स्वास्थ्यमा अर्को लुट : भक्तपुर क्यान्सर अस्पतालमा सिटी स्क्यान मेसिन खरिदमा चार करोडको खेल

स्वास्थ्यमा अर्को लुट : भक्तपुर क्यान्सर अस्पतालमा सिटी स्क्यान मेसिन खरिदमा चार करोडको खेल

काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालले १४ करोडमा आउने सिटी स्क्यान मेसिन १८ करोडको किन्ने तयारी गरेको खुलेको छ।

मेसिन उत्पादक सिमेन्स कम्पनीको नेपाल एजेन्टसँगको मिलेमतोमा अस्पताल प्रशासनले प्राविधिक मापदण्ड लक्ड गरेर चार करोड बढी मूल्य तिरेर इष्टवेष्ट कन्सर्नको टेण्डर स्विकृति अन्तिम चरणमा पुर्याएको छ। 

प्राविधिक मूल्यांकन इष्टवेष्ट कन्सर्नको स्पेसिफिकेसन मात्र मिल्ने गरी बनाएर टेण्डर अहिले आर्थिक मूल्यांकनको चरणमा पुगिसकेको छ। सिटी मेसिन खरिद प्रक्रियाको प्रारम्भ नै मिलेमतोमा भएकाले आर्थिक मूल्यांकनमा समेत इष्टवेष्ट नै छनोट हुने लगभग निश्चित देखिन्छ। 

स्वास्थ्य उपकरणबारे जानकारका अनुसार भक्तपुर अस्पतालले किन्न लागेको सिटी मेसिनको अधिकतम मूल्य १४ करोड हो। तर मिलेमतोमा १८ करोडमा किन्ने तयारी भइरहेको छ। 

प्राविधिक मापदण्ड भनेको के हो ? 

प्राविधिक मापदण्ड भनेको मेसिनको किसिम, कुन-कुन सुविधा तथा विशेषता रहेका छन् भन्ने जस्ता प्राविधिक पक्षको विवरण हो। यही प्राविधिक स्पेसिफिकेसनकै आधारमा खरिद गरिने कुन मेसिन योग्य र कुन मेसिन अयोग्य भन्ने निश्चित हुन्छ। 

कुनै निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाएको खण्डमा उसको आवेदन मात्रै स्वीकृत हुन्छ, अन्यको रद्द। 

भक्तपुर क्यान्सर अस्पतालले ‘२५६’ स्लाइसको ‘सिटी स्क्यान मेसिन’ किन्न २०८० वैशाख १३ गते टेन्डर आह्वान गरेको थियो। टेन्डर आह्वानको सूचनामा ‘प्रि-बिड मिटिङ’ हुने मिति २०८० वैशाख २९ गते दिउँसो २ बजे राखियो। तोकिएकै समयमा ‘प्रि-बिड मिटिङ’ पनि बस्यो। 

‘प्रि-बिड’  बैठकमा सिमेन्स, फिलिप्स, जीई, युनाइटेड इमेजिङ, नियोसफ्ट, तोसिबाजस्ता कम्पनीको मेसिन सप्लायर्सका प्रतिनिधि भक्तपुर क्यान्सर अस्पतालमा पुगेका थिए। 

तर, सिटी स्क्यान खरिदका लागि सिमेन्ससँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाएको देखिएपछि सिमेन्स बाहेकका सप्लायर्स कम्पनीहरूले स्पेसिफिकेसन संशोधन गरेर सबै कम्पनीका लागि खुला हुने गरी स्पेसिफिकेसन संशोधन गर्न आग्रह गरे। 

टेन्डर आह्वानपछि प्रि-बिड बैठकको छलफलमा नै खरिद गरिने मेसिनको स्पेसिफिकेसन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ-आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तरलगायत बारे प्रस्तुति दिने चलन हुन्छ। 

प्रि-बिड छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझे संशोधनका लागि सुझावसहित लिखित माग गर्न सक्छन्। 

