स्थानीवासीले करेसाबारीमा 'औषधिका लागि' रोपेको गाँजा प्रहरीले अभियान नै चलाएर गर्‍यो नष्ट

स्थानीवासीले करेसाबारीमा 'औषधिका लागि' रोपेको गाँजा प्रहरीले अभियान नै चलाएर गर्‍यो नष्ट
फाइल तस्वीर

झापा : बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती नष्ट गर्न प्रहरी घरघरमा पुग्न थालेको छ। 

बाह्रदशी गाउँपालिका-७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ। 

इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा गाँजा खेती नष्ट गरेको हो।

औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयवासीले गाँजा खेती गर्दै आएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक कटुवालको भनाइ छ। 

विशेषगरी आदिवासी समुदायले करेसाबारीमा गाँजा खेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री वितरण गर्ने गरेको पाइएपछि नष्ट गरिएको प्रहरीले बताएको छ।

गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागुऔषधको लतमा फस्न सक्ने जोखिम बढेको भन्दै प्रहरीलाई विशेष सूचना आएसँगै अभियान नै चलाएर बाह्रदशी गाउँपालिका क्षेत्रमा गाँजा खेती नष्ट गरेको प्रहरीको भनाइ छ। 

२१ साउन, २०८०, १९:०४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।