कैलाश मानसरोवर यात्रा-६ : सद्गुरुको चेलोले एक गिलास तातो पानी पनि थाप्न दिएनन्, अब मानसरोवरमा तिर्थालु के कुट्नु !

कैलाश मानसरोवर यात्रा-६ : सद्गुरुको चेलोले एक गिलास तातो पानी पनि थाप्न दिएनन्, अब मानसरोवरमा तिर्थालु के कुट्नु !

गाइडहरूले ढोका ढक्ढक्याएपछि लगेज ढोका बाहिर निकालेर विहानी खाजा खाएसँगै साँगाबाट यात्रा प्रारम्भ भयो। उचाई उही साँगा बराबर ४ हजार पाँच सय नै रहेछ। ४ सय ६६ किलोमिटर पार गर्न बसमा ८ घण्टा लाग्ने। डोङपा, महिम्ला पार गर्दै मानसरोवरमा पुगिने रहेछ।

साँगासम्मको बाटो ठिकै थियो। मानसरोवरतिर लागेपछि भने अलि खाल्डाखुल्डी रहेछ सडकमा। तर, त्यति धेरै हैन। काठमाडौंका राम्रा भनिएका सडक समानको गुणस्तर भने थियो। तर, बस हल्लिदा तस्बिर खिच्न भने समस्या हुने रहेछ।

सरर तेर्सो बाटोमा गुडिरहेको बसबाट बाहिरी वातावरण हेर्दा आनन्द आउने। सुक्खा क्षेत्र। उही माथिल्लो मुस्ताङ जस्तै। पहाडहरू नाङ्गै थिए। कतै-कतै हरियो बुट्यानका थुप्राथुप्रीहरू देखिन्थे।

अगाडि बढ्दै जाँदा नदीकिनारमा केही बोटविरुवाहरू देखिए। ती हुर्कँदै थिए। कतै-कतै पहाडमा झ्याप्पै हरियो देखियो। ती निकै व्यवस्थित रूपमा उम्रिएका घाँस थिए। ‘के रहेछ यो’ भनेर बसभित्रैबाट हेर्दा छुट्टियो ती प्राकृतिक रूपमै उम्रिएका थिएनन्।

सम्भव भएसम्म नदी किनार अनि मध्यम आकारका पहाडलाई हरियाली बनाउन चीन सरकारले स्याउको बोटको वृक्षरोपण गरेको रहेछ अनि पहाडमा दुबो रोपेको रहेछ।

घाँसे मैदानमा भेडा अनि याक चरेका दृश्य। साना आकारका घरहरूसँगै विस्तारै हिमालहरू देखिन थाले। केरुङदेखि नै पच्छ्याइरहेका खम्बा अनि तारका लट्ठाहरूले साथ छाडेका थिएनन्। सडकको दायाँ अनि बायाँ दुवैतिर लहरै उभिएका थिए।

बीच-बीचमा  त्यति ठूलो त हैन, साना बस्तीहरु भेटिए जुन निकै व्यवस्थित देखिन्थे। सडक किनारमा ट्राफिक संकेतहरू छुटेका थिएनन्। ट्राफिक संकेतमाथि सानो सोलार प्यानल राखिएको हुन्थ्यो अनि तल सानो बाकस। त्यताको ट्राफिक संकेतहरू सबै सोलार प्यानलको भरमा चल्ने रहेछन्।

सडकको बीचबीचमा स्वागतद्वार आकारका संरचना पनि देखिन्थे। तर, ती स्वागतद्वार नभएर सुरक्षाका लागि राखिएको शक्तिशाली क्लोज सर्किट टेलिभिजनसहितको संरचना थिए।

यत्रो लामो यात्रामा सडक किनार कतै प्रहरी वा ट्राफिक उभिएको देखिएन। तर, चालक सधैँ सचेत भएर सिट बेल्ट बाँध्थे अनि यात्रुहरूलाई पनि सिट बेल्ट लगाउन भन्थे। यसो फोटो खिच्न चालकसँगैको ढोकामा उभियो भने ‘पुलिस पुलिस’ भन्दै बसभित्र जडान भएको सीसीटीभी देखाउँथे।

भनेपछि सडकमा मात्रै हैन बसभित्रको निगरानी गर्न पनि बसैपिच्छे प्रहरीको सीसीटीभी हुने रहेछ। बसमा एक हैन चार वटा सीसीटीभी थिए। चालकतिर एउटा, यात्रुतिर तीनवटा। त्यहीँबाट मनिटरिङ हुने रहेछ।