त्यसपछि उचित ठानेको अवस्थामा टेन्डर गर्ने संस्था (भक्तपुर क्यान्सर अस्पताल) ले स्पेसिफिकेसनलगायत प्राविधिक विषय संशोधन गर्न सक्छ। त्यसपछि तोकिएको मितिभित्र कम्पनी (सप्लायर्स) ले मेसिन खरिदका लागि बोलपत्र पेस गर्छन्।

अस्पतालले स्पेसिफिकेसन संशोधन पनि गर्यो। तर पहिल्यै सेटिङमा राखिएको मुख्य बुँदा संशोधन भएन। संशोधनले अन्य कम्पनीलाई प्रतिस्पर्धामा सहभागी हुने बाटो खोलेन। 

बोलपत्र पेश गर्ने अन्तिम मिति २०८० असार ३ गते १२ बजे भित्रलाई तोकिएको थियो। 

सिमेन्सँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन कायम भएको भन्दै अन्य कम्पनीका सप्लायर्सले सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र नै पेश गरेनन्। 

त्यसपछि बोलपत्र पेश गर्नेलगायत खरिद प्रक्रियाका विभिन्न चरण पूरा भएपछि बोलपत्र (बिड ओपन) खुल्छ। 
भक्तपुर क्यान्सर अस्पतालले मेसिन खरिदका लागि बोलपत्र खुल्ने मिति २०८० असार ३ गते एक एक बजेलाई तोकेको थियो। 

बोलपत्र पेश गर्ने अन्तिम समयसीमा सकिएको एक घण्टामा नै अस्पतालले बोलपत्र खुलायो। 

बोलपत्र खुल्दा बोलपत्र पेश गर्ने (टेन्डर हाल्ने) सप्लायर्स कम्पनीका प्रतिनिधिहरू उपस्थित हुन्छन्। तर, सिमेन्स कम्पनीको नेपालस्थित सप्लायर्स कम्पनी इष्टवेष्ट कन्सर्नले मात्रै खरिदका लागि बोलपत्र पेश गरेकाले बोलपत्र खुल्ने समयमा इष्टवेस्टको प्रतिनिधि मात्र उपस्थित भए। 

बोलपत्र खुलेपछि प्राविधिक मूल्यांकनको चरण सुरु हुन्छ। पहिलो चरणमा प्राविधिक रूपमा योग्य भएको बोलपत्र पेस गर्ने प्रस्तावक (कम्पनी)को मेसिन मात्रै खरिदका लागि छनोटमा पर्छ। 

प्राविधिक रूपमा मात्रै छनोटमा परेर हुँदैन। टेन्डर स्वीकृतिमा पर्न आर्थिक मूल्यांकनको छनोटमा समेत योग्य हुनुपर्छ। प्राविधिक मूल्यांकमा इष्टवेस्ट छनोट भइसकेकाले अब सो खरिदको जिम्मा अन्य कम्पनीले पाउने सम्भावना नै देखिन्न।

आर्थिक वर्ष सकिन लागेकाले अस्पताल प्रशासनले हतारमा मेसिन खरिदको सम्झौता गर्ने तयारी गरिरहेको छ।

आर्थिक रूपमा छनोट गर्दा टेन्डरमा उल्लेख भएअनुसार गुणस्तर तथा मापदण्डको मेसिन बोलपत्र प्रस्तावक कम्पनीमध्ये कम मूल्यमा खरिद गर्ने गरी आर्थिक प्रस्ताव पेस गरेको छ कि छैन, मेसिन खरिदका लागि छुट्याएको बजेटको सीमाभित्र मेसिन खरिद गरिदिनेगरी बोलपत्र प्रस्ताव भएको छ कि छैन भन्नेलगायत मापदण्ड हेर्न मात्र बाँकी छ। 

सामान्यतया मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने कम्पनीमध्येबाट प्राविधिक र आर्थिक दुवै रूपमा छनोट भएका कम मूल्यमा गुणस्तरीय मेसिन खरिद गरिदिने कम्पनी (सप्लायर्स) लाई मेसिन खरिदका लागि खरिद प्रक्रिया तथा मापदण्ड अनुसार टेन्डर स्वीकृति गर्नुपर्ने हुन्छ। 

