामीठा अनुभव उकेरासँग साटेका छन्।

२२ वर्षीय युवालाई हृदयघात भएपछि...
सामान्यतया युवा अवस्थामा हृदयघातको जोखिम कम हुने विश्वास गरिन्छ। तर, युवा अवस्थामा पनि हृदयघातको जोखिम नहुने भने हैन।

चार वर्षअघि एक हृदयघातको भएको सम्झन्छन् डा. कुञ्जाङ। करिब २२ वर्षका युवालाई एक्कासी छाती दुखेपछि अस्पताल लगियो। स्वास्थ्य परीक्षण भयो। ईसीजी गरेर हेर्दा त ठूलो हृदयघातको लक्षण देखियो। जसले गर्दा चिकित्सकको टिमलाई समेत झस्कायो।

त्यसपछि ती युवाको मुटुको नसाको अवस्था थाहा पाउन चिकित्सकको टिमले एन्जियोग्राम गर्यो। सामान्यतया उमेर पाको हुँदै गएका व्यक्तिको मुटुको नसा धेरै ठाउँमा बन्द हुन्छ र हृदयघात हुँदा एउटा नसा पूरै बन्द हुन्छ।

ती युवाको मुटुको नसा हेर्दा रगतको अन्य नसा राम्रै थिए। तर, मुटुको देब्रेतर्फको एउटा धमनी(नसा)मा रगत जमेर पूर्ण रूपमा बन्द भएपछि युवालाई हृदयघात भएको रहेछ।

ती युवालाई हृदयघात भएको देखेर चिकित्सकको टिम नै छक्क पर्यो। यसरी युवावस्थामा हुने हृदयघातलाई चिकित्सकीय भाषामा ‘योङ एमआई’ भनिन्छ।

हृदयघातको लक्षण देखिएपछि ती युवाको हातबाट तार पसाएर बन्द भएको मुटुको नसा खोलिएको र बन्द भएको नसा पुनः बन्द नहोस् भनेर स्टेण्ट (जाली) हालिएको डा. कुञ्जाङले बताए। केही दिनको उपचारपछि ती युवा बिरामीको स्वास्थ्य ठिक भएको र डिस्चार्ज भएर घर फर्किए।

ती युवालाई हृदयघात भएको घटनाबाट युवावस्थामा पनि हृदयघातका बिरामी बढ्दो क्रममा रहेको देखिएको डा. कुञ्जाङ बताउँछन्। त्यसैले युवावस्थामा किन हृदयघात भइरहेको छ भन्ने थप अध्ययनको विषय भएको उनी बताउँछन्।

ढलेकी ६५ वर्षीया वृद्धालाई आईसीडीले बचायो
हृदयघात भइसकेपछि मुटुको कार्यक्षमतामा समेत ह्राष आउने नै भयो। मुटु नै कमजोर भएको यस्तो अवस्थामा मुटुले पम्प गर्ने क्षमता पनि करिब ३० प्रतिशत भन्दा कम भइसकेको हुन्छ। यस्तो अवस्थामा कुनै पनि बेला मुटुको चालमा गडबडी भएर अचानक मुटुको मृत्यु हुनसक्छ।

मुटु कमजोर हुने यस्तो समस्या भएको खण्डमा मुटुभन्दा बाहिर छातिमा छालाभित्र सानो ‘इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आईसीडी)’ नामक मेसिन राखिन्छ। मुटुले काम नगरेको खण्डमा आईसीडीले मुटुमा विद्युतीय तरङ्ग पठाउँछ। यो मेसिनले मुटुको चालमा गडबढी भएको खण्डमा तुरुन्तै मुटुमा धड्कन दिन्छ र मुटुलाई सामान्य अवस्थामा फर्काउँछ।

आईसीडी लगाएकै कारण नजिककी करिब ६५ वर्षकी एक जना नातेदार बचेको डा. कुञ्जाङले सुनाए। ती वृद्धा एउटा विवाह पार्टीमा नाचिरहेको समयमा ढलिछन्। मुटुको समस्या रहेकी उनी बेहोस भइन्। त्यसअघि हृदयघात पनि भएको रहेछ उनलाई।

