यातायात व्यवसायी, पालिका र प्रशासनबीच त्रिपक्षीय वार्ता, चौकुनेमा गाडी लैजाने निर्णय

यातायात व्यवसायी, पालिका र प्रशासनबीच त्रिपक्षीय वार्ता, चौकुनेमा गाडी लैजाने निर्णय
यातायात व्यवसायी संगठनको संयुक्त यातायातले निर्णय नै गरेर चौकुनेसम्म गाडीहरू यातायात सञ्चालन नगर्दा टिपरमा यात्रा गर्दै यात्रु

सुर्खेत : व्यवसायीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको लगामसम्म सार्वजनिक यातायात पुर्याउने भएका छन्। 

आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा भएको त्रिपक्षीय बैठकमा विभिन्न ६ वटा निर्णयसमेत भएका छन्। 

४२ दिनसम्म पनि चौकुनेमा व्यवसायीले सार्वजनिक यातायात नलैजाँदा शनिबार पालिकाको टिपरमा अध्यक्ष खड्क विकले ६० जना यात्रुलाई वीरेन्द्रनगर पुर्याएका थिए। 

अर्को व्यवस्थापन नभएसम्म पालिकाले टिपरमा नागरिकलाई यात्रा गराउने निर्णयपछि प्रशासनले यस विषयमा चासो राखेको हो। आइतबार मात्रै पालिकाको केन्द्र गुटुसम्म व्यवसायीहरूले गाडीसमेत लगेका छन्। 

सडकको समस्या देखाएर पञ्चपुरी नगरापकिा-९ विद्यापुरबाट अगाडि गाडी पठाउन नमानेका व्यवसायीले सडकको अवस्था हेरेर तत्काल गुटुसम्म गाडी पठाएको बताएका छन्। 

त्रिपक्षीय बैठकले वीरेन्द्रनगरदेखि पश्चिम लगामसम्म करिब एक सय किलोमिटर सडक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरी सम्बन्धित कार्यक्षेत्र रहेका कार्यालयलाई सात दिनभित्र मर्मत गर्न निर्देशन दिएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए। 

यस्ता छन् ६ बुँदे निर्णय

१. कर्णाली राजमार्गको बाङ्गेसिमलदेखि बड्डीचौरसम्म र खम्बागाडे-बाबियाचौर-विद्यापुरसम्म सडक डिभिजन, सुर्खेतको कार्यक्षेत्रमा पर्ने भएकोले ७ ९सात० दिन भित्र उक्त क्षेत्रमा सवारी चल्ने गरी सडक मर्मत तथा व्यवस्थापन गर्नुपर्ने गरी सडक डिभिजन, सुर्खेतलाई निर्देशन दिने निर्णय। साथै उक्त सडकको मर्मत सम्भारमा जिम्मेवार सोही कार्यालयका इन्जिनियर अशोक चौधरी छन्। 

२. बड्डीचौरदेखि खम्बागाडेसम्म १३ किमि सडक पूर्वाधार निर्देशनालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले ७ दिनभित्र उक्त सडक मर्मत तथा व्यवस्थापन गरी सवारी साधन चल्ने बनाउन पूर्वाधार विकास निर्देशनालयलाई निर्देशन दिने निर्णय। साथै उक्त सडकको मर्मर सम्भार गर्ने जिम्मेवार इन्जिनियर हरि शर्मा धिताल छन्। 

३. विद्यापुर गुटु-मायाताल-बिजौरा बल्दे (२२ किमि) सड़क मदन भण्डारी राजमार्गको कार्यक्षेत्रभित्र पर्ने भएकोले ७ दिनभित्र मर्मत तथा व्यवस्थापन गरी सवारी साधन चल्ने बनाउन मदन भण्डारी राजमार्ग कार्यालयलाई निर्देशन दिने निर्णय। साथै उक्त सडकको मर्मर सम्भार गर्ने जिम्मेवार इन्जिनियर रामसागर हरिजन छन्। 

४. उक्त क्षेत्रमा बाटोको सुधारको अवस्था हेरी अनुगमन गरी रोड पर्मिटको व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णय। सोका लागि तोकिएका अधिकृतले ७ दिनभित्र प्रतिबद्धता पेश गर्ने। 

५. सुर्खेत बजारदेखि गुटुसम्म सवारीसाधन नियमित रूपमा र तोकिएको सुपथ मूल्यमा यातायात सेवा सञ्चालन गरी आम नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन जिल्लास्थित संयुक्त यातायात व्यवस्था समिति प्रालिलगायत सम्पूर्ण यातायात व्यवसायिलाई अनुरोध गर्ने निर्णय। 

६. गुटुसम्म यस पूर्वअस्थायी रुट पर्मिट प्राप्त भइसकेकोमा गुटुदेखि लगाम बेतानसम्म र बाबियाचौरदेखि कुइने एवं गुटुदेखी कर्णाली चिसापानी पूर्वपश्चिम राजमार्ग सम्मको सडक जोड़ने गुटु-चिसापानी सडकमा सवारी साधन चल्ने इजाजतका लागि सम्बन्धित समितिमा पठाउने निर्णय। 

२१ साउन, २०८०, २१:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।