बालेनको चेतावनीले हलमा आएनन् दर्शक, अभिव्यक्ति फिर्ता नलिए चाबी बुझाउने हलवालाको तयारी

बालेनको चेतावनीले हलमा आएनन् दर्शक, अभिव्यक्ति फिर्ता नलिए चाबी बुझाउने हलवालाको तयारी

काठमाडौं : विवादित भारतीय फिल्म ‘आदिपुरुष’ले नेपाली फिल्म बजारमा तरंग ल्याइदियो। यसको सबैभन्दा बढी मर्का हल सञ्चालकहरूलाई पर्यो। 

'आदिपुरुष' मा सीतालाई भारतीय छोरी भनिएको संवाद राखिएको भन्दै काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले लिएको एकल निर्णयलाई भलै पाटन उच्च अदालतले साथ दिएन। 

बालेनले हतारिएर लिएको निर्णय अदालतले किनारा त लगाइदियो। तर त्यसको सीधा असर हलमा परिरहेको छ। काठमाडौँ महानगरपालिकाभित्र उप्रान्त हिन्दी फिल्म चल्न नदिने निर्णय लिएका उनका कारण शुक्रबार हलमा दर्शकहरू आएनन्। 

शुक्रबार हिन्दी फिल्म 'जरा हट्के जरा बच्के' लागेको थियो। तर हेर्न हलमा दर्शक थिएनन्। हिन्दी फिल्म मात्र हैन, नेेपाली फिल्म लागेको हलको अवस्था नि उस्तैै।

अहिले यस्तो अवस्था आउनुमा काठमाडौँका मेयरकै अभिव्यक्ति प्रमुख कारण भएको हल सञ्चालकहरूको दाबी छ।   

एक त खासै व्यापार नगरेको फिल्म 'जरा हट्ने जरा बच्के'  पुन प्रदर्शनमा आयो, त्यसमाथि मेयर बालेको अभिव्यक्तिपछि हलमा हुनसक्ने  लफडाका कारण दर्शक आएनन्। जसको सोझो असर हल सञ्चालकहरूलाई पर्यो।

उनीहरू अहिले मेयर बालेनले आफ्नो भनाइ फिर्ता लिनुपर्ने माग गरिरहेका छन्। नत्र हलवाला मिलेर बालेनलाई साँचो बुझाउने चेतावनी दिइरहेका छन्।

मेयर बालेनले कुनै पनि हिन्दी फिल्म महानगरभित्र चल्न नदिने अड्डी कसेपछि हलवालाको छाता संगठन चलचित्र संघले उनीविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन हालेका थिए।

संघको रिटको सुनुवाइ बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका फिल्म नरोक्न आदेश जारी गरेको थियो। 

उच्च अदालतले गरेको फैसलालाई मेयर बालेनले नमान्ने भन्दै सामाजिक सञ्जालबाटै आक्रोशित बने। अदालतको फैसला नमान्ने भन्दै मेयरले अदालतको अपमान गरेपछि उनको चौतर्फी आलोचना भयो।

तर, शुक्रबार बिहान ८ बजे सबै हलबाट आफ्ना नगर प्रहरीलाई फिर्ता बोलाए। नगर प्रहरी फिर्ता भएपछि हलवालाले हिन्दी फिल्म ‘जरा हटके जरा बचके’ र नेपाली फिल्म प्रदर्शन गरे। तर, हल सुनसानजस्तै बन्यो। 

एक हप्तादेखि सुनसान हल कुरेर बसेका हलवालाहरू फिल्म ‘आदिपुरुष’ नचलाए पनि अन्य हिन्दी फिल्म रोक्न नहुने पक्षमा छन्।

रञ्जना सिने प्लेक्स प्रालि न्युरोडका हल सञ्चालक वीरेन्द्र महर्जनले एक सातादेखि हलमा एक जना पनि दर्शक नआएको बताए।

उनले आक्रोशित हुँदै फिल्म हेर्न दर्शक हलमा नआएपछि कर्मचारी र दैनिक हुने लाखौँ रुपैयाँको खर्च तिर्न नसकिने भन्दै बालेनको अभिव्यक्ति गैरकानुनी भएको बताए।

उनले केही दिनमा बालेनले आफ्नो अभिव्यक्ति नसच्याए सबै हलवाला मिलेर बालेनलाई साँचो बुझाउने चेतावनी दिए।

