‘ऐंचो पैंचो’ र ‘गणपति’ एकसाथ हलमा, दुवैमा मुकुन

‘ऐंचो पैंचो’ र ‘गणपति’ एकसाथ हलमा, दुवैमा मुकुन

काठमाडौं : भदौ महिनालाई फिल्म रिलिजका लागि राम्रो सिजन मानिन्छ। पानी पर्ने सम्भावना न्यून रहने र चाडपर्वको रौनक हुने भएकाले हरेक वर्षको भदौमा नेपाली फिल्मबीच ठूलै प्रतिस्पर्धा हुने गर्छ। यसपालि पनि भदौमा फिल्म रिलिजको बाढी छ। अघिल्ला दुई हप्तामा मात्र चार नेपाली फिल्म प्रदर्शनमा आइसकेका छन्। र, यो हप्ताका लागि दुईटा फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’ले प्रदर्शन थालेका छन्।

जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदा भएकाले यी दुई फिल्म बिहीबारबाटै प्रदर्शन भएका हुन्। नभए शुक्रबार मात्र फिल्म रिलिजको प्रचलन छ। रोचक संयोग चाहिँ के जुरेको छ भने दुईवटै फिल्ममा प्रमुख कलाकार एउटै छन्, मुकुन भुषाल र राजाराम पौडेल। यद्यपि, दुवै फिल्मको विषयवस्तु नितान्त फरक छन्। तर पनि भिडन्तको असर दुवै फिल्मको व्यापारमा देखिन सक्नेछ।

‘काले केटाले’ गीतको लोकप्रियताका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’मा नाम चलेका कलाकारहरुको जत्था छ। प्रचार पनि चुस्त थियो। यसैले देशका अधिकांश मल्टीप्लेक्स हलहरुले फिल्मप्रति ठूलो अपेक्षा राखेर सुखद शो बाँडेका छन्। त्यसमाथि प्रदर्शनको पहिलो दिन नै सार्वजनिक विदाको अवसर मिलेको छ। जसका कारण फिल्मको ओपनिङ राम्रो रहन सक्ने प्रक्षेपण गरिएको छ।

फिल्म निर्माणमा १५ वर्षको अनुभवपछि ‘ऐंचो पैंचो’बाट कृषा चौलागाईंले निर्देशकीय यात्रा सुरु गरेकी छन्। यो फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय रहेको छ। फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन छ।

‘गणपति’लाई भने निर्माताले नामजस्तै भगवान् भरोसामा छाडिदिएका छन्। अर्थात् प्रचारबिनै फिल्म हलमा लागेको छ। फिल्मको ट्रेलर र ‘उनभित्र गुन’ गीत भने रुचाइएको छ। सबिन अधिकारीको निर्देशन रहेको फिल्ममा मुकुन र राजारामसँगै मेनुका प्रधान, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेललगायतको अभिनय छ। फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल रहेका छन्।

१४ भदौ, २०८०, १२:१६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।