त्यसपछि टेन्डर स्वीकृति पाउने कम्पनीले निश्चित प्रक्रिया पूरा गरी टेन्डर गर्ने संस्थालाई मेसिन ल्याइदिनुपर्ने हुन्छ।
भक्तपुर क्यान्सर अस्पतालका लागि टेन्डर गरेको सिटी स्क्यान मेसिनको स्पेसिफिकेसन नै प्राविधिक रूपमा सिमेन्स मात्रै छनोटमा पर्ने गरी बनाइएको देखिएकाले कम्पनीहरूबीच मूल्यमा स्वस्थ प्रतिस्पर्धा हुन पाएन। 

यसले  प्राविधिक रूपमा योग्य देखिने कम्पनीले बजेटको सीमाभित्र रहेर जति प्रस्ताव गरे पनि टेण्डर स्वीकृत हुने वातावरण बनाइयो।

दुई दिनमै प्राविधिक मूल्यांकन

सिटी स्क्यान मेसिन खरिदका लागि प्राविधिक मूल्याकंनमा इष्टवेष्ट कन्सर्न प्रालिलाई छनोट गरेरअस्पतालले २०८० असार ६ गते आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरिसकेको छ। 

अस्पतालले असार ६ गते आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी जारी गरेको सूचनामा ई-जीपीमा दर्ता हुन आएका बोलपत्रहरूमध्ये प्राविधिक प्रस्तावको मूल्यांकनमा  इष्टवेष्ट कन्सर्न प्रालि छनोट भएकाले बोलपत्रदाता (इष्टवेष्ट)ले पेश गरेको आर्थिक प्रस्ताव २०८०/०३/२१ गते दिउँसो एक बजे खोल्ने उल्लेख छ। 

भक्तपुर क्यान्सर अस्पतालले सिटी स्क्यान मेसिन खरिदका लागि मिति २०८० असार ३ गते एक बजे बोलपत्र खोलेको थियो। 

यसले अस्पतालले बोलपत्र खोलेको तीन दिनमै मेसिन उत्पादक कम्पनी सिमेन्सको नेपाली सप्लायर्स इष्टवेष्ट कन्सर्न प्रालिलाई टेण्डर दिनेगरी प्राविधिक मूल्यांकनमा इष्टवेष्टलाई नै छनोट गरेको सूचना जारी गरेको छ। 

यसबाट के देखिन्छ भने असार ३ गते सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र खोलेको अस्पतालले असार ४ र ५ गते दुई दिनमा नै इष्टवेष्ट कन्सर्नले बुझाएको प्राविधिक पक्षको मूल्यांकन गर्यो। र, अस्पतालले हतारहतार निर्णय गरेर असार ६ गते प्राविधिक मूल्यांकनको चरणमा इष्टवेष्ट कन्सर्न छनोट भएको भनी आर्थिक प्रस्ताव खोलेको सूचना नै जारी गर्यो। 

दुई दिनमा नै अस्पतालले सिटी खरिदका लागि प्रस्तावक कम्पनीले पेश गरेको बोलपत्रको तथ्यांकको प्राविधिक पक्षको अध्ययन गर्न कसरी सम्भव भयो ?  

प्राविधिक मूल्यांकनबारे जानकार एक बायोमेडिकल इन्जिनियरले दुई दिनमा नै प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोलेको आफूले पहिलोपटक जानकारी पाएको बताए। 

प्राविधिक पक्षको मिहिन ढंगले अध्ययन गर्नुपर्ने हुन्छ। यसरी दुई दिनमा नै प्राविधिक मूल्यांकन सक्नुले टेण्डर प्रक्रिया सुरु हुनुपूर्व नै इष्टवेष्टलाई नै टेण्डर दिनेगरी टेण्डर प्रक्रिया अगाडि बढेको पुष्टि हुन्छ। 

