ललिता निवासमा नेपाल र भट्टराइको बयान लिन हच्कियो सिआइबी, उन्मुक्तिका लागि कसैसँग याचना नगरेको डा भट्टराइको भनाई

ललिता निवासमा नेपाल र भट्टराइको बयान लिन हच्कियो सिआइबी, उन्मुक्तिका लागि कसैसँग याचना नगरेको डा भट्टराइको भनाई

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा दुई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालको बयानमा ढिलाइ गरिरहेको बेला डा भट्टराइले आफूले कसैसँग उन्मुक्तिको याचना नगरेको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै ललिता निवास प्रकरणमा आफूले गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने दाबी गर्दै सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ  नगरेको र आफूले कसैसँग “उन्मुक्ति” को याचना नगरेको लेखेका छन्।

सर्वोच्च अदालतबाट मन्त्रिपरिषद्बाट भएको निर्णयबारे कुनै निकायले अनुसन्धान गर्ने सबैमाथि अनुसन्धान गर्न सक्ने बाटो खुलाएपछि सिआइबीले दुवै प्रधानमन्त्री र केही मन्त्रीको बयान लिने तयारी गरेको थियो।

सिआइबीले बयान लिने तयारी गरेको जानकारी पाएपछि विदेश भ्रमणबाट फर्कँदै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन दलको बैठकमा आफूलाई फसाउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए। त्यसपछि सिआइबीले लिने भनेको बयान अझै हुन सकेको छैन।

‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन’, भट्टराईले लेखेका छन्, ‘ललिता निवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैर कानुनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।’

उनले ललिता निवास लगायत सबै ठुला भ्रष्टाचार प्रकरणबारे निष्पक्ष छानबिन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा आफूले संसद् र सार्वजनिक मञ्चबाट निरन्तर बताउँदै आएको लेख्दै त्यस्तो छानबिनमा आफूले जहाँ, जैले,जसरी पनि पूर्ण सहयोग गर्ने लेखेका छन्।

उनले सीआईबीले गरिरहेको छानबिनको क्रममा आफूसँग कसैले कुनै सोधपुछ पनि नगरेको छैन र कसैसँग “उन्मुक्ति” को याचना पनि नगरेको लेखेका छन्।

'मेरो स्वविवेक र स्वाभिमानले त्यसो गर्नै दिँदैन। बरु आवश्यक परे आफ्नोतर्फबाट छानबिनमा हरतरहको सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेको छु र पुनः अहिले गर्दछु’, भट्टराईले लेखेका छन्।

१ भदौ, २०८०, २३:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।