कर्णालीका कार्यकर्ताले ओलीलाई टेरेनन्, गुलाबजंगले जित्दा यामलाल बलियो

कर्णालीका कार्यकर्ताले ओलीलाई टेरेनन्, गुलाबजंगले जित्दा यामलाल बलियो

सुर्खेत : असोज १० गते बुधबारदेखि सुर्खेतमा भएको एमाले कर्णाली प्रदेश स्तरीय अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए- ‘सकिन्छ निर्विरोध गर्नुस्। नभए प्यानलविना नै निर्वाचन गराएर नेतृत्व चयन गर्नुस्।’

तर, ओलीको निर्देशन लागू हुन सकेन। अधिवेशनमा सहमति भएन, निर्वाचनै भयो। प्रष्ट रूपमा दुई गुट देखिए। पोलिटब्यूरो सदस्य गोरख बोगटी र निवर्तमान अध्यक्ष विनोद शाह गुटको नेतृत्व कालिकोटका मिनबहादुर शाहीले गरे भने स्थायी कमिटी सदस्य यामलाल कँडेल गुटको नेतृत्व सल्यानका गुलाबजंग शाहले। उनीहरू प्यानलै बनाएर निर्वाचनमा होमिए।

ओलीले मिनबहादुरलाई अध्यक्ष बनाउन चाहेका थिए। तर, यामलाललाई त्यो फिटिक्कै मन परेको थिएन। सहमतिको लागि भनेर प्रतिनिधिलाई दुई दिनसम्म अधिवेशन हलबाहिर राखियो। महासचिव शंकर पोखरेल दुई दिनसम्म बसेर कस्सिए। तर अहँ, जोर चलेन। उनी काठमाडौं हानिए। 

आइतबार निर्वाचन भयो। ६१६ मतदातामध्ये ६०९ जनाले मतदानमा सहभागी भए। सोमबार राति निर्वाचनको नतिजा आयो। जसमा फराकिलो मतान्तरसहित गुलाबजंग शाहको प्यानलै चुनियो। निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीले २०७ मत पाउँदा ३६९ मत ल्याएर शाहले अध्यक्ष जिते। अध्यक्ष पदकै अर्का उम्मेदवार प्रकाश रोकायाले भने चार मत मात्रै पाए।

कुल मतमध्ये २९ मत बदर भए। गुलाबको प्यानलबाटै निर्वाचन लडेका टेकराज पछाईंले उपाध्यक्षमा र ध्रुव शाहीले सचिवमा जिते। पछाइले ३४२ मत ल्याएर जित्दा प्रतिस्पर्धीहरू लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत पाए। सचिवमा ध्रुवले ४०६ पाउँदा प्रतिद्वन्द्वी रुद्रबहादुर शाहीले १६९ मत पाए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकै साथ पाएका मिनबहादुरको प्यानलबाट पदाधिकारी शून्य रह्यो। पदाधिकारीमा प्रतिनिधिले ओलीइतर पक्षलाई नै मन पराए।

अनौपचारिक छलफलमा पनि सर्वसम्मत गर्न नेताहरूलाई ओलीले दबाव दिएको एमाले नेताहरू बताउँछन्। सर्वसम्मत नहुने देखेपछि महासचिव शंकर पोखरेललाई वीरेन्द्रनगर छोडेर ओली काठमाडौं फर्किएका थिए। ओलीले मीनबहादुरको नेतृत्वमा सर्वसम्मति जुटाउनु भनेर महासचिवलाई निर्देशन दिएका थिए।

छलफलबाट सर्वसम्मत हुन नसकेपछि महासचिव पोखरेल पनि बन्दसत्रमा सहभागी नभई काठमाडौं फर्किएका थिए। शनिबारसम्म सर्वसम्मति गर्ने प्रयास चले पनि यामलालको बलियो साथ पाएका गुलाबजंगले आफ्नो अडान छोडेनन्। त्यति मात्र होइन, सर्वसम्मति नभएर चुनाव हुने बेलासमेत अध्यक्ष ओलीले निकट नेताहरूलाई फोन गरेर मीनबहादुरलाई जिताउन भनेको एमाले स्रोतले बतायो।

