स्वास्थ्य मन्त्री बस्नेतको मौखिक निर्देशनमा भरतपुर र ट्रमाको ६० करोडको टेण्डर रोकियो, तर अझै दिएनन् लिखित निर्देशन

स्वास्थ्य मन्त्री बस्नेतको मौखिक निर्देशनमा भरतपुर र ट्रमाको ६० करोडको टेण्डर रोकियो, तर अझै दिएनन् लिखित निर्देशन

काठमाडौंः भरतपुर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेपछि रोकियो।

यी दुवै अस्पतालले अगाडि बढाएको खरिद प्रक्रिया विवादमा परे। आन्तरिक अनुसन्धानमा निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको देखिएपछि स्वास्थ्यमन्त्री मोहन बस्नेतले सार्वजनिक कार्यक्रममै दुवै अस्पतालको टेण्डर रद्द गर्ने बताएका थिए। तर निर्णय भने भइसकेको छैन।

दुवै अस्पतालका प्रमुखले करिब ६० करोड खर्च गरेर एमआरआई किन्ने प्रक्रिया अगाडि बढाएका थिए। भरतपुरले ३२ करोड ४० लाख मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’ इष्ट वेष्ट कन्सर्न प्रालिसँग किन्ने प्रक्रिया अगाडि बढाएको थियो। सो कम्पनीले त्यही मेसिन निजामती अस्पताललाई २२ करोड ७६ लाखमा दिएको थियो। 

अस्पताल प्रमुख मात्रै हैन, यो खरिद प्रक्रियामा स्वास्थ्य सचिवको समेत इन्ट्रेस्ट देखिएको थियो। मिलेमतोमा सिमेन्स उत्पादक कम्पनीको नेपालस्थित इष्टवेष्ट कन्सर्न सप्लायर्स कम्पनीलाई नै एमआरआईको टेण्डर दिनेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड बनाएर टेण्डर आह्वान भएकोबारे उकेराले यस अगाडि नै प्रमाणसहित समाचार प्रकाशित गरिसकेको छ। 

यता राष्ट्रिय ट्रमा सेन्टरले करिब ३० करोडमा एमआरआई मेसिन किन्न अगाडि बढाएको टेन्डर प्रक्रिया पनि विवादमा आयो। राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. रुद्रप्रसाद मरासिनीको त्यहाँबाट सरुवा भइसकेको छ।

खरिद प्रक्रिया पारदर्शी नदेखिएपछि यो अस्पतालको खरिद प्रक्रियामा समेत मन्त्रीले चासो देखाएका थिए। डा. मरासिनी बजार मूल्यभन्दा न्यूनतम पाँच करोड बढी मूल्यमा चिनियाँ कम्पनी युनाइटेड इमेजिङको एमआरआई किन्ने प्रक्रिया अगाडि बढाएका थिए।

विवाद भएपछि दुवै अस्पतालको एमआरआईको खरिद प्रक्रिया अन्तिम चरणमा पुगे पनि रोकिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले एक हप्ताअघि स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा यी दुवै अस्पतालमा खरिद प्रक्रियामा रहेका एमआरआईमा अनियमिताको विषय उठेकाले खरिद प्रक्रिया रोक्ने निर्देशन दिएको दाबी गरेका थिए।

मन्त्री बस्नेतले कार्यक्रममा भरतपुर र ट्रमा सेन्टरको आरआईको खरिद प्रक्रिया रोक्न निर्देशन दिएको बताउँदै भनेका थिए,‘मै मन्त्री हुँ जसले यी दुई वटै (एमआरआई खरिद प्रक्रियाको) काम रोकेको छु। मलाई चित्त बुझेन।’ 

उनले सार्वजनिक कार्यक्रममा दाबी त गरे तर एमआरआई खरिद प्रक्रिया रोक्न लिखित निर्देशन भने अझै दिएका छैनन्। मन्त्रालय स्रोतका अनुसार उनले मौखिक रूपमा आफूलाई नसोधी खरिद प्रक्रिया नबढाउन निर्देशन भने दिएका छन्। 