यस विषयमा अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेलसँग कुरा गर्ने प्रयास गर्दा फोनमा कुरा नगरौं भन्दै फोन राखे। अन्ततः लक्ड गरेर सिमेन्सलाई नै टेण्डर दिने तयारी गर्नुभएछ नि त ? भन्ने जिज्ञासामा डा. पौडेलले भने,‘भेटेरै कुरा गरौं। यस्ता कुरा फोनमा नगरौं। है त। ल राखें।’ 

इष्टवेष्टलाई दिन यसरी अघि बढ्यो खरिद प्रक्रिया

उकेराले २०७९ माघ १३ गते सिटी स्क्यान मेसिनको टेण्डर हुनुअघि नै ‘भक्तपुर क्यान्सर अस्पतालले खरिद गर्न लागेको २१ करोड ८० लाखको सिटी स्क्यान मेसिनमा सेटिङको आशंका’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। 

उकेराले ‘२५६’ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्ने तयारी गरेको विषयमा त्यो बेला नै अस्पतालका कार्यकारी निर्देशक प्राडा पौडेलसँग कुरा गर्दा उनले सिटी स्क्यान मेसिनमा अनियमितता हुन नदिने प्रतिबद्धता गरेका थिए।

उकेराले त्यो बेला नै समाचार सम्प्रेषण गर्दा सिमेन्स कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाएको विषयमा समेत समाचार सम्प्रेषण गरेको थियो। अहिले सिमेन्सको नेपालस्थित सप्लायर्स कम्पनी इष्टवेष्ट कन्सर्न नै प्राविधिक मूल्यांकनमा छानिनुले भक्तपुर क्यान्सर अस्पतालले सिमेन्सलाई नै टेण्डर दिन सुरुदेखि नै तयारी गरेको पुष्टि हुन्छ। 

मेसिन किन्न प्राविधिक स्पेसिफिकेसन तयार गर्नुपर्ने हुन्छ। त्यही प्राविधिक स्पेसिफिकेसनका आधारमा मेसिन खरिदका लागि लागत अनुमान तयार हुन्छ। 

भक्तपुरमा सिटी स्क्यान मेसिन खरिदका लागि स्पेसिफिकेसन कमिटीले प्राविधिक स्पेसिफिकेसन तयार गर्दा नै सिमेन्ससँग मात्रै मिल्नेगरी तयार गरे। 

उकेराको खोजीमा सिटी स्क्यान मेसिन खरिदका लागि अस्पतालले नै प्राविधिक स्पेसिफिकेसन तयार गरेको थियो। 
प्राविधिक स्पेसिफिकेसन बनाउन अस्पतालकै बायोमेडिकल इन्जिनियर, चिकित्सक र प्राविधिक संलग्न थिए।

सामान्यतया  टेन्डर आह्वान गर्नुअघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई स्पेसिफिकेसन पठाइन्छ। 

सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागिन्छ। यो प्रक्रिया पूरा गर्न सिमेन्स, फिलिप्स र जिइका सम्लायर्सलाई लागत अनुमानका लागि पत्र पठाएको थियो। 

सप्लायर्स कम्पनीले मेसिन खरिद गर्न सक्ने अनुमानित मूल्य अस्पताललाई पठाएका थिए। त्यही प्राविधिक स्पेसिफिकेसनका आधारमा मेसिन सप्लायर्स कम्पनीहरूले मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत रकम पठाउँछन्।  

सप्लायर्सले यसरी पठाएको लागत रकमको आधारमा सामग्री खरिद गर्ने संस्थाले लागत अनुमान तयार गर्छ। सप्लायर्स कम्पनीसँग दररेट मागेर लागत अनुमान तयार गरी अनुमानित बजेटको व्यवस्थापन गरेर टेण्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। 

मन्त्रालय छल्न लागत घटाइयो

प्राविधिक स्पेसिफिकेसन र लागत अनुमान तयार भइसकेपछि सार्वजनिक खरिद नियमावली अनुसार २० करोडभन्दा बढी रकमको लागत अनुमान विभागिय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ। 

