श्रीमती सीताको ज्यान बचाउन महाकालेश्वरमा रुद्राक्ष नचढाएको भन्दै रिसाए प्रचण्ड

श्रीमती सीताको ज्यान बचाउन महाकालेश्वरमा रुद्राक्ष नचढाएको भन्दै रिसाए प्रचण्ड

काठमाडौं : श्रीमतीको स्वास्थ्यको कामना गर्दै भारतको महाकालेश्वरमा रुद्राक्ष चढाएको भनेर आफूलाई तल खसाल्ने काम भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल रिसाएका छन्।

भारतको चार दिने भ्रमण सक्काएर नेपाल फर्किए लगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनी रिसाएका हुन्।

आफूले देश र जनताको हितमा काम गरेर फर्किएको तर नेपालमा भने पत्नीलाई बचाइदेऊ भनेर आएको भनेर गलत प्रचार गरिएको उनको भनाई थियो।

‘मैले चढाएको(रुद्राक्ष) श्रीमतीको स्वास्थ्य ठिक होस् भनेर हैन। मेरो दिमागमा पनि थिएन, चर्चा पनि भएको थिएन,’ उनले भने, ‘यता श्रीमतीको स्वास्थ्यका लागि रुद्राक्ष चढाएको भनेर तल झारिदिने। राष्ट्रको पक्षमा, जनताको पक्षमा ऐतिहासिक काम गर्न लागेको बेलामा त सबैले मिलेर साथ पो दिनुपर्छ त।’

प्रधानमन्त्री दाहालले श्रीमती सीता दाहालको स्वास्थ्य कस्तो छ सबै सार्वजनिकै रहेको र उनको उपचार सम्भव हुने बिमारी नै नभएको बताए।

उनले अगाडि थपे, ‘म कस्तो प्रवृत्तिको मान्छे हुँ सबैलाई थाहै छ। दुई देशको सम्बम्धको कुरा छ। पत्नी बचाई पाउँ भन्छु त?’

सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रस्त छिन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै उपचारका लागि आवश्यक उपकरण राखेर उनको उपचार भइरहेको छ।

२० जेठ, २०८०, २०:३७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।