सेभेन सिजले 'पशुपतिप्रसाद २ : भष्मे डन’ विश्वव्यापी प्रदर्शन गर्ने लियो जिम्मा

सेभेन सिजले 'पशुपतिप्रसाद २ : भष्मे डन’ विश्वव्यापी प्रदर्शन गर्ने लियो जिम्मा

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको छ।

सोमबार निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिजका प्रतिनिधिबीच अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौता गरेका हुन्।अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने सम्झौतापछि टुकी आर्ट्सले प्रेस वक्तव्य जारी गर्दै ‘भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो रहेको उल्लेख गरेको छ। 

यो फिल्म सेभेन सिजले अमेरिकी चेनहरू रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहित केही स्वतन्त्र सिनेमा घरमा प्रदर्शन गर्दैछ भने अमेरिकामा १२ सय शो,क्यानडामा १५० शो हुने बताइएको छ। 

यता अष्ट्रेलियाका इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन सिनेमा चेनमा ५०० शो राखिने जनाइएको छ। मध्यपूर्वका भक्स सिनेमा, स्टार सिनेमा, नोभा सिनेमा,रोयल सिनेमा र सिनेको सिनेमा चेनमा ७५० शो गर्ने तयारी भएको वक्तव्यमा उल्लेख छ।

निर्माण पक्षका अनुसार फिल्मलाई जापान र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा पनि नेपालकै रिलिज डेट दसैंको फूलपाती अर्थात कार्तिक ४ गतेबाट हुँदैछ। 

निर्देशक दीपेन्द्रका अनुसार यसले नेपाली फिल्म उद्योगलाई अन्तराष्ट्रिय बजारमा फराकिलो पार्ने छ। 

विदेशका सिनेमा घरमा यतिधेरै शो पाएपछि अभिनेत्री स्वस्तिमा खड्का उत्साहित बनेकी छन्। उनले सामाजिक सञ्जालमार्फत नै सबैलाई बधाई दिएकी छन्। 

फिल्म ‘पशुपति प्रसाद’ सन् २०१६ मा प्रदर्शनमा आएको थियो। हलमा फ्लप भएको यो फिल्मले युटुबमा सर्वाधिक तारिफ कमाएको थियो। त्यही फिल्मलाई अभिनेता खगेन्द्र लामिछानेले दोस्रो भाग पनि निर्माण गरेका हुन्। 

फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् भने निर्माण खगेन्द्र लामिछानेको छ। फिल्ममा विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ।

२६ असार, २०८०, ०९:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।