ठाउँ-ठाउँमा टाँगेको ध्वजापतका हावाले फरर उडेका दृश्य निकै रमाइलो। एकातिर नदी बगिरहेको छ, अर्कोतिर हिमाल झुल्किएको छ। भौगोलिक बनावट पनि उस्तै अनौठा अनि आकर्षक। साँगादेखि मानसरोवरसम्मको यात्रामा साच्चिकै मजा आयो। केरूङ अनि साँगाको भन्दा निकै भिन्न वातावरण।

बीचमै खाना खुवाए नमस्ते होलिडेज्का स्टाफहरूले। माहोल रमाइलै भइरहेको थियो। बस आफ्नै गतिमा गुडिरहेको थियो। सबै मानसरोवरको दर्शन गर्न आतुर देखिन्थे।

एक्कासी बसको गति सुस्त भयो। अनि मुल बाटो छाडेर बायाँतिरको कच्ची बाटो समात्यो। अगाडि ठूलो गेट देखियो अनि गेटमा डिजिटल फाटक पनि। बस आएको देखेपछि दुई जना युवा दौड्दै आएर फाटक खोले। बस गेटभित्र गएर रोकियो।

यसो दाहिनेतिर हेरेको ठूलो ताल देखियो। हेर्दा राराकै झल्को आयो तर आकार राराको भन्दा निकै ठूलो जस्तै लाग्यो। ‘मानसरोवर आयो कि क्या हो!’ यसो हेरेको गाइड अनि चालक सबै झरिसकेका थिए।

हो मानसरोवरै आएको रहेछ। तर, यात्रा अझै सकिएको थिएन। परिक्रमा गरेर गुम्बा मानसरोवर गेष्ट हाउस पुग्न बाँकी नै थियो। त्यो पारी रहेछ। सिधै मुल सडकबाट जान पनि सकिने। तर, नपाउने स्थानीय नियम रहेछ।

मानसरोवर परिक्रमा गर्न त्यहाँ पनि मुक्तिनाथ दर्शन गर्न जान स्थानीयले सवारीमा लगाएको नियम जस्तै नियम रहेछ। मुक्तिनाथ दर्शन गर्न जाँदा जोमसोमबाट सिधै सवारीसाधन मन्दिर क्षेत्रमा लैजान पाइँदैन। पुल पारी गएर स्थानीय सवारी चढ्नुपर्छ।

यहाँ पनि त्यही नियम रहेछ। पर्यटक बोकेर आएको गाडी त्यहाँ रोकेर स्थानीयले सञ्चालन गर्ने जीपमा बसेर मानसरोवर परिक्रमा गर्दै गेष्ट हाउस जानुपर्ने।

त्यस्तै १० मिनेटको कल्याङमल्याङपछि चालक अनि गाइड फर्किए। उनीहरूले कुरा मिलाएछन्। सेटिङ नहुने ठाउँ कहाँ छ र! उनीहरूले स्थानीय कर्मचारीसँग कुरा मिलाएर हामी आएकै बसबाट मानसरोवर यात्रा गराउने भए।

यात्रा शुरू भयो मानसरोवरको किनारै किनार। बाटो एकदम कच्ची। अगाडि एउटा बस थियो। त्यसले धुलो उडाएर झ्याल खोल्न त सकिएन नै मानसरोवरको तस्बिर खिच्न पनि सकिएन।

यसो नजिकै भएको गाइडलाई कोट्याएर सोधेँ ‘रोक्दैन?’

‘रोक्छ...रोक्छ’ उनले यत्ति भने। यति नेपाली पनि बसमा जाँदाजाँदै सिकाएको। नत्र खाली हिन्दी मात्र बोल्ने।

बसको यात्रा अनि बीचबीचमा बास बस्दा ‘खान जाउँ, बसमा चढौँ, आयो’ जस्ता नेपाली शब्दहरू सिकाइएको थियो। उनीहरूले निकै चाँडो टिप्ने रहेछन्।

गल्ड्याङ र मल्ड्याङ गराउँदै बस अगाडि बढिरह्यो। परिक्रमा हिँडेर हैन, यसरी नै बसमै गर्नुपर्ने रहेछ। सानो भए पो हिँडेर परिक्रमा गर्न सकिन्थ्यो। आकारै ४ सय १४ किलोमिटर। लेकको सबैभन्दा धेरै गहिराई ७० मिटर रहेछ।