उकेरासँगको कुराकानीमा महर्जनले भने,‘बालेनको अभिव्यक्तिले आजबाट लागेको नेपाली फिल्म ‘अन्तिम संस्कार’ र हिन्दी ‘जरा हटके जरा बचके’ हेर्न दर्शक हलमा आएका छैनन्। बिहानी र दिउँसोको शोमा पनि हल सुनसान छ। अब सबै हल सञ्चालक मिलेर महानगरलाई चाबी बुझाउने तयारीमा छौँ।’ 

उनले मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’ बन्द गरेकोमा उनलाई चित्त दुखाई नभएको तर, अरू फिल्म पनि चल्न नदिएको खण्डमा आफूहरू पीडित भएको बताए। ‘एउटा फिल्मले गल्ती गर्यो भन्दैमा अरूलाई सजाय दिनु त भएन नि’,उनले भने। 

आइतबारसम्म बाटो हेर्ने र मेयर बालेनबाट कुनै निर्णय नआएको खण्डमा काठमाडौंका अधिकांश हल बन्द हुने उनको भनाइ छ। 

कुराकानीका क्रममा उनले आफूलाई हिन्दी फिल्म चलाउने रहर नभएको तर नेपालमा बनेका फिल्म गतिलो नभएको तर्क गरे। कारण, हिन्दी फिल्म रोज्नुपरेको बताए।

‘जारी फिल्मजस्तो, छक्कापञ्जा जस्तो हुनुपर्यो नि ? उनले भने’,यहाँ फिल्म एक दिन पनि नचल्ने फिल्म बनाउँछन् अनि फिल्म चलाउनुपर्छ भन्दै दबाब दिएर हुन्छ र ?’ 

६ सय करोड भारुमा बनेको भारतीय फिल्मसँग नेपाली फिल्म तुलना गर्न नहुने उनले जिकिर गरे। नेपाली फिल्म चलाउँदा पैसा उठ्ने ग्यारेन्टी गरिदिए नेपाली फिल्म मात्रै चलाउने उनले तर्क गरे। 

बालाजुमा अवस्थित अष्टनारायण पिक्चर्स प्रालिका सञ्जालक त्रिरन्त मानन्धरको भनाइ यस्तै छ। मेयर बालेनले हिन्दी फिल्म चलाउन नदिएपछि नेपाली फिल्मका दर्शकसमेत हलमा आएका छैनन्। उनका अनुसार आजैबाट हलमा लागेको नेपाली फिल्म ‘अन्तिम संस्कार’ हेर्न दर्शक नआएको उनले बताए।

‘विजय लामाको फिल्म अन्तिम संस्कार हलमा त थियो तर, एक जना दर्शक पनि आएनन्’,उनले भने,‘बालेनको  प्रभाव हो कि, के हो थाहा छैन।’

बालेनले हिन्दी फिल्म हलमा नलगाउन भनेका कारण आफूहरूले आजबाट प्रदर्शनमा आएको हिन्दी फिल्म 'जरा हट्के जरा बचके’ नचलाएको उनले बताए बताए। बालेनकै भनेकै कारण कारण हिन्दी फिल्म चलाउने पक्षमा आफू राजी नभएको उनको भनाइ थियो। 

कमलपोखरीमा रहेको सिनेस्टार प्रालिका सञ्चालक दीपेश शर्माले बालेनले हिन्दी फिल्म चलाउन नदिने अभिव्यक्ति दिएपछि नेपाली फिल्म हेर्ने दर्शक पनि नआएको बताए।

उनले भने,‘हिजो अदालतले फिल्म चलाउनु भन्ने आदेश दिएको छ। हामी अदालतअनुसार नै बढ्ने र हिन्दी फिल्म चलाउने जमर्को गरिरहेका छौँ।’ 

केएल सिनेमा सिटी प्रालिका हल सञ्चालक दिनेश श्रेष्ठले हलमा दयनीय अवस्था आइपरेको बताए। नेपाली फिल्मका दर्शकले हलको खर्च नधान्ने र हिन्दी फिल्म नचलाए हल खोले पनि नखोले पनि अर्थ नहुने उनले बताए।

