अभ्यास खेलमा स्कटल्यान्डसँग हार्‍यो नेपाल

अभ्यास खेलमा स्कटल्यान्डसँग हार्‍यो नेपाल

काठमाडौं : जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटअघिको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ।

१ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको छ।

स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन ४१ र ब्रेन्डन म्याकमुलन ५९ रन बनाउँदै नटआउट रहे।

नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १३५ रनमा अल आउट भएको थियो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाउँदा आसिफ शेख २८ रनमा आउट भए।

कुशल भुर्तेलले १६ रन बनाउँदै क्याच आउट हुँदा दीपेन्द्रसिंह ऐरी १३ र भीम सार्की ८ रनमा पेभेलियन फर्किए।

कप्तान रोहित पौडेल डक आउट हुँदा ज्ञानेन्द्र मल्लले सात रन जोडे। सोमपाल कामी ३, गुलशन झा र आरिफ शेख समान ५ रनमा आउट भए। करण केसी ४ रनमा नटआउट रहे।

स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले समान तीन–तीन विकेट लिँदा शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एक विकेट लिए।

दोस्रो अभ्यास खेलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ। जिम्बाब्वेमा हुने  विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन्।

असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ। समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन्।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ‘ए’ का तीन टोलीसँग खेल्नेछन्।

त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन्।

२५ जेठ, २०८०, १९:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।