मानसरोवर त आयो तर कच्चीबाटोको यात्राले किरकिर बनायो। रोक्छु त भने तर कता रोक्ने हो कता। त्यस्तै एक घण्टाजतिको बस यात्रापछि अगाडिको बस रोकिएको देखियो। भनेपछि यही रोक्ने रहेछ। विस्तारै किनारातिर बस रोकियो।

अहो निकै चिसो रहेछ। बसबाट झर्नासाथ पहिला ज्याकेटको टोपी लगाएँ। सबैजना सिधै तालको किनारतिर गएर मुख धुन थाले। कोही टाउकोमा जल झर्कन थाले। कोही बोतल निकालेर सरोवरको पानी निकाल्न थाले।

सरोवरमा हात हाल्दै हातमा आएको निकाल्नेहरू पनि थिए। आँखा चिम्लिएर तालमा हात हाल्दा जे हातमा आइपुग्छ त्यो शिवको उपहार हो भन्ने जनविश्वास रहेछ। कसैले विभिन्न आकारप्रकारका ढुंगा फेला पारे। कसैले रुद्राक्ष पनि भेटे। ध्वजापताकासँगै साना मानेहरू बनाएको। स्थानीयहरू पनि पैदलै सरोवर घुमिरहेका थिए। तालमा चराचुरुङगीहरू टन्नै थिए। जोडी-जोडी राज हाँसहरू पनि।

‘यहाँ त विष्णु र पार्वती राजहाँस बनेर तलाउ घुम्न आउँछन् रे’ एकजनाले भने।

सँगै रहनुभएका बैकुण्ठ दाइले हाँसको जोडी देखाउँदै ‘मोबाइलमा आएन, तपाईंको क्यामरामा आउँला खिच्नु त’ भन्नुभयो। जोडितिर क्यामरा सोझ्याएँ। तर, मेरो मनमा भने कैलाश घुमिरहेको थियो।

अधिकांश तस्बिरहरूमा मानसरोवरकै किनारमा कैलाश पर्वत उभिए झैँ देखिएको थियो। जहाँ बस रोकिएको थियो, त्यसको पछाडितिर केही हिमाल त थिए। तर, त्यसको आकार कैलाश जस्तो थिएन।

त्यो नेपालको सीमा हो भन्दै थिए गाइडहरू। भनेपछि ती हिमाल कैलाश हैन। अगाडितिर निकै पर कैलाश हो कि हो कि जस्तै आकार देखिएको थियो। तर, बादलले छेकेकाले हो या हैन ठम्याउन सकिएन।

‘कैलाश खै त?’ नेपाली गाइडलाई सोधिहालेँ।

‘उ त्यही हो। तर आज खुलेको रैनछ’, शेर्पा दाइले औँलाले पर देखाए। जुन कैलाश हो कि भन्ने लागेको थियो त्यही रहेछ। तर तस्बिरमा देखाउने मानसरोवर र कैलाशको तस्बिर दुवै तस्बिर मिलाएका रहेछन्। मानसरोवरको किनारैमा रहेनछ कैलाश पर्वत।

तस्बिर खिच्ने, जल संकलन गर्ने, विभिन्न आकार प्रकारको ढुंगा खोज्नेक्रम चलिरह्यो। वातावरण निकै रमाइलो थियो। तर, कैलाश खुलेनन्। मौसमको ठेगानै नहुने। अघिल्लो दिनसम्म मौसम सफा छ भनिरहेका थिए। हामी आउँदा-आउँदै बिग्रिसकेछ।

साँझ पर्न थालिसकेकाले आज कैलाशको दर्शन हुने सम्भावना थिएन। भोलि के होला? 

