'त्यतिबेला पोस्टरमा राजेशको टाउको मात्र राख्दा फिल्म सुपरहिट हुन्थ्यो, अहिलेका स्टारले लगानी पनि उठाउँदैनन् ?'

'त्यतिबेला पोस्टरमा राजेशको टाउको मात्र राख्दा फिल्म सुपरहिट हुन्थ्यो, अहिलेका स्टारले लगानी पनि उठाउँदैनन् ?'

काठमाडौं : नेपालका पुराना निर्माता,निर्देशक र कलाकार हुन् उदय सुब्बा। नेपाली फिल्म निर्माण र निर्देशनमा लगभग ३० वर्ष बिताएका उनी पछिल्लो समय फिल्म ‘दुई कदम’को सम्पादनमा छन्।

पुराना पुस्ताका राजेश हमाल,निखिल उप्रेतीदेखि नयाँ पुस्ताका विल्सन विक्रम राईसम्मका कलाकारहरूलाई उनले फिल्ममा निर्देशन गरिसकेका छन्। 

२७ वर्षअघि ‘तिम्रै लागि’ नामक फिल्म निर्माणमा सिने क्षेत्रमा डेब्यु गरेका उनको ‘क्रान्ति’ फिल्म भने सुपरहिट भएको थियो। फिल्म त्यसबेला हलहरूमा गौरवमय ५१ औं दिन मनाउन सफल भएको थियो। फिल्ममा त्यसबेलाका चल्तीका अभिनेता राजेश हमाल,सुनिल थापालगायत कलाकारको अभिनय थियो। 

‘फिल्म ‘क्रान्ति’बाट मैले राम्रो पैसा कमाएको थिएँ। यसैको पैसाले मैले ललितपुरमा जग्गा जोडेँ र घर बनाएँ,’ उनले भने, ‘त्यो समयमा अभिनेता राजेश हमाललाई लिएर फिल्म निर्माण गर्न कठिन थियो। एक त राजेश हमाललाई भेटिँदैन थियो। उसलाई भेट्न नै ३,४ महिना कुर्नुपर्थ्यो,भेटिसकेपछि भने राजेश ओके हुन्थ्यो।’ 

त्यस समय फिल्मको पोस्टरमा राजेश हमालको टाउको मात्र राख्न सके पनि फिल्म हिट हुने उनले अनुभव सुनाए। फिल्ममा राजेश,निखल भए दर्शक हलमा ह्वारह्वार छिर्ने गरेका उदयको अनुभव छ। तर अहिलेका दर्शक फरक हुन थालेका उनी बताउँछन्। 

उनले भने,‘अहिले चल्तीमा रहेका अभिनेता दयाहाङ राई,अनमोल केसी,प्रदीप खड्का फिल्ममा राखे पनि फिल्म चल्दैन। किनभने दर्शक अहिले बाठा भइसकेका छन्। उनीहरू कलाकार होइन, कन्टेन्ट हेरेर फिल्म हेर्न थालिसकेका छन्।’

उनको फिल्म ‘कानुन’ले पनि सिनेमा हलमा ५१ औं दिन बनाएको थियो। यो फिल्ममा निखिल उप्रेती,राजेश हमाल,दिलीप रायमाझी, झरना थापा,अरुणिमालगायत त्यो बेलाका चलेका कलाकार थिए। २५ वर्षअघिको उनको फिल्मले उनलाई उचाइमा मात्र पुर्याएन, निकै सम्पत्ति पनि जोडे। 

पारिश्रमिकमा नो बार्गेनिङ

पहिला कलाकारहरूले आफ्नो पारिश्रमिक यति नै भनेर कसैले नतोकेका सुब्बा बताउँछन्। त्यो समयमा राजेश हमाललाई तीन लाख दिए फिल्म खेल्थे। कथा सुन्न कहिले सुटिङमा त कहिले बाहिर नै राजेशले डाक्ने गरेका उनी सम्झन्छन्। 

अहिले चलेका कलाकारले ५० लाख रुपैयाँमाथि लिने गरेको सुन्दा भने उनी छक्क पर्छन्। फिल्मको पारिश्रमिक तिरेपछि लगानीको ग्यारेन्टी भए फरक नपर्ने सुब्बाको तर्क छ। ‘कलाकारलाई महँगो पारिश्रमिक तिरे पनि लगानी नै उठाएन भने के हुन्छ ?’उनले कलाकारलाई प्रश्न गरे,‘निर्माता डुबेन त ?’ 

