वान एक्स बेटको अवैध धन्दाः १२ जनाको नामबाट ६३ वटा खाता खोलेर ६४ करोड कारोबार

वान एक्स बेटको अवैध धन्दाः १२ जनाको नामबाट ६३ वटा खाता खोलेर ६४ करोड कारोबार

काठमाडौँः विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारू, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टका रूपमा सक्रिय भएको पाइएको हो।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिए।

उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टका रूपमा सक्रिय रहेका अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। पक्राउ पर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन्। 

उनीहरूले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ। आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए। उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख  बरामद गरेको छ। उनीहरूको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। 

कार्यालयले बरामद सामग्रीसहित उनीहरूलाई आज सार्वजनिक गरेको हो। उनीहरूले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम  मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ।

३१ जेठ, २०८०, १६:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।