आफ्नै शिक्षकको एक करोड १९ लाख ठगे इच्छाराजले, शिक्षक भन्छन्- ‘असल पो थ्यो, कसरी ठग भयो!’ (भिडियो रिपोर्ट सहित)

आफ्नै शिक्षकको एक करोड १९ लाख ठगे इच्छाराजले, शिक्षक भन्छन्- ‘असल पो थ्यो, कसरी ठग भयो!’ (भिडियो रिपोर्ट सहित)

काठमाडौं : इच्छाराज तामाङले आफ्नो जीवनभरको बचत डुबाइदिन्छन् अनि त्यही पैसा पाउन सडकमै आउनुपर्छ भनेर ८३ वर्षका विश्वनाथ सिन्हाले सोचेका थिएनन्।

कारण जोविरुद्ध अहिले उनी सडकमा आइरहेका छन् उनी उनकै विद्यार्थी हुन्। आफैँले पढाएको इमान्दार विद्यार्थी भनेर विश्वास गर्दै आफ्नो जीवनभरको कमाइ सिभिल बचत तथा ऋण सहकारीमा राखेका थिए।

त्यसका सञ्चालकदेखि अध्यक्षसम्मै उनैका विद्यार्थीहरू। नपत्याउनु कसरी? अहिले उनका विद्यार्थीहरू सहकारीको बचतकर्ताहरूको पैसा ठगेको अभियोगमा कारागारमा छन्, उनी माइतीघरको सडकमा।

सहकारीमा रहेको एक करोड १९ लाख रकम पाउन उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोदेखि अदालतसम्म धाइरहेका छन्। तर, पैसा पाउने कुनै संकेत पाएका छैनन्।

अनि अन्तमा उनी पनि अन्य सहकारी पीडितसँगै माइतीघरको सडकमा आए। त्यही छन् उनी २७ दिनदेखि। सडकको तातो छेल्न गोल्डस्टारको जुत्ता अनि पानीबाट जोगिन हातमा छाता बोक्ने उनी भीडमा सबैभन्दा पाका देखिन्छन्।

क्याम्पसको सिभिल विभागबाट सुरू भएको सहकारी
सिन्हाले उकेरालाई बताएअनुसार इच्छाराज लगायत सञ्चालक समितिका अधिकांश सदस्य र बचतकर्ताहरू प्राय पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसकै छन्।

सिन्हाले पुल्चोक क्याम्पसमै हो इच्छाराजसँगै उनको श्रीमती र केशव श्रेष्ठलाई पढाएका। पछि इच्छाराजले पनि क्याम्पसमा पढाउन थालेपछि गुरू-चेलाको सम्बन्ध सहकर्मी भयो।

‘मेरो विद्यार्थी भएकाले उनीहरूसँग जोडिएँ। विद्यार्थी भएकैले विश्वास गरेँ,’ उनले भने, ‘पुल्चोकको धेरै इन्जिनियरहरू यसमा जोडिएका छन्। विशेषगरी सिभिल इञ्जिनियरिङ्ग विभागका धेरै छन्। ठूला इन्जिनियरहरूले पनि यसमा पैसा राखेका थिए। कसरी विश्वास नगर्ने! त्यत्रो ठूल्ठूला घर छ, महल, कम्प्लेक्सहरू छन्।’

उनका अनुसार इच्छाराज सिभिल इञ्जिनियरिङ्गको विद्यार्थी भएकाले क्याम्पसको सिभिल इञ्जिनियरिङ्ग विभागबाटै ‘सिभिल ग्रुप’ को स्थापना गरेका हुन्। पहिला सानो समूहमा रहेको सिभिल ग्रुपले पछि आफ्नो क्षेत्र फराकिलो गर्दै लग्यो। क्याम्पसका अधिकांश इन्जिनियरहरूले त्यसमै बचत शुरु गरे।

उनले पनि सेवा निवृत्त हुने बित्तिकै बचत रकम सिभिलमै राखे। सुरूमा केही लाखबाट सुरू भएको बचत रकम १५ वर्षमा एक करोड १९ लाख रूपैयाँ पुग्यो। त्यसमा आफ्नो ४५ वर्षको कमाइसँगै क्यानडादेखि इंग्ल्याण्डसम्म पुगेर पढाउँदाको पारिश्रमिक अनि पेन्सनदेखि सामाजिक सुरक्षा भत्ता समेत रहेको बताए।

