डाक्टर बन्ने सपना त्यागेर होटेल व्यवसायमा रमेका कमल

डाक्टर बन्ने सपना त्यागेर होटेल व्यवसायमा रमेका कमल

सुर्खेत : चौकुने गाउँपालिका-१० घाटगाउँका २९ वर्षीय कमलप्रसाद खनालको सपना थियो। पढेर डाक्टर बन्ने,

तर,  २०६५ सालमा एसएलसी पास गरेपछि भने उनको सपना मोडियो। ‘प्लस टु’ मा डाक्टर पढ्ने सपना त्यागेर होटल म्यानेजमेन्ट पढे। उनका बुवाको सपना यही थियो-छोरालाई होटल व्यवसायमा जमेको देख्ने। त्यही सपना पछ्याउँदै कमलले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज पोखरामा  चार बर्से कोर्स ‘ब्याचलर्स अफ होटल म्यानेजमेन्ट’ पढे।

२०७२ सालमा उनले चार बर्से कोर्ष पनि पास गरे। त्यसपछि कमलले ‘लड्स प्लाजा’ वीरगञ्जमा वेटरको रूपमा काम गरे। उनको लगातारको मिहिनेत र परिश्रमले एक वर्षमा अवार्ड पाएर ‘क्याप्टेन’ बन्न सफल भए। क्याप्टेन भएरै उनले चार वर्षसम्म एउटै होटलमा काम गरे। 

२०७६ मा उनी भारत हानिए। भारतको गुजरातस्थित चारतारे होटल ‘विनोरी’मा ‘एफएनबी एजुकेटिभ’ भएर काम गरे। त्यहाँ पनि म्यानेजरसम्म भएर दुई वर्षसम्म कमलले काम गरे।

त्यहाँ छोडेपछि भारतकै ओडिसास्थित चार तारे सुरेन्सु होटलमा रेष्टुरेण्ट म्यानेजर भएर एक वर्ष काम गरेका उनी स्वदेशमै केही गर्ने उद्देश्यका साथ २०७९ मा नेपाल फर्किए। 

‘चार बर्से होटल म्यानेजमेन्ट पढेपछि नेपाल र भारत दुवै ठाउँ काम गर्ने मौका पाएँ। भारतका विभिन्न होटलहरूमा म्यानेजरसम्म भएर काम गरें,’ कमलले भने, ‘आफ्नै देशमा केही गर्छु भनेर स्वदेश फर्किएँ। अहिले पनि राम्रै छ। आफ्नो पनि कलेज छ। यहाँ पनि जर्नल म्यानेजर छु। मेरो त डाक्टर बन्ने सपना थियो। तर, बुवाको सपना होटल व्यवसाय थियो। त्यही सपना पूरा गरिरहेको छु।’ 

खानाको गुणस्तर राम्रो भएपछि मानिसलाई रोगहरू समेत नलाग्ने भएकाले होटल व्यवसायलाई रोग लाग्न नदिने डाक्टरका रूपमा लिइने गरिएको उनी बताउँछन्। 

एक-दुई महिना खाली बस्दा पनि उनलाई रोजगारीका लागि सिदार्थ, शुभजस्ता तारे होटलहरूमा पनि अफर नआएको होइन। तर, ती अवसरलाई छोड्दै २०७८ देखि कमलले नेपालगञ्जस्थित चारतारे होटल भेरीमा जर्नल म्यानेजर भएर काम गरिरहेका छन्।

अहिले उनका मातहतमा ३० जना कर्मचारीहरू काम गर्छन्। महिनाको ६० हजार रुपैयाँ तलब छ। त्यति मात्रै होइन, उनले आफ्नै सनराइज एकेडेमी कलेजमार्फत होटल म्यानेजमेन्टका १९ महिने, १५ महिने, तीन महिने, दुई महिने र १५ दिनका कोर्सहरू समेत सञ्चालन गरेका छन्।

त्यसको प्रिन्सिपल भएर उनका कान्छा भाइ रमेश खनालले काम गर्छन्। रमेशले अन्य कलेजहरूमा समेत पढाउने गर्छन्।

कमलले पनि अन्य सानातिना होटलहरूका व्यवस्थापकीय पक्षहरूलाई हेर्ने र सीप सिकाउने गरेका छन्। त्यहीँबाट उनीहरूले दुईदेखि तीन लाखसम्म खुद नाफा कमाउने गरेका छन्।

विवाह गरेर घरबार जोडेपछि सिद्धार्थ होटलको जिएम बन्ने र त्यसपछि आफ्नै तारे होटल खोल्ने योजना रहेको कमल बताउँछन्। 

‘यसपछिको मेरो लक्ष्य भनेको सिद्धार्थ होटलको जीएम हुने हो। त्यहाँ केही वर्ष काम गरेर आफ्नै तारे होटलको मालिक  हुने योजना छ,’ उनले भने, ‘तलब र आफ्नो कलेजबाट गरी दुई-तीन लाख मासिक बचत हुन्छ।’

चार भाइमध्ये साइँला हुन् कमल, उनकी एक बहिनी छिन्।

२३ असार, २०८०, १९:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।