अरू कलाकारभन्दा राजेश हमाल ठीक लाग्ने उनी बताउँछन्। उनले अरू कलाकारभन्दा राजेशकै बढी चर्चा गरे। ‘राजेश हमाललाई लिइसकेपछि निर्माताहरू लगानी उठ्यो भने ढुक्क हुन्थेँ। भने,‘राजेशले तीन लाख लिए पनि निर्मातालाई दोब्बर कमाएर दिन्थ्यो।’ 

उनका अनुसार त्यो समय हलवाला र वितरक घरमै पैसा पुर्याउन आउने गरेका गर्थे। 'अहिले त जो कसैको फिल्म हलमा लागे पनि हल्ला र कन्टेन नभई चल्दैन।' 

उनले थपे,‘दयाहाङको कबड्डी चल्यो,जारी चल्यो तर अहिले प्रदर्शन भइरहेको नीरफूल चलेन। योभन्दा अघिका केही फिल्म चलेनन्। अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को अवस्था के भयो। प्रदीप खड्काको फिल्म ‘प्रकाश’को अवस्था उस्तै रह्यो। उनीहरूले खेलेको फिल्मले चल्छ भन्ने ग्यारेन्टी अहिलेको अवस्थामा छैन।'

कलाकारलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएर फिल्म बनाउने अवस्था नरहेको उनले तर्क गरे। 

अहिले नेपालमा चलेका कलाकार अनमोल, प्रदीप,पलदेखि दयाहाङले पारिश्रमिकबापत ५० लाख रुपैयाँ हाराहारी लिने गरेका उनले बताए। कसै-कसैले भने आपसी सम्बन्धका आधारमा पारिश्रमिक घटाउने गरेका उनको बुझाइ छ।तर,उनीहरूबाट निर्माताहरूले लगानी उठाउने ग्यारेन्टी गर्न नसक्ने सुब्बा बताउँछन्। 

‘भुवन केसीका छोरा अनमोलले ५० लाख लिन्छन्, हलबाट ५ लाख रिटर्न आयो भने यस्तो अवस्थामा निर्माताहरूले कसरी पैसा लगानी गर्ने ? अहिले नेपाली फिल्ममा लगानीको अवस्थाबारे उनले भने, ‘अहिलेको स्टारमा ग्यारेन्टी छैन।’ 

निर्देशक र कलाकारबीच सम्बन्ध

आफ्नो पालामा कलाकारहरू आफ्नो कामप्रति बफादार हुने गरेका सुब्बा बताउँछन्। पुराना फिल्मका कलाकारलाई 'देउता'का रूपमा लिने उनले भने,‘त्यो बेलाका कलाकार र निर्देशकबीच सम्बन्ध एकदमै नजिक थियो। जहाँ भेटे पनि रेस्पेक्ट गर्थे। त्यही भएर त राजेशलाई अहिले पनि मान्छेले मान्छन् त ? अहिलेका कलाकारले पुराना कलाकारलाई चिन्ने त कुरै छैन। आफैले खेलेको निर्देशक,निर्मातालाई गन्दैनन्।'

सिनियर कलाकारलाई जुनियरले इज्जत सम्मान नगर्ने गरेका उनले बताए। 'नेपाली फिल्ममा नवकलाकार कति आए कति गए, दर्शकलाई पनि थाहा हुन छाडेको छ,' उनले भने। 

'फिल्ममा नबुझी लगानी गर्न नयाँ निर्माता डुब्छन्' 

नेपाली फिल्म क्षेत्रमा नयाँ नयाँ निर्माताहरू भित्रिरहेका छन्। अहिले आउने फिल्ममहरूका निर्माताहरू पुरानाभन्दा नयाँ बढी छन्। यसप्रति भने सुब्बा चिन्ता व्यक्त गर्छन्। अहिले पैसाको लोभमा नयाँ निर्माताहरू आउने गरेका र डुबेपछि पुर्पुरोमा हात राखेर बस्नुपर्ने अवस्था आएको उनी बताउँछन्। 

निर्माता संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका सुब्बा पछिल्लो समय यस्ता धेरै केसहरू संघमा आउने गरेका बताउँछन्। नयाँ निर्माताहरूलाई लोभमा नफसी लगानी गर्न पनि उनले अनुरोध गरे। 

‘फिल्मबाट लगानी उठ्ने कुनै ग्यारेन्टी छैन। मान्छेहरूले धेरै कमाइन्छ भन्ने आस देखाइदिन्छन्। एक करोड लगानी गरेपछि तीन करोड कमाइन्छ भन्ने सपना देखाएपछि मान्छेले लगानी गर्छ,’उनले भने,‘निर्माता यसरी नै धेरै फस्ने हो।’

फिल्ममा लगानी गर्नेले सबैभन्दा पहिला फिल्मको मार्केट बुझ्नुपर्ने उनको सुझाव छ। 'हल कति छ,के छ? ती हलबाट कति फिर्ता आउँछ भन्ने कुरा बुझ्न जरुरी हुन्छ। यो नबुझी हल्लाका भरमा आउनेहरू डुब्छन्,' उनले वास्तविकता बताए। 

नेपाली फिल्ममा २-३ करोड रुपैयाँ लगानी गरे त्यो पैसा नउठ्ने उनले ग्यारेन्टी गरे। वर्षमा २,४ वटा फिल्मले लगानी उठाए पनि बाँकी अधिकांश डुब्ने गरेका उनले बताए। 

१२ असार, २०८०, १०:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।