दुर्गा प्रसाईँलाई धम्क्याउँदै फोन आयो' कात्रो तयार राख्नु'

दुर्गा प्रसाईँलाई धम्क्याउँदै फोन आयो' कात्रो तयार राख्नु'

काठमाडौँ : विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपरिचित नम्बरबाट फोन आयो। उनले फोन उठाए लगत्तै पैसा माग्दै धम्की आयो' ‘२० करोड दिनु नत्र तेरो हत्याको योजना बनाइसकेका छौँ। कात्रो तयार राख्नु।’

पैसा मागेसँगै हत्या नै गर्ने धम्की आएपछि उनले प्रहरीलाई जानकारी गराए। कल आएको नम्बरको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढायो।

धम्कीको कल आइरहेकै थियो। प्रसाईँले उठाइरहेकै थिए। २० करोडबाट सुरु भएको बार्गेनिङ पाँच करोडमा पुगेर सहमति भयो।

प्रहरीले कलको आधारमा लोकेसन हेर्दा धम्क्याउने व्यक्ति काठमाडौँमै रहेको खुल्यो। प्रहरी उनको खोजीमा लाग्यो। पाँच करोडमा सहमति भएपछि महाराजगन्जको कतार भिसा सेन्टर अगाडि बोलाए।

प्रसाईँ हैन त्यहाँ ब्युरोको टोली पुग्यो। प्रहरीले खोटाङको रावाबेसी गाउँपालिका–१ का ४२ वर्षीय रमेश गुरुङलाई पक्राउ गर्यो।

वैदेशिक रोजगारीमा गएर फर्किएका उनले प्रसाईँसँग पैसा भएको थाहा पाएर धम्क्याएर पैसा लिन फोन गरेको दाबी गरेका छन्। ब्यूरोस्रोतका अनुसार तत्काल धम्क्याएर पैसा असुल्ने योजना देखिएको छ। उनी एक्लैले धम्क्याएका हुन् या अन्य पनि छन् खुलेको छैन।

मङ्गलवार बिहान गुरुङ पक्राउ परेपछि प्रसाईँ ब्युरोमा पुगेर जाहेरी दिएका थिए। 

२६ असार, २०८०, १४:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।