प्रदेश नेतृत्वको दाबी गर्दै उम्मेदवारी दिएका प्रेमबहादुर शाही र प्रदेशसभाका पूर्व सभामुख राजबहादुर शाहीले केन्द्रकै निर्देशनमा उम्मेदवारी नै फिर्ता लिए।

ओलीले आफूलाई बेवास्ता गरेका कारण पनि यामलालले कर्णालीमा आफ्नो ‘पावर’ देखाउन चाहन्थे। उद्घाटन सत्रमै कँडेलले अध्यक्ष ओलीलाई प्रदेशको नेतृत्व प्रतिनिधिहरूलाई नै टुंग्याउने अधिकार दिन अनुरोध गरेका थिए। एमाले पार्टी राजनीतिमा केन्द्रीय नेतृत्वले नरुचाइएका नेताका रूपमा यामलाललाई लिने गरिन्छ।

कँडेललाई एमालेको १०औं महाधिवेशनबाट पार्टी सचिव बन्ने र (२०७४ र २०७९) दुई-दुई पटक कर्णालीको मुख्यमन्त्रीबाट बञ्चित बनाउनमा केन्द्रकै निर्णयले रोकेको उनीनिकट नेताहरू बताउँछन्। २०५६ मा नै संघीय मन्त्री भइसकेका कँडेल २०७४ मा बहुमत हुँदा-हुँदै पनि केन्द्रकै पेलानमा मुख्यमन्त्री हुन सकेनन्।

२०७९ को एमाले-माओवादी गठबन्धन हुँदा पनि ओलीले कर्णालीको नेतृत्व ५ वर्ष नै माओवादीको भाग लगाएका थिए। त्यति मात्र होइन, तत्कालीन प्रदेश इन्चार्ज रहेका कँडेललाई पार्टीको कार्य विभाजनमा घटुवा गरेर दैलेख इन्चार्ज बनाएपछि केन्द्रीय नेतृत्वप्रति उनी रुष्ट थिए।

अहिले पार्टी सचिव लेखराज भट्टले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा काम गर्दै आएका छन्। आफूमाथि पटक-पटक केन्द्रले अन्याय गरेको गुनासो गर्दै आएका कँडेलले यसपटक आफू अनुकूलको नेतृत्व चयन गरेर केन्द्रीय नेतृत्वलाई जवाफ फर्काएको उनी निकट नेताहरू बताउँछन्।

यस्तो छ गुलाबजंगको राजनीतिक यात्रा
२०४० सालबाट अनेरास्ववियु पाँचौंमा आवद्ध भएर राजनीतिमा होमिएका शाह हाल पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन्। २०५६ मा तत्कालीन एमाले विभाजनपछि बनेको मालेमा आबद्ध भएका शाह मालेको तेस्रो अधिवेशनबाट सल्यान जिल्ला कमिटी सचिव बनेका थिए।

२०५७ मा तत्कालीन राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा तत्कालीन नेकपा एमालेको अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा पुगेका थिए। उनी एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

२०७४ मा तत्कालीन माओवादीसँग बनेको वाम गठबन्धनका तर्फबाट सल्यान क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका उनी त्यसपछि एमाले संसदीय दलको प्रमुख सचेतक हुँदै माओवादी केन्द्रसँग एकता भएपछि बनेको नेकपाको पनि प्रमुख सचेतककै रूपमा रहेर काम गरे।

गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा दोस्रो पटक सल्यान क्षेत्र नम्बर १ (ख) बाट संसदीय निर्वाचनमा होमिएका शाह नेपाली कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका थिए। एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका शाह एमालेको पोलिटब्यूरो सदस्यमा परेका थिए।

१६ असोज, २०८०, १९:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।