‘कैलाश कतिखेर खुल्छ अनि कतिखेर ढाकिन्छ ठेगान हुन्न। हेरिरहने हो त्यतैतिर’,  नमस्ते होलिडेका बशन्त बरालले भने।

त्यस्तै आधा घन्टापछि सबैजना बसमा चढियो। बस आफ्नै गतिमा अगाडि बढ्यो। आधा घन्टापछि पुन रोकियो। मानसरोवर नजिकै अर्को ताल रहेछ। ठिकठिकै आकारको। त्यो चैँ राक्षस ताल। त्यही ताल नजिक रावरणले तपस्या गरेर शिवजीलाई खुसी बनाएर बरदान पाएको भन्ने धार्मिक विश्वास रहेछ।

उताको मानसरोवर प्राकृतिक रूपमा जीवन्त थियो। चराचुरुङ्गीहरू रमाइरहेका थिए तालमा। यता राक्षस तालमा त केही थिएन। पानी मात्रै। यसमा न माछा हुने रहेछ न कुनै चराचुरुङ्गी नै बाँच्ने रहेछन्।  यसको पानी खायो भने पनि मरिन्छ भन्ने जनविश्वास रहेछ।

राक्षस तालमा केही समय घुमघाम गराएपछि बस मोडियो। कच्चीबाटो सकियो। पिच बाटो आयो। बस मोडियो। बस्ती पो आयो। बस्तीमाथि सानो डाँडोको थुम्कामा गुम्बा देखियो। बस्ती पार भएपछि दक्षिणतिर बस गुड्यो। एकतले घरहरू भएतिर मोडिएर रोकियो।

धर्मशाला भनेको यही रहेछ। 

यहाँबाट अब एक कोठामा दुई जना बस्ने क्रम सकियो। एक कोठामा छ जना सुत्नुपर्ने। अट्याच शौचालय हैन। गन्ध सहन सके सार्वजनिक शौचालय, नसके खुल्ला स्थान।

धर्मशालाको बसाइबारे पहिल्यै ब्रिफिङ भइसकेको थियो।

अब समूहमा रहेकाहरू मिलेर ६-६ जनाको समूह बनाएर चाबी लिएर कोठामा जान थाले। हामी चार जना थियौँ नै। हाम्रो समूहमा दुई जना सन्त मिसिएपछि सदस्य पुग्यो।

कोठामा सामान राखेपछि पानि प्यास लाग्यो। खाना पकाउने प्राय ठाउँ एकै रहेछ। हाम्रो समूह भन्दा अगाडि नै धर्मशालामा भारतीय सद्गुरुका अनुयायीहरु आइसकेका थिए। सबै गैर आवासीय भारतीय। सद्गुरु पनि कैलाश दर्शन गर्न नेपाल आएका छन् भन्ने सुनिएको थियो। तर, भारतीय नागरिकलाई चीन सरकारले भिषा नदिएकाले कैलाश त के आउलान् र!

पानी खोज्दै जाँदा भित्र सानो टहरामा पानी थापिरहेको देखेँ। त्यहाँ पुग्दा ट्राभल्सले दिएको टोपी अनि ज्याकेट लगाइसकेका थियौँ। लाइनमा बसेर पालो आएपछि पानि थाप्न सानो थर्मस अगाडि सारेको मात्र थिएँ एक जनाले ‘यो तपाईंको समूहको पानी हैन’ भन्दै थर्मस धकेले।

झनक्क रिस उठ्यो। यसो हेरेको सद्गुरुको टोपी अनि ज्याकेट लगाएका रहेछन्। ‘मेरो पानी हैन भगवानले बनाएको पानी हो’, भन्दै अलिकति भए पनि तातोपानी खानुपर्योस भनेर पानी थाप्न आँटेको दिँदै दिएनन्।

कैलाश-मानसरोवरको यात्रा गर्नुको विविध लक्ष्यमा जीवनका सबै पापबाट मुक्ती पाउने जनविश्वास पनि एक हो। लोभ-मोह अनि मायाबाट मुक्तीको लक्ष्य पनि हो। जाबो एक गिलास तातो पनि पनि तेरो र मेरो गर्ने किन मानसरोवर आएको होला !

यति झोक चल्यो कि अन्त भएको भए दुईचार झापड पक्का भेट्थ्यो। तीर्थ हिँडेको ब्यक्ती पनि कस्तो रिसाएको भन्ने लाग्न सक्छ। अब पानी तिर्खाले प्याकप्याक भएर एक गिलास पानी लिन जाँदा पनि तेरो समूहको पानी हैन भनेपछि रिस उठ्नु स्वभाविकै हो नि।

तर अब मानसरोवरमा के तिर्थालु कुट्नु!  सम्हालिदै ‘पानी त खान दिँदैनस् के धर्म गर्छस्’ भन्दै फर्किए आफ्नै कोठातिर।

कैलाश-मानसरोवर यात्रा

८ असोज, २०८०, २०:३३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।