मोदीलाई प्रश्न सोध्ने पत्रकारको फेसबुक र इन्स्टाग्राम बन्द

मोदीलाई प्रश्न सोध्ने पत्रकारको फेसबुक र इन्स्टाग्राम बन्द

एजेन्सी : नर्वे भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न सोधेर चर्चामा आएकी नर्वेली पत्रकार हेला लेंगको इन्स्टाग्राम र फेसबुक खाता निलम्बित भएको छ।

प्रधानमन्त्री मोदीलाई प्रश्न सोधेपछि सामाजिक सञ्जालमा कडा प्रतिक्रिया सामना गरिरहेकी हेलाले आफ्नो सामाजिक सञ्जाल एकाउन्टहरू मेटाले बन्द गरिदिएको बताएकी हुन्।

हेलाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत यसबारे जानकारी दिँदै लेखेकी छन्, ‘प्रेस स्वतन्त्रताका लागि यो एउटा सानो मूल्य हो, तर मैले यस्तो अनुभव यसअघि कहिल्यै गरेकी थिइनँ।’

उनले दिनभर इन्स्टाग्राम चलाउन नपाएको र पछि निलम्बनको सूचना प्राप्त भएको उल्लेख गर्दै त्यसको स्क्रिनसट समेत सेयर गरेकी छन्।

उनले आफ्नो फेसबुक एकाउन्ट पनि निलम्बित भएको जनाएकी छन्। धेरै भारतीयहरूले उनलाई सन्देश पठाइरहेको सन्दर्भमा हेलाले थपिन्, ‘मैले सकेसम्म धेरै भारतीयहरूलाई जवाफ दिन चाहेकी थिएँ, तर अब मेरा जवाफहरू आउन ढिला हुनेछन्। मलाई आशा छ मेरा एकाउन्टहरू छिट्टै फिर्ता आउनेछन्।’

उनले यसबारे मेटालाई पनि ट्याग गरेकी छन्।

के थियो विवाद?
केही दिनअघि ओस्लोमा नर्वेका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलनपछि मोदी बाहिरिन लाग्दा हेलाले ‘तपाईं विश्वकै सबैभन्दा स्वतन्त्र प्रेसका प्रश्नहरू किन लिनुहुन्न?’ भन्दै प्रश्न गरेकी थिइन्।

त्यसको भोलिपल्ट भारतीय विदेश मन्त्रालयले आयोजना गरेको ब्रिफिङमा पनि हेला पुगेकी थिइन्। त्यहाँ उनले भारतमा मानवअधिकार र प्रेस स्वतन्त्रताको खस्कँदो अवस्थाबारे प्रश्न उठाउँदा भारतीय विदेश सचिव सीबी जर्जसँग उनको निकैबेर चर्काचर्की भएको थियो।

सोही घटनापछि भारतीय समर्थकहरूले उनलाई सामाजिक सञ्जालमा निरन्तर निशाना बनाइरहेका थिए।

नर्वे विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा पहिलो स्थानमा छ भने भारत १५७औं स्थानमा रहेको सन्दर्भमा हेलाको यो प्रश्न र त्यसपछिको डिजिटल सेन्सरसिपको विषयले अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको छ।

जेठ ६, २०८३ बुधबार १०:३३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।