मुटु कमजोर भएकै कारण ती वृद्धाको छातीमा ‘आईसीडी’ जडान गरिएको थियो। यसले मुटुको धड्कन सन्तुलन गर्न मद्धत मिल्छ। त्यसैले त्यो मेसिनले तुरुन्तै ती वृद्धाकोख मुटुको धड्कन फर्कियो र तुरुन्तै काम ग¥यो। आईसीडी नलगाएको भए ती वृद्धालाई बेहोसी अवस्थाबाट फर्काउने मुस्किल पर्ने डा. कुञ्साङले सुनाए।

६५ वर्षीय बाजेको मुटुको धड्कन
करिब ६५ वर्षका बिरामीलाई बेहोसी अवस्थामा अस्पताल पु¥याइएको प्रसङ्ग पनि डा. कुञ्जाङ कहिल्यै भुल्दैनन्। मुटुमा समस्या निम्तिएका कारण बाजेको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो।

मुटुको अवस्था थाहा पाउन चिकित्सकको टिमले ईसीजी गर्यो। परीक्षण गर्दा मुटुको चाल निक्कै कम भएको थियो। जसलाई चिकित्सकीय भाषामा कप्लिट हर्ट ब्लक भनिन्छ। अन्य स्वास्थ्य परीक्षण पनि गर्यो। ती बिरामीको मुटुले सामान्य अवस्थामा काम गराउनका लागि अस्थायी पेशमेकर राखियो।

त्यसपछि ती बिरामी बाजे होसमा फर्किए। केही दिनपछि भने ती बिरामीलाई स्थायी पेश मेकर राखिदिएको डा. कुञ्जाङले सुनाए।

मुटुसम्म तार पु¥याएर मुटुको चाललाई सामान्य अवस्थामा फर्काउन राखिने मेसिनलाई पेशमेकर भनिन्छ। पेशमेकर राखेपछि मुटुको धड्कन नै बन्द हुने जोखिम न्यून हुने उनले बताए।

केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएर ती बाजे घर फर्किए।

कोरोनाका ती क्षण 
डा. कुञ्जाङ कोरोना भाइरस संक्रमणको समयमा काम गर्दाका केही क्षणहरु भने कहिल्यै भुल्दैनन्। उनले गंगालालमा आकस्मिक कक्षकोे इन्जार्चका रूपमा समेत काम गरे। विशेषगरी कोरोना भाइरस संक्रमणकोे दोस्रो लहरको समयमा कोरोना संक्रमित बिरामी अस्पताल पुुगेकोे अनि अक्सिजन नभएका कारण बिरामीले दुःख पाएको सम्झँदा अझै उनको  आङ नै जिरिङ्ग हुन्छ।

कोरोना भाइरस संक्रमणको समयमा खटेर बिरामीलाई बचाएका क्षणहरू सम्झँँदा उनलाई आनन्द लाग्छ। कोरोना भाइरस संक्रमणको समयमा अहोरात्र खटेर बिरामीको उपचार गर्दा चिकित्सकले मात्रै हैन, बिरामी पक्षले पनि याद गरेकोे र हौसला पाएको उनको अनुभव छ।

कोरोना भाइरस संक्रमणको समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीकोे ‘टिम वर्क’ भएकैले धेरै बिरामी बचाउन सफल भएको उनको अनुुभव छ। उपचारपछि बिरामीहरू कृतज्ञ भएर घर फर्केका क्षणहरू उनी अझै सम्झन्छन्।

लक्षण देखिए तुरुन्तै स्वास्थ्य परीक्षण
विशेषगरी देब्रेतर्फको छातीको भाग दुखेको खण्डमा मुटुको परीक्षण गर्न डा. कुञ्जाङको सुझाव छ। हृदयघात हुँदा भने एक्कासी छाती दुख्ने उनले बताए। यसरी एक्कासी छाती दुखेर दुख्नेक्रम देब्रेतर्फ सर्दै जानु, चिटचिट पसिना आउनु, थिचेको अनुभूति हुनु, दुखाई चिउँडोतिर पनि सरेको अनुभूति हुनु, देब्रे हाततर्फ दुखाइ सर्नु, कुमतिर दुखाइ सर्नु हृदयघातको लक्षण हो।

