तीन वर्षअघि नै सिनामंगलमा फेला परेको थियो सुन गोदाम, तर गुपचुपमै सिध्याइयो अनुसन्धान

तीन वर्षअघि नै सिनामंगलमा फेला परेको थियो सुन गोदाम, तर गुपचुपमै सिध्याइयो अनुसन्धान

काठमाडौं : स्कुटरको ‘ब्रेक शु’को आवरणमा तस्करी भएको सय किलो बढी सुनको जालो केलाउने क्रममा राजश्व अनुसन्धान विभागले काठमाडौंका विभिन्न स्थानमा सुन पगाल्ने र सामानमा राख्ने गोदाम फेला पारिरहेको छ।

सामान निर्यात गर्ने कम्पनीको विवरण अनि फेला परेको गोदामको अवस्थाले गिरोहले कति सुन तस्करी गरेर तेस्रो देश पुर्यायो अनुमान गर्नै नसक्ने अवस्थामा पुगेको छ विभाग।

तर, उकेराले प्राप्त गरेको अर्को सुन तस्करीको विवरणले भने तीन वर्ष अगाडि नै यस्तै प्रकारको तस्करीको घटना विभागसम्म पुगेको र करिव २ अर्ब बढिको सुन तस्करीको निष्कर्ष निकालिएको पुष्टि भएको छ।

२०७७ बैशाख १० गते फेला परेको ६ किलो सुनको अनुसन्धान गर्दा सो गिरोहले दुबईबाट इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामानभित्र सुन राखेर नेपाल भित्र्याएर भारत पुर्याउने गरेको खुल्यो। त्यो पनि एक पटक हैन। ६३ पटक भन्दा बढी।

सुन तस्कबरीको मोडल अहिलेको सय किलो सुन जस्तो छ त्यस्तै देखियो अनि भन्सारका कर्मचारीहरूको भूमिका पनि उस्तै। भारतीय नागरिकको संलग्नतामा भएको सो सुन तस्करीमा संलग्न केही व्यक्तिहरू पक्राउ परे। मुख्य नाइके अझै फरार छन्।

पक्राउ परेका अनेकल र फरार लुकमान्यल हकिमउनले त्यति लामो समय कसरी सुन तस्क री गर्न सके भनेर गम्भीर अनुसन्धानै भएन। भन्सारका कर्मचारीहरूले कारबाहीबाट उन्मुक्ति पाए। संरक्षकहरूतिर विभागको अनुसन्धान जाँदै गएन।

प्रहरीले सुन बरामद गरेर विभागमा पठायो। विभागले अनुसन्धान गरेर अदालतमा मुद्दा लग्यो। पक्राउ परेका केही पुर्पक्षका लागि थुनामा गए। केही धरौटीमा छुटे। घटना सामसुम।

यात्रुवाहक बसको सिटमा ६ किलो सुन
२०७६ चैत २० गते बिहान साढे चार बजेको समयमा मकवानपुर हेटौंडाको रातेमाटे चेकपोष्टका प्रहरीले वीरगञ्ज जाँदै गरेको यात्रुबाहक बसमा रहेका भारतीय नागरिक अब्दुल मजिद अनेकललाई नियन्त्रणमा लियो।

प्रहरीले उनको साथबाट ६ किलो २८९ ग्राम सुन फेला पारेको थियो। प्रहरीले सुन र पक्राउ परेकालाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठायो। प्रहरीले फलामको टुक्राभित्र सुन राखेका थिए। कार्यालयले अनुसन्धान गरेर उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरायो। अनेकल पुर्पक्षका लागि थुनामा गए।

अनुसन्धानमा अनेकलसहित लुकमान्यल हकिम, राजेश गुरुङ, सञ्जिव श्रेष्ठ र शंकर घिमिरे समेत जोडिए। अनुसन्धान गर्दै जाँदा यो समूहले दुबईबाट सुन तस्कहरी गरेर भारत पुर्याउन लामो समयदेखि सक्रिय रहेको खुल्यो।