नियमावलीअनुसार विभागीय प्रमुख भन्नाले कुनै मन्त्रालयअन्तर्गत विभाग वा सोसरह अन्य कार्यालयको प्रमुखका रूपमा काम गर्ने पदाधिकारी हुन्। 

सो नियमअनुसार स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले सिटी खरिदका लागि लागत अनुमान स्वीकृति दिनुपर्ने हो। 

सचिवको स्विकृति छल्न भक्तपुर क्यान्सर अस्पतालको सिटी खरिदको हकमा बोलपत्र जमानत रकम (बिड सेक्युरिटी अमाउण्ट) हेर्दा करिब १८ करोडमा सिटी स्क्यान मेसिन किन्ने तयारी गरेको देखिन्छ। 

अस्पतालले मन्त्रालयसँग स्वीकृति नलिई सीधै सिटी स्क्यान खरिद गर्न सक्ने अधिकारको उपयोग गर्यो। यसले सिटी खरिदमा अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेल नै संलग्न देखिएका छन्। 

अस्पताल विकास समितिको अध्यक्षमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंह छन्। 

यसरी स्पेसिफिकेसन लक्ड गरियो

भक्तपुर क्यान्सर अस्पतालले सिटी स्क्यान किन्न तयार गरेको प्राविधिक स्पेसिफिकेसनमा नयाँ मोडलको २५६ वा त्योभन्दा बढी स्लाइसको सिटी स्क्यान हुनुपर्ने मापदण्ड राखियो। 

प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर २.१  मा ‘बिडर मस्ट कोट फर ब्राण्ड न्यू लेटेष्ट मोडल सिटी स्क्यान क्यापेबल अफ ट्यु एक्वीजिसन अफ २५६ स्लाइस अर मोर स्लाईस पर जेन्ट्री रोटेशन वीथ क्यापेबिलिटी अफ प्रोड्युसिङ् ड्युअल इनर्जी डाटा साइमलटेनियुस्ली एट वान सिंगल रोटेशन ३६० डिग्री’ भनेर राखियो। यो बुँदाले नै सिमेन्सको सिटीबाहेक अन्य कम्पनीको सिटी मेसिनलाई प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्यो। 

प्राविधिक स्पेसिफिकेसनको बुँदा नम्बर २.२ समेत सिमेन्सलाई नै टेण्डर पर्ने गरी लक्ड गरियो। बुँदा नम्बर २.२ मा ‘हाई रिशोलुशन सिटी स्क्यान क्यापेबल अफ ट्यु एक्विजिशन अफ २५६ स्लाइस अर मोर विथ रिकन्स्ट्रक्शन अफ ५१२ स्लाइस अर मोर इन बोथ हेलिकल एण्ड सेक्वेन्टियल स्क्यानिङ आइदर बाई १२८ × १ अर ६४ × २ रोस् अफ डिटेक्टर विथ फ्लाइङ फोकल स्पट टेक्नोलोजी-स्मार्ट फोकल स्पट टेक्नोलोजी-डाइनामिक फोकल स्पट टेक्नोलोजी इन जेट-एक्सिस् अर २५६ रोस् अर मोर डिटेक्टर्स इन जेट-एक्सिस्’भनेर राखियो। 

जानकार बायोमेडिकल इन्जिनियरका अनुसार यो बुँदा सिमेन्सको सिटी स्क्यानसँग मात्रै मिल्छ। 

१२८ × १ रोस् अफ डिटेक्टरको मेसिन हाइ इण्डको हो। यो मेसिन अन्य कम्पनीसँग पनि छ। तर, बुँदा नं २.२ लाई हेर्दा १२८ × १ र ६४ × २ रोस् अफ डिटेक्टर दुईमध्ये जुन ल्याउँदा पनि हुनेगरी प्राविधिक स्पेसिफिकेसन बनाइयो। 

