ग्यालेक्सी फोरकेका सञ्चालक जीबी राईविरुद्ध बैंकिङ कसुरको उजुरी, सात कम्पनीको सम्पत्ति रोक्का गर्न प्रहरीको पत्र

ग्यालेक्सी फोरकेका सञ्चालक जीबी राईविरुद्ध बैंकिङ कसुरको उजुरी, सात कम्पनीको सम्पत्ति रोक्का गर्न प्रहरीको पत्र

काठमाडौँ : अवैध नेटवर्किङ व्यापारदेखि सहकारी ठगीसम्ममा जोडिएका ग्यालेक्सी फोरके टीभीका प्रमुख गितेन्द्रबाबु(जीबी) राई बैंकिङ कसुरका फरार आरोपी हुन्।

उनीविरुद्ध प्रहरीमा चार वटा जाहेरी परेका छन्। जाहेरीअनुसार प्रहरीले जीबी संलग्न सबै कम्पनीको स्वामित्व हस्तान्तरण गर्न रोक लगाउन कम्पनी रजिस्ट्रारको कार्यालयमा पत्र समेत पठाएको छ। तर उनी भने खुलमखुला छन्।

उनी विरुद्ध नेहा संघाई मारवाडीसहित चार जनाले रकम नभएको ४ वटा चेक दिएको भन्दै बैंकिङ कसुरको आरोपमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बारामा मारवाडीसहित राधा हालान, मोहित हालान र रोहित हालानले समेत उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जयकृष्ण कुर्मीले कम्पनी रजिस्ट्रार कार्यालयमा साउन ९ गते पठाएको पत्रमा ‘गितेन्द्र बाबु राईसमेत सञ्चालक रहेको ७ वटा कम्पनीको लगानी स्रोत के हो ? सो को विवरण खुलाई कम्पनीहरूको कसुरजन्य सम्पत्ति साधन रोक्का, नियन्त्रण र जफत ऐनबमोजिम रोक्का राख्न भनिएको छ। तर कम्पनी रजिस्ट्रारको कार्यालयले रोक्का राखेको छैन।

प्रहरी निरीक्षक कुर्मीका अनुसार जाहेरीमा चार वटा चेकको ५६ लाख बराबर रकम थियो। चेक नसाटिएपछि संघाई उजुरी दिन प्रहरी कार्यालय पुगेकी हुन्।

‘हामीले कम्पनी रजिस्ट्रारमा कार्यालयमा सम्पत्ति रोक्का गर्न पत्र पठाएका छौँ,’ उनले भने,‘उताबाट केही खबर आएको छैन।’

कम्पनी रजिस्ट्रार कार्यालयका कानुन शाखाका कानुन अधिकृत पराशर खरेलले प्रहरी कार्यालयबाट पत्र आएको तर सम्पत्ति रोक्का भने भइनसकेको जानकारी दिए।

‘गितेन्द्र बाबु राई अध्यक्ष भएको विभिन्न कम्पनीको प्रहरी कार्यालयबाट सम्पत्ति रोक्काको लागि पत्र आएको छ,’ उनले भने, ‘प्रक्रियामा गएको छ। केही दिनमा निर्णय होला।’

प्रहरीले पठाएको पत्रमा जीबी ग्रुप अफ कम्पनीज् प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेड,नेचर हब प्रालि, नेचर नेष्ट प्रालि, हर्वो इन्टरनेशनल प्रालि, गोर्खा आयुर्वेद प्रालि र गुप्ती टी इस्टेट प्रालिको सम्पत्ति रोक्का राख्न भनिएको छ।

गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा हजार हाराहारी सेयर सदस्य रहेका छन्। हर्बो हुँदै नेटवर्किङ व्यवसायमा जोडिएका जीबीले अहिले गोर्खा ग्रुपको अध्यक्ष आफ्नो सहयोगी कुमार रम्तेललाई बनाएका छन्। रम्तेल पनि अहिले ग्यालेक्सी टेलिभिजनसँगै जोडिएका छन्।