‘इच्छाराजले ब्याज धेरै दिन्छु, सुनको सिक्का दिन्छु सर पैसा राख्नुस् भनेका थिए,’ उनले भने, ‘म भएसम्म केही हुन्न भनेको थियो। आफ्नै विद्यार्थीले भनेको कसरी नपत्याउनु। क्याम्पसमा पनि राम्रै छवि थियो। तर जिन्दगी भरको कमाइ नै डुब्यो।’

उनका अनुसार पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका ठूल्ठूला इन्जिनियरहरूको पनि पैसा फसेको छ सिभिल सहकारीमा। तर उनीहरू सार्वजनिक भएका छैनन्। किन उनीहरू मौन छन् सिन्हाले भेउ पाउनै सकेका छैनन्।

सिराहामा जन्मिएका हुन् सिन्हा। उनी वि.सं. २०१९ सालमा काठमाडौं आए। २०२२ सालदेखि उनले पढाउन थाले। काठमाडौं उपत्यकाका लगभग सबै इञ्जिनियरिङ्ग क्याम्पसमा उनले पढाएका छन्।

पोखरा, पुर्वाञ्चल अनि त्रिभुवन विश्वविद्यालयसँगै ख्वाप इञ्जिनियरिङ्ग कलेज, एनसीआइटी, लगायत उपत्यकाका अधिकांश इञ्जिनियरिङ्ग क्याम्पसमा पढाएको अनुभव छ उनीसँग।

कोभिड अघिसम्म पनि उनी सक्रिय थिए पढाउन। कोभिडपछि भने उनी शिथिल भए। त्यसमा आफ्नो जिन्दगीभरको पुँजी डुबेको थाहा पाएर झनै निराश छन् उनी।

‘कहिलेकाहिँ त औषधि किन्ने पनि पैसा हुँदैन। अरुसँग के माग्नु। जम्मै पैसा त्यतै राखेको छु। स्वास्थ्य कमजोर छ। टन्नै औषधि खानु पर्छ,’ आँखा पुछ्दै उनले भने, ‘झन् यो डुबेदेखि त औषधि पनि थपिँदै गएको छ। थाइरोयड, प्रेसर र मुटुको पनि समस्या छ। सायद अब धेरै बाच्दिन पनि होला। अलि बढी नै गाह्रो हुन थालेको छ। पैसा पाए बुढीलाई दिन्छु भनेर धाइरहेको छु।’

‘हल्ला मात्रै हो यो भनेकै दिन पक्राउ परे’
सिभिल डुब्दै छ भनेर समाचार आइरहेका थिए। उनले पनि थाहा पाए। लगत्तै उनी इच्छाराजलाई भेट्न पनि गए।

‘उसले मलाई आउन बाँकी ब्याजको तुरुन्तै चेक बनाएर दियो,’ इच्छाराज पक्राउ परेको दिन सम्झिँदै उनले भने, ‘केही हुँदैन। हल्ला मात्रै हो यो, भन्थ्यो। त्यही दिन पक्राउ परेको खबर आयो।’

सिभिलले उनलाई ब्याज वापतको दुई लाख ३० हजारको चेकमध्ये आधा साट्न भ्याएछन्। बाँकी चेक बाउन्स भयो।

इच्छाराज पक्राउ पर्नुभन्दा केही महिनाअघि मात्र उनले सहकारीबाट पैसा निकालेका पनि रहेछन्। तर, निकालेपछि पनि कहाँ राख्ने भेउ पाएनन्।

इच्छाराजको बैंक पनि छ भन्ने थाहा पाए। अनि बैंकमा राख्नु भन्दा सहकारीमै राख्दा बढी ब्याज पाइन्छ भनेर उनले फेरी सहकारीमै पैसा राखे। त्यै पनि थपेर।

‘त्यसअघि हरेक वर्ष १०-१५ प्रतिशत ब्याज दिएको पनि हो। फेरि पनि दिन्छ होला भनेर अझ थपेर राखेको। पछि यस्तो भयो’, मधुरो आवाजमा उनले भने।

त्यसपछि सिन्हाले इच्छाराजलाई सीआईबीको हिरासतमा गएर पनि भेटे। भेटमा उनले मसँग अहिले पनि सम्पत्ति छ। दिन नसकेको मात्र हो भनेको सम्झिए उनले।

