भुम्लु गाउँपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई जनही एक लाख दियो

भुम्लु गाउँपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई जनही एक लाख दियो

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रालाई जनही एक लाख रुपैयाँबाट सम्मान गरेको छ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा एसईई परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो।
 
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्रकाश मावि भुम्लुटारका सन्देश उपे्रतीलाई जनही एक लाखद्वारा संयुक्तरूपमा सम्मान गरेका थिए। यस्तै गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसईई परीक्षामा औसत सर्वोत्कृष्ट अंक ल्याउने विषयगत नौ शिक्षकलाई पनि जनही २५ हजारका दरले सम्मान गरिएको छ। 

कार्यक्रममा भुजेल र लामाले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति ऊर्जा एवं प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसईईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताए। 

गाउँपालिकाभित्र सर्वोत्कृष्ट छात्रा खड्काले तीन दशमलव २० र छात्र उप्रेतीले तीन दशमलव ५५ अङ्क प्राप्त गरेका थिए। गाउँपालिकाका दुई सय विद्यार्थीले २०७९ सालको एसईई परीक्षा दिएका थिए।

२१ साउन, २०८०, ०७:३३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।