जीवी राईसँग रास्वपाका सभापती रवि लामिछाने र अवकास प्राप्त प्रहरी छवीलाल जोशी नेचर्स् हर्बको कार्यालयमा।

ग्यालेक्सी फोरकेको मूल कम्पनी गोरखा मिडिया नेटवर्कको अध्यक्षसमेत जीबी राई नै हुन्। उनले अहिलेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गरेका थिए।

ग्यालेक्सी टेलिभिजनको व्यवस्थापनमा संलग्न रहेकै बेला रवि टेलिभिजन छाडेर राजनीतिमा संलग्न भएका थिए।

जीबी पछिल्लो समय सहकारी ठगीमा समेत जोडिएका छन्। उनी र उनका सहयोगीहरू संलग्न रहेका सहकारीहरूले बचतकर्तालाई रकम फिर्ता दिन नसकेपछि उनीहरू बारम्बार आन्दोलित भइरहेका छन्। तर बचत रकम फिर्ता गर्न सकेका छैनन्।

बचतकर्ताको रकम व्यक्तिगत काममा लगानी गर्दा सहकारीहरू संकटमा परेको देखिन्छ। उनी र उनका सहयोगी व्यवस्थापक रहेको दर्जन बढी सहकारी देखिएका छन्।

चितवन, पोखरा, काठमाडौँलगायत जिल्लाहरूमा उनी र उनका सहयोगी संलग्न सहकारीमा १४ अर्ब बढी रकम रहेको देखिन्छ।

उनले सहकारीमा रहेका बचत रकम आफू र आफू निकटको नाममा निकालेर आफू संलग्न सात प्रालिमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने गरेका थिए। अधिकांश रकम जग्गा र नेटवर्किङ व्यवसायसँगै आफ्नो खर्चालु दैनिकीमा खर्च गरेका उनी पछिल्लो समय भने आर्थिक संकटमा परेपछि सहकारीमा समस्या देखिएको हो।

जीबी र उनका सहयोगीहरू संलग्न काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था , पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी, वीरगञ्जको 'सानो पाइला' बचत तथा ऋण सहकारी संस्था रहेका छन्।

जीवीको कम्पनीहरु रोक्का राख्न प्रहरीले पठाएको पत्र।

पछिल्लो समय जीबी आफ्नो समूहमा रहेका सहकारीहरू एकीकृत गरेर आफैँ अध्यक्ष हुन प्रयास गरेका थिए। बुटवल र ललितपुरमा सहकारीहरू मर्जर घोषणा पनि भयो, तर सहकारी मर्ज हुन सकेन।

पछिल्लो समय जीबी नेपाल छाडेर सिंगापुर सिफ्ट हुने रणनीतिमा लागेको विश्वस्त स्रोतले बतायो।

'सहकारीको समस्या समाधान नै गर्न नसक्ने अवस्थामा पुगेपछि ग्यालेक्सी बिक्री गरेर सिंगापुरमा सेटल हुने तयारीमा छन्,' स्रोतले उकेरालाई भन्यो।

कुनै समय हर्बोको सामान्य कर्मचारी रहेका जीबी जेठी श्रीमतीसँग डिभोर्स गर्न हेलिकप्टर लिएर गाउँ गएपछि राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत समाचारको विषय बनेका थिए।

पूर्वप्रहरीहरूसँग समेत उनको बाक्लो उठबस रहेको छ। नेटवर्किङ व्यवसायमा समेत छविलाल जोशीलगायत उच्चतहमा पुगेर अवकाश पाएका प्रहरी अधिकारीहरू संलग्न थिए। उनी प्रमुख रहेको ग्यालेक्सीमा रविसँगै छविसमेत संलग्न थिए। 

सम्बन्धित समाचार

२२ साउन, २०८०, १६:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।