यो बुँदालाई संशोधन गरेर ६४ × २ रोस् अफ डिटेक्टर हटाउनुपर्ने सप्लायर्सले माग गरेका थिए। त्यसो गरेको भए अन्य कम्पनीले समेत टेण्डर प्रतिस्पर्धामा सहभागी हुन प्राविधिक रूपमा योग्य हुने थिए। तर हटेन। 

सिमेन्सको ड्राइभ मोडलमा मात्रै ६४ × २ रोस् अफ डिटेक्टरको मेसिन भएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए। बायोमेडिकल इन्जिनियरका अनुसार ६४ × २ रोस् अफ डिटेक्टर भएको सिमेन्सको सिटी स्क्यान अन्य कम्पनीको सिटी स्क्यानको तुलनामा सस्तो र कम गुणस्तरीयसमेत छ। 

त्यसैले सिमेन्सले ६४ × २ रोस् अफ डिटेक्टरकै मेसिन उसैलाई मिल्नेगरी यो बुँदामा लक्ड गरियो। 

सिमेन्सबाहेक अन्यको मेसिन प्राविधिक रुपमा अयोग्य हुने भएपछि रेटमा खेल्दै बढीमा १४ करोड मूल्यको मेसिनको मूल्य १८ करोड पुर्याइयो। 

त्यसो त सिमेन्सको ९६× २ रोस् अफ डिटेक्टरको पनि मेसिन छ। तर, उसले यो नल्याएर सस्तो पर्ने ६४ × २ रोस् अफ डिटेक्टरकै मेसिन ल्याउने गरी स्पेश लक गराएको देखिन्छ। 

६४ × २ रोस् अफ डिटेक्टरको मेसिन ल्याउँदा अन्य कम्पनीको मेसिनको तुलनामा करिब ४ करोड सस्तो पर्ने स्रोतले जानकारी दियो।

सो प्रावधान लक्ड नगरेको भए अन्य कम्पनीका नेपालस्थित सप्लायर्सले समेत सिटी खरिदका लागि टेण्डर प्रस्ताव गर्न सक्थे। दुई वा दुईभन्दा बढी कम्पनीबीच मूल्यमा प्रतिस्पर्धा भएको भए सस्तो दरमा मेसिन आउन सक्थ्यो। तर अस्पताल प्रशासनले त्यो विकल्प बन्द गराएर १८ करोडमै मेसिन किन्ने बाटो खुलाएको देखिन्छ। 

प्राविधिक स्पेसिफिकेसनको बुँदा नं. ४.१ को ‘ए’ मा एपाचर ७५ सेन्टिमिटर वा त्योभन्दा बढी हुनुपर्ने मापदण्ड राखियो। बुँदा नं. ४.१ को ‘ए’ मा ,‘एचाचर अफ ७५ सिएम अर मोर’ भनिएको छ। 

एक बायोमेडिकल इन्जिनियरले यो एपाचर १०-१० को फरकमा हुने बताए। सामान्यतया अन्य कम्पनीको ७०, ८० सेन्टिमिटरको एपाचर हुन्छ। सिमेन्सको सिटीमा भने ७८ सेन्टिमिटरको एपाचर छ। 

त्यही ७८ सेन्टिमिटरकै एपाचर सिमेन्सले राख्ने भएकैले ७५ सेन्टिमिटर वा त्योभन्दा माथिको एपाचर हुनुपर्ने मापदण्ड राखिएको देखिन्छ।

अन्य कम्पनीसँग नर्मल किसिमका ७०, ७२ सेन्टिमिटरको एपाचर भएको सिटी हुन्छन्। अन्य कम्पनीसँग ८० सेन्टिमिटरको पनि सिटी नभएको हैन। ८० सेन्टिमिटरको सिटीलाई सिमुलेटर भनिन्छ। यस किसिमको सिटी स्क्यान मेसिन क्यान्सरको समस्या पहिचानका लागि प्रयोग हुन्छ। 