यस्तो अवस्थामा तत्कालै मुटुको अवस्था थाहा पाउनका लागि स्वास्थ्य परीक्षण गर्नुपर्ने डा. कुञ्जाङ बताउँछन्। त्यसैगरी वंशाणु रूपमा कसैलाई मुटुको समस्या छ भने त्यस्ता परिवारका व्यक्तिले बेला-बेलामा चिकित्सकको सुझाव अनुसार मुटुको जाँच गरिरहनुपर्छ।

त्यसैगरी सुगर, रक्तचाप, कोलेष्ट्रलका बिरामी, मोटोपनाको समस्या भएका व्यक्ति, धुमपान गर्ने व्यक्ति, व्यायाम कम गर्ने वा नगर्ने जस्ता व्यक्तिले नियमित रुपमा चिकित्सकको सुझाव अनुसार मुटुको परीक्षण गर्न उनको सुझाव छ। त्यसैले छाती दुखेर हृदयघातको लक्षण देखिनासाथ जतिसक्दो चाँडै स्वास्थ्य संस्थामा पुग्न उनी आग्रह गर्छन्।

जन्म सोलुखुम्बु, अध्ययन डाक्टरी
२०४० मा सोलुखुम्बुको सल्लेरीमा जन्मिएका हुन् कुञ्जाङले कक्षा चार चारसम्म स्थानीय विद्यालयमै पढेर काठमाडौं आए। पुनः चार कक्षामा नै ललितपुरको लिटिल एन्जल्स विद्यालयमा भर्ना भएर पढ्न थाले। उनले त्यहिँबाट एसएलसी र प्लस टु गरे।

सानैदेखि चिकित्सक बन्ने सपनाका कारण उनी काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपाल मेडिकल कलेजमा सन् २००२ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। सन् २००७ मा उनको एमबीबीएस अध्ययन सकियो। एमबीबीएस अध्ययनपछि उनले केही समय काम गरे।

त्यसपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०११ मा स्नातकोत्तर तहको ‘इन्टरनल मेडिसिन’ विषयमा एमडी अध्ययन गर्न थाले। सन् २०१४ मा उनको एमडी अध्ययन पूरा भयो। त्यसपछि करिब तीन वर्ष एसिस्टेण्ट प्रोफेसरका रुपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै उनले काम गरे।

रोजाइमा मुटु
त्यसपछि डा. कुञ्जाङलाई मुटुरोगको विषयमा थप अध्ययन गर्ने इच्छा जाग्यो। त्यसैले उनले सन् २०१६ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा मुटुरोग सम्बन्धी विषय (डक्टरेट अफ मेडिसिन इन कार्डियोलोजी)मा डिएम तहको अध्ययन गर्न थाले।

यो मुटुरोग सम्बन्धी विषयको विशिष्ठिकृत अध्ययन हो। सन् २०१९ मा उनको डिएम अध्ययन सकियो। अध्ययनको क्रममा एक वर्ष वीर र दुई वर्ष सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काम गरेको उनले सुनाए। सरकारी छात्रवृत्ति कोटामा डिएम अध्ययन गरेकाले छात्रवृत्ति करार बापत दुई वर्ष डा. कुञ्जाङले गंगालालमा नै काम गरे।

त्यसपछि सन् २०२१ मा डा. कुञ्जाङ लोकसेवा मार्फत स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरे। उनी नवौं तहको कन्सल्टेण्ट कार्डियोलोजिष्टका रूपमा सरकारी जागिरमा नियुक्त भए। सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ वीर अस्पतालमा भयो। त्यसैले करिब दुई वर्षयता निरन्तर रूपमा उनी वीर अस्पतालमा नै कार्र्यरत छन्।

२० असोज, २०८०, १३:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।