‘आजबाट नेपाली फिल्म अन्तिम संस्कार चलेको छ। तीन वटा हलमा कहीँ पाँच ,कहीँ ८ जना,कहीँ १३ जना हुनुहुन्छ’,उनले भने,‘हिन्दी फिल्ममा जस्तो नेपालीमा छैनन्।’ 

'सरकारलाई पनि घाटा'

हिन्दी फिल्म चलाएबापत सरकारलाई ३० प्रतिशत कर जान्छ। अन्तर्राष्ट्रिय बजारमा हिन्दी फिल्मका दर्शक बढी भएका कारण नेपालमा पनि हिन्दी फिल्म हेर्ने बढी छन्।

बालाजुमा अवस्थित फिल्म अष्टनारायण पिक्चर्स प्रालिका सञ्जालक त्रिरन्त मानन्धर हिन्दी फिल्म नचलाए सरकारलाई नै घाटा लाग्ने बताउँछन्। 

उनले भने,‘हिन्दी फिल्म हेर्ने नेपाली मात्र छैनन्। भारतबाट नेपाल आएर बसोबास गरेका अधिकांश भारतीय नागरिकले हिन्दी फिल्म हेर्ने गरेका छन्। फलफूल बेच्ने,मिस्त्रीहरू,कपाल काट्नेहरू,ठुला घरनाका मान्छेहरू अधिकांश हिन्दी फिल्मका दर्शक हुन्। यस कारण हिन्दी फिल्म चलाएमा सरकारलाई पनि फाइदा,हामीलाई पनि फाइदा छ।’

बालेनले एउटा हटाए केही गुनासो नगरेका महर्जनले अरू फिल्म बन्द गर्न नहुने बताए। 

‘यदि हिन्दी फिल्म मात्रै किन बन्द गरेको भन्ने प्रश्न आयो भने मेयर बालेनले के जवाफ दिन्छन् ?’ उनले बालेनलाई प्रश्न पनि गरे। 

नेपालमा नेपाली फिल्मभन्दा बढी विदेशी फिल्मका दर्शक छन्। गत वर्षको चलचित्र विकास बोर्डको तथ्यांक हेर्ने हो भने विदेशी चलचित्रले सर्वाधिक आम्दानी गरेको थियो। 

नेपाली फिल्म 'कबड्डी ४- द फाइनल म्याच’ फिल्मको ७ लाख ६६ हजार ७ सय टिकट बिक्री हुँदा २१ करोड ३८ लाख १३ हजार ४ सय ६२ ग्रस व्यापार गरेको थियो। प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ को हिन्दी डबले नेपालमा १९ करोड २९ लाख २३ हजार ७५८ रुपैयाँ कलेक्सन गर्न सफल भएको थियो।

नेपालमा बलिउड फिल्मका दर्शक धेरै भएका कारण हल सञ्चालक हिन्दी फिल्ममा जोड दिने गरेको देखिन्छन्। 

हिन्दी नचल्दा नेपाली फिल्मका दर्शक गायब !

मेयर बालेनको अभिव्यक्तिपछि काठमाडौं सबैजसो हलमा दर्शक छैनन्। शुक्रबार (आज) बाट हलमा लागेको फिल्म ‘अन्तिम संस्कार’का दर्शक नै छैनन्। हलवालाहरू भन्छन्, 'अनलाइनबाट टिकट काटेपछि तीन चार जना भए पनि देखाउनैपर्ने बाध्यता छ।'

रञ्जनाका हलमा सञ्चालक वीरेन्द्र महर्जनले बिहानदेखि हलमा दर्शक नभएको र दर्शक बटुल्न गाह्रो भएको बताए। यता अष्टनारायण हलमा त दर्शक नै आएनन्। बिहानदेखि दर्शक कुरेर बसेका हल सञ्चालक त्रिरत्न मानन्धर एक जना हलमा दर्शक नछिरेको बताउँछन्। 

हल व्यावसायी र वितरकहरूको संस्था नेपाल चलचित्र संघका द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थले भारतीय फिल्म ‘आदिपुरुष’ हलमा नलाग्ने तर अन्य भारतीय फिल्म भने प्रदर्शन हुने जानकारी दिए।

उनले अदालतले नै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दिएपछि अब कुनै पनि हिन्दी फिल्म नरोकिने बताए।

९ असार, २०८०, ०८:४०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।