तर, सिमेन्सले ७८ सेन्टिमिटरकै सामान्य सिटी मेसिन किन्न मापदण्डमा चलखेल गरिएको देखिन्छ। ७५ सेन्टिमिटरभन्दा माथिको एपचार राख्नेगरी अन्य सप्लायर्सले प्राविधिक स्पेसिफिकेसन पेश गर्न सक्थे। तर ८० सेन्टिमिटरको एपाचर राख्दा झण्डै दुई करोड महँगो पर्थ्यो। त्यसले प्राविधिक रूपमा स्वीकृत भए पनि आर्थिक रूपमा जसले कम अपाचरको पेश गर्यो, उसैले टेण्डर पाउने पक्का हुन्थ्यो। 

त्यसैगरी बुंदा नं. ४.३ को ‘सी’ मा पनि सिमेन्ससँग मात्रै मिल्नेगरी लक्ड भएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए। 

बुँदा ४.३ को ‘सी’ मा भनिएको छ,‘पावर विथ म्याक्स करेन्ट अफ एटलिष्ट १००० एम ए अर मोर।’ अन्य कम्पनीको भने पावर विथ म्याक्स ६५० को मात्रै भएको एक बायोमेडिकल इन्जिनिरले दाबी गरे। 

४.५ को ‘ए’ मा ‘ट्युब करेन्टः एट लिष्ट १००० एम ए अर मोर’ राखियो। बायोमेडिकल इन्जिनियरका अनुसार यसको सट्टामा ‘ट्युब करेन्टः एट लिष्ट ६५० एम ए’ राखिनुपर्ने थियो। 

त्यसैगरी ४.५ को ‘डी’ मा‘एनोड हिट स्टोरेज क्यापसिटी बिच क्यान विथस्ट्याण्ड ८ एमएचयू अर मोर अर डाइरेक्ट कोलिङ टाइप ट्युब’ राखियो। 

यसको सट्टा ‘एनोड हिट स्टोरेज क्यापसिटी बिच क्यान विथस्ट्याण्ड ७ एमएचयू अर मोर अर डाइरेक्ट कोलिङ टाइप ट्युब’राख्ने विकल्प थियो। तर राखेनन्। 

प्राविधिक स्पेसिफिकेसनको बुँदा नं. ४.१९ मा भएको ‘वर्कस्टेशन कन्सोल फिचर’ पनि सिमेन्सकोसँग मात्रै मिल्नेगरी लक्ड गरेर बनायो। 

बुदा नं. ‘४.१९’ को मा ‘ए’ मा भनिएको छ,‘दी टु सेट्स अफ वर्क स्टेशन विथ मेन कन्सोल मष्ट बी इन्टरकनेक्टेड बाई आइएसडीएन लाइन्स (मष्ट बी प्रोभाइडेड बाई दी भेण्डर) फर टु वे ट्रान्सफर अफ इमेज एण्ड रिपोर्टस्।’ 

यो बुँदामा दुई सेट वर्क स्टेशन राख्नुपर्ने भए पनि सिमेन्सको नेपाली एजेण्ट इष्टवेष्टलाई टेण्डर पर्ने भएपछि इष्टवेष्टकै मागअनुसार तीन सेटबाट घटाएर दुई सेट वर्क स्टेशन राखिएको स्रोतको दाबी छ। 

एक सेट वर्क स्टेशन घटाउँदा करिब ६० लाख कम मूल्य पर्छ। बायोमेडिकल इन्जिनियरका अनुसार यो विशेष किसिमको कम्प्युटरसहित सेट भएको सिटी स्क्यान गर्दा बस्ने कोठाको सेटअप हो। 

त्यसैले सिमेन्स कम्पनीकै कम्युटरसहित वर्क स्टेशनको सेटअप ल्याउँदा तीन सेटको करिब एक करोड ८० लाख पर्ने थियो। तर, एउटा वर्क स्टेशनको कम्प्युटर घटाउँदा एक करोड २० लाखमा आउँछ। जसले सप्लायर्सलाई ६० लाख फाइदा हुन्छ। 

८ असार, २०८०, १५:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।