इलेक्ट्रिक सामानभित्र सुन आउँथ्यो
यो समूहको अनुसन्धानमा दुबईबाट इलेक्ट्रिक, इलेक्ट्रोनिक अनि मेकअपको सामान ल्याउने गरेका थिए। उनीहरूले यसका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै तिलगंगामा यश इम्पोर्ट एण्ड एक्स्पोर्ट कन्सर्न प्रालिको कार्यालय राखेका थिए।

सुन लुकाउन प्रयोग गरिएको विधी। शम्भुमार्गमा ओएक्सवाई नामक पसल समेत चलाए। त्यसमा संलग्न थिए लुकमान्यल हकिम, अब्दुल मजिद अनेकल। यी दुवै भारतीय नागरिक। पक्राउ परेका अनेकलबाट राजश्वले सुन तस्करीसम्बन्धी महत्वपूर्ण सूचना पायो।

अनेकलका अनुसार उनीसँग फेला परेको सुन उनले वीरगञ्ज हुँदै भारत लैजान बोकेका थिए। तर, बिचैमा समातिए। उनलाई त्यो सुन रोशन पटेल नाम गरेका व्यक्तिले दिएका थिए। पटेलले मोटर्सको पार्टभित्र सुन राखेर उनलाई भारत लैजान पठाएका थिए।

पछि रोशन पटेल भनेको व्यक्ति नै लुकमान्यल हकिम भएको खुल्यो। उनले बयानमा मोटरका पार्टपुर्जा जस्ता देखिने सामानहरू पटक-पटक भारत लैजाने गरेको खुलाए।

उनका अनुसार उनले ती सामानहरू काठमाडौंबाट स्थल मार्गहुँदै वीरगञ्ज, रक्सौल, भैरहवा, सुनौली हुँदै रुपेडिया पुर्याउने गर्थे। उनीहरूले दुबईबाट मिल, पास्ता मेकर, ग्र्यान्डर लगायतका सामानसँगै चकलेटहरू मगाउने गर्थे।

ती सामानहरू विमानस्थलबाट निकालेर सिधै सिनामंगलको शम्भुमार्गमा रहेको पसलको माथिल्लो कोठामा राख्ने र नयाँ कार्यालय घट्टेकुलेमा समेत राखेको खुल्यो।

अनि जोडिए भन्सार एजेन्ट
यो तस्करीको घटनामा जोडिए राजेश गुरुङ, जो भन्सार एजेन्ट थिए। सो कम्पनीले बाहिरबाट जति पनि सामानहरू मगाउथ्यो ती सबै सामान विमानस्थलको भन्सारबाट पास गराएर पसलसम्म ल्याउने काम उनैले गर्थे।

उनले भन्सार कटाएर ल्याउने सामानमा सुन हुन्थे। त्यही सुन भएको सामान अनि हकिमले कहिले रात्रीबसबाट त कहिले टाटासुमोमा राखेर भारत पुर्याउँथे। भारत सामान लैजाने काम अनेकलले गर्थे। अनेकल जाँदा सुन लुकाइएको सामान लिएर जान्थे। आउँदा भारतबाट समेत कहिले सामान बोकेर आउँथे त कहिले रित्तै। रित्तै आउँदा उनी हवाईमार्गको प्रयोग गर्थे।

सुन बोकेर जाँदा उनीहरूबीच ह्वाट्सएपमा संकेतमा कुरा हुन्थ्यो। उता भारतमा रहेको तस्कर समूहले पनि संकेतमै कुरा गर्थ्यो। उनले अधिकांश सामान भारतको रक्सौलमा पुर्याएर भारतीय नागरिकहरूलाई जिम्मा दिने गर्थे।

उनीहरूले मेसिनरी पार्ट्स दुबईबाट एकै पटक मगाउँदैनथे। एक पिस, दुई पिस गरेर मगाएर गोदाममा राख्थे। गोदाममा त्यसको कभर मिलाउने लगायतका सबै काम गरेपछि भारत लैजाने गर्थे। पक्राउ परेका अभियुक्तको बयानअनुसार उनी हप्तामा दुई पटकसम्म यसरी नै सुन राखेको सामान लिएर भारत जाने गरेको खुल्यो।