‘अहिले थुनामा भएर मात्र हो, नत्र दिन्छु नि भन्थ्यो,’ उनले भने, ‘त्यसपछि पनि पटक-पटक भेट्न जेल गएँ। तर भेट भएन।’

‘एक पैसा खान्न भन्थ्यो, अहिले के भयो त्यसलाई!’
कलेजमा इच्छाराजको छवि असल र इमान्दार विद्यार्थीको रहेछ। उनी कसैको एक पैसा खान्न भन्थे र कलेजमै। अहिले उनै आफ्नो विद्यार्थी अर्बौं ठगीमा जेल परेको देखेर उनी आफैँ छक्क रहेछन्।

‘तामाङ केटो एकदम स्वच्छ, प्रवित्तिको थ्यो। कसरी यस्तो भयो मलाई त अहिले पनि छक्क लाग्छ। अन्तिमसम्ममा पनि म एक पैसा खादैन भन्थ्यो। अहिले अब के भयो त्यसलाई!’,  उनी झोक्राउन थाले।

उनका दुई छोरा छन्। दुवै जना इन्जिनियरनै हुन्। एउटा सिभिल इन्जिनियर अनि अर्को कम्प्युटर इन्जिनियर। दुवै जना प्रतिष्ठित संस्थामा काम गर्छन्। नाती-नातिना समेत डाक्टरदेखि इन्जिनियरसम्म भइसकेका छन्।

‘बच्चाहरूको मामिलामा त मेरो मिहेनत खेर गएन। तर, सबै जना आ-आफ्नै गरेर बसिरहेका छन्। अहिले बुढाबुढी मात्रै छौँ। उनीहरूले खासै वास्ता गर्दैन भने पनि हुन्छ,’ उनले भने, ‘श्रीमती पनि धेरै कमजोर भइसकेकी छन्।’

आफ्नो जीवनभरको मिहिनेतको कमाइ सहकारीमा फसेकाले जसरी पनि लिइछाड्ने अड्डी कसेका छन् उनले। तर कसरी लिने भन्ने उत्तर भने छैन।

अब दबाब बढाउन श्रीमती पनि लिएर धर्नामा आउँछु भने उनले। इञ्जिनियरिङ्ग एसोसियसनदेखि जेष्ठ नागरिक समाजको पनि सदस्य भएकाले आफू सडकमा आउँदा अन्य पनि आएर साथ दिन्छन् कि भन्ने आशा रहेछ उनमा। तर आएका छैनन्।

शक्ति केन्द्र चलाउँदा चलाउँदै पक्राउ
पूर्व सांसद, सिभिल होम्सका प्रमुख अनि सिभिल बैंकका अध्यक्ष रहेका इच्छाराजको आर्थिक अवस्था खस्किएको विवरण बाहिरिएको लामै समय भए पनि सरकारी निकाय निस्क्रिय थियो।

सहकारीमा बचतकर्ताको भीड बढ्न थालेपछि भने २०७८ असोज १८ मा सीआईबीले उनलाई पक्राउ गर्यो। उनकी श्रीमती सिर्जना शाक्य अनि सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परे। तीनै जना अहिले कारागारको थुनामा छन्।

सुरूवातमा केहीले उजुरीबाट सुरू भएको संख्या १ हजार ५ सय भन्दा बढी पुगिसकेको छ। २०७९ भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ कसुरबाट आर्जित गैरकानूनी सम्पत्ति रहेको पुष्टि गरिसकेको छ।

ठगीमा भने पुर्पक्षका लागि थुनामा छन्। अनुसन्धान सुरू भएसँगै उनी र उनको परिवारको सदस्यसँगै सहकारीको सञ्चालक समितिमा रहेकाहरूको सम्पत्ति रोक्का छ। सोही सम्पत्तिबाट पनि बचतकर्ताको रकम फिर्ता गराउन सक्छ सरकारले। तर, त्यतापट्टी चासो देखाएको छैन।

पीडितहरू भने आफ्नै बचत रकम पाउन सडक धाइरहेका छन्। बदमास सञ्चालहरू जेलमा बसेर सरकारी राशन खाइरहेका छन्। सरकार रमिते बनिरहेको छ।

सहकारी ठगी सम्बन्धि समाचार

१४ असार, २०८०, १४:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।