‘म (मन्त्री) सँग क्लियरेन्स लिएर मात्रै अगाडि बढ्नु भन्नुभएको छ,’ मन्त्रालयका उच्च तहका एक कर्मचारीले भने। उता ट्रमा सेन्टर स्रोतले पनि ‘मौखिक सुनेको हो तर लिखित निर्देशन नआएको उकेरासँग पुष्टि गरे। 

मन्त्रीले मौखिम निर्देशन दिए पनि भरतपुर अस्पतालले भने जतिसुकै अवस्थामा पनि एमआरआई मेसिन किन्न जोडबल लगाइरहेको छ। मन्त्री बस्नेतको निर्देशनपछि अस्पताल प्रमुख एमआरआई मेसिन किन्न भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनि स्वास्थ्य मन्त्री बस्नेतसम्म पुगिसकेको स्रोतले बतायो।

यसमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेल नै सक्रिय देखिएका छन्। 

भरतपुर अस्पतालका एक कर्मचारीका अनुसार अस्पतालले एमआरआई खरिदको करिब सबै प्रक्रिया पूरा गरेर टेण्डर स्वीकृत गर्नुअघि अन्तिम स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा फाइल पठाएको छ।

फाइल स्वास्थ्य सचिवको टेबुलमा पुगेर अड्किएको छ। सचिव रोशन पोखरेल नै महँगोमा एमआरआई किन्ने समूहको प्रभावमा रहेका अधिकारी हुन्। उनले 'मन्त्रीज्यूले बुझ्दैछु भन्ने कुरो आएको छ' भन्ने जवाफ दिने गरेको भरतपुर अस्पताल स्रोतले भन्यो। 

सार्वजनिक खरिद नियमावलीअनुसार २० करोडभन्दा बढी रकमको लागत अनुमानको विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ। सो नियमअनुसार स्वास्थ्य सचिव पोखरेलले एमआरआई खरिदका लागि लागत अनुमान स्वीकृति दिनुपर्ने हुन्छ। त्यसैले २० करोडभन्दा बढी रकमको सामग्री खरिदको लागि अन्तिम स्वीकृति समेत स्वास्थ्य मन्त्रालयले नै दिनुपर्ने देखिन्छ। 

आर्थिक प्रस्ताव खोलिसकेपछि एमआरआई खरिदको सो फाइल मन्त्रालयमा बुझाए पनि स्वीकृति भएर अस्पतालमा नफर्किएको एक कर्मचारीले जानकारी दिए। तर, एमआरआई खरिदको सम्झौता गर्नु वा नगर्नु भनेर मन्त्रालयबाट निर्णय नआइसकेको अस्पतालका ती कर्मचारीले जानकारी दिए। 

‘आर्थिक प्रस्ताव खोलेर सबै डकुमेन्ट स्वास्थ्य मन्त्रालयमा बुझायौं,’ भरतपुर अस्पताल स्रोतले भन्यो,‘स्वास्थ्य मन्त्रालयबाट सम्झौता गर वा के गर्ने हो भनेर अहिलेसम्म आएको छैन। स्वास्थ्य मन्त्रालयले सबै कुरा ठिक छ सम्झौता गर, खरिद प्रक्रिया बढाऊ भन्यो भने हामीले बढाउने हो।’ 

स्वास्थ्य मन्त्री जेनेभा जानुअघि नै फाइल पठाए पनि मन्त्रालयबाट हालसम्म कुनै जवाफ नआएको अस्पताल स्रोतले बतायो।

मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने भरतपुरको एमआरआई खरिदमको फाइल मन्त्रालयमा नआइपुगेको दाबी गरे। एमआरआई खरिदको अन्तिम स्वीकृतिका लागि भरतपुरबाट मन्त्रालयमा फाइल आएको हो भन्ने जिज्ञासामा मन्त्रायका ती उच्च तहका कर्मचारीले भने, ‘आएको छैन। उहाँहरू (भरतपुरका कर्मचारी)ले बोकेर ल्याउने हो। लिएर आउनुभएको छैन। फायल यतैकतै कसैलाई छोड्नुभएको होला, अफिसियली आएको छैन।’ 

यता राष्ट्रिय ट्रमा सेन्टरमा भने खरिद प्रक्रिया अन्तिम चरणमा रहेको एमआरआईको खरिद प्रक्रिया थप अगाडि नबढेको अस्पताल स्रोतले जानकारी दियो। प्राविधिक स्पेशिफिकेशन विवादमा परेको र बजेटको समेत व्यवस्थापन नभएकाले खरिद प्रक्रिया बढ्न नसकेको अस्पतालका एक कर्मचारीले जानकारी दिए।

‘विवाद आएको हुनाले अगाडि जाने सम्भावना देखिँदैन,’अस्पताल स्रोतले भन्यो,‘अहिलेसम्म एमआरआई आउने अवस्था छैन।’ 

स्वास्थ्य मन्त्री बस्नेतले एक हप्ताअघि एमआरआई खरिदका लागि टेण्डर गरेका राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र प्रसाद मरासिनीलाई ट्रमा सेन्टरबाट हटाएर टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिएका छन्।

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा भने डा. बद्री रिजाललाई नियुक्त गरेका छन्। डा. रिजालले भने एमआरआरआई खरिदका लागि थप प्रक्रिया नबढाएको बताएका छन्। 

‘मैले (एमआरआई खरिदको) प्रोसेस बढाएको छैन,’डा. रिजालले भने। ट्रमाको खरिद रद्द हुने सम्भावना देखिए पनि  भरतपुरमा भने जसरी पनि किन्ने प्रयासमा रहेको देखियो। यो वर्षका लागि एमआरआई खरिदका लागि बजेटको समस्या नरहेको अस्पताल स्रोतले जानकारी दियो। 

प्रारम्भबाटै करिब ३२ करोड ४० लाख मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’ इष्ट वेष्ट कन्सर्न प्रालिलाई नै टेण्डर दिनेगरी भरतपुर अस्पतालले प्रक्रिया अगाडि बढाएको थियो।

अस्पतालले सिमेन्स उत्पादक कम्पनिको नेपालस्थित इष्टवेष्ट कन्सर्न सप्लायर्स कम्पनीलाई एमआरआईको टेण्डर दिनकै लागि प्राविधिक स्पेशिफिकेशन समेत उनीहरु मैत्री बनाएको पुष्टी भइसकेको छ।
अस्पतालले सिमेन्स कम्पनीकै मेसिन खरिद गर्नेगरी प्राविधिक मूल्यांकनमा इष्टवेष्ट कन्सर्नलाई छनोट गरी आर्थिक प्रस्ताव खोलिने सूचना जारी गरिसकेको छ।

स्वास्थ्य सचिव पोखरेलसमेत इष्टवेस्टकै पक्षमा देखिएका छन्। भरतपुर अस्पताल प्रमुख यो टेण्डरलाई अन्तिम रूप दिएर इष्टवेष्ट कन्सर्नलाई नै एमआरआई खरिदका लागि टेण्डर दिने रणनीतिमा छन्। 

मेसिन खरिदका लागि बोलपत्र प्रस्तावकमध्ये प्राविधिक र आर्थिक मूल्यांकनको चरणमा छनोट भएपछि टेण्डर पाउँछन्।

सिमेन्सको नेपालस्थित एजेन्ट तथा सप्लायर्स इष्ट वेष्ट कन्सर्न प्रालि प्राविधिक मूल्यांकनको चरणमा छनोट भएको थियो। इष्ट वेष्टको मात्रै टेण्डर प्रस्ताव परेको अनि उही प्राविधिक मूल्यांकनमा छनोट भएकाले आर्थिक चरणमा पनि सिमेन्स कम्पनीको इष्ट वेष्ट कन्सर्न नै छनोट हुने करिब निश्चित छ। 