पछि अनुसन्धानमा सामान आयात गर्न खोलेको कम्पनी राजेश गुरुङको भएको खुल्यो। गुरुङको नाममा कम्पनी खोलेर भारतीय नागरिकले सुन तस्करीको काम गरिरहेका थिए। पछि गुरुङ पक्राउ परे। उनले बयानमा आफू सामान्य लेखपढ गर्न मात्र जानेको र भन्सारमा आएका सामानहरू छुटाउन सहजीकरण गरेर जीवन गुजारा गर्ने गरेको भन्दै सुन तस्करीबारे केही जानकारी नभएको दाबी गरे।

प्रतिखेप ६ किलो सुन
बयानमा उनले भारत जाँदा सामान फरक-फरक हुने भए पनि तौल समान हुने र सामानभित्र ६ किलो बराबरको सुन राख्ने गरेको खुलाए। उनले यसरी ६८ खेपसम्म सामान भारत पुर्याएको बयानमै खुलाएका थिए।

सुन तस्करीका लागि खोलिएको पसल। अनुसन्धानमा रोशन पटेल नाम भएका भारतीय नागरिकले विभिन्न नेपाली नागरिकको नाममा चार वटा मोबाइल नम्बर निकालेको देखियो। नेपाली नागरिक राजेशको नाममा एक्स्पोर्ट अनि इम्पोर्ट गर्ने कम्पनी खोलेर भारतीय र नेपाली नागरिकलाई कामदार राखेर सुन तस्करी गर्ने गरेको प्रस्टै भयो।

यो समूहमा देखिएका रेजन अहमद, रोशन पटेल र लुख मानुल हकिम नाम गरेको व्यक्ति एकै भएको देखियो। अनुसन्धान गर्दा यी व्यक्ति २०६८ सालदेखि नेपालमा बसेर कारोबार गर्ने गरेको देखियो भने बैंक स्टेटमेन्ट ११ करोड बराबरको देखिएको थियो।

अनुसन्धानमा सामान ‌ओसारपसार गर्ने ट्याक्सी चालक राजु लामा लगायत पसलमा काम गर्ने नेपालीहरूसँग बयान लिँदा सबैले सुनबारे केही थाहा छैन भन्ने बयान दिए।

सो कम्पनीको सामानको भन्सार जाँचपास गर्ने तत्कालीन भन्सार अधिकृत ठाकुर गौतम, सन्तोष चन्द, कमल प्रसाद कोइराला, मञ्जु नेपाल अर्याल, केशरकुमारीजी खनाल, नायब सुब्बा विणा कुमारी मुल्मीसँग बयान लियो।

तर, तस्करीमा कसैको संलग्नता पुष्टि हुन सकेन। टाइपिस्ट पदमा रहेको विणाले नै भन्सारमा महत्वपूर्ण पाटो एक्सरे जाँचको काम गर्ने गरेको खुल्यो अनुसन्धानमा।

अनुसन्धानमा पक्राउ परेकाहरूको मोबाइलमा टन्नै सुनका सामानहरू फेला पर्यो अनि सुन तस्करीका संवाद लगायतका प्रमाणहरू पनि।  सम्पर्क भएका ५० वटा नम्बरहरू खुले।

अनुसन्धानमा अब्दुल मजिद अनिकेल, राम प्रभेष कुमार, रमनलाल श्रेष्ठ, हरिनारायण कुर्मी, मिनाकुमारी तामाङ, शेषजाहिर आलम, राजु लामा, विदुर प्रसाद नेपाल, ठगीकुमारी चापागाइँ र सञ्जिव श्रेष्ठको नाम खुलेको थियो।

बयान अनि मोबाइलबाट प्राप्त विवरणहरूको आधारमा यो समूहले दुई अर्ब ४३ करोडको सुन तस्करी गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर भयो तर एक जनामात्र पक्राउ परे।

सम्बन्धित समाचार:

१७ साउन, २०८०, १९:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।