‘९६औं अस्कर अवार्ड’ का लागि नेपाली चलचित्रको आवेदन माग

‘९६औं अस्कर अवार्ड’ का लागि नेपाली चलचित्रको आवेदन माग

काठमाडौं : एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि आवेदन माग गरेको छ। 

समितिले  सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो।

समितिले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गर्ने बताएको छ।

उक्त अवार्ड प्रतियोगितामा सहभागी हुन चाहने नेपाली चलचित्र निर्देशक र निर्माताहरूले भदौ २९ गतेभित्र समितिको सचिवालयमा चलचित्र दर्ता गराउनु पर्नेछ। 

सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र २०७९ असोज १५ गतेभन्दा पछि तथा २०८० असोज १४ गतेभन्दा अगाडि नै सार्वजनिक प्रदर्शन गरिएको हुनु बताएको छ।

चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

१२ भदौ, २०८०, १२:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।