अस्पतालले तोकेको बजेटको सीमाभन्दा बढी रकममा एमआरआई मेसिन ल्याइदिने गरी बोलपत्र प्रस्ताव गरेको भए मात्रै उसलाई टेण्डर पर्दैन। तर, टेण्डर आह्वान गर्दा नै सिमेन्सलाई मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर टेण्डर गरेको देखिएकाले सिमेन्स कम्पनीको एजेष्ट इष्ट वेष्ट कन्सर्नले टेण्डर नपाउने सम्भावना अत्यन्तै न्यून छ।

स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन र सचिव पोखरेलले खरिद प्रक्रिया बढाउन अन्तिम स्वीकृति दिनासाथ इष्ट वेष्ट कन्सर्नले एमआरआई खरिदका लागि टेण्डर पाउने पक्का छ। 

स्वास्थ्य सचिव पोखरेल भरतपुर अस्पतालमा सिमेन्सलाई नै एमआरआईको टेण्डर दिनेगरी खरिद प्रक्रिया अगाडि बढाउँदा समेत मौन बस्दै र यस विषयको जिज्ञासामा पन्छिँदै आएका छन्।

अस्पताल स्रोतका अनुसार रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेल, न्यूरो सर्जन डा. गुणराज पौडेल, एक्स-रे विभागका प्रमुख रोशन पटेल, लेखा अधिकृत (प्रमोद पोखरेल), बायोमेडिकल इन्जिनियर तुलसी खनाल प्राविधिक मूल्यांकन समितिमा छन्। 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पौडेलले एमआरआई खरिदमा अनियमितताको खेल नभएको दाबी गर्दै आए पनि उनको तर्कलाई तथ्यले पुष्टि गर्ने आधार देखिँदैन। 

स्वास्थ्य मन्त्री बस्नेत तथा स्वास्थ्य मन्त्रालयले चाहेको अवस्थामा मात्रै राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआईको टेण्डर स्वीकृति हुनसक्ने देखिन्छ। मन्त्रीले टेण्डर रोक्न निर्देशन दिएको खण्डमा टेण्डर नै रद्द हुनसक्ने देखिन्छ। 

चुनावको मौका छोपेर करिब ३० करोडको एमआरआई मेसिन खरिदको टेन्डर गरेका राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक (प्रमुख) डा. रुद्रप्रसाद मरासिनी चाहेकै कम्पनीलाई टेन्डर दिने अन्तिम तयारीमा पुगिसकेका थिए। उनी बजार मूल्यभन्दा न्युनतम पाँच करोड बढी मूल्यमा चिनिया कम्पनी युनाइटेड इमेजिङको एमआरआई खरिद गर्ने अन्तिम तयारीमा थिए। 

डा. मरासिनीले युनाइटेड इमेजिङको मात्रै एआरआइसँग मिल्ने गरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन ल्याएर करिब २५ करोडमा भन्दा कममा आउने मेसिन ३० करोडमा किन्ने तयारी गरी खरिद प्रक्रिया बढाएका थिए। 

स्वास्थ्य मन्त्री (पदम गिरी) हटेका अनि प्रधानमन्त्रीले नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको मौकामा उनले एमआरआई खरिद गर्ने अन्तिम तयारी गरे पनि उनको रणनीति सफल हुन सकेन।

डा. मरासिनी ट्रमा सेन्टरको निर्देशकबाट हटेपछि भने डा. रिजालले एमआरआई खरिदको थप प्रक्रिया बढेको छैन। ट्रमा सेन्टरमा खरिद प्रक्रियामा रहेको एमआरआईको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।

३१ जेठ, २०८०, १६:३०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।