इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

इक्वेडरका राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या भएको छ। 

उनको टाउकोमा तीन गोली लागेको थियो। र्यालीपछि कारमा बसिरहेका बेला फर्नान्डोमाथि हमला भएको थियो।

उनको हत्या भएको पुष्टि गर्दै इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले दोषीलाई नछोड्ने बताएका छन्। उनले सुरक्षा अधिकारीहरूको बैठक बोलाएका छन्। 

५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो अगस्ट २० को राष्ट्रपतीय निर्वाचनका लागि आठ उम्मेदवारमध्ये एक थिए। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा फर्नान्डोलाई सुरक्षाकर्मीले घेरेको देखिन्छ। उनी गाडीमा बस्ने बित्तिकै गोली चलेको थियो।

यस बन्दुक आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन्। फर्नान्डोका अभियानका प्रबन्धकले उनलाई लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको बताएका छन्।

वासिङ्टन पोस्टका अनुसार आक्रमणकारीले मानिसहरूतर्फ ग्रेनेड पनि प्रहार गरेका थिए, यद्यपि ग्रेनेड विस्फोट भएन।

फर्नान्डोका अभियान प्रबन्धक जुकिलान्डाले इक्वेडरमा बढ्दो हिंसा र लागुऔषध तस्करी रोक्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई आवश्यक कदम चाल्न अपिल गरेका छन्।

जुकियालान्डाले भने, 'इक्वेडरका जनता रोइरहेका छन्। राजनीतिको कारणले कोही मर्नु हुँदैन। फर्नान्डो इक्वेडरका पूर्वराष्ट्रपति राफेल कोरियाको कडा आलोचक हुन्। यसका लागि उनले १८ महिना जेल बस्नुपरेको थियो। पछि उनी इक्वेडरबाट छिमेकी देश पेरु गएका थिए।

साउन २५, २०